राष्ट्रिय सभा रहँदासम्म जबरा बिरुद्धको महाभियोगको प्रस्ताव जीवित रहन्छ : वर्षमान पुन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले राष्ट्रिय सभा रहँदासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव पुनले संविधानले जनप्रतिनिधि संस्थाको रिक्तताको परिकल्पना नगरेको बताए ।
उनले प्रतिनिधि सभा आवधिक निर्वाचनमा जाँदा जनप्रतिनिधिको भुमिका खेल्ने संसदको काम राष्ट्रिय सभाले गर्ने बताए । उनले प्रधानन्यायाधीश बिरुद्धको महाअभियोगको प्रस्ताव दुवै सदनको दुई तिहाइले पास वा फेल गराउनुपर्ने भएकाले राष्ट्रिय सभा रहेको अवस्थामा महाअभियोग प्रस्ताव पनि जीवित रहने जिकिर गरे ।
उनले भने, ‘हाम्रो व्यवस्था अनुसार जनप्रतिनिधि संस्थाको भ्याकुम छैन । संविधानले दुई सदनात्मक व्यवस्था गरेको छ । प्रतिनिधि सभा आवधिक रुपमा निर्वाचनमा जाँदापनि त्यसले निर्वाचित गरेको कार्यकारी त रहन्छ, दैनिक शासन, प्रशासन सञ्चालन गर्छ । बाँकी जनप्रतिनिधिको भूमिका खेल्ने संसदको काम राष्ट्रिय सभाले गर्छ । संविधानले स्पष्ट रुपले के भन्छ भने प्रतिनिधि सभा नरहेको अवस्थामा प्रतिनिधि सभाको काम राष्ट्रिय सभाले गर्छ ।’
उनले थपे, ‘संघीय संसदको रिक्तता हुने अवस्था परिकल्पना गरेको छैन । सामान्य विधेयकहरु, प्रश्तावहरु चाहीँ संसदको कार्यकाल पछि शुन्यमा जान्छन् । यो चाहीँ दुईवटै सदनको काम हो । प्रतिनिधि सभाको मात्रै होइन, राष्ट्रिय सभा सहितको दुईटै सदनको दुईतिहाइले पास या फेल गर्ने विषय भएको हुनाले राष्ट्रिय सभा विद्यमान भइराख्दा र राष्ट्रिय सभा हुँदासम्म यो प्रस्ताव पनि जीवित नै रहन्छ ।’
त्यस्तै उनले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा शिर्ष नेताहरुका बीचमा सहमति भइसकेको बताए । कार्यदलले शीर्ष नेताहरुलाई आजै प्रतिवेदन पेस गर्ने उनले जानकारी दिए ।
उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ। काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।
कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।
बाराको गढीमाई मन्दिरमा मेला शुरु
बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।