रैथाने ज्ञान र सीपको महत्व बढेको छ : मन्त्री किराती

रैथाने ज्ञान र सीपको महत्व बढेको छ : मन्त्री किराती

काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय सुदन किराँतीले रैथाने ज्ञान र सीपको महत्व अहिलेको समयमा झनै बढेको बताएका छन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४ औं प्राज्ञ सभाको शनिबार उद्घाटन गर्दै उनले मान्छेबाट मान्छेमा सर्ने उक्त ज्ञानलाई संरक्षण गर्दै प्राज्ञिक क्षेत्रमा समेत अघि बढ्ने उद्देश्य राखेर नै सरकारले रैथाने विश्वविद्यालयको अवधारणा अघि ल्याएको बताए।

उनले भने, ‘समाजमा रहेको मूल्य मान्यताको संरक्षण गर्न रैथाने विश्वविद्यालयको कुरा गरेको हो ।’ उनले मोतिराम भट्ट, लक्ष्मी प्रसाद देवकोटा, नेल्सन मण्डेलाको उदाहरण दिँदै एक बारको जीवनमा सबैले सम्झिने गरी काम गनुपर्ने कुरामा जोड दिए । उनले थपे, ‘सबैले राम्रो काम गरौं । हामी अजम्बरी छैनौं । मान्छे कामले बाँच्ने हो ।’
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री सुशिला सिर्पालीले प्रतिष्ठानले नीति निर्माण गर्दा २२ सालको भन्दा ८० सालको कुराले निर्धारण गर्न आवश्यक भएको धारणा राखिन । उनले सबैजना नयाँ युग सुहाउँदो र संविधानले मागेको कुरासँग जोडिनुपर्ने बताइन् ।

राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलले भाषा, साहित्य, संगीत, ललितकलाको क्षेत्रमा प्रदेशसँग जोडिएर बहुभाषिक संग्रहालय, अनुसन्धान, अभिलेख, जीवित संग्रहालयको विषयमा काम गर्न जरुरी भएको बताए । उनले यस विषयमा समाजलाई सही ढंगको सूचना सम्प्रेषण गर्न कक्षा सञ्चालन गर्न आवश्यक रहेको उनको भनाई छ । प्रतिष्ठानले ठोस रुपमा योगदान पुग्न सक्नेगरी काम गरिरहँदा अन्तबाट रकमान्तर गरेर पनि काम अघि बढाउन सकिने धारणा उनको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले अग्रज कलाकारहरुले, बौद्धिक वर्गले, प्राज्ञ सभाले आफ्नो भूगोल, माटो सुहाउँदो आफ्नो हुटहुटी लिएर आएको बताउँदै प्राज्ञ सभा एउटा निश्कर्षमा पुग्ने धारणा राखे ।

समारोहमा मूर्तिकार नरेन्द्र प्रसाद भण्डारीद्वारा लिखित पुस्तक ‘समसामयिक नेपाली मूर्तिकला र मूर्तिकार’को समेत सार्वजनिक गरियो । पुस्तक सार्वजनिक भएपश्चात कार्यक्रममा बोल्दै भण्डारीले भने, ‘मेरो पुस्तकले अनुसन्धानको क्रममा धेरै मूर्तिकारहरुलाई समेटेको छ । तपाईहरुले सल्लाह, सुझाव दिनुहोला । नेपाली कलाको विकासका लागि हामीलाई जुन जिम्मेवारी दिइएको छ । त्यसमा हामीले मूलतः नीति निर्माणमा हस्ताक्षर मात्र गर्ने छैनौं । नयाँ ढंगले सहयोग पनि गर्नेछौं ।’

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले तीनवटै एकेडेमी एउटै विधामा पर्ने धारणा राखिन । उनले भनिन, ‘रंग हामीलाई चाहिन्छ । हामीले पनि बुझ्नुपर्छ । डान्स, नाटकमा प्रयोग हुन्छ । सेट गर्दा मिक्स हुन्छ । लाइटलाई प्रयोग गर्दा जरुरी हुन्छ ।’ आफूलाई पनि आगामी दिनमा सल्लाह र सुझाव दिन आग्रह गर्दै उनले सबै एकेडेमी मिलेर काम गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

बाग्मती प्रदेशका सांसद सरल सहयात्रीले यस सभाले आगामी दिनको लागि महत्वपूर्ण आधारशिला खडा गरोस् भन्ने कामना गरे । उनले अब दिनमा प्रतिष्ठानले परम्परागत प्रतिष्ठान धान्ने रुपमा मात्र काम गर्ने नभइ गहिराइमा पुगेर दीर्घकालिन रुपमा प्रभाव पार्ने गरी काम गर्नुपर्ने धारणा राखे ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले नेपालका रैथाने र परम्परागत कला तथा ज्ञानको संरक्षणमा ध्यान दिँदै त्यसलाई सुक्ष्म र बृहत दुवै तवरले खोज, अनुसन्धानमा समेत ध्यान दिनुपर्ने धारणा राखे ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको क्षेत्रमा अहिले चुनौतिसँगै नयाँ अवसर समेत रहेको बताए । उनले नीतिगत तथा संरचनागत तहमा प्रतिष्ठानले यस कार्यकालमा धेरै काम गर्न उद्देश्य राखेर अघि बढेको बताउँदै त्यसको नतिजा पनि केही समय पछि देखिने धारणा राखे ।

समारोहमा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको महत्वपूर्ण सहभागिता रहेको थियो ।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ।  यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?  २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका  केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।  

लोकप्रिय