दमकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

उर्लाबारी (मोरङ),  पुस २९ । झापाको दमक–१६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ का गौरव श्रेष्ठको मृत्यु भएको छ ।

राति १०ः१५ बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उर्लाबारी–४ कै २२ वर्षीय आकाश कार्की गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस

जिपको ठक्करबाट चितवनमा प्रहरीको मृत्यु, एक गम्भीर घाइते

रत्ननगर (चितवन), पुस २० । तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । गएराति करिब ८ः३० बजे साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । सो दुर्घटनामा परी मोरङ घर भई सोही शिक्षालयमा कार्यरत ३३ वर्षीय सुमन घिमिरे गम्भीर घाइते भएका छन् । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । चितवनको रत्ननगरबाट तरकारी बोकेर काठमाडौँ जाँदै गरेको ना ३ च ८३१ नंको बोलेरो जिपले साइकलमा सवार प्रहरीलाई ठक्कर दिएको हो । जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको र शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

टिप्परले ‍ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी (मोरङ), पुस १३  । पूर्वपश्चिम राजमार्गमा बयरवन–९ मा आज बिहान टिपरको ठक्करबाट आज बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नं नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को२२प ४३८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–८ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ४५ वर्षीय धनकुमार राईको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी ३५ वर्षीया विष्णुमाया राई गम्भीर घाइते भएकाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए । ठक्कर दिने टिपरसहित त्यसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

इ–रिक्साको ठक्करबाट बृद्धको मृत्यु

चितवन,  पुस ९ । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार दिउँसो इ–रिक्साको ठक्करबाट घाइते भएका एक वृद्धको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका–१ भक्तिनी बगैँचा नजिक ना १ ह ५१८५ नंको इ–रिक्साले खैरहनी नगरपालिका–१ ज्यामिरेका ६५ वर्षीय हिरालाल विकलाई ठक्कर दिएको थियो । घाइते विकको उपचारका क्रममा गए राति १२ बजे कलेज अफ मेडिकल साइसेन्स भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । इ–रिक्सा र चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ । रासस