सडकबाटै सरकार हटाउनु पर्ने हुनसक्छ : प्रचण्ड (फोटोसहित)
३ साउन, २०८२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा बिहिबार आयोजित कार्यक्रममा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’को उद्घाटन गर्नुभयो। उहाँले युवा स्वयंसेवकहरूसँगै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने र सरसफाइ गर्ने कार्यमा सहभागिता जनाउनुभयो। कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले वाइसिएल नेपालको यो अभियानलाई माओवादी केन्द्रको ‘उत्पादन ब्रिगेड’को निरन्तरता र महत्वपूर्ण कदम भएको बताउनुभयो। “केन्द्रीय समितिको पहिलो बैठकमा मैले उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन दिएको थिएँ। यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक आधारसँग जोडिएको छ,” उहाँले भन्नुभयो। प्रचण्डले युवाहरूलाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो। संसदमा प्रतिपक्षको हैसियतले सरकारको भ्रष्टाचार र असफलता उजागर गर्दै आएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “यदि सरकारले भ्रष्टाचारलाई निरन्तरता दियो भने हामी सडक आन्दोलनमार्फत सरकार हटाउन बाध्य हुनेछौँ।” कार्यक्रममा माओवादी केन्द्र र वाइसिएलका युवाहरूको उल्लेखनीय सहभागिता थियो। वाइसिएल नेपालले देशभर ५५ स्थानमा यो अभियान सञ्चालन गरेको जनाएको छ। प्रचण्डले युवाहरूलाई उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणमा अग्रपङ्क्तिमा उभिन प्रेरित गर्नुभयो।