स्वीमिङ पुलसहितको रिसोर्ट निर्माण सुरु

स्वीमिङ पुलसहितको रिसोर्ट निर्माण सुरु

पर्वत, असार ५ । डेढ करोडको लागतमा धौलागिरि अञ्चलमा नै पहिलोपटक पर्वतमा स्वीमिङ पुलसहितको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पर्वत सदरमुकाम कुश्मा बजारमा विभिन्न पेसा व्यवसाय गरी बस्दै आएका तीन जना युवाको सक्रियतामा कुश्मा नगरपालिका–४ छमर्केमा उक्त रिसोर्ट निर्माण सम्पन्न हुन लागेको हो ।

पछिल्लो समयमा युवा स्वरोजगार हुन नसकेपछि वैदेशिक रोजगारीलाई प्राथमिकता दिइरहेका बेला पर्वतका तीन युवाले रु.डेढ करोड लगानी गरेर रिसोर्ट निर्माण गरेका हुन् । ब्लु एञ्जल नाम दिएर निर्माण गरिएको उक्त रिसोर्टमा केही भौतिक संरचना र टायल बिछ्याउने काम मात्रै बाँकी रहेको छ ।

असारको दोस्रो साता सम्पूर्ण काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको सञ्चालक आलोक श्रेष्ठले जानकारी दिनुभयो ।

धौलागिरिका पर्वत, मुस्ताङ, बागलुङ र म्याग्दी जिल्लामध्ये पर्वतमा निर्माण भएको स्वीमिङ पुलसहितको रिसोर्ट यो नै पहिलो हो । रिसोर्ट सञ्चालनका लागि श्रेष्ठसँगै राजु शर्मा र विष्णुराज पुरीले लगानी गरेका छन् । यी तीनै जना युवा विगत केही वर्षअघि वैदेशिक रोजगारीमा साउदी, बेलायत, कोरियालगायतका स्थानमा बसेर फर्किसक्नुभएको हो ।

रिसोर्ट सञ्चालनका लागि करिब रु १५ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सात फिट गहिराइ, ७३ फिट लम्बाइ र ३२ फिट चौडाइ रहेको स्वीमिङ पुलसँगै बाल उद्यान, चाइल्ड स्वीमिङ पुलसमेत निर्माण गरिएको छ ।

पोखरा बागलुङ राजमार्ग नजिकै पर्ने उक्त रिसोर्ट विशेष गरी मुस्ताङको मुक्तिनाथमा जाने तीर्थयात्रीसँगै अन्य बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको सञ्चालक राजु शर्माले जानकारी दिनुभयो ।

मुक्तिनाथ पुग्ने भारतीय तथा स्वदेशी धर्मावलम्बीका लागि पर्वत ट्रान्जिट बनोस् भन्ने मुख्य ध्येयले रिसोर्ट निर्माण गरिएको शर्माले बताउनुभयो ।

गर्मीयामका लागि रिसोर्टबाट करिब ४०० मिटर टाढा रहेको दुलेपानी मुहानबाट पानीको प्रबन्ध गरिएको छ भने जाडो मौसममा तातो पानीको समेत छुट्टै पोखरी निर्माण गरिने शर्माले बताउनुभयो ।

पछिल्लो समयमा पर्वतमा समेत विभिन्न पर्यटकीय गन्तव्यहरु यान्त्रिक पुल, नेपालकै अग्ला तीन वटा झोलुङगे पुल, बञ्जिजम्पलगायतका स्थल रहेको र थप आकर्षण र त्यहाँ आउने पर्यटकलाई अत्याधुनिक सेवा दिन रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सञ्चालक विष्णुराज पुरीले बताउनुभयो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय