सामाजिक सञ्जालसम्बन्धी कानुनको मुख्य आधार सामाजिक मूल्य मान्यता : मन्त्री शर्मा

सामाजिक सञ्जालसम्बन्धी कानुनको मुख्य आधार सामाजिक मूल्य मान्यता : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सामाजिक सञ्जालको प्रयोगको न्यूनतम आधार नेपाली समाजले अङ्गाग्दै आएको सामाजिक मूल्य मान्यता हुनुपर्ने बताएकी छिन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सामाजिक सञ्जालसम्बन्धी कानुन तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग गरेको अन्तर्क्रियामा उनले सामाजिक मूल्य मान्यतालाई आधार बनाएर नै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कानुन बनाउनुपर्ने बताइन् ।

‘आजको सूचना प्रविधिको युगमा सामाजिक सञ्जाल नै प्रयोग हुदैन भन्ने होइन किनकि यो नेपाली समाजको जीवनशैली बन्न थालेको छ’– उनले भनिन्– ‘तर, नेपाली समाजको मूल्यमान्यतासँग यसको सामञ्जस्यता कसरी मिलाउने भन्ने सन्दर्भमा नै कानुन निर्माणको आवश्यकता महसुस भएको हो । त्यसका लागि सञ्चार तथा सूचना मन्त्रालयले एउटा टोली बनाएर लामो समयदेखि कानुन तर्जुमाको मस्यौदा गरिरहेको छ ।’

नेपाली समाज पश्चिमा समाजभन्दा फरक भएकाले पनि अन्य देशले जस्तै नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग हुनुपर्छ भन्ने धारणा सही नभएको स्पष्ट गर्दै मन्त्री शर्माले भनिन्– ‘हाम्रो समाज तीन पुस्ता एउटै घरमा बसेर पारिवारिक र सामाजिक सद्भावसहित सांस्कृतिक मूल्यमान्यताको हस्तान्तरण गर्दै अघि बढेको समाज हो । त्यसैले १८ वर्ष उमेर पुग्दा नपुग्दै घर छाडेर फरक फरक संस्कृति अवलम्बन गर्ने नागरिक बसोबास गर्ने समाजका मूल्यमान्यता यहाँ लागु हुनुपर्छ भन्ने धारणा सही होइन ।’

सामाजिक सञ्जाल सम्बन्धी कानुन निर्माण गर्दा नेपाली जनताले लडेर ल्याएको अभिव्यक्ति स्वतन्त्रताको हकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिंदै उनले नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रताको हक र नेपाली समाजको विशिष्ट मूल्य मान्यताको रक्षाको सवाललाई केन्द्रमा राख्नुपर्ने बताइन्।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका जारी भइसकाले सो निर्देशिका पनि कानुनमा निर्माणको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै मन्त्री शर्माले यसमा स्वनियमन, सचेतना र नियमनलाई आधार बनाइने बताउनुभयो । ‘सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने गराउने यसको पहिलो जिम्मेवारी उपभोक्ता र सम्बन्धित प्लेटफर्मकै हो’– उनले भनिन्– ‘त्यसैले हामीले कानुन निर्माण गर्दा स्वनियमनमै जोड दिने छौं ।’

स्वनियमनमा सहयोग पुगोस् भनेर विद्यालय शिक्षाको पाठ्यक्रममा उल्लेख गर्नेदेखि आम सञ्चारको माध्यमबाट साइबर सचेतनामा जोड दिने र त्यति गर्दा पनि सामाजिक सञ्जालको प्रयोग सुरक्षित हुन नसकेको खण्डमा नियमन गर्ने गरी कानुन निर्माणको तयारी भइरहेको मन्त्री शर्माले जानकारी दिइन्।

आम सञ्चार र सूचना प्रविधिको क्षेत्रमा धेरै परिवर्तन भए पनि पुराना कानुनबाट अघि बढ्न संभव नभएकाले आफ्नो मन्त्रालय कानुन निर्माणमा केन्द्रित रहेको जानकारी दिंदै मन्त्री शर्माले कानुन निर्माणको औपचारिक र परम्परागत तरिकाबाट भन्दा पनि सकेसम्म धेरै क्षेत्रको राय आओस् भनेर कानुन मस्यौदाका क्रममा सरोकारवालासँग छलफल गर्ने र मस्यौदा निर्माण भएपछि वेबसाइटमा राखेर सार्वजनिक बहसका लागि आह्वान गर्ने गरिएको स्पष्ट गरिन् ।

अन्तर्क्रियामा कानुन व्यवसायी, सूचना प्रविधि क्षेत्रका जानकार र डिजिटल मिडिया सञ्चालकलगायत विभिन्न क्षेत्रका सरोकारवालाहरुले सामाजिक सञ्जालसम्बन्धी कानुनमा समावेश गर्नुपर्ने विभिन्न पक्षहरुको बारेमा राय सुझाव दिएका थिए । मन्त्रालयका सञ्चार महाशाखा प्रमुख तथा सामाजिक सञ्जालसम्बन्धी कानुन मस्यौदा समितिका संयोजक नेत्रप्रसाद सुवेदीले मस्यौदाका अन्तर्वस्तुबारे प्रस्तुतिकरण गरेका थिए ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय