१६२ स्थानीय तह, जहाँ बैंक जान चाहँदैनन्

काठमाडौं, असार २९ । देशका १ सय ६२ स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरू अनिच्छुक देखिएका छन् । पूर्वाधार अभावको कारण देखाउँदै बैंकहरू ४९ जिल्लाका एक नगरपालिका र १ सय ६१ गाउँपालिकामा शाखा खोल्न तयार नभएका हुन् ।
७ सय ४४ स्थानीय तहमध्ये हालसम्म ३ सय ३२ मा मात्रै ‘क’ वर्गका बैंक पुगेका छन् । त्यसमध्ये २ सय ५० तहमा बैंकका शाखा खोल्न वाणिज्य बैंकहरू तयार देखिएका छन् ।
किन जान चाहँदैनन् बैंक ?
पूर्वाधार, सुरक्षा र जनशक्ति अभावका कारण बैंकलाई विकट स्थानीय तहमा शाखा खोल्न समस्या रहेको बैंकरले जनाएका छन् । बैंकका शाखा खोल्न सडक, विद्युत्, इन्टरनेटलगायत पूर्वाधार चाहिन्छ । सयभन्दा बढी स्थानीय तहमा आवश्यक पूर्वाधार छैनन् ।
त्यस्तै, सबै तहमा सुरक्षा निकायको उपस्थितिसमेत भइसकेको छैन । बैंकहरूलाई तत्काल जनशक्तिको पनि अभाव रहेको नेपाल बैंकर एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले बताए । ‘पूर्वाधार, सुरक्षा र जनशक्ति अभावका कारण सबै तहमा बैंकका शाखा खोल्न गाह्रो छ,’ उनले भने, ‘सरकार र राष्ट्र बैंकको पूर्ण सहयोग र अनुदानविना त्यस्ता ठाउँमा शाखा पुर्याउन सकिँदैन ।’
राष्ट्र बैंकले बैंकरहरूलाई कुन–कुन स्थानीय तहमा कुन–कुन बैंकका शाखा खोल्ने भन्नेबारे सहमति गरेर प्रस्ताव गर्न निर्देशन दिएको थियो । त्यसअनुसार उनीहरूले २५० स्थानीय तहमा शाखा खोल्नप्रस्ताव गरेका छन् । तर, १६१ तहमा जानलाई उनीहरू अझै तयार छैनन् । राष्ट्र बैंकले स्थानीय तहमा बैंकका शाखा पुर्याउन मौद्रिक नीतिमार्फत सुविधा तथा सहुलियत घोषणा गरेको छ । अब थप छलफल गरेर सबै स्थानीय तहमा बैंकका शाखा पुर्याइने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिनिधिसभामा १० मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल सम्पन्न
काठमाडौं । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत १० वटा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसंख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी शीर्षकमा छलफल भएको हो। छलफलमा सांसद डा. चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मीना तामाङ, लालप्रसाद साँवा लिम्बू, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे, दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी थिए। सभामुख देवराज घिमिरेले मन्त्रालय र सचिवालयहरूसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल र सम्बन्धित मन्त्रीहरूको जवाफका लागि असार ८, ९ र १० गते समय तोकिएको जानकारी गराए। सभामुख घिमिरेका अनुसार आगामी आइतबार (असार ८) बस्ने प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ तथा सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने छ। प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ।
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।
पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ। त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।