विपद् जोखिम न्यूनीकरणको लागि सडक नाटक
मेलम्ची, माघ २५ । विपद् जोखिम न्यूनीकरणका लागि अहिले मेलम्चीमा सचेतनामूलक सडक नाटक हुन थालेका छन् ।
मापदण्ड विपरित बनेका र निर्माण चरणमा रहेका भौतिक संरचनाले निम्त्याउन सक्ने क्षति र यसको न्यूनीकरण गर्नका लागि अपनाउनुपर्ने उपायका सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाविसमा सरकारी तथा गैरसरकारी सामाजिक सङ्घसंस्थाले अहिले सडक नाटकमार्फत सचेतना ल्याउने अभियानमा जुटेका छन् ।
भौतिक संरचना निर्माण गर्दा ‘भूकम्पप्रतिरोधी भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने विषयमा सबैलाई जानकारीका लागि उनीहरुले सडक नाटक कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाएका छन् ।
यसैक्रममा कारितास जर्मनी र कारितास नेपालको समन्वयमा जनहित ग्रामीण सेवा समितिले जिल्लाका बतासे, स्याउले, सिम्पाल काभ्रेलगायतका विकट गाउँमा यस सम्बन्धी सडक नाटक सञ्चालन गरेका छन् । अहिले गाउँघरमा आफू खुशीले घर बन्न थालिसकेका छन् । सरकारको मापदण्ड एकातिर छ त्यसलाई अनुशरण गरेर घर बनाउने व्यक्ति गाउँमा धेरै कम मात्रामा फेला पर्छन् ।
तर, यसतर्फ सरकारको ध्यान पुग्न नसकेकाले भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिताअनुरुप भवन निर्माण गर्नका लागि जनचेतना जगाउन सडक नाटक अभियान सुरु गरिएको जनहित ग्रामीण सेवा समितिले जनाएको छ ।
२०७२ को विनाशकारी भूकम्पमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोकको अवस्था भूकम्पको २१ महिना बित्नै लाग्दा पनि चिन्ताजनक देखिन्छ ।
सरकारी अनुदान पाउने प्रक्रिया पीडितका लागि झन्झटिलो भएको गुनासो पीडित छ ।
एकमुष्ट रकम वितरण गर्न नसक्दा पीडितले अहिलेसम्म स्थायी आवस निमार्ण गर्नसकेका छैनन् । यस्तो अवस्थाले भविष्यमा झन् ठूलो विपत्ति निम्त्याउन सक्ने दावी स्थानीयको छ ।
सडक नाटकमार्फत चेतना जगाउनाले पीडितको मानसिकतामा सकरात्मक प्रभाव पर्ने संस्थाको दाबी छ ।
नाटक हेर्न विभिन्न गाउँबाट सयौंँको सङ्ख्यामा स्थानीयवासी भेला हुने गर्छन् । नाटकमा विपतका प्रकार र विपत् आइहालेमा त्यसको लागि के-के तयारी अपनाउनुपर्छ भन्ने विषयवस्तु समेटिएको समितिले जनाएको छ ।
काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ । विभागले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
आज क्रिसमस डे मनाइँदै
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो । दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।
अखिल क्रान्तिकारीमा नीति र नेतृत्व छान्न देशैभरि चुनाव हुने
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका शीर्ष नेता, निवर्तमान अध्यक्ष, फ्याक्सन इन्चार्ज, निर्वाचन आयोगका पदाधिकारीसहितको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । त्यसका लागि पुस १३ गते निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए । शर्माका अनुसार दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । शर्माका अनुसार उमेर हदसम्बन्धी निर्वाचन ७७ जिल्लामा हुनेछ । नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो । दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।
हुम्लामा हिमपात, जनजीवन प्रभावित
हुम्ला । हुम्लामा गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् । रासस