हक्कीको उर्बरभूमि : ‘उल्टाखाम र बागफाँटा’

हक्कीको उर्बरभूमि : ‘उल्टाखाम र बागफाँटा’

भीमदत्तनगर । मुलुकको हक्की खेल कञ्चनपुरका दुईवटा गाउँका खेलाडीले धानेको छ, भन्दा अनौठो लाग्न सक्छ । भीमदत्तनगरपालिका–२ को उल्टाखाम) र वडा नं १९ बागफाँटा हक्की खेलाडी जन्माउने गाउँका रुपमा परिचित छन् ।

यहाँ उत्पादन भएका खेलाडीले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको हक्की खेलको नेतृत्व गरिसकेका छन् । उल्टाखाम र बागफाँटाबाट हालसम्म महिला तथा पुरुष खेलाडी गरी २६ जनाले अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा नेपाली टिमबाट भाग लिएको कञ्चनपुरका हक्की सहायक प्रशिक्षक नरबहादुर चन्दले जानकारी दिनुभयो ।

“प्रदेश नं ७ को हक्की टिममा सबै उल्टाखाम र बागफाँटाका खेलाडी सम्मिलित हुन्छन्,” उहाँले भन्नुभयो– “आफ्नै स्रोत साधनका भरमा यी दुवै गाउँमा निरन्तर खेलाडी उत्पादन हुँदैआएको छ ।”

राष्ट्रिय हक्की प्रतियोगिताको नतिजा हेर्दा यहाँको हक्की पुरुष तथा महिला टिम हालसम्म उपाधिरहित हुनुपरेको छैन । पाँचौँ र छैठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पुरुष टिम प्रथम स्थान ओगट्न सफल भएको थियो भने सातौँ राष्ट्रिय खेलकूदमा दोस्रो भएको थियो । सातौँ राष्ट्रिय खेलकूदमा सुदूरपश्चिमको महिला टिम प्रथम भएको प्रशिक्षक चन्दले बताउनुभयो ।

“अहिलेसम्म सुदूरपश्चिमको हक्की टिम नै हाम्रो गाउँको हो,” भीमदत्त नगरपालिका–२ उल्टाखाम घर भएका प्रशिक्षक चन्दले भन्नुभयो– “सुदूरका अन्य आठ जिल्लामा हक्कीको खासै प्रभाव छैन, कञ्चनपुरकै खेलाडी समेटेर टिम बनाउने गरेका छौँ ।”

भारतको गुवाहाटीमा सन् २०१६ फेब्रुअरी पाँचदेखि १६ सम्म सञ्चालन भएको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा नेपालको टिममा सहभागी हक्कीका १६ महिला खेलाडीमध्ये १२ जना कञ्चनपुरकै रहेका थिए । नेपाली हक्की महिला टोलीको नेतृत्व महेन्द्रनरकी तुलसी डगौंराले गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपाली महिला हक्की टिम तेस्रो भएको थियो ।

कञ्चनपुरको महेन्द्रनगरमा २०५९ सालदेखि हक्की खेल्न थालिएको प्रशिक्षक चन्द बताउनुहुन्छ । बागफाँटामा हक्कीको काम चलाउ मैदान छ । त्यही मैदानमा उत्पादन भएका खेलाडीको हाल नेपाली हक्की टिममा दबदबा छ ।

“खेलाडीले देउसी र भैलो खेलेर संकलन भएको रकमले हक्की खेलको सामग्री खरिद गर्छन्,” उहाँले भन्नुभयो– “खेलप्रतिको लगावकै कारण उल्टाखाम र बागफाँटा हक्की गाउँका रुपमा परिचित छ ।” हालको राष्ट्रिय हक्की टिममा पनि यहीँकै खेलाडीको बर्चस्व छ । “नेपालको महिला टिमको पूरै सेट यतैको हो,” प्रशिक्षक चन्दले भन्नुभयो– “त्रिभुवन आर्मी क्लबबाट यहाँका आठजनाले हक्की खेल्छन् ।”

उल्टाखाम र बागफाँटामा हक्की खेल मैदान निर्माण गरी खेलाडीलाई खेल समाग्री पु¥याउन सके अझै पर्याप्त खेलाडी उत्पादन गर्न सकिने उहाँको भनाइ छ । “अहिले कम उमेर समूहका पुरुष १८ र महिला २२ जना प्रशिक्षणमा छन्,” उहाँले भन्नुभयो– “जहिल्यै पनि खेलकूद सामग्रीको अभाव रहन्छ ।”

हक्कीमा अन्तर्राष्ट्रियस्तरमा नेपाली टिमको नेतृत्व सम्हाली सकेकी तुलसी डगौंरा खेलाडीलाई सुविधा सम्पन्न खेलमैदान र खेल सामग्रीसँगै नियमित प्रशिक्षणको व्यवस्था हुनुपर्नेमा जोड दिनुहुन्छ । हक्की खेल्न थालेको एक वर्षमै नेपाली महिला टिमको नेतृत्व गरेर १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितामा भाग लिएकी डगौंराले राष्ट्रिय खेलकूद परिषद्ले पनि खेलको विकास र विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

हक्कीका राष्ट्रिय खेलाडी कान्तुराम पनेरु खेलमैदान र खेलकूद सामग्रीको अभाव रहेको बताउनुहुन्छ । “खेलाडी र प्रशिक्षकको तालमेल धेरै राम्रो छ, तर खेल सामग्री र मैदान नहुँदा पर्याप्त रुपमा खेलाडी उत्पादन हुन सकेका छैनन्,” पनेरुले भन्नुभयो ।

जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले भीमदत्त नगरपालिकाका उल्टाखाम र बाफाँटा हक्कीको उर्बरभूमि भएको बताउनुभयो । “चालू आवमा हामीले बागफाँटामा हक्की खेलमैदान निर्माण गर्न रु तीन लाख बजेट विनियोजन गरेका छौँ,” उहाँले भन्नुभयो– “खेल सामग्री र अन्य पूर्वाधार निर्माण सक्दो सहयोग गछौँ ।”

राजस्थानदेखि महेन्द्रनगरसम्म

कञ्चनपुरबाहेक अझै पनि प्रदेश नं ७ का अन्य जिल्लामा हक्की खेलको गतिविधि शून्यप्रायः छ । कञ्चनपुरमा २०५९ सालदेखि हक्की खेल्न थालिए पनि नरबहादुर चन्द २०५२ सालदेखि हक्की प्रशिक्षकका रुपमा यहाँ आउनुभएको हो ।

प्रशिक्षक चन्दले भारतको राजस्थानमा हक्की खेलको प्रशिक्षण लिनुभएको हो । उहाँका बुबा भारतीय सेनामा कार्यरत भएकाले चन्दले राजस्थानमै अध्ययनसँगै हक्की सिक्नुभयो । “विसं २०५२ मा सातौँ दक्षिण एशियाली खेलकूदका लागि टिम बनाउन मलाई राजस्थानबाट बोलाइएको थियो,” प्रशिक्षक चन्दले भन्नुभयो ।

राजस्थानमा कक्षा ८ पढ्दादेखि नै हक्की खेल्न थाल्नुभएका चन्द भारतको राष्ट्रिय हक्की टिममा समेत छनोट भएका थिए । उहाँ त्यहाँ बन्द प्रशिक्षणमा समेत सामेल हुनुभएको थियो । “सन् १९९३ मा भारतको राष्ट्रिय हक्की टिमको बन्द प्रशिक्षणमा सहभागि भए,” प्रशिक्षक चन्दले भन्नुभयो– “बन्द प्रशिक्षणमा सहभागी भए पनि खेल्न भने पाइँन ।”

राजस्थानमा प्रवीणता प्रमाण पत्र तह अध्ययन गर्दासम्म उहाँले थुप्रै भारतीय राष्ट्रिय हक्की प्रतियोगितामा भाग लिनुभएको थियो । उहाँको कञ्चनपुर आगमनसँगै यहाँ हक्की खेलको प्रशिक्षण शुरु भएको हो । विसं २०५३ मा जिल्ला खेलकूद विकास समितिमा करारमा हक्की खेलको सहायक प्रशिक्षकमा नियुक्त हुनुभएका चन्द २०६० सालमा स्थायी प्रशिक्षक हुनुभएको हो । त्यसयता उहाँ हक्कीको नियमित प्रशिक्षणमा व्यस्त रहनुभएको छ भने प्रदेश नं ७ को हक्की टिमले हरेक हक्की प्रतियोगितामा पदक चुम्दै आएको छ । रासस

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधारः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधार भएको बताउनुभएको छ । अखिल नेपाल चेस एसोसियशनको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिंदै आएको बताउनुभयो । ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिले सम्म राजनीति र विकास निर्माणपछि दुई वटा क्षेत्र खेल र संस्कृतिमा विशेष ध्यान दिंदै आएको छु’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘राष्ट्रियता प्रवर्धन गर्ने, देशको विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रुपान्तरणको दिशामा लैजाने एउटा महत्वपूर्ण क्षेत्र खेलकुद हो ।’ यसकै आधारमा आफूले खेलकुदलाई प्राथमिकता दिंदै आएको उहाँले बताउनुभयो । त्यस्तै संस्कृति अर्को महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘संस्कृतिले देशका सबै जातजाति, भाषाभाषी, क्षेत्र समुदायलाई जोड्दै सबै नेपालीलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्न यसको विशेष महत्व छ ।’ आफूले संस्कृतिलाई राष्ट्रिय एकताको आधारको रुपमा लिएर नै पहिलो प्रधानमन्त्री हुँदा अक्षयकोष स्थापना गरिएको र त्यसमा सरकारको तर्फबाट दिल खोलेर सहयोग गरेको उहाँले स्मरण गराउनुभयो । खेल र संस्कृति यी दुबै क्षेत्र राष्ट्रियता प्रवर्धन, जनताको अनुसशासन र समाजको मर्यादा स्थापित गर्न महत्वपूर्ण क्षेत्र भएको उहाँले स्पष्ट गर्नुभयो । नेपालको खेल क्षेत्रमा अहिले पनि आफूले भरोसा गरेका व्यक्तिहरुले नेतृत्व गरेको र खेल क्षेत्रले ऐतिहासिक परिणाम हात पारिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ६० वर्षको इतिहासमा पहिलोपटक नेपालले ओलम्पिकमा पदक प्राप्त गरेकाले यो वर्ष नेपाली खेल क्षेत्रका लागि अविस्मरणीय वर्ष बन्ने पुगेको बताउनुभयो । त्यसका लागि खेलाडी र व्यवस्थापन पक्ष सबैलाई उहाँले बधाई र धन्यवाद पनि दिनुभयो । खेलका विभिन्न विधाअन्तर्गत चेस पनि स्थापित बन्दै गएको उल्लेख गर्दै उहाँले यसबाट समय व्यवस्थापन र मानसिक तन्दुरुस्तीमा सहयोग पुग्ने बताउनुभयो । हिजो जनयुद्धकालमा जनमुक्ति सेना र पेशेवर कार्यकर्ताले खाली समय व्यति गर्दै मानसिक तन्दुरुस्तीका लागि चेस खेललाई प्रयोग गर्ने गरेको स्मरण गर्दै उहाँले अहिले चेसको विकास गर्ने अभियानमा त्यही क्रान्तिमा सामेल भएका पूर्वजनुक्ति सेनाहरुको नेतृत्वदायी भूमिका रहेको देख्दा खुशी लागेको बताउनुभयो ।  

रजत पदक विजेता एरिकालाई भव्य स्वागत

काठमाडौं । सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् । चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। उहाँलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गर्नुभयो । एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएनन् । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट हुनुभएको थियो । उक्त प्रतियोगितामा पनि उहाँले रजत पदक हात पारेर फर्कनुभएको हो । 

एसियाली करातेमा एरिकालाई ऐतिहासिक रजत

नेपालकी एरिका गुरुङ एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जित्न चुकेकी छिन्। चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथिको स्वर्णको भिडन्तमा एरिका भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी हुन्।  चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिका भियतनामकी खेलाडीविरुद्ध अंक जोड्न चुकिन्। यद्यपी एरिकाले शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी थिइन्। एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म पदकविहीन बनेको नेपालका लागि एरिकाले फाइनल प्रवेश गरेर पहिलो पकद जित्दै इतिहास रचेकी थिइन्।  एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन्। क्वार्टरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोफिया बेरुल्टसेभा थिइन्। एरिका र सोफिबीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो। …रेफ्रीÚ निर्णयका आधारमा एरिका विजयी भइन्। पहिलो अंक एरिकाले बटुलेकी थिइन्।  सोफिया तीनै खेलाडी हुन जसले एरिकालाई १९ औं एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन्। १९ औं एसियाली खेलकुदको कराते पनि यही हल भएको थियो। सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरिन्। एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो। कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन।  एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत जितेकी थिइन्।  यस्तै भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। यी सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए। सबै प्रतियोगितामा उनको प्रशिक्षक कुशल श्रेष्ठ थिए।

क्यानडासँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ।  खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो।  आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो। शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन्। यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ। सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ। तालिकामा नेपाल ६ खेलमा दुई अङ्कसहित सातौँ स्थानमा छ।    

लोकप्रिय