स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो।
उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो ।
युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।
गण्डकी सरकारमा एमाले प्रवेश, चार मन्त्रीद्धारा शपथ ग्रहण
पोखरा । गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । सरकार गठनको करिब दुई महिना पुग्नै लाग्दा मन्त्रालय फुटाएर भागबण्डा मिलाएर सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त गरिएको हो । उहाँहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभयो । एमालेबाट मन्त्री नियुक्त भएसँगै गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन पनि भएको छ। कार्यविभाजन अनुसार एमालेका जिसीले कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, बस्यालले उद्योग तथा पर्यटन, पाठकले स्वास्थ्य र केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गर्नुहुने भएको छ । यसअघि सरकारमै रहेका कांग्रेस सांसद डा.टकराज गुरुङ आर्थिक मामिला मन्त्रालयमा निरन्तरता पाउनुभएको छ भने विन्दुकुमार थापाले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मनाङबाट स्वतन्त्र निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’ले वन तथा वातावरण र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । सरकारमा एमालेलाई प्रवेश गराउन दुई मन्त्रालय फुटाएर ७ बाट बढाएर ९ मन्त्रालय गराइएको छ ।
अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
तनहुँ । अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसैबीच, बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट निकाल्ने क्रममा बुधबार बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी भैरहेको जानकारी दिए । बाढी आउँदा नदि किनारमा नजान आग्रह गरिएपनि बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासमा मानिसको भीड लाग्ने गरेको उनले बताए ।
बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
बागलुङ । वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका बताए । वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उनले जानकारी दिए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्याएको छ । गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको छ । यद्यपि, पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । रासस
सर्वोच्चको आदेशपछि फणीन्द्रको पद थमौती: भए मन्त्री, लिए शपथ
पोखरा । सर्वोच्च अदालतको आदेशले सांसद पद जोगाइदिएपछि नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन्। देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए। जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि २९ गते मन्त्री बनेका थिए । तर माओवादीले जेठ ३२ गते उनलाई कारबाही गरेपछि पद गुमाए। देवकोटा कारबाही विरुद्ध सर्वोच्च पुगेका थिए। सर्वोच्चले मुद्दाको किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्न आदेश दिएको थियो । उनी शनिबार संसदमा प्रवेश गरेपछि आज मन्त्री नियुक्त भएका हुन्।
पहिरोले घर पुरिंदा स्याङ्जामा आमाछोरीको मृत्यु
स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । जिल्लाको फेदीखोला गाउँपालिका ५ बाँगे भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा अन्दाजी २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ । जस्ताले छाएको एक तले घरलाई पुरेको प्रहरीको भनाई छ । घर नजिकैको एउटा गोठ पनि पुरिदा गोठमा रहेको एउटा भैंसी पनि मरेको छ ।
बागलुङमा घरसहित पहिरोमा पुरिए दम्पती
बागलुङ । बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । घरसहित पहिरोमा पुरिएका उनीहरुको उद्धारका लागि अहिले प्रहरी तथा स्थानीय खटिएका छन् । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।
पहिरोले डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध
लमजुङ । गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे(बेँसीसहर सडक पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१, दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
कारवाहीविरुद्ध सर्बोच्च पुगे देवकोटा
काठमाडौं । माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन् ।पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले नेता देवकोटालाई कारवाही गरेको थियो । माओवादी चुनाव चिह्नबाट विजयी भएपनि आफूले समाजवादी पार्टीकै तर्फबाट मनोनयन दर्ता गराएको, पार्टीको नाम समाजवादी नै लेखेकाले पनि आफूलाई माओवादीले मात्र एकल रुपमा कारबाही गर्न नसक्ने देवकोटाको दाबी छ। २८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन् ।माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका छन् ।
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
लमजुङ । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए। सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए। सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन्। बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन्। डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ। यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो।
मुग्लिन–मलेखु सडकखण्डमा पहिरो, यातयात अवरुद्ध
भरतपुर । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ । सडक निर्माणका क्रममा खनेको ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
गण्डकी सरकारको बजेट : ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार (पूर्णपाठ)
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३३ अर्बको बजेट ल्याएको छ । गण्डकीका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट प्रस्तुत गरेका हुन् । यो चालू आर्थिक वर्षभन्दा ४५ करोड कम हो । चालू आर्थिक वर्षमा गण्डकी सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख बजेट ल्याएको थियो । चालूतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पूँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री गुरुङले बताए । यस्तै,वित्तीय व्यवस्थापनतर्फ सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।गुणस्तरीय पूर्वधार तथा उत्पादनमा अभिवृद्धि, रोजगारी तथा आयमा वृद्धि र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन अभिवृद्धि गर्नेलगायतका उद्देश्यका साथ बजेट प्रस्तुत गरिएको मन्त्री गुरुङले बताए ।
गाई खरिदमा नगरले दियो ५० प्रतिशत अनुदान
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई खरिदमा अनुदान प्रदान गरेको छ । दैनिक १५ लिटर दुध दिने होलिस्टन तथा जर्सी जातको गाईको खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरेको हो । नगरपालिकाले यसअगाडि सामूहिक रुपमा गाईपालन गर्न चाहानेका लागी नगरपालिकामा निवेदन दिन सार्वजानिक सूचना जारी गरेको थियो । सोही सूचना अनुसार सामुहिक रुपमा गाई पाल्न शुरु गरेका किसानहरु तथा फर्मलाई ५० प्रतिशत अर्थात प्रति गाई ५० हजार अनुदान प्रदान गरेको हो । नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा ३ ओटा समूहका ३० ओटा गाईको लागी अनुदान १५ लाख रुपैँयाको चेक सम्बन्धीत समूह तथा किसालनई हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण गर्दै नगरप्रमुख कृष्ण खांणले नगरलाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम अगाडि बढाईएको भन्दै यसअघि दुधमा अनुदानको समेत व्यवस्था गरेकाले यस्ता अनुदान कार्यक्रमको सही सदुपयोग गरी अगाडि बढ्न कृषकहरुलाई आग्रह गरे । कृषकहरुको श्रम र उद्यमशीलताले नै नगरले समृद्धि प्राप्त गर्ने भन्दै नगरपालिका सँधै कृषकको साथमा रहेको नगरप्रमुख खांणले बताए । कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले वालिङलाई दुध, तरकारी, मासु र अण्डामा आत्मनिर्भर बनाउनका लागी यस्ता कार्यक्रमहरु आगामि वर्षमा पनि संचालन गरिने भन्दै किसानहरुलाई उद्यमशीलतामा लाग्न जोड दिइन । विहिबार ३० ओटा गाईको प्रति गाई ५० हजारका दरले १५ लाखको चेक किसानहरुलाई हस्तान्तरण गरिएको हो । मिलन दुग्ध उत्पादन सहकारी लिमिटेड वालिङ १३, अकला नमुना साना किसान कृषि सहकारी संस्था लिमिटेड वालिङ ८ र उन्नत गाईपालन समूह वालिङ १ किसानहरुलाई अनुदान बापतको रकम चेक मार्फत हस्तान्तरण गरिएको छ । उन्नत गाई पालन समूहका ८ जना किसानले १५ ओटा गाई खरिद बापतको ५० प्रतिशत, मिलन दुग्ध उत्पादन सहकारीका ३ जना किसानले १० ओटा गाई खरिद गरे बापतको ५० प्रतिशत अनुदान र अकला नमुना साना किसान कृषि सहकारी संस्थाका १ जना किसानले ५ ओटा गरी १२ जना किसानले ३० ओटा गाईको अनुदान प्राप्त गरेका हुन् । विभिन्न समुहमा रहेका किसानलाई यो वर्ष ७२ गाईको अनुदान प्रदान गरिनेछ । विभिन्न समुहहरुले दिएको निवेदनको आधारमा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा साखा सहितको संयुक्त टोलीले अनुगमन गरेपछि यो अनुदान वितरण कार्य शुरु गरिएको पशु शाखा प्राविधिक डोलराज गैह्रेले बताए ।
रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन्।बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकोमा जोड दिए । छलफलमा प्रधानमन्त्रीले भने, “विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ। ती उद्योगमध्ये केही उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ। हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ। त्यसैले कुन कुन उद्योगहरू पुनःसञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौँ। अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौँ।” प्रधानमन्त्रीले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योगहरू पुनःसञ्चालन गर्ने नीतिमा राज्यका सबै निकायहरू प्रष्ट हुनुपर्ने बताए । उनले भने, “विगतको जस्तै ढाँचा र ढर्रामा उद्योगहरूको पुनःसञ्चालन हुन सक्दैनन्। सार्वजनिक निजी साझेदारीको मोडेल नै ती उद्योगहरू सञ्चालन गर्ने मोडेल हो। बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग लगायतका उद्योगहरूको सम्भाव्यता बलियो छ। त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहने गरी साझेदारीको मोडेल तयार गरौँ।” छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउत लगायत सहभागी थिए ।
गण्डकीमा मनाङे र देवकोटा मन्त्री नियुक्त
पोखरा । गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) र सोमबार फ्लोर क्रस गरेका सांसद फणिन्द्र देवकोटा मन्त्री बनेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । मनाङेले भौतिक र देवकोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए संसद्को विश्वास
पोखरा । संवैधानिक विवाद र तानातानबीच गण्डकी प्रदेश सरकार केन्द्रमा बनेको सत्ता गठबन्धनबाट फुत्किएको छ।सोमबार गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएसँगै केन्द्रको सत्ता गठबन्धनबाट यो प्रदेश सरकार फुत्किएको हो । वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मतको प्रस्ताव राखेपछि मत विभाजन हुँदा उनको पक्षमा ३१ मत परेको हो ।प्रदेशसभामा उपस्थित ५९ जना सदस्यमध्ये प्रस्तावको पक्षमा ३१ मत पर्दा विपक्षमा २८ मत परेको हो । मत दिन्न भन्ने पक्षमा शून्य मत परेको सभामुख कृष्णप्रसाद धितालले बताए । पाण्डेको पक्षमा कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, स्वतन्त्र सांसद राजीव गुरुङको १ र माओवादी संसदीय दलका सदस्य सांसद फणीन्द्र देवकोटाले मतदान गरे। देवकोटा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन्। २०७९ को निर्वाचनमा गोरखाबाट उठेका उनले माओवादीको चुनाव चिन्ह हँसिया हथौडाबाट जितेका थिए। ‘मानीयन सुरेन्द्रराज पाण्डेले राखेको प्रस्तावको पक्षमा ३१ मत परेकाले प्रदेश सभामा तत्काल कायम रहेको संख्याको बहुमत देखिएकाले उहाँले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु’, सभामुख धितालले भने ।