लागुऔषध बेचेर लाखौंको लगानी शेयर बजारमा

लागुऔषध बेचेर लाखौंको लगानी शेयर बजारमा

भाद्र ८, पुतलीसडकस्थित प्रिमो सेक्युरिटिजबाट गत वर्ष भदौ १४ मा करिब ५७ लाख रुपैयाँको सेयर खरिद भयो । विभिन्न ३ कम्पनीका झन्डै ५ हजार कित्ता सेयर ५३८९५ ग्राहक नम्बर उल्लेख गरी पुष्पा अग्रवालका नाममा खरिद भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड उच्च स्रोतले बतायो । गत वर्ष असार २ देखि असोज २७ सम्म पुतलीसडकको त्यही ब्रोकर कम्पनीबाट २ करोड ७८ लाख रुपैयाँको थप सेयर खरिद भएको छ । ग्राहक नम्बर ५२११० उल्लिखित उक्त सेयर श्रुति अग्रवालका नाममा किनिएको देखिन्छ । 

स्टक एक्सचेन्जबाट भएको कारोबारको अभिलेख पछ्याउँदै जाँदा केही महिनाअघि चर्चामा रहेको विवादास्पद लागूऔषध प्रकरणमा मुछिएको औषधि कम्पनीको नाम भेटियो । प्रिमो सेक्युरिटिजबाटै एसआर ड्रग ल्याबरोटरीले २०७२ चैतदेखि २०७३ असारसम्म विभिन्न कारोबार गरेको देखिन्छ । उसले दुईवटा बिमा कम्पनीको ५६ सय कित्ता सेयर बेचेर झन्डै एक करोड रुपैयाँ आर्जन गरेको स्टक एक्सचेन्ज स्रोतबाट प्राप्त अभिलेखमा देखिन्छ ।
***
प्रिमोबाटै सुधा अग्रवालका नाममा विभिन्न मितिमा ४ करोड ६४ लाख रुपैयाँको सेयर बिक्री भएको छ । शंकाको घेरामा रहेको सनग्लो इन्भेस्टमेन्ट नामको अर्को कम्पनीबाट ५४ लाख ४६ हजार रुपैयाँ सेयर बिक्री भएको देखिन्छ । त्यसैगरी अर्का ‘शंकास्पद व्यक्ति’ भिवान अग्रवालका नाममा २ करोड ५८ लाख रुपैयाँको सेयर खरिद भएको छ । 
***

कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली, जनकराज सापकोटाले लेखेको समाचारमा अगाडि उल्लेख छ–

गत वर्ष प्रहरीको लागूऔषध अनुसन्धान ब्युरोले काठमाडौंको एसआर ल्याबरोटरी, ललितपुरको आर्या फर्मास्युटिकल्स र धादिङको टौरस फर्मास्युटिकल कम्पनीमा एकसाथ छापा मार्‍यो । ती कम्पनीले औषधि बनाउन आयात गरेको लागूऔषधको कच्चा पदार्थ अन्यत्र बिक्री गरेको पत्ता लाग्यो । ब्युरोका अनुसार औषधि बनाउने भन्दै नेपाल भित्र्याइएको ‘प्रिक्रसर केमिकल्स’ लागूऔषध कारोबारीलाई बेचेर कम्पनीहरूले ४ अर्बभन्दा धेरै आर्जन गरेको देखिन्छ । यति गम्भीर मुद्दामा ब्युरोले उनीहरूको खातामाथि सतही अनुसन्धान गरेर औपचारिक प्रक्रिया त पूरा गर्‍यो तर उजुरीमै समावेश ठूलो कारोबारको विवरण नष्ट गरियो । मुद्दा कमजोर बनाएको आरोपमा सरकारी वकिलहरू कारबाहीमा परे । मिलेमतोमै प्रहरी अनुसन्धान फितलो पारिएको खुल्दै गएको छ ।

कारोबार नै हेरिएन 
एउटै सेयर ब्रोकर कम्पनीबाट बारम्बार कारोबार गरेका व्यक्तिमध्ये केहीको नाम गत वर्ष लागूऔषध विवादमा मुछिएको कम्पनी र सञ्चालकका नामसँग हुबहु मिल्छ । औषधि उत्पादक एसआर ड्रग आफैं सेयर कारोबारमा संलग्न देखिन्छ । श्रुति अग्रवाल त्यसकी सञ्चालक हुन् । ब्युरो स्रोतका अनुसार पुष्पा, सुधालगायत एसआर सञ्चालकका नातेदार हुन् ।

सेयर कारोबारमा नाम जोडिएकी पुष्पा सञ्जय अग्रवालकी र सुधा मधुसूदन अग्रवालकी श्रीमती हुन् । अर्का कारोबारी भिवान श्रुति र अमित अग्रवालका छोरा हुन् । ठूलो संख्यामा सेयरलगायत लगानी र कारोबार हुँदासमेत मिलेमतोमा यो तथ्य लुकाएको भेटिएको छ । यीबाहेक आयाम, आशिष तथा स्वातीका नाममा समेत सेयर रहेको प्रहरीस्रोतले जनायो । लागूऔषध विवादमा मुछिएपछि यी सञ्चालकले आफ्नो र कम्पनीका नाममा रहेको सबै सेयर बेचिसकेका छन् । औषधि उत्पादक कम्पनीले आफ्नो आम्दानी सेयरमा लगानी गरेको सूचना ब्युरोलाई नभएको होइन । स्रोतका अनुसार ब्युरोले सूचना लुकाएकै कारण मुद्दा कमजोर हुन पुग्यो ।

‘लागूऔषधमा भएको अनियमितता, तिनका सञ्चालकको नामावली र उनीहरूले गरेको लगानीको विवरणसमेत हामीकहाँ उजुरीका रूपमा आएको रहेछ,’ उच्च प्रहरी अधिकारीले कान्तिपुरसित भने, ‘तर ब्युरोका तत्कालीन उच्च अधिकारीको आदेशमा लागूऔषध अनुसन्धान ब्युरोमा आएको सम्पत्ति र लगानीको विवरण नष्ट गरियो । अन्यत्र उनीहरूको सम्पत्ति र कारोबार खोजेजस्तो गरेर केही नभेटिएको भनी आरोपपत्र तयार गरियो ।’

एसआर, आर्या र टौरस कम्पनीका सञ्चालकमध्ये केही साझेदार छन् भने अरू नजिकका नातेदार हुन् । तीमध्ये एसआर र टौरस सञ्चालकको ठूलो कारोबार प्रहरीकै मिलेमतोमा लुकाइएको हो । केही सरकारी वकिलकै मिलेमतोमा मुद्दासमेत कमजोर बनाइयो । सञ्चालक तथा कम्पनीको खाता विवरण हेर्दा कारोबार अत्यन्त अपत्यारिलो देखिन्छ । अर्बौंको परिमाणमा कच्चा पदार्थ खरिद गरेको एसआरको खातामा २ लाख ८१ हजार रुपैयाँ मात्रै मौज्दात देखिएको थियो । जब कि उसले करोडौंमा गरेको सेयर कारोबार ब्युरोले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छैन ।

सञ्चालकहरूको विभिन्न बैंक खातामा रहेको एकमुष्ट रकमसमेत अपत्यारिलो छ । अमितका पाँचवटा खातामा जम्मा ६२ हजार रुपैयाँ मौज्दात छ । मधुसूदनको खातामा करिब ४ लाख तथा सञ्जयकुमार गुप्ताको खातामा एक लाख रुपैयाँ फेला परेको छ । आशिष अग्रवालका खातामा १८ लाख १४ हजार ९ सय ७८ मात्रै छ । प्रहरीले उनीहरूको सम्पर्क र सञ्जालमा रहेकाहरूको कारोबार र अन्य प्रमाण संकलन नै नगरी केवल सञ्चालकको खाता विवरण मात्रै उल्लेख गरेको हो ।

सरकारी वकिल पनि
मुद्दा कमजोर बनाएको आरोपमा महान्यायाधिवक्ता कार्यालयले तीन सरकारी वकिलमाथि प्रक्रिया अघि बढाए पनि एक जना मात्रै कारबाहीमा परे । काठमाडौंका सहन्यायाधिवक्ता टेकबहादुर घिमिरेलाई मन्त्रिपरिषद्ले गरेको निलम्बन सर्वोच्च अदालतले यथास्थितिमा राखेको छ । उनलाई महान्यायाधिवक्ता कार्यालयले डोटी सरुवा गरेको छ । उस्तै आरोपमा मुछिएका अरू दुई जना भने कारबाहीमा परेनन् । ललितपुरका सरकारी वकिल ईश्वरीप्रसाद बञ्जाडे पनि विवादमा तानिएका थिए । स्पष्ट नाम, ठेगाना खुलेका व्यक्तिलाई समेत उनले ‘नामथर, ठेगाना, बाबु/बाजेको नामसमेत खुली नआएको’ उल्लेख गरी उन्मुक्ति दिएको भेटिएको थियो । रतनलाल संघाई र मोहित हलानसहित आठ जनालाई प्रतिवादी बनाइएको आर्या फर्मा ल्याबको लागूऔषध मुद्दामा शंकरलाल हलानबारे उनले द्वैध अर्थ लाग्ने विवरण उल्लेख गरेका छन् ।

‘शंकर हलानको प्रस्ट नामथर, ठेगाना, बाबु/बाजेको नामसमेत खुली नआएको हुँदा पछि यकिन खुलेका बखत पूरक अभियोगपत्र पेस गरिने’ आरोपपत्रमा भनिएको छ । तर, आरोपपत्रकै अभियुक्तहरूका नाममा भने ‘दुगरमल हलानको नाति, शंकरलाल हलानको छोरा, पर्सा वीरगन्ज उपमहानगरपालिका १३ आदर्शनगर ठेगाना भएको आर्य फर्मा ल्याब प्रालिका डाइरेक्टर भनी नागरिकता नम्बरसहित मोहित हलान’ को विवरण उल्लेख थियो । धादिङको धार्केमा पनि यिनै सञ्चालकहरूको टोरस नामक औषधि उत्पादक कम्पनीको मुद्दा कमजोर बनाएको आरोपमा धादिङका सरकारी वकिल कार्यालय प्रमुख उपन्यायाधिवक्ता दयाशंकर अधिकारी विवादमा परे । ब्युरोले धादिङ प्रहरीमार्फत मधुसूदनबाहेकका चार जनाले नै टोरस कम्पनीमार्फत रासायनिक पदार्थ लागूऔषधका रूपमा दुरुपयोग गरेको भन्दै सोही आरोपमा मुद्दा चलाउन राय दिएकामा अधिकारीले तीन जनालाई मात्रै मुद्दा चलाएका थिए । ‘गत वर्षको लागूऔषध रसायन दुरुपयोग घटनामा प्रहरीदेखि सरकारी वकिलसम्म कसैले पनि आफ्नो जिम्मेवारी सही रूपमा निर्वाह नगरेको देखिन्छ,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘प्रहरीको व्यवहारमाथि अनुसन्धान भएको छैन भने सरकारी वकिलमाथि अरू अनुसन्धानसमेत बीचैमा रोकिएका छन् ।’

भिडियो पनि गायब 
ब्युरोले ‘स्युडोइफ्रिडन’ को अवैध कारोबारमाथिको अनुसन्धान बारा, सिमरामा फ्याक्ट्री रहेको आर्या फर्माबाट सुरु गरेको थियो । दोस्रो चरणको अनुसन्धानमा मात्रै ब्युरोले एसआर र टौरसमा छापा मारेको थियो । यसबीच प्रहरीले सुराकीका आधारमा कमलपोखरी सिटी सेन्टर नजिकै आर्या फर्मा ल्याब प्रालिका सञ्चालक दिलीप पण्डितलाई पनि पक्राउ गर्‍यो । पण्डितकै सूचनाका आधारमा पवन सांघाईले ललितपुरमा सञ्चालन गरेको प्लास्टिक फ्याक्ट्रीबाट ४ सय ७१ किलो ८८ ग्राम लागूऔषध बरामद भयो । अन्य कम्पनीमा छापा मार्दा पनि प्रहरीले पण्डितले दिएको सूचना उपयोग गरेको थियो ।

पण्डितले बयान फेर्न सक्ने आशंकामा ब्युरोले भिडियोमा समेत रेकर्ड गरेको थियो । स्रोतका अनुसार बयानमा पण्डितले औषधि व्यवस्था विभागका केही उच्च अधिकारी साथै अन्य केही सरकारी अधिकारी अवैध कारोबारबारे जानकार रहेको बताएका थिए । उनले ती अधिकारीसँगकै मिलेमतोमा ठूलो परिमाणमा कच्चा पदार्थ भित्र्याउन सफल भएको तथ्यसहितको बयान दिएका थिए । ब्युरोले सुरुमा सोही बयानलाई अनुसन्धान प्रतिवेदनमा राख्ने र त्यसका आधारमा थप अध्ययन गर्ने योजना बनाएको थियो । पछि एकाएक भिडियो रेकर्ड गायब बनाइयो । प्रहरी प्रतिवेदनमा त्यसबारे कुनै उल्लेख भएन । ब्युरोकै उपल्ला अधिकारी उक्त भिडियो कहाँ छ भन्नेबारे अनभिज्ञता दर्साउँछन् । घटना छानबिन गरिरहेका महान्यायाधिवक्ता कार्यालयका एक अधिकारी आवश्यक परे प्रहरी अनुसन्धानकै विषय पनि छानबिन हुने बताउँछन् ।

‘पक्कै केही गडबडी देखिन्छ,’ छानबिन समितिका एक सदस्यले भने, ‘अहिले हाम्रो छानबिन सरकारी वकिलको भूमिकामा केन्द्रित छ तर घटनाको प्रकृति हेर्दा प्रहरी अनुसन्धानसम्म पुगेर छानबिन हुनुपर्ने देखिन्छ ।’ यो गम्भीर मुद्दामाथि उच्च प्रहरी अधिकारीहरूको पनि स्वार्थ बाझिएको छ । स्रोत भन्छ, ‘ब्युरोमा जिम्मेवारी बदली भएलगत्तै यो मुद्दा फेरि ब्यँ‘ताउने प्रयास भएको थियो । सादा पोसाकका केही प्रहरी अधिकारी परिचालन गरी औषधि उत्पादक कम्पनी सम्बद्ध मान्छेमाथि निगरानी पनि बढाइएको थियो । तर, केही समयमै प्रहरी अनुसन्धानबाट फेरि पछाडि हट्यो ।’
कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली, जनकराज सापकोटाले लेखेको समाचार

चीनमा पानीजहानको ठक्करबाट पुल भत्किदा कयौं सवारीसाधन नदीमा डुबे

एजेन्सी, १० फागुन ।  दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ। यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो। पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटक सम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ। 

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा प्रथम हुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गरेका थिए भने अन्यले सम्मान र प्रमाणपत्र पाएका थिए। वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो । ४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएको थियो ।

क्यानडाविरुद्धकाे जीतमा नेपालका अनिल र भीमको कीर्तिमानी साझेदारी र दुबैको शतक

काठमाडौं, २९ माघ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।तर तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । त्यसलाई तोडेका अनिलकुमार र भीमले शतक पनि पुरा गरे । अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे ।भीमले १२१ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाए । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । यो जित सँगै नेपालले तीन वटै खेल जितेर प्रतियोगितामा क्यानडा विरुद्ध क्लिन स्विप गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोडेको थियो । क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए। त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए। विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। ४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो। रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १(१ विकेट लिए। फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग–२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो। लिग–२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब भएको बताएका छन् । सोनाम ल्होछारका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सकिने बताएका हुन् । “म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । प्रधानमन्त्री प्रचण्डले भने, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।” आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा महत्त्वपूर्ण कामहरू भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको स्पष्ट पारे । यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।” पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।” उनले राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सोनाम ल्होछार–२८६० को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको सर्वप्रथम तामाङ समुदायको मुख्य पर्व राष्ट्रिय सोनाम ल्होछार २८६० को ऐतिहासिक अवसरमा उपस्थित आदरणीय जनसमुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होछारको अवसरमा उहाँहरूमा समेत यसै मञ्चमार्फत हार्दिक शुभकामना व्यक्त गर्दछु । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको तथ्यमा हामी सबै स्पष्ट नै छौँ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यसर्थ, प्रकृति विज्ञानमा आधारित सोनाम ल्होसार तामाङहरूको मौलिक र ऐतिहासिक पर्व त हो नै, सभ्यताको सङ्गम, संस्कृतिको संकेन्द्ररण र उत्पादन पद्धतिमा अन्तरआवद्धता रहेको विशिष्ट पर्व हुनुको नाताले ल्होछार सम्पूर्ण नेपालीहरूको साझा पर्वसमेत हो । नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् । सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् । नेपाल भौगोलिक पूर्वमा सानो भएर पनि सभ्यता, संस्कृति र जातीय–भाषिक विविधताका दृष्टिले विश्वमै वैभवशाली देश हो । तर, विगतको सामन्ती, एकात्मक तथा केन्द्रीकृत राज्यसत्ताले जातीय, भाषिक, सांस्कृतिक, सामाजिक र क्षेत्रीय विविधतालाई राज्यको ठूलो सम्पत्तिको रूपमा ग्रहण गर्दै सम्वद्र्धन, विकास र बिस्तार गर्नुको सट्टा एकल जाति, एकल भाषा, एकल धर्म र संस्कृतिलाई प्रोत्साहित गर्ने र अरूमाथि दमन गर्ने नीति अख्तियार ग¥यो । हामीले जनयुद्धपूर्व नै नेपाली समाजको विविधतासहितको राष्ट्रिय एकतामा जोड दिएका थियौँ । महान् जनयुद्ध र संविधान निर्माणको दौरानमा पहिचान र सामथ्र्यमा आधारित राज्यको पुनर्संरचनाका निम्ति म र हाम्रो पार्टीले अन्तिमसम्म सङ्घर्ष गरेको कुरा तपाईहरूलाई जानकारी नै छ । त्यही सङ्घर्षको परिणामतः अपेक्षा गरिएअनुरूप अधिकारहरू संस्थागत गर्न नसकिए पनि संविधानमा गुणात्मक र महत्वपूर्ण अधिकारहरू स्थापित गरिएको छ । संविधानको प्रस्तावनामा नै ‘‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’’ गरिएको छ । हाम्रा माग र मुद्दाको सम्बोधनका दृष्टिले यो पूर्ण नभए पनि विगतका संविधानहरूको तुलनामा गुणात्मक परिवर्तन हो, क्रान्तिकारी छलाङ हो । यो यथार्थलाई हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्दछ । नेपालको संविधानमा ३० भन्दा बढी मौलिक हकको प्रबन्ध गरिएको छ, जसले नेपाली समाजको विविधता र नागरिकको अधिकारलाई प्रतिविम्बित गर्दछन् । सामाजिक न्यायको हकमा ‘‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पपसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने’’ व्यवस्था गरिएको छ । राज्यका निर्देशक सिद्धान्तहरूमा ‘‘परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ’’ भनिएको छ । यो पनि सामान्य सङ्घर्षले प्राप्त भएको अधिकार होइन । त्यसैगरि संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोग, धारा २६१ मा आदिवासी जनजाति आयोग, धारा २६२ मा मधेशी आयोग, धारा २६३ मा थारू आयोग र २६४ मा मुस्लिम आयोगको व्यवस्था गरिएको छ । संवैधानिक आयोगका रूपमा स्थापित यी आयोगहरू पहिचान र अधिकारको संरक्षण र प्रवद्र्धन गर्न दूरगामी महत्वका रहन्छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन । साथै धारा २६५ ले ‘‘यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरावलोकन गर्नेछ’’ भन्ने प्रबन्ध गरिएकाले भविष्यमा थप अधिकारको ढोकासमेत खुला राखिएको छ । पहिचान र अधिकार स्थापित गर्न वर्तमान संविधानमा जे–जति अधिकारको व्यवस्था गरिएको छ, यी सानो सङ्घर्ष र मेहेनतले प्राप्त भएका अधिकार होइनन् । यसका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको छ, हजारौँ योद्धाहरू बेपत्ता हुनुहुन्छ । लाखौँ योद्धाहरूले सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पित गर्नुभएको छ । लाखौँ जनसमुदायले परिवर्तनका पक्षमा उच्च योगदान गर्नुभएको छ । यो यथार्थलाई बोध गर्दै क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ । मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूपमा कार्यालयहरूको स्थापनामा महत्वपूर्ण कामहरू भएका थिए । अहिले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको कुरा तपाईहरूले बुझ्नुभएकै छ । मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । यही अवधिमा राष्ट्रिय समन्वय परिषदका २ वटा बैठकहरू सम्पन्न भएका छन्, कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा छ । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिचान र अधिकारका पक्षधर तपाई उत्पीडित वर्ग, जाति र समुदायको सहयोग रह्यो भने सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को हान्न सकिन्छ । म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु– पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् । अन्त्यमा, राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकतावद्ध भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । फेरि एकपटक तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

लोकप्रिय