सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, तपाईँको टाउकामा ऋणको भार कति छ ?

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, तपाईँको टाउकामा ऋणको भार कति छ ?

काठमाडौं । तपाईँको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाइसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगत रुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो । तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वाभाविक रुपमा रहन सक्छ नै ।

सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हरेक नेपालीको टाउकामा रु ६३ हजार ३१० बराबरको ऋणको भार परेको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १४ गते प्रतिनिधिसभामा पेश गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार नेपालको कूल सार्वजनिक ऋण रु १८ खर्ब ४८ अर्ब १९ करोड बराबर पुगेको छ । यो नेपाली जनताले तिर्नुपर्ने ऋण भने होइन । तर, सरकारले तिर्ने ऋण भने अवश्य नै हो ।

आर्थिक सर्वेक्षण २०७८र७९ अनुसार गत फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो । कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको मात्रा कम छ भने बाह्य ऋणको मात्रा बढी छ । रु. आठ खर्ब ६३ अर्ब १९ करोड आन्तरिक हो भने रु नौ खर्ब ८४ अर्ब ९९ करोड भने विभिन्न दातृ निकाय र बहुपक्षीय निकायले नेपाललाई उपलब्ध गराएको ऋण हो ।

गत वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण रु १७ खर्ब ३७ अर्ब ६४ करोड बराबर थियो । सरकारले फागुन मसान्तसम्म थप रु ८९ अर्ब ५० करोड आन्तरिक ऋण लिएको छ र यस्तै, अनुदान र ऋण गरी बाह्य सहायता रु ४७ अर्ब ९४ करोड लिएको छ ।

पछिल्लो तीन वर्षमा मुलुकको ऋणभार दोब्बरले बढेको देखिन्छ । विवरणअनुसार २०७४ को फागुनमा सरकारको कूल ऋण रु आठ खर्ब ४३ अर्ब रहेकोमा ०७७ फागुनसम्म त्यो बढेर रु १५ खर्ब ८९ अर्ब ४६ करोड बराबर पुगेको थियो ।

त्यसपछि पनि लगातार सार्वजनिक ऋणको मात्रामा वृद्धि भएको देखिन्छ । सरकारको सार्वजनिक ऋणको मात्रामा क्रमशः वृद्धि हुँदै गएपछि बजेटमा नै वित्तीय व्यवस्थाअन्तर्गतको शीर्षकमा समेत क्रमशः बजेट वृद्धि हुँदै गरेको विवरणबाट देखिन्छ ।

यही जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत बराबरको बजेट विनियोजन गरिएको छ ।

चालू आवमा रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको थियो । त्यसमध्ये हालसम्म रु ८२ अर्ब ४८ करोड २३ लाख बराबरको रकम भुक्तानी गरिसकिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कूल लक्ष्यका हालसम्म ४३ दशमलव ५४ प्रतिशत भुक्तानी गरिएको छ । सरकारको लक्ष्यअनुसार वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२ दशमलव ७ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

चालू आवमा कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८ दशमलव ६ प्रतिशत हुने संशोधित अनुमान सरकारको छ । कुल सरकारी खर्च मध्ये चालु खर्च रु नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१ दशमलव २ प्रतिशत, पुँजीगत खर्च रु तीन तीन खर्ब नौ करोड अर्थात् ७९ दशमलव ४ प्रतिशत हुने सरकारको अनुमान छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट रु ५५ अर्ब ४६ करोड व्यहोर्दा रु चार खर्ब ९८ अर्ब २६ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु दुई खर्ब ४२ अर्ब २६ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद रु दुई खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने गरी प्रबन्ध गरिएको छ ।

यसबाट पनि सार्वजनिक ऋणको मात्रामा बढोत्तरी हुने नै देखिन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार २०७६ मा रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख बराबर बजेट वित्तीय व्यवस्थाका लागि विनियोजन भएको थियो ।

त्यस्तै २०७७ मा रु एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख बराबरको जोहो गरिएको थियो । त्यस्तै २०७८ मा रु एक खर्ब ७२ अर्ब ७८ करोड बराबर वित्तीय व्यवस्थाका लागि राखिएपनि रु एक खर्ब ९७ करोड अर्थात् ५८ दशमलव ४४ प्रतिशत बराबरको दायित्व भुक्तानी गरेको थियो ।

सरकारले आन्तरिक तथा बाह्य क्षेत्रबाट लिएको ऋणको साँवा तथा व्याज भुक्तानी गर्ने समयसीमा निर्धारण गरिएको हुन्छ । सोही आधारमा नै सरकारले बजेटमा वित्तीय व्यवस्थाको शीर्षक नै राखेको हुन्छ ।

महालेखा नियन्त्रक सुमनराज अर्यालका अनुसार यो सरकारको नियमित काम भित्रै पर्ने विषय हो । “सरकारले आन्तरिक रुपमा उठाएको ऋण तथा बाह्य क्षेत्रसँग लिएको ऋणको साँवा वा ब्याजको भुक्तानीका लागि निर्धारण गरिएको समयभित्रै तिर्नुपर्ने भएकाले वित्तीय व्यवस्थामा यस खालको प्रबन्ध गरिएको हो । यो नियमित काम हो”, अर्यालले भने ।

व्यक्तिगत रुपमा लिइएको कर्जाको साँवा र ब्याज भुक्तानीका लागि समयसीमा निर्धारण भएजस्तै सरकारको पनि सोही आधारमा समय निर्धारण भएको हुन्छ । यद्यपि, यसले सरकारको दायित्व क्रमशः बढिरहेको देखिन्छ । देशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) रु ४८ खर्ब माथि पुगेका सन्दर्भमा सार्वजनिक ऋणको दायित्व बढाउने वा नबढाउने भन्नेमा पनि जिज्ञासा छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालू आवमा ३५ दशमलव ६४ प्रतिशत बराबरको वैदेशिक सहायता लिइएकामा आगामी आवमा ३० दशमलव ८७ मा झारेको यसअघि नै सार्वजनिक रुपमा जानकारी दिए ।

उनले आयोजनाका आधारमा मात्रै वैदेशिक सहायता र ऋण लिने प्रणालीको विकास गर्न खोजिएको समेत उल्लेख गरे । आमरुपमा विदेशी ऋण बढाउनेभन्दा पनि आयोजनालाई केन्द्रमा राखेर ऋण लिने र सोही आयोजनाले नै तिर्ने प्रबन्ध गर्न लागिएको उनको भनाइ छ । रासस

उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि

काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।  उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।  महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।  यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

पहिरो र लेदोका कारण नागढुंगा प्रवेशको नाका ठप्प

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ खत्रिपौवामा लेदोसहितको पहिरो खस्दा काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएको छ। आजबिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।   आज दिउँसो १ बजेतिरको समयमा लेदो सहितको पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए। 

सहकारी ठगेर भागेका एमालेका मेयर भारतमा पक्राउ

काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । उनी एमालेबाट निर्वाचित भएका थिए ।  इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’ नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।  

नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो  । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

लोकप्रिय