सिद्धिचरण लोकमार्गमा यात्रुको ज्यान जोखिममा

सिद्धिचरण लोकमार्गमा यात्रुको ज्यान जोखिममा

उदयपुर, असोज २० । उदयपुरको कटारी, घुर्मी हुँदै हर्कपुर भएर ओखलढुंगा तथा जयरामघाट हसेली, खोटाङसम्म सञ्चालन हुने सिद्धिचरण लोकमार्ग क्षेत्रमा दशैँको समयको मौका छोपेर यातायात व्यवसायीले सवारीसाधनको माथि छतमा समेत क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले यात्रुको ज्यान जोखिममा पार्न थालेको छ ।

यस क्षेत्रमा सञ्चालन हुने साना तथा ठूला सवारीका साधनले समेत जबर्जस्ती यात्रुलाई गाडीभित्र कोच्ने र छतमाथि समेत राखेर यातायातका साधन सञ्चालन गर्न थालेपछि केही यात्रु बसको छतबाट खसेर गम्भीर घाइते भएका छन् भने कतिपयको जीवन नै जोखिममा पर्न थालेको हर्कपुरका इन्द्रनारायण श्रेष्ठले बताएको छ ।

भिरालो, वनवे कच्ची सडक भएको र त्यसमा पनि गाडीभित्र र माथि छतमा समेत दोब्बर यात्रु राखेर सवारीसाधन सञ्चालन हुने गर्नाले कुनै पनि बेला सवारी दुर्घटना भइहाले धेरै यात्रुको ज्यान जाने अवस्था रहेको खोटाङ तुवाचुङ नगरपालिका–४ का युवराज राई बताए ।

रु पाँचसयदेखि एक हजार सवारी भाडा निर्धारण गरेको ठाउँमा अहिले रु दुई हजारभन्दा बढी सवारी भाडा तिर्नु पर्ने नत्र गाडीबाट सवारी चालकले जबर्जस्ती झारी दिने गरेकोसमेत हर्कपुरकै अर्का यात्री इन्दिरा राईको गुनासो छ ।

करिब एक महिनादेखि यस लोकमार्ग क्षेत्रमा यातायात व्यवसायीले मनपरि सवारी भाडा लिने र बढी यात्रु राखेर सवारीसाधन सञ्चालन गर्ने गरेको भएता पनि अहिलेसम्म सम्बन्धित निकायबाट यसको कुनै कारबाही नभएको कुरा हलेसी च्यास्मीटार उच्चमाविका एक शिक्षक बुद्धराज ढकाल बताए ।

कच्ची सडक र सडकको अवस्था जीर्ण रहेका बेला सवारीका साधनले तलभित्र र माथि छतमा भरी यात्रु राख्नाले कुनै पनि बेला सवारी दुर्घटना भए ठूलै मानवीय क्षतिको अवस्था आउने यात्रु र स्थानीयवासी जनतासमेत बताउँछन् ।

सडकको अवस्थाअनुसार सवारीसाधनले सोही क्षमताअनुसार यात्रु बोक्नु पर्ने भए पनि भित्र र माथि भरी यात्रु बनाएर मात्र सवारी चालकले गाडी चलाउने र महँगो सवारी भाडा लिने यस लोकमार्गको परम्परानै हुन थालेको घुर्मीका स्थानीय लोकबहादुर पुलामी मगर बताए ।

यता सम्बन्धित यातायात व्यवसायी संघले भने मनपरि सवारी भाडा लिने जो कोही सवारी सञ्चालकलाई थाहा पाए तत्काल कारबाही गर्ने बताउने गरेको छ ।

घुर्मीमा अहिले केही समयको लागि अस्थायी ट्राफिक प्रहरी पोष्ट र प्रहरी चौकी रहेको भएता पनि यातायात व्यवसायीले प्रहरीको वास्तै नगरी क्षमताभन्दा बढी यात्रु बोक्ने र सवारी भाडा मनपरि लिने कार्य झनै बढ्दै गएको यस क्षेत्रमा सवार आम यात्रुको गुनासो बढ्दै जान थालेको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय