व्यवस्थाप्रतिको विश्वास जगाउनु सरकारको प्रमुख उपलब्धि : मन्त्री शर्मा

व्यवस्थाप्रतिको विश्वास जगाउनु सरकारको प्रमुख उपलब्धि : मन्त्री शर्मा

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउनसक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्थाप्रति चरम निराशा फैलाउने काम भइरहेको बेला सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको बताइन् ।

‘नेपाल ठूलो निराशातर्फ गइरहेको थियो र केहीले त्यसका लागि योजनाबद्ध पहल पनि अघि बढाएका थिए’, मन्त्री शर्माले भनिन्, ‘ठूलाले जे गरे पनि हुन्छ भन्ने गलत भाष्य स्थापित हुँदा निराशा बढिरहेको बेला वर्तमान सरकारले सुशासनको क्षेत्रमा थालेको ऐतिहासिक पहलका कारण जनताको विश्वास बढ्न गएको छ र संभवतः पहिलोपटक सरकार जनतासँग जोडिएको छ ।’

आफ्नो देशका नागरिकलाई अर्को देशको नागरिक बनाएर तेस्रो देश पठाउने, हजार सावा दिएर लाखौं ब्याज लिने मिटरब्याजजस्ता मानवताविरुद्धका अपराध रोकेर ती प्रकरणमा संलग्नहरुमाथि कारवाही थालिनु सुशासनको पक्षमा महत्वपूर्ण कदम भएको पनि उनले स्पष्ट गरिन् । सत्ता र शक्तिमा पुगेकाहरुले जे गरे पनि हुने गलत प्रवृत्तिको अन्त्य गरी देशका उपप्रधानमन्त्री, गृहमन्त्री तहसम्म पुगेका व्यक्तिहरुलाई पनि कानुनी कठघरामा जाने स्थिति वर्तमान सरकारले सुशासनको पक्षमा गरेको प्रयासको परिणाम भएको मन्त्री शर्माले स्पष्ट गरिन् ।

प्रधानमन्त्रीले गल्ती गरे आफूलाई समेत छानविन गर्न सार्वजनिक गरिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘छानविनका क्रममा गल्ती भेटिए मलाई समते नछाड भनेर कुनै प्रधानमन्त्रीले भनेको इतिहास छैन । उनले पार्टीभित्रका नेताहरुलाई पनि गल्ती गएको भए जेल जाने मानसिकता बनाइराख्न निर्देशन दिएकी छन्, यो चानचुुने विषय होइन ।’

उनले अन्य दलजस्तै माओवादीका केही नेता कार्यकर्ता बिग्रेको यथार्थ भए पनि समग्र पार्टी र आन्दोलन नै बिग्रियो भन्नु सही नभएको स्पष्ट गरिन् । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका शर्माले भनिन्, ‘हामी केही बिग्रेकै हो तर सप्रेका अरु दलभन्दा बिग्रेका माओवादीहरु धेरै अगाडि छन्, अहिले सुरु भएको तीन महिने अभियानले बिग्रेको क्षेत्रमा पनि सुधार गर्नेछ ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जयपुरी घर्तीले निरन्तर क्रान्तिको सिद्धान्तअनुसार राजनीतिमा सक्रिय हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरिन्। अहिले सरकारले महत्वपूर्ण काम गरे पनि पार्टीमा केही सुस्तता देखिएको उल्लेख गर्दै उनले ऐतिहासिक राजनीतिक परिवर्तनको श्रेय लिने गरी अभियानमा लामबद्ध हुन आग्रह गरिन् । नेतृत्वको राम्रो कामको समर्थन र गलत कामको आलोचना गरेर अघि बढ्न पनि उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरिन्।

पार्टीले विकास निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले विचारसहितको विकासलाई जोड पनि आग्रह गरिन्। शान्तिपूर्ण बाटोबाटै समाजवादी क्रान्ति गर्ने धेयका साथ पार्टी अघि बढेकाले अब हरेक नेता कार्यकर्ताले संविधान, कानुन, बजेट निर्माण, कार्यान्वायन र मूल्यांकन प्रक्रियालाई ध्यान दिनुपर्ने बताइन् ।

माओवादी केन्द्र घोराहीका अध्यक्ष रमेशकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु हेमराज शर्मा, गुणेन्द्र घर्तीलगायतले सम्बोधन गरिन् । कार्यक्रम सञ्चालन नगर सचिव भागीदास चौधरीले गरेका थिए। कार्यक्रममा घोराही उपमहानगरपालिकाका १९ वटै वडाका नेतृत्वले रिपोर्टिङ गरेका थिए ।

यस्तो छ आजको मौसमः केही भूभागमा वर्षाको संभावना

काडमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराई भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ६ बजेर २६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

कीर्तिपुर र काठमाडौ १६ मा माओवादी केन्द्र–एकीकृत समाजवादी तालमेल

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह उपनिर्वाचनमा काठमाडौँको दुई सिटमा तालमेलको सहमति बनेको छ । सहमतिअनुसार काठमाडौँ -१६ मा एकीकृत समाजवादीलाई माओवादी र कीर्तिपुर नगरपालिकामा माओवादीलाई एकीकृत समाजवादीले सहयोग गर्ने सहमति भएको हो । शनिबार बसेको दुई पार्टीबिचको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गर्ने र काठमाडौँ महानगरपालिका वडा नं. १६ को वडाअध्यक्ष पदका उम्मेदवार मिनबहादुर मानन्धरलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने निर्णय गरेको छ । 

गोरखामा जूनको उज्यालोमा मकै सुकाउने रमाइलो पर्व

गोरखा । गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । गोरखाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धुमधामका साथ मनाइएको हो ।  ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जूनको उज्यालोमा सामूहिक रूपमा मकै सुकाएर पर्व मनाएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । ठूलो आँगनमा प्लाष्टिक ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न राखिएको थियो । पर्व मनाउन स्थानीयले घरबाट मकैसहितका गेडागुडी र अन्नबाली ल्याएर सुकाएको अन्नलाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । नेवार समुदायका अगुवासमेत रहेका ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले झण्डै ४० वर्षदेखि मनाउन छोडिएको यो पर्व विगत तीन वर्षदेखि सामूहिक रूपमा मनाउन थालिएको जानकारी दिए । कात्तिक शुल्क पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना केराउलगायतका गेडागुडी, फलफूल, शखरखण्डका साथै खाद्यान्न जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाउने गरिएको उनको भनाइ छ । शुक्ल पूर्णिमाको दिन जूनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने धार्मिक विश्वाससमेत रहेको उनको भनाइ छ । यो पर्व परम्परागत रूपमा नेवार समुदायले घरघरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिक रूपमा मनाउन थालिएको छ ।  परम्परा र संस्कतिलाई पुस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको तीन वर्षदेखि पुनः मनाउन थालिएको श्रेष्ठको भनाइ छ ।  कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले लोप हुनै लागेको मकै सुकाउने पर्वको जर्गेना गर्न स्थानीय समुदायले थालेको प्रयास सराहनीय भएको बताए । सोही अवसरमा नेवार समुदायको परम्परा र संस्कृति झल्कने पोसाकमा सजिएर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको आयोजकले जनाएको छ ।

बेपत्ता र सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिने म्याद थप

काठमाडौं । सरकारले द्वन्द्वकालीन घटना टुंग्याउन महत्त्वपूर्ण मानिएका दुई आयोगको अध्यक्ष र सदस्यमा आवेदन दिने म्याद थप गरेको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्न समिति गठन गरेको थियो । सोही समितिले २३ कात्तिकमा दुवै आयोगका अध्यक्ष र सदस्यमा आवेदन आह्वान गर्दै एक सूचना प्रकाशित गरेको हो । उक्त सूचनामा इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरिएको छ । सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । तर, आज फेरि अर्को सूचना प्रकाशित गर्दै समितिले मंसिर ४ सम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । आवेदन फाराम www.trc.gov.np, www.ciedp.gov.np, www.moljpa.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

लोकप्रिय