सरकारको एक वर्ष : जलवायु कूटनीतिमा नयाँ आयाम

सरकारको एक वर्ष : जलवायु कूटनीतिमा नयाँ आयाम

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न कोप–२८ सम्मेलन अहिले नेपालमा चर्चाको विषय बनेको छ । हुन त हरेक वर्ष आयोजना हुने यस्ता कोप सम्मेलनको नेपालमा त्यति चर्चा भएको पाइँदैन तर यसपालिको कोप जलवायु परिवर्तनको सवालमा आफ्नो मुद्दासहितको दर्बिलो उपस्थितिले गर्दा पनि निकै चर्चा पाएको हो । कोपको चर्चा त संयुक्त रष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटरेसको अक्टोबर २०२३ मा नेपाल भ्रमणपश्चात् नै सुरू भएको थियो । महासचिव गुटरेसले उक्त सम्मेलनमा हिमाली तथा पर्वतीय मुलुकको मुद्दालाई आफ्नो भाषणको प्रमुख अंश बनाएका थिए र हिमाली तथा पहाडी मुलुकमा जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई सम्बोधन गरिनुपर्ने कुरा बताएका थिए ।

त्यस्तै कोप–२८ मा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेपालले शून्य बराबरको उत्सर्जन गरे पनि सबैभन्दा बढी प्रभावित भएको र यसपालि आफू ती निर्दोश जनता जो बिना कुनै कसुर जलवायु परिवर्तनको नकारात्मक असर खेपिरहेका छन् उनीहरुको आवाजलाई बुलन्द गर्न आएको बताउनुभएको थियो । यी दुई माथिका भनाइले के बताउँछ भने हिन्दूकुश हिमालय र त्यसमा आश्रित मान्छेहरू सङ्कटमा रहेको कुरा प्रष्ट हुन्छ । त्यसो त गुटरेस गत अक्टोबरमा नेपालको भ्रमणको क्रममा हिमालयमा जलवायु परिवर्तनको असरबारे सगरमाथा, अन्नपूर्ण र लुम्बिनीबाट विश्व समुदायलाई एकैपटक वक्तव्यमार्फत सन्देश दिएका थिए । त्यसले विश्व मानचित्रमा नेपाल र हिमालय शृङ्खलालाई विश्वभर चिनाउन सफल भएको छ । गुटरेसको भ्रमणपश्चात् नेपालमा जलवायु परिवर्तनको मुद्दाबारे नयाँ शिराबाट बहस सुरू हुन थाल्यो भने हिमालय शृङ्खलामा जलवायु परिवर्तनले पारेको असरबारे विश्वस्तरमा नै बहस तथा छलफलको विषय बन्न पुग्यो ।

नेपालमा पनि जलवायु परिवर्तनको मुद्दाको बहस परम्परागतभन्दा फरक तरिकाले सुरू हुन थाएको छ । कोपको पूर्वसन्ध्यामा सरकारले आयोजना गरेको जलवायु सम्मेलनले आफ्नो धारणालाई प्रष्ट पारेको छ । प्रधानमन्त्री दाहालले कोपमा आफूले कम विकसित राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित छन् अझै हिमालय क्षेत्र झनै बढी प्रभावित रहेको कुरालाई विशेष महत्वका साथ उठाउनुभएको थियो । उहाँले भन्नुभएको थियो, “जलवायु परिवर्तनबाट भएको असर कम गर्नका लागि आर्थिक सहायता वा वित्तको लागि हामीले सहयोगको याचना गर्ने हैन कि पाउने नैसर्गिक अधिकार हो ।” उक्त जलवायु सम्मेलनमा नेपालले जलवायु न्यायको आधारमा अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानीमा प्रदान गरिने जलवायु वित्त अनुदान प्राप्ति तथा प्राप्तिको लागि जटिल प्रक्रियागत झन्झटलाई हटाएर सहज र सरलीकरण गरिनुपर्ने, जलवायु न्यायमा आधारित वित्तदाताहरू तथा महाशक्ति राष्ट्रहरूको इच्छा तथा अनुकूलतामा हैन कि नेपालको राष्ट्रिय हितमा हुनुपर्ने, पर्वतीय राष्ट्रमा जलवायु परिवर्तनबाट परेको असर र यहाँका जनताले भोग्नुपरेको त्रासदीको बारेमा विश्वको ध्यानाकर्षण गराउने कुराहरू प्रमुख रहेका थिए ।

यस परिवेशमा नेपालले कोपमा जानुअगावै आफ्नो तयारीको साथ प्रस्तुत गर्नको लागि विभिन्न फोरम तथा बैठकहरू आयोजना गरी आफ्ना मुद्दाहरूको बारेमा तयारी थालिएको थियो र परम्परागत तरिका र विधिलाई फेर्दै नयाँ ढङ्गले प्रस्तुत हुने योजनाको साथ प्रधानमन्त्री दाहालले कोपमा भाग लिनुभएको थियो । कोप–२८ मा नेपालको प्रस्तुति विगतको भन्दा फरक ढङ्गको हुने र यसलाई एउटा अवसरको रूपमा प्रयोग गर्ने प्रधानमन्त्रीले बताउनुभएको थियो ।

नेपालले कोपमा पहिलोपटक आफ्नै पभेलियन लियो र उक्त पभेलियनमा प्रधानमन्त्रीले उच्चस्तरीय गोलमेचको आयोजना पनि गर्नुभयो । उक्त गोलमेचको प्रमुख वक्ता राष्ट्रसङ्घका महासचिव, एण्डोराका प्रधानमन्त्री तथा अन्य देशका विशिष्ट अतिथिको उपस्थिति रहेको थियो । सो गोलमेचमा नेपालको हिमालयमा जलवायु परिवर्तनले पारेको असरका बारेमा छलफल भएको थियो र पर्वतीय मुलुकहरूमा जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्न तत्काल पहल गर्नुपर्ने कुरामा छलफल भएको थियो । नेपालको पभेलियनमा अन्य विषयमा पनि व्यापक छलफल भएको थियो ।

नेपालले आफ्नै पभेलियन लिएर कोपको अवधिभर आफ्नो प्रस्तुतिलाई बलियो बनाएको थियो । सम्मेलनमा प्रधानमन्त्रीले भन्नुभएको थियो, “जलवायु परिवर्तन प्रकृति र मानवताविरुद्धको युद्ध’ भएको र आफ्नो स्वार्थ पूरा गर्नका लागि हामी आफैँ र भावी पुस्तासँग समेत लडिरहेका छौँ र म यहाँ मेरो निर्दोष मानिसका लागि जलवायु न्यायका लागि उभिएको छु जो यस प्रकोपबाट पूर्ण पीडित छन् ।”

सम्मेलनमा उहाँले तापक्रम वृद्धिले पर्वतीय देशहरू आक्रान्त भएका छन् र यसको असरले जनता र यस ग्रहलाई नै विश्वस्तरीय सेवा दिइरहेको हिमालयको पारिस्थितिकीय प्रणाली, जैविक विविधता, मानव सभ्यता र जनजीविकाको आधारलाई नै खल्बल्याएको उल्लेख गर्नुभयो ।

सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिवले सम्बोधन गर्ने क्रममा नै नेपालको हिमालय र अन्टार्टिकाको मुद्दालाई महत्वका साथ उठाएको र यसले पर्वतीय मुलुकहरूको मुद्दालाई अब सम्बोधन गर्नुपर्ने कुरालाई महत्वका साथ उजागर गरेका छन् । यसपालिको कोपमा नेपालले अन्तर्राष्ट्रियस्तरमा देशको अवस्थिति र जलवायु परिवर्तनले गर्दा उत्पन्न आक्रान्त अवस्थालाई दर्बिलो ढङ्गले प्रष्टसँग प्रस्तुत गर्न सकेको छ । नेपालले आफ्ना मुद्दाहरू परम्परागतभन्दा फरक ढङ्गले प्रस्तुत गरी जलवायु कूटनीति, जलवायु न्याय, जलवायु वित्त तथा वित्तमा सहज र सरल पहुँचको सन्दर्भमा नयाँ बहसको थालनी गरेको छ ।

नेपालले जलवायु न्यायको कुरालाई प्रखररूपमा राख्न सफल भयो, ‘याचना हैन अधिकार हो’ भन्ने कुरालाई राम्रोसँग स्थापित ग¥यो । अन्तर्राष्ट्रिय जलवायु परिवर्तन वित्तमा अल्पविकसित तथा गरिब मुलुकहरूलाई सरल, सहज पहुँचको विषयलाई प्रस्तुत ग¥यो । सबैभन्दा महत्वपूर्ण कुरा त नेपालको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय नीति तथा कुटनीति समुद्र तटीय देशहरूको अनुकूलतामा आफूलाई समाहित गर्दै उनीहरूको मुद्दामा सहमत जनाउँदै आएको थियो यो निरिहतालाई यसपालिको कोपले परिवर्तन ल्याएको छ । यसरी समुद्र तटीय देशहरूको अनुकूलतामा बरालिएको नेपालको जलवायु कूटनीतिलाई नेपालको अनुकूलतामा ल्याउन यसपालिको कोपले महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपाल तथा पर्वतीय मुलुकहरूको मुद्दालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । यसभन्दा पहिला पर्वतीय मुलुकहरूको मुद्दा अस्थायीरूपमा थियो तर यसपालिको कोपमा यस मुद्दालाई प्रमुखरूपमा उठानको लागि देशको तर्फबाट राम्रो पहल भएको छ । अतिकम विकसित राष्ट्रहरूको नाममा समुद्र तटीय देशहरुका मुद्दाहरूमा समाहित हँुदै आएको र सीमित स्वार्थ केन्द्रित सङ्घ, संस्था र व्यक्तिको कब्जामा रहेको नेपालको जलवायु परिवर्तनको मुद्दालाई यसपालिको कोपले समग्र देशको पक्षमा केन्द्रित गर्न सफल भएको छ । अन्यत्रै रुमलिएको वा बरालिएको नेपालको जलवायु कूटनीतिलाई अहिले राष्ट्र हितमा वा राष्ट्रको पक्षमा ल्याउन करिब सफलताको खुड्किलोतिर गएको छ । अब बाँकी नेपालको शासकीय प्रणालीले कोप–२८ को क्रममा लिइएको पहलकदमीबाट सकारात्मक परिणाम निकाल्नका लागि कस्तो भूमिका निर्वाह गर्दछ हेर्न बाँकी छ ।।

(लेखक जलवायु परिवर्तनसम्बन्धी विषयका विज्ञ हुनुहुन्छ)

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय