‘सिन्की अचार’को रिमेक (भिडियाे सहित)

फागुन १३ । झण्डै तीन दशकभन्दा पुरानो सर्वाधिक लोकप्रिय गीत ‘सिन्की अचार…’को रिमिक्स भर्सन बजारमा आएको छ ।

चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. राम थापा तथा तारा थापाको आवाजमा रहेको साे गीतको रिमेकले थप चर्चामा ल्याएको छ ।

रिमेक भर्सन ‘सिन्की अचार…’ गीतमा बिनोदराज ढुंगेल तथा ईन्दिरा जोशीको आवाज रहेको छ ।

क्रियटिभ बिट्सले बजारमा ल्याएको बिनोदराज ढुंगेलको ‘सुनकेबरा’ एल्बममा संग्रहहित यस् गीतबाट गायक धेरै आशाबादी रहेका छन ।

गीतमा शिव मुखिया तथा जनक सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा र्याप फिचरिङ्ग विश्व श्रेष्ठ तथा कल्पना श्रेष्ठको रहेको छ ।

सन्दिप भूजेलले क्रोरियोग्राफी गरेको यस भिडियोमा टेलेभिजन मिडियाका भिजे रिजन थापा र चर्चित म्युजिक भिडियो मोडेल सुप्रिया कटुवालको अभिनय रहेको छ ।

आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक नव ढुंगेलले गरेका छन ।

अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले भिडियोलाई सम्पादन गरेका हुन । भिडियोमा पुरानो तथा नयाँ जेनेरसनमा हुने प्रेमलाई प्रस्तुत गराउन खोजिएको छ ।

रेडियो नेपालको जागिर छोडेर नेता बन्दै कोमल ओली

फागुन ५ । विगत दुई दशकदेखि रेडियो नेपालमा काम गर्दै आएकी गायिका तथा संचारकर्मी कोमल वलीले जागिर छोडेकी छिन् । मंगलबार रेडियो नेपालको कार्यालयमा राजिनामा बुझाएकी वलीलाई रेडियो नेपालमा कार्यरत संचारकर्मीले राजनीति गर्नुहुन्छ भन्ने सवालका लागि कार्यालयले केही समयअघि स्पष्टीकरण मागेको थियो । उनी भने राष्ट्रिय प्रजातन्त्र पार्टीमार्फत राष्ट्रिय राजनीतिमा आउने तयारीमा छिन् । कोमलले भनिन् –‘हो, मैले रेडियो नेपालबाट राजीनामा दिएकी छु । अब, म राप्रपाको केन्द्रीय सदस्यको उम्मेदवारी दिदैछु । यसैले, राजनीतिमा पूरा समय दिने उद्देश्यले रेडियो नेपालको जागिर छाडेकी हुँ ।’ वलीले आफ्नो गायकी भने नछाड्ने बताएकी छिन् । वि.सं २०५३ सालदेखि रेडियो नेपालमा समाचार बाचिकाको रुपमा कार्यरत थिइन् ।

‘भ्यालेन्टाइन डे’ को अवसरमा भ्यालेन्टाइन गीत रिलिज (भिडियो सहित)

काठमाडौं, फागुन २ । नेपाल चलचित्र ‘ईण्डलेस लभ’ को लिरिकल भिडियो गीत हालैमात्र रिलिज गरेको छ । सजन श्रेष्ठको निर्देशनको यस चलचित्रमा समावेश गरिएको गीतको बोलले प्रेम–भाव व्यक्त गरेको छ । भ्यालेन्टाइट छेकोमा निर्माण टिमले प्रेमदिवसको गीत सार्वजनिक गरेको हो । माया भाव बोल्ने गीतमा स्वर अल्मोडा राना उप्रेती र सुमन गुरुङको छ । शब्द संगीत भने जयन्त शर्माको रहेको छ । सार्वजनिक लिरिकल भिडियो विजय बस्यालले तयार गरेका हुन् । यस नेपाली चलचित्रमा अभिनय गर्ने कलाकार नाम भने सार्वजनिक गरेको छैन, यो भने अझैसम्म सस्पेन्स नै रहेको छ । यशराज ढकालको लगानी रहने फिल्मको कथा ढकालले लेखेका छन् भने स्क्रिन प्ले र डायलगमा निर्माता ढकाल र निर्देशक श्रेष्ठ दुवैले साझेदारी गरेका छन् ।

ब्रिटनी स्पेयर्स जस्तो देखिन ९० पटक प्लाष्टिक सर्जरी

लजलण्डन, एजेन्सी । प्रशंसकहरु पनि कतिसम्म पागल हुन्छन् भन्ने कुरा चर्चित गायिका ब्रिटनी स्पेयर्सका एकजना प्रशसंकले देखाएको व्यवहारबाट प्रष्ट हुन्छ । मिडियाहरुले उल्लेख गरे अनुसार, ब्रिटनी स्पेयरका एकजना प्रशसंकले उनीजस्तै देखिन ९० पटक प्लाष्टिक सर्जरी गराएका छन् । यसका लागि उनले करिब ८० लाख नेपाली रुपैयाँ खर्च गरेको समाचारमा छ । शेसेशोबिज डटकमको रिपोर्ट अनुसार, ‘मेक मी’ गायिकाका यी प्रशंसकले ब्रिटनी जस्तै देखिन ९० पटक अप्रेशन गरे । उनले नाक, मोटो बन्न लगाइने इन्जेक्सन, लेजर प्रक्रियाबाट कपाल हटाउने, ओठ र बोटोक्स इन्जेक्सनलगायतमा यति ठूलो रकम खर्च गरेका हुन । यति मात्रै हो र ? उनले आफ्नो छाला समेत ब्रिटनीजस्तै बनाउन हरेक पटक लोशन र क्रिममा ५ सय डलर खर्च गरेका छन् ।

सञ्चारकर्मी बरालको ‘लभ पर्न सक्छ’

काठमाडौं, माघ २१ । सञ्चारकर्मी ईश्वरी बरालको ‘लभ पर्न सक्छ’ बोलको गीत बजारमा आएको छ । डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको यस ‘लभ पर्न सक्छ’ बरालको पहिलो कोसेली हो । गीतले दर्शक श्रोताको मन जित्ने विश्वास रहेको गायिका बरालले बताइन् । नयाँ पुस्तालाई लक्ष्य गरेर रचित गीतमा ‘प्रेममा रहेका जोडी’लाई सचेत गराइएको छ । गायिका ईश्वरी ‘नेपाल एफएम’ नेटवर्क ९१.८ मा आबद्ध छिन् ।

यमबुद्धको शवको अन्त्येष्टि गरियो जन्मभूमीमा

काठमाडौँ, १५ माघ । केही दिन अगाडि बेलायतमा मृत्यु भएका गायक अनिल अधिकारी ‘यमबुद्ध’को शव आज नेपाल ल्याई अन्त्येष्टि गरिएको छ । यही माघ १ गते बेलायतमा मृत्यु भएका २९ वर्षीय यमबुद्धको पार्थिव शरीर बेलायतबाट आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । श्रद्धाञ्जलिका लागि उक्त स्थानमा आफन्त, इष्टमित्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा तथा कलाकारलगायतको सहभागिता थियो । उहाँको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार आजै साँझ अन्त्येष्टि गरिएको हो । रासस

गायक प्रकाश ओझा शंखमुलबाट पक्राउ, १० वर्षको जेल सजाएँ

काठमाडौँ, माघ १४ । अदालतबाट १० वर्षको सजाय पाएका गायक प्रकाश ओझा शुक्रबार पक्राउ परेका छन् । तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा उनलाई दश वर्षको सजाएँ तोकिएको थियो । केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो । ४३ वर्षीय ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूरोले जनाएको छ । उनलाई सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो । इटहरी घर भएका ओझा कुनै बेलाका चर्चित गायक र हास्य कलाकारसमेत हुन् । उनी काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङसमेत गर्ने गरेको व्यूरोले जनाएको छ । अदालतले कैद फैसला गरेलगत्तै ओझा फरार थिए । ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर देखाइ अनुचित प्रभावमा पारी पीडित तीन नाबालिकासँग अनैतिक सम्बन्ध राखेको आरोपमा उनलाई अदालतले जेल सजाय तोकेको हो । ओझाले नाबालिकाहरुको अश्लित तस्बिर र भिडियो खिचेर सार्वजनिक गर्ने धम्की दिइ पटक पटक यौन शोषण गरेको आरोप लागेको थियो ।

रहेनन् ‘तिरिरि मुरली बज्यो बनैमा’ गीतका गायक

काठमाडौं, माघ १२ । ‘तिरिरि मुरली बज्यो बनैमा’ बोलको गीतबाट ख्याती कमाएका बरिष्ठ गायक तथा संगीतकार पन्नाकाजी शाक्य आज विहान निधन भएको छ । लामो समयदेखि विरामी रहेका ८४ बर्षिय शाक्यको उच्च रक्तचापका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ४०० वढी गीत गाएका उनका २०० गीत मात्रै हाल उपलब्ध छन् । उनको ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ बोलको गीत पनि अत्याधिक चर्चित गीत हो । वि. सं.१९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका शाक्यले २००४ सालदेख गीत गाउन सुरु गरेका थिए । उनले २००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गएका थिए । २०१६ सालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ सालमा गायनमा उत्कृष्ट बन्दै स्वर्ण पदक जित्न सफल भएका थिए । उनको आजै टेकु दोभानमा अन्तेष्टी गरिने छ । उनका चार छोरा र एक छोरी छन् । उनका दुई छोरा गीत संगीतकै क्षेत्रमा सक्रिय छन् ।

चर्चित र्‍यापर यम बुद्ध लन्डनमा मृत भेटिए

माघ १ । चर्चित र्‍यापर अनिल अधिकारी अर्थात यम बुद्ध लन्डनमा मृत भेटिएका छन् । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेको र उनले आत्महत्या गरेको उनी निकट श्रोतले जनाएको छ । उनी श्रीमतिका साथ लन्डनमा थिए । श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ । २९ बषिर्य अधिकारी आफ्ना फ्यानहरुवीच यमबुद्धका नामले परिचित थिए । सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् । उनले केही महिनापछि नयाँ एल्बम ‘खतरा’ निकाल्ने तयारी गरिरहेको बताइएको छ ।

किम कार्दासियानको गहना चोरीकाण्डमा सोह्र पक्राउ

पेरिस, पुस २६। अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । फ्रान्समा फेशन विक टेलिभिजन सो नामक कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा किम कार्दासियान गतः अक्टोबर महिनामा पेरिस पुगेकी थिइन् । पेरिसस्थित उनको निजी निवासमा डाँकाहरूको एउटा ठूलै गिरोह जबर्दस्ती घुसी किमलाई बाँध, छाँद गरेर बाथरुमभित्र थुनी लुटेराहरूको समूहले एक करोड अमेरिकी डलरभन्दा बढी मूल्यपर्ने सुन तथा हिराका गर गहना, जुहारत डकैती गरेर फरार भएका थिए । त्यस बखत उनलाई शारीरिक चोटपटक केही नलागे ता पनि मानसिक रूपमा निकै सन्त्रस्त र विचलित भएकी किमका प्रवक्ता महिलाले बताएकी थिइन् । फ्रान्सेली प्रहरीले सोमबार सो लुटेराहरूको गिरोह पक्राउ परेको जनाएको छ । यद्यपि, लुटिएका गर गहना तथा जुहारत बरामद हुन सक्यो, सकेन भन्ने तथ्य प्रहरीले खुलाएको छैन । आतङ्कवादीहरूले तीन/तीन पटक ठूलठूला आक्रमण गर्दा धेरै जनधनको क्षतिको चपेटामा परिसकेको फ्रान्सको राजधानी पेरिसमा किम कार्दासियानको गरगहना डकैतीकाण्डले राष्ट्रिय सुरक्षामा फेरी एक पटक गम्भीर प्रश्नचिह्न खडा गरेको थियो । रासस

कतारबाट ‘कृपा’ लोक दोहोरी गीति एल्बमको विमोचन

कतार, पुस १८ । लामो समयदेखि कतारमा बस्दै आएका प्रेमप्रसाद भट्टराईको पहिलो लोक दोहोरी गीतको भिडियो एल्बम ‘कृपा’ सार्वजनिक गरिएको छ । कतारको एसियन टाउन सनैयामा मंसिर १५ गते गीति एल्बम विमोचन गरिएको हो । आइबोस ग्लोबलले आयोजना गरेको नयाँ वर्ष नाइट सांस्कृतिक कार्यक्रममा नेपालका म्युजिक भिडियो डाइरेक्टर तथा नेपालकै चर्चित मोडल शंकर विसि, चर्चित लोक दोहोरी गायक पशुपति शर्मा चर्चित आधुनिक गायक रुपकुमार राई नायिका सुर्जनी केसी चर्चित लोक दोहोरी गायिका तथा मोडल ज्योती मगर गायिका सहिमा श्रेष्ठ गायिका तथा मोडल कोपिला गुरुङ डान्सर रश्मि तामाङ र प्रेम प्रसाद भट्टराईको हातबाट सुयक्त रुपमा सार्वजनिक गरिएको थियो । नेपालको खोटाङ जिल्ला बुइपा गाविस वडा ८ राम्चे गाउँमा जन्मेर कतारमा बस्दै आएका भट्टराईको उक्त एल्वमा तीनवटा दोहोरी गीत र भिडियो रहेका छन् । भट्टराई आफैँले लेखेको र संगीत दिएको उक्त एल्वममा भट्टराई र गायिका सत्यकला राईको स्वर रहेको छ । एरेन्ज संगीतकार तथा एरेन्जर पावल चाम्लिङ राईले गरेका छन् । भिडियो डाइरेक्सन शंकर विसीले गरेका हुन् भने मोडलिङ पार्वती राई र संकर विसिले गरेका छन् । २ नम्बर गीतमा गायक राई नवीन र आभा मुकारुङ ले स्वर दिएका छन एरेन्जमा बलराम समाल रहेका छन भिडियोमा अन्य कलाकारहरु रहेका छन । ३ नम्बरको गीतमा प्रेमप्रसाद भट्टराई र गायिका पार्वती राईको स्वर रहेको छ भने एरेन्ज बलराम समालले गरेका छन् भिडियोको डाइरेक्सन शिव विक ले गरेका छन् भने मोडल सरिका केसी प्रेम प्रसाद भट्टराई र आबिश गौतम लगायत कलकारहरुले गरेका छन् । यो एल्वमलाई रिभेन्ज म्युजिक क्रियशन नया बानेश्वरले बजारमा ल्याएको हो । ‘कृपा’ एल्बम बुबा धर्मानन्द भट्टराई र आमा दिलकुमारी भट्टराईलाई समर्पण गरिएको छ । गीति एल्वम विमोचनमा बोल्दै भट्टराईले आफ्नो पहिलो प्रस्तुतिबारेमा सुझाव दिन आग्रह गरेका छन् ।

चर्चित पप सुपरस्टार जर्ज माइकलको निधन

काठमाडौं, ११ पुस । ब्रिटिस पप सुपरस्टार जर्ज माइकलको निधन भएको छ । ५३ वर्षीय सुपरस्टार माइकलको अक्सफोर्डशायरस्थित आफ्नै निवासमा निधन भएको बीबीसीले जनाएको छ । उनको मृत्युको कारण भने हालसम्म खुलेको छैन । सन् १९६३ जुन २५ मा जन्मिएका माइकललले सन् १९८० को दशकमा सांगीतिक यात्रा सुरु गरेका थिए । माइकलको सिंगल एल्बम ‘केयरलेस व्हिस्पर’को विश्वकै मानिसले प्रशंसा गरेका थिए । उक्त एल्वम विश्वभर करिब ६० लाख प्रति बिक्री भएको थियो । जर्ज एक्लै गायन तथा गीतकारको रुपमा काम गर्ने गरेका थिए । सन् २००४ मा रेडियो अकाडेमीले जर्ज माइकलको १९८४–२००४ सम्मको अवधिमा ब्रिटिस रेडियोमा सबै भन्दा बढी गीत बज्ने कलाकारको उपमा दिएको थियो । उनको निजी जीवन तथा पेशेवर जीवनमा आधारित डकुमेन्ट्री ‘अ डिफरेन्ट स्टोरी’ २००५ मा रिलिज भएको थियो । जर्जको लोकप्रिय एल्वमको रुपमा फेथ, लिसन विथ आउट प्रिज्यूडाइस, ओल्डर, सौंग्स, फर्म द लास्ट सेन्चुरी तथा पेशेन्स छन् ।

बजारमा ‘लाईंदैन माया पिरती’

काठमाडौँ – गायक कृष्ण काफ्लेले नयाँ एल्बम बजारमा पस्केका छन् । ‘लाइदैँन माया पिरती’ बोलको नयाँ लोक पप गीतमा शब्द विक्रम सुन्दासको रहेको छ भने संगित पुरुषोत्तम न्यौपानेको रहेका म्युजिकक भिडियोमा अशिष्मा नकर्मि र गायक काफ्ले आफैले अभिनय गरेका छन । भिडियोको डाइरेक्सन बिशाल भण्डारीले गरेका छन । चलचित्र लभ यु बाबाबाट मेरो मुटुको टुक्रा तिमी, चलचित्र बृन्दाबनको तिमी ताला म हुँ चाबी, चलचित्र छक्का पञ्जाबाट देखन चम्पा, किश्मत २ बाट तिम्रो पिक्चर हिट उनका सफल गीतहरु हुन् । १५० भन्दा बढी गीतहरुमा उनले आफ्नो आवाज दिइसकेका गायक काफ्ले अहिले सांगितीक कार्यक्रममा निकै नै व्यस्त छन । उनी भन्छन् ‘हरेक कुराको समय आउनु पर्दो रहेछ र अहिले मेरो समय आएको अनुभुत गरिरहेको छु ।’

नायिका मिरा अब गायिका बन्दै

मंसिर २२ । गुरुङ चलचित्रकी चर्चित नायिका मिरा गुरुङ अब गायिकामा पनि फड्को मारेकी छिन् । आधा दर्जन गुरुङ चलचित्रकी नायिकातथा अमेरिकन नेपाली कलाकार संघको भ्वाईस प्रेसिडेण्ट समेत रहेकीमिरा गुरुङ ‘गुरुङकी छोरी’ गीतमार्फत गायनमा प्रवेश गरेकी हुन् । गुरुङ चलचित्रको ‘उत्कृष्ट नायिका’ को एवार्ड समेत हात पारिसकेकी मिराले यस् गीतमा लोक र गुरुङ भाषा फ्युजन गरेकी छिन् । झन्डै १ दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी नायिका तथा गायिका मिरा गुरुङको यस म्युजिक भिडियोमा गुरुङ कल्चर र लोक परिवेशलाई देखाउन खोजिएको छ । भिडियोलाई पोखराको विभिन्न रमणिय स्थानहरुमा छायाँकन गरिएको हो । मिनबहादुर तामाङको रचना, सन्तोष प्रगाढको संगीतमा, राकेश ओली तथा नरेन्द्र बियोगीको एरेन्ज तथा मिक्सिङ रहेको यस गीतको म्युजिक भिडियोमा गुरुङ चलचित्रमा आफ्नो स्थान जमाइसकेको नायक सुनिल गुरुङलाई पनि देख्न सकिनेछ । पोखरामै एक दशकभन्दा धेरै समयदेखि डान्स कोरियोग्राफी गराइरहेका कोरियोग्राफर सुवास राइले यस भिडियोमा कोरियोग्राफी सम्हालेका छन् भने ताक्ला गुरुङले विशेष सहयोग गरेका छन् । आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस म्युजिक भिडियोको निर्देशन नव ढुंगेलले गरेका हुन् । निर्देशक ढुंगेलल मिडिया, प्रोडक्सन र एजेन्सीमा सक्रिय संस्था आर्टिस्ट नेपालका निर्देशक पनि हुन् । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले यस भिडियोको सम्पादन गरेका छन । नायिका तथा गायिका मिरा गुरुङको यस एल्बम तथा भिडियोलाई आर्टिस्ट नेपाल डटकमले बजार मौल्याएको हो ।

स्वर सम्राटलाई सम्झिँदै भव्य कार्यक्रम

काठमाडौं, मंसिर १९ । स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २६ औं वार्षिक स्मृतिमा राजधानीमा एक कार्यक्रममाझ उनलाई सम्झियो । नेपाल कला संस्कृति विकास केन्द्रले नारायणगोपालचोकस्थित ‘श्रद्धाञ्जली तथा साङ्गीतिक कार्यक्रम’को आयोजना गरेको हो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले स्वर सम्राट नारायणगोपालको भौतिक शरीर हामी माझ नभएपनि उनका गीत संगीतहरु प्रत्येक नेपालीको मुटुमा ढुकढुकी बनेर बसिरहेको बताए । नारायणगोपाल अमर रहेको उनले बताए । नेपाली सुगम संगीतमा स्वर सम्राट नारायणगोपाल बिनाको इतिहास सधै अपुरो रहेको भन्दै नेता पुनले नारायणगोपालका गीत संगीतलाई आकाशमा कहिल्यै नअस्ताउने घामको संज्ञा दिएका थिए । नेता पुनले भने, ‘नारायणगोपालका स्वरहरु कहिल्यै नझर्ने तारा बनेका छन् । नारायणगोपालका अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला संस्कृतिलाई फैलाउने एक संवाहक भएको भन्दै यस्ता राष्ट्रका सम्पत्तिलाई युगौंसम्म बचाई राख्न हामी सबैले आ–आफ्नो तह र तप्काबाट पहल गरिरहनु पर्ने उनले बताए । कार्यक्रममा नारायणगोपालका विभिन्न कालजयी गीतहरुको सांगीतिक ‘स्वरलिपि’को विमोचन गरिएको थियो । २०४७ साल मंसिर १९ गते आजैको दिन नारायणगोपालको देहावशान भएको थियो ।