विमानस्थल सुरक्षा प्रभावकारी बनाउन निर्देशन
पोखरा, असोज १९ । प्रदेश नं ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले विमानस्थल सुरक्षालाई प्रभावकारी बनाउन सम्बद्ध निकायका कर्मचारीलाई निर्देशन दिएको छ ।
विमानस्थल सुरक्षा गार्ड पोखराको बुधबार निरीक्षण तथा अवलोकनका क्रममा उहाँले विमानस्थल जस्तो संवेदनशील स्थानको सुरक्षा सुव्यवस्था कायम राख्न उच्च सतर्कताका साथ चुस्तदुरुस्त रुपमा प्रहरी परिचालन गरी सेवाग्राहीलाई सुरक्षित महसुस हुने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए ।
उनले विमानस्थलमा रहेका सम्पूर्ण कक्षका साथै सुरक्षा सतर्कताका लागि जडान गरिएका स्रोतसाधनको निरीक्षण गर्दै विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीको कार्यालय, ब्यारेक, मेशलगायतको निरीक्षण गरे ।
उहाँले विमानस्थल विभिन्न देशका नागरिकको आवागमन हुने प्रमुख स्थानसमेत भएकाले यसमा विभिन्न आपराधिक क्रियाकलापसमेत हुन सक्ने बताउँदै यसप्रति सधैँ चनाखो रहन समेत निर्देशन दिए ।
निरीक्षण कार्यक्रममा संघीय एकाइ प्रहरी कार्यालय, गण्डकीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतम, ४ नं प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरलगायतका प्रहरी अधिकृतको उपस्थिति थियो ।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।