ओम विक्रम भट्ट ‘सरल’

युवा नेतृत्वले जनयुद्ध हाँकेको पार्टीमा युवालाई नै आरक्षण दिनुपर्ने अवस्था किन आयो?

विश्वमा ठुल्ठुला इतिहास र विरासत बोकेका संस्कृति र सभ्यता बोकेका राज्य र शासनहरु भत्केका कैयन देख्दै पढ्दै र सुन्दै आएका छौँ। कुनैपनि व्यवस्था सभ्यता र संस्कृति तब ढल्न अनिवार्य हुन्छ जब समय र समाजको गतिभन्दा कैयौं गुणा पछाडि छुट्छ। त्यस्तो अवस्थामा व्यवस्था, सभ्यता र संस्कृति एकातिर हुन्छ भने समय, समाज र सामाजिक मनोविज्ञान अर्कोतिर हुनजान्छ। ती दुईको संघर्षबाट नयाँ व्यवस्था सभ्यता र संस्कृतिको जन्म हुन्छ। यसलाई मार्क्सवादीहरु प्राकृतिक नियम मान्छन्। तर सबैभन्दा वैज्ञानिक र साम्यवादी विचार बोकेका कम्युनिस्टहरु छिटै पतन र धारासयी किन हुन्छन? मार्क्सवादले अवलम्बन गरेका समाज विकास, अर्थतन्त्रको अवधारणा र समाजभित्रको वर्गीय अवस्था र मुक्तिबारे सबैभन्दा उत्कृष्ट ढंगले ब्याख्या गरेको छ। फेरिपनि कम्युनिस्ट आन्दोलन सबैभन्दा बढी विभाजन र पतनमा किन पुग्छ? कम्युनिस्ट पार्टीहरु केन्द्रियता र जनवादका कुरा गर्छन ब्याख्या विष्लेशण गर्छन। तर, व्यवहारमा किन लागु गर्न सक्दैनन्? यी आम रुपमा उठाइने गम्भीर प्रश्न हुन्। मार्क्सवाद र लेनिनवाद सबै कम्युनिस्टहरुको मार्गनिर्देशक सिद्धान्त हो। केही कम्युनिस्ट पार्टीहरुले माओवाद वा विचारधारालाई पनि आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्दै आएका छन्। तर, मालेमावाद लेखेर टाँसिएका ब्यानर वा बोर्डले मात्र मार्क्सवादको व्यवहारिक कार्यान्वयन भएको मानिँदैन। ती विचारहरुको कार्यान्वयन र समयसापेक्ष विकास अनिवार्य शर्त हो। त्यो गर्न नसक्नुनै कम्युनिस्ट पार्टीहरु कमजोर बन्नुको मुख्य कारण हो। अहिलेको युग डिजटल युग हो। यो डिजिटल युगमा हामीले हुलाकमार्फत वा परेवाको खुट्टामा सन्देश बाँधेर आदानप्रदान गर्न सक्दैनौँ। यो समय सापेक्ष हुँदैन। हिजो मोबाइल आउँदा केवल फोन गर्न र सिमित शब्दको सन्देश पठाउन सकिन्थ्यो। आज सबै काम मोबाइलबाट गर्न सम्भव भएको छ। यो प्रविधिको विकास हो। यदि मोबाइल निर्माताले केवल फोन गर्न र सन्देश पठाउन मात्र सिमित गरेको भए अहिलेको ५जी आउने थिएन होला । त्यसैगरी मार्क्सवाद पनि केवल धर्मग्रन्थ गीता, कुरान वा वाइबल होइन जसमा लेखिएका शब्द अक्षरस पालना गर्नुनै धर्म मानिन्छ। मालेमावाद विज्ञान हो। यसलाई विज्ञान कै रुपमा ग्रहण गर्दै व्यवहारिक कार्यान्वयनमा लैजानु पर्छ। माओवादी नेतृत्वले बुझ्नै पर्ने कुरा के छ भने जनयुद्ध थालनी गर्दा पनि बुढाहरुले होइन युवाले साथ दिएका थिए। तत्कालीन महामन्त्री प्रचण्ड स्वंयम ४१ वर्षका थिए। केन्द्रिय कमिटीमा ९९ प्रतिशत ४० मुनिका थिए। अहिले ४० मुनिकाका लागि आरक्षण दिनुपर्ने अवस्था किन आयो? नेपालमा राजनीतिक परिवर्तनहरु निरन्तर हुँदै आएका छन्। धेरै व्यवस्था ढल्दै आएका छन्। क्रान्ति र आन्दोलनहरु सफल हुँदै आएका छन्। तर तिनै सत्ताप्राप्ति पश्चात ढलेका पनि छन्। नेपालमा पछिल्लो एवं नेपाली इतिहासकै ठुलो र लामो जनयुद्ध (१० वर्ष) भयो। माओवादी शान्ति प्रक्रियामा आए पश्चात् मुलुककै ठुलो र निर्णायक शक्ति पनि बन्यो, तर टिक्न सकेन। त्यसको निर्मम समीक्षा र विष्लेषण गर्न जरुरी छ। कम्युनिस्टहरु ठुल्ठुला क्रान्ति र आन्दोलन गर्न सक्छन्। परिवर्तनको नेतृत्व पनि गर्छन। तर, प्राप्त उपलब्धीलाई संस्थागत गरेर टिकाउन किन सक्दैनन्? यो महत्त्वपूर्ण प्रश्न हो। कम्युनिस्टहरुसँग एजेन्डा हुन्छन्, वर्ग हुन्छ, जनता हुन्छन्। तर, सत्ता प्राप्तिपछि जनतासँग किन टाढिन्छन्? यो अर्को गम्भीर प्रश्न हो। हाम्रै मुलुकमा पनि कम्युनिस्ट आन्दोलन जुन रफ्तारले अगाडि बढ्यो त्योभन्दा द्रुतगतिमा विघटन पनि हुँदै आइरहेको छ। यसको समीक्षा गर्नुपर्ने देखिन्छ। पछिल्लो दुई अढाई दशक यताका घटनाक्रम हेर्ने हो भने जुन गतिमा माओवादी जनयुद्धको विकास भयो र २०५८ - २०६९ सम्म माओवादी जसरी केन्द्रमा रह्यो त्यसपश्चात फेरि ओरालोको यात्रामा लाग्यो। यसको गम्भीर समीक्षा गरेर मात्र माओवादी आन्दोलन अगाडि बढ्न सक्छ। आज मुलुक संस्थागत र संविधानत माओवादीको एजेन्डामा चलिरहेको छ। तर, नेतृत्व माओवादीको छैन। यसै अवस्थामा तत्काल माओवादी फेरि नेतृत्वमा पुग्ने आधार देखिँदैन। त्यसकारण माओवादी आन्दोलनको निर्मम समीक्षा गर्दै बुनियादी ढंगबाट पुनर्गठनको आवश्यकता छ। माओवादीको विचार, राजनीति स्पष्ट छ। तर, समाजवादी कार्यदिशा स्पष्ट छैन। जाने समाजवादमा नै हो। तर, कस्तो समाजवाद? कुन समाजवाद वा हाम्रो समाजवादी मोडेल के हो? यी विषय स्पष्ट पार्न सक्नुपर्छ। परम्परागत ब्याख्याले अब काम गर्दैन। नयाँ ब्याख्या र नयाँ सपनायुक्त समाजवादी मोडेल चाहिन्छ। जसमा युवा पुस्ताले आफ्नो भविष्य देख्न सकोस्। विगत जनयुद्धको क्रममा युवा, दलित, जनजाति, मधेसी, महिला पिछडिएको समुदाय र समग्र सर्वहारा वर्गले जुन सुनौलो भविष्य देखेका थिए। माओवादी नेतृत्वले उक्त सपना देखाउन सफल भएको थियो। त्यसैको बलमा जनयुद्ध सफल भयो। प्रचण्डले जुन-जुन एजेन्डा भन्नुभयो ति सबै लागु भए। तर, कार्यान्वयन गर्ने तरिका र प्रक्रियामा माओवादी अल्झिदा पार्टीमा टुटफुट सुरु भयो । प्राप्त उपलब्धी संस्थागत हुन् सकेनन्। अब फेरि प्रचण्डले नयाँ समाजवादी कार्यदिशा अगाडि बढाएर अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धीहरुलाई संस्थागत गर्दै आर्थिक विकास र आमजनजिविका स्तर वृद्धि गर्ने कार्यक्रम अगाडि सार्न सक्नुपर्छ। तबमात्र माओवादी आन्दोलनले फेरि उचाई प्राप्त गर्न सक्छ। माओवादी अब परम्परागत प्रणालीमा होइन, संगठन निर्माणमा नयाँ मोडेल अगाडि सार्न सक्नुपर्छ। अहिलेसम्म माओवादी चुक्दै आएको संगठन निर्माण र सांगठनिक ढाँचामा हो। पछिल्लो वाइसीएलको राष्ट्रिय भेलाबाट पाठ सिक्न जरुरी छ। अहिलेको राजनीतिमा केन्द्रियता वा मेरिटले मात्र काम गर्न सक्दैन। यो प्रतिस्पर्धात्मक राजनीतिमा नयाँ र फ्रेस युवाहरुलाई केन्द्रित गर्दा टिका लगाएर होइन प्रतिस्पर्धा गराएर ल्याउनुपर्छ। तब मात्र समाजवादी यात्रा सहज हुनसक्छ। माओवादी नेतृत्वले बुझ्नै पर्ने कुरा के छ भने जनयुद्ध थालनि गर्दा पनि बुढाहरुले होइन युवाले साथ दिएका थिए। तत्कालीन महामन्त्री प्रचण्ड स्वंयम ४१ वर्षका थिए। केन्द्रिय कमिटीमा ९९ प्रतिशत ४० मुनिका थिए। अहिले ४० मुनिकाका लागि आरक्षण दिनुपर्ने अवस्था किन आयो? यसको समीक्षा गर्ने कि नगर्ने? त्यसकारण बदलिँदो परिस्थितिमा युवा ५० प्रतिशत प्रौढ ३० प्रतिशत र बृद्ध २० प्रतिशतको निति किन लागु नगर्ने? आज कांग्रेसमा १९ वर्षीय युवती वडा सभापति बन्दा मिडियाका प्रमुख समाचार बन्ने अवस्था आउँदा हिजो जनयुद्धमा १२, १३ वर्षका किशोर किशोरीहरु मुक्ति र मृत्यु स्विकार्दै लागेकाहरु के सोचिरहेका होलान? आज कांग्रेसमा १९ वर्षीय युवती वडा सभापति बन्दा मिडियाका प्रमुख समाचार बन्ने अवस्था आउँदा हिजो जनयुद्धमा १२, १३ वर्षका किशोर किशोरीहरु मुक्ति र मृत्यु स्विकार्दै लागेकाहरु के सोचिरहेका होलान? यसको समिक्षा गर्ने कि नगर्ने? माओवादी पार्टी एक नम्बर बन्नैपर्छ। त्यो नबन्दा यो संविधान र व्यवस्था नै टिक्दैन। समाजवाद धेरै परको विषय हो। हामीले एक नम्बर हुन्छौँ भनेर हुँदैन। एक नम्बर हुनलाई एक नम्बरका युवाहरू हामीसँग हुनेकि नहुने? भन्ने प्रश्नले हाम्रो स्थान निर्धारण गर्ने हो। यो कुरा बिर्सनु हुँदैन। पार्टीले पार्टी संरचनामा व्यापक फेरबदल गर्न जरुरी छ। त्यो मेरिट र केन्द्रियताले हुन सक्दैन। त्यसका लागि खुल्ला प्रतिस्पर्धात्मक सांगठनिक प्रणाली अवलम्बन गर्नैपर्छ । यो नोकिया १६०० मोडेलको समय होइन। यो समय एन्ड्रोइड तथा एप्पल ‘५जी’ को हो। अहिले माओवादी आन्दोलन विकास ‘ब्ल्याक एन्ड व्हाइट’ मोडेलले गर्न सक्दैन। यसका लागि ‘५जी’ नै माेडल चाहिन्छ भन्ने कुरा नेतृत्वले बुझ्न जरुरी छ। यदि परम्परागत ढंगले जाने हो भने हामी मशालको भाइ पार्टी हो। हामी पनि मशाल नै बन्ने हो भने जे गर्दा पनि हुन्छ। अध्यक्ष प्रचण्डसँग एक अन्तिम अवसर छ, माओवादी नेपालको मियो बनाउने वा मशालको भाइ। उहाँले गम्भीर रुपले सोच्नुपर्ने बेला आएको छ। अहिले पनि आमनेपाली र युवालाई बिश्वास छ अध्यक्ष प्रचण्डले मशालको भाइ होइन देशको भविष्य र युवाहरुको सपना कोर्न सक्ने पार्टी माओवादीलाई बनाउनु हुनेछ भनेर। त्यसकालागि उहाँले निर्ममतापुर्वक कदम चाल्नु हुनेछ। अब प्रचण्डको एकदशकले नेपालको कम्युनिस्ट आन्दोलनमा दशौंदशकसम्म माओवादी आन्दोलनलाई नेतृत्वमा पुर्‍याउने छ। त्यसका लागि अध्यक्ष प्रचण्डले युवाहरूलाई साथमा लिनुहुनेछ र उहाँ युगौंसम्म नेपाली राजनीतिमा रहिरहनु हुनेछ।