राष्ट्रपतिले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा (तस्बिरहरू)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई दशैंको टीका लगाइदिएका छन्।
मंगलबार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा टीका लगाइदिएका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका सांसदहरु, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुलाई टिका लगाइदिएका थिए ।
राष्ट्रपति पौडेलले को दिन विशिष्ट व्यक्तिकासाथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टिका लगाइदिनुभएको छ । मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन्। टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा उपस्थित भएका थिए ।
यसअघि विजया दशमीको शुभ साईतमा राष्ट्रपति पौडेलले परिवार र आफन्तलाई टिका र जमरा लगाइदिएका थिए । त्यस्तै, उनले विजया दशमीको दिन भाउजु विष्णुमाया पौडेलेको हातबाट बडा दशैंको टिका ग्रहण गरेका थिए । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टिका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ । त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।
मंगलबार असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रुपमा मनाइने विजयादशमी (बडा दशैँ)को सबैभन्दा महत्वपूर्ण दिन हो । मंगलबार गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।
आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । शिव लङ्ग दर्शन गर्न बिहानैदेखि दर्शनार्थीहरु पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पुगेका छन्। आज दर्शनार्थीको भिड हुने भएकोले पशुपति क्षेत्र विकास कोषले पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको कोषले जनाएको छ । अहिले उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहितका साथै काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत देशभरका शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ । सोमबारको व्रत गर्ने भक्तजनले आज व्रत पूरा गरी उद्यापनका लागि गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।
पञ्चकोट जाँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार बागलुङको पञ्चकोट जाने भएका छन् । सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड पञ्चकोट जान लागेका हुन् । पञ्चकोटमा मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले प्रधानमन्त्रीलाई स्वागत गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले कुटीमा विशेष भेटघाट, गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मुर्ति र यज्ञमण्डपको अवलोकनसहित महायज्ञलाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । पञ्चकोटधाम स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । प्रधानमन्त्री आउने खबरले आफुहरुलाई उत्सिाहित बनाएको बताउँदै प्रधानमन्त्रीको अवलोक भ्रमणले आफ्नो क्षेत्रको महत्व र पर्यटन बढ्ने विश्वास आयोजकले व्यक्त गरे । पञ्चकोटमा विश्व शान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मूख्य धार्मिक गन्तब्यका रुपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । फागुन ९ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ । विभिन्न समयमा सञ्चालन भएका महायज्ञ, सरकारी निकाय र भक्तजनको सहयोगबाट हालसम्म पञ्चकोटमा ५० करोड रुपियाँ बराबरको लगानीमा धार्मिक संरचनाहरु निर्माण भएका छन् । पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचना पूरा गर्न करिब चार अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । यसपटकको ब्रह्माण्डीय महायज्ञबाट संकलन भएको रकमबाट निर्माणाधीन विश्व शान्ति गण्डकी कलशलाई पूर्णता दिने आयोजकले जनाएको छ । सो कलश निर्माण गर्न झण्डै एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।
श्रीस्वस्थानी पूजा गर्न पत्नीसहित शालीनदी पुगे ओली
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको साँखु स्थित शालीनदी पुगेर श्रीस्वस्थानी तथा माधवनारायणको पूजा अर्चना गरेका छन् । श्रीस्वस्थानी तथा माधवनारायणको पूजा गर्न केपी ओली आइतबार धर्मपत्नी राधिका शाक्यसहित साँखु शालीनदी पुगेको स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।
समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको जानकारी दिएका छन् । संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको बताएका छन् । उनले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गरे । “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता राष्ट्रिय विशेषता र पहिचानसमेत हो”, प्रधानमन्त्री प्रचण्डद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ । श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकको पर्वका रूपमा परिचित ल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइने जनाउँदै उनले यस्ता पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहँदै आएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले यसप्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व हुन् भनेका छन् । साथै, प्रधानमन्त्री प्रचण्डले सन्देशमा ल्होसारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ र सुदृढ बनाउँदै लगोस् भन्ने कामना गरेका छन् । उनले सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न ल्होसारले एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।