समाचार संकलनका क्रममा पत्रकार कुटपिट गरिएकोप्रति महासंघको ध्यानाकर्षण
काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघ बागलुङ शाखाका सचिव विजय रानालाई समाचार संकलनका क्रममा प्रहरीले कुटपिट गरी घाइते बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रोसन पूरीले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएका हुन् । महासंघ बागलुङ शाखाका अनुसार पुस २१ गते शनिबार बागलुङको धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा चलिरहेको बागलुङ महोत्सव हेर्न आएका सर्वसाधारणमाथि महोत्सव सकेर निस्कने क्रममा राति १०ः३० बजेको समयमा प्रहरीले लाठीचार्ज गरेको थियो ।
सोही घटनाको तस्बीर तथा भिडियो खिच्ने क्रममा प्रहरीले पत्रकार रानालाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाउनुका साथै उनको मोवाइल फोनसमेत खोसेको शाखाले जनाएको छ ।
संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको उपभोगका क्रममा पत्रकारमाथि प्रहरीबाट भएकोे यो ज्यादती प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो । नागरिकको सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीबाट भएको यो घटनाले प्रेसको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेको थप दर्साएको छ ।
महासंघ प्रेस स्वतन्त्रताविरुद्धको यो ज्यादतीमा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, घाइते पत्रकार रानाको उपचारको व्यवस्था गर्न पनि माग गर्दछ ।
यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज यूएईसँग खेल्ने
काठमाडौं । आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्व खेल्ने भएको छ । नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुनेछ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ आठ रनले हराएको थियो । प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदै छ । रासस
आजको मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा
काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ शनिबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।
नायणगढ-मुग्लिन सडक दुर्घटना : मृतक पाँचै जनाको सनाखत
नारायणगढ। नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गोर्खा आरुघाटका राजबहादुर गुरुङ, विद्युतीय सवारी साधनका चालक चितवन खैरहनीका अनोज अधिकारी, नवलपरासी विनयत्रिवेणीका सन्तोष भुषाल, सविना भुषाल र भारत घर भएर पोखरा बस्ने कुमार साह हुनुहुन्छ। भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रबार बिहान विद्युतीय गाडी र बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।
टेनिस खेलाडी सेलिशाको निधन
काठमाडौँ। नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ। टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिनुभएको हो। ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ। सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियन्सीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद ९साग० मा खेल्नुभएको थियो। उहाँले सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाउनुभएको थियो। अखिल नेपाल टेबल टेनिस संघले सेलिशाको स्वास्थ्य उपचारका लागि राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता पनि आयोजना गरेको थियो। सेलिशाको उपचारका लागि सहयोग जुटाउन टेबल टेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो।