विद्युत् अवरोधको समस्याले ग्यास खपत बढ्याे
१५ मंसिर, २०८२
काठमाडौं । चिसो मौसम सुरु भएपछि खाना पकाउने एलपी ग्यासको खपत क्रमशः बढ्न थालेको छ । एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार जाडोयाममा अन्य सिजनको तुलनामा ५ देखि १० प्रतिशतसम्म ग्यास खपत बढ्ने गर्छ । श्रेष्ठका अनुसार तीन–चार वर्षअघिसम्म जाडोयाममा ग्यास खपत १५–२० प्रतिशतसम्म वृद्धि हुन्थ्यो । “यस वर्ष विगतजस्तो धेरै वृद्धि नभए पनि चिसोसँगै खपत केही बढेको छ,” उनले भने । औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालन नहुँदा कुल खपत भने विगतका वर्षजस्तो स्तरमा पुगेको छैन । चिसोमा खाना पकाउने कामसँगै ग्यास गिजर प्रयोग बढ्ने भएकाले पनि खपत वृद्धि हुने गरेको छ । ग्यासभन्दा बिजुली सस्तो परे पनि विद्युत् अवरोधको समस्याले ग्यासको घरायसी खपत नघटेको व्यवसायीहरू बताउँछन् । नेपाल आयल निगमका अनुसार ग्यासको आयात नियमित भएकाले बजारमा आपूर्ति सहज छ । हाल बजारमा उपभोग हुने ग्यासमध्ये ७० प्रतिशत घरायसी र ३० प्रतिशत औद्योगिक प्रयोजनमा खपत हुन्छ । होटेल तथा रेस्टुरेन्ट क्षेत्र सुस्त गतिमा चलेकाले औद्योगिक खपत स्वाभाविक रूपमा बढ्न सकेको छैन । निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म १८ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ बराबरको एक लाख ८२ हजार ११६ मेट्रिक टन ग्यास आयात भएको छ । सङ्घका अनुसार बजारमा कुल एक करोड ५७ लाख थान सिलिन्डर प्रचलनमा छन् । निगमले खरिद आदेश जारी गरेपछि उद्योगीहरूले इन्डियन आयल कर्पोरेसन (आइओसी) का बरौनी, दुर्गापुर, पारादीप, हल्दिया र मथुरा रिफाइनरीबाट ग्यास आयात गर्छन् । हाल ५९ वटा उद्योगले विभिन्न रिफाइनरीबाट ग्यास ल्याई बजारमा वितरण गरिरहेका छन् । ढुवानी भने भारतीय ट्रान्सपोर्टरमार्फत हुने गर्छ । निजी क्षेत्रसँग आठ हजार मेट्रिक टन ग्यास भण्डारण क्षमता भए पनि निगमसँग कुनै भण्डारण सुविधा छैन । त्यसैले आपूर्ति नियमित नहुने अवस्था आए बजारमा सहजै अभाव सिर्जना हुने व्यवसायीको भनाइ छ ।
देशभर आजकाे माैसम कस्तो रहला ?
१५ मंसिर, २०८२
नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव
१५ मंसिर, २०८२
बागलुङकाे विकट गाउँमा सडक नपुग्दा सास्ती
१५ मंसिर, २०८२
देशभर आगलागीका घटनामा वृद्धि
१५ मंसिर, २०८२
अण्डाको नयाँ मूल्य लागू
१५ मंसिर, २०८२
टिपिएस विधिबाट कञ्चनपुरकाे शुक्लाफाँटामा आलुखेती
१५ मंसिर, २०८२
मनाङमा चार महिनामा १६ हजार पर्यटक पुगे
१५ मंसिर, २०८२
महोत्तरी कारागारबाट भागेका २७३ कैदीबन्दी फरार
१४ मंसिर, २०८२
पहाडबाट झरेर तराईमा जडीबुटी व्यवसाय
१४ मंसिर, २०८२

