गायिका स्मितालाई वैवाहिक शुभकामना दिंदै संजय दत्तले भने -'भेट्न नेपाल आउँछु'

काठमाडौं । बलिउड स्टार संजय दत्तले पनि गायिका स्मिता दाहाललाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । अभिनेता दत्तले नवविवाहित जोडीलाई बधाई दिन चाँडै नेपाल आउने बताएको भिडियो सन्देश सार्वजनिक भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश दिएका थिए भने अभिनेता दत्तले भिडियो सन्देश पठाएका हुन् । उक्त भिडियो स्मिताकी आमा समेत रहेकी गंगा दाहालले सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छन् 

मंसिर २१ गते गायिका दाहाल र उनका प्रेमी सायुज्य श्रेष्ठले लगनगाँठो कसेका थिए । ‘मायालु तिमी कता छौ’ स्मिताको बहुचर्चित गीत हो जसलाई अहिलेसम्म ३ करोड १५ लाख पटक हेरिएको छ ।

भिडियोमा दत्तले भनेका छन् -'नमस्कार, जय भोलेनाथ, हरहर महादेव । केही प्राविधिक समस्याको कारण आज म तपाईंहरूमाझ आउन सकिन । तर, मेरी भाञ्जी स्मिता र सायुज्यलाई उनीहरूको वैवाहिक जीवनको लागि शुभकामना । म मेरी बहिनी गंगा र उनको परिवारलाई मेरो तर्फबाट धेरै धेरै आशिर्वाद । तपाईंहरू सबैसँग चाँडै भेट्नेछु । मेरो तर्फबाट धेरै धेरै शुभकामना । गंगा बहिनी चाँडै आएर भेट्नेछु र यी बच्चाहरूलाई आफ्नो आशिर्वाद दिनेछु । धन्यवाद, चाँडै भेट्नेछौं । हर हर महादेव, जय भोलेनाथ'

चलचित्र विकास बोर्ड अध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले पदभार ग्रहण गरेका छन्। सोमबार बोर्डको कार्यालय पुगेर डिसीले कार्यभार सम्हाल्नुभएको छ । सोमबार बिहान उनलाई बोर्डका सदस्य र कर्मचारीले फूलमालाले स्वागत गरेका थिए।  बोर्डको  हलमा आयोजित बधाई तथा शुभकामना अर्पण कार्यक्रममा नेपाल चलचित्र संघ, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ लगायतका फिल्मसँग सम्बन्धित संस्थाका पदाधिकारीसहित अन्य फिल्मकर्मी समेत पुगेका थिए ।  पदभार ग्रहण गर्दै डिसीले आफू काम गर्न बोर्डमा आएको बताउनुभयो । उहाँले नेपाली फिल्म क्षेत्रको समस्या समाधानका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत बिहीबार मन्त्रिपरिषदको बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। डिसी लामो समयदेखि फिल्म र सञ्चार क्षेत्रमा सक्रिय हुनुहुन्छ।

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौं ।  सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डिसी)लाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। ती मध्ये डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको हो । डिसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी हुनुहुन्छ । उहाँले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय सुरु गर्नुभएको हो ।

झापाका सन्तोष बने ‘रियलमी मिष्टर नेपाल २०२४’

काठमाडौं । रियलमी ‘मिष्टर नेपाल २०२४’ सन्तोष लोक्सम घोषित भएका छन् । शनिबार राति सोल्टीमोड स्थित होटल सोल्टीमा भव्य स्टेज सेटअप सहित आयोजित  ‘रियलमी मिष्टर नेपाल २०२४’को अन्तिमस्पर्धामा झापा सन्तोष लोक्समले शीर्ष उपाधिको ट्रफी उचाल्न सफल भएका हुन् । विजेता बनेसँंगै उनी आधिकारिक रुपमा ‘मिष्टर नेपाल वल्र्ड २०२४’ चयन भएका छन् । उनले आगामी नोभेम्बर महिनामा भियतनामा संचालन हुने ‘मिष्टर वल्र्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।  कार्यक्रममा सन्तोषलाई एन्ट फाउन्डेसनले सोसल एम्बेसडरका रुपमा पनि पुरस्कृत गरेको छ । विजेता बनेसँगै सन्तोषले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन् ।  प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ ‘मिष्टर ग्लबोल नेपाल २०२४’ छानिएका । उनले नेपालको तर्फबाट आउँदो अक्टोबर महिनाको पहिलो साता थाईल्याण्डमा सम्पन्न हुने ‘मिष्टर ग्लबोल २०२४’ नेपालको प्रतिनिधित्प गर्नेछन् । त्यस्तै काठमाडौंका आयुष दुलाल प्रतियोगीतामा ‘म्यान अफ द वल्र्ड नेपाल २०२४’ चयन भए । दुलाले ‘म्यान अफ द वल्र्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।  योगेश र आयुष दुवै तीन लाख बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन् । तीनै जना मुख्य उपाधि विजेताले विभिन्न ब्राण्डका लागि मोडलिङ गर्ने अवसर समेत प्राप्त गरेका छन् ।  प्रतियोगितामा धरानका आदेश प्रधान फस्टरनर अप तथा हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप भए । बौद्धिकता सहितको व्यक्तित्व, आकर्षण सहितको आवरण तथा दृढ निश्चयता सहितको आत्मविश्वास भएको युवाको खोजी अन्तर्गत संचालन गरिएको ‘मिष्टर नेपाल २०२४’ को फाइनल प्रतिस्पर्धाको यात्रामा राइनो लेदरको पहिरनमा सहभागिहरुले आफ्नो प्रारम्भिक प्रस्तुति दिएका थिए, भने त्यसपछिका प्रस्तुतिमा ब्ल्याकबेरिजको विभिन्न मेन्स् वेयरमा सजिएर फाइनल प्रतिस्पर्धाको मैदान आफूलाई अब्बल रुपमा उतारेका थिए ।  एक्सपोज नेपालको पहलमा नेक्स्ट मोडल्स नेपालको आयोजनामा नेपाली युवाको बौद्धिकता, व्यक्तित्व, प्रतिभा, साँस्कृतिक पृष्ठभूमि र आत्मविश्वास संग जोडिएको राष्ट्रिय स्तरको प्रतियोगिता रियलमी मिष्टर नेपाल २०२४ मा देशभरिका ३८ जना युवाहरुको सहभागिता रहेको थियो । अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा  फोटोग्राफर राजभाई सुवाल, युवा उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री एवं मोडल नीति शाह, पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्व मिष्टर नेपालद्वय डा. रुपक घिमिरे र सन्दिप पोखरेल रहेका थिए । प्रतियोगिताको विभिन्न विधागत अवार्डमा आयुष बोमजन रियलमी मोस्ट पपुलर, आदेश प्रधान पब्लिक च्वाइस, आयुष दुलाल टेनएक्स वेष्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मोस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ आर्टसियम मिष्टर फाटोजेनिक, साकार बजिमय प्रिमेरा मोस्ट इन्टिलेक्चुयल, मनोज गुरुङ बज्र वेष्टफिजिक, सन्तोष लोक्सम ब्ल्याकबेरी म्यान अफ एलिगेन्स, प्रकाश चौहान योलो मोस्ट एक्टिभ, समिर तिमिल्सिना आवरण वेष्ट स्कीन, पियुष श्रेष्ठ जोय मेन च्वाइस, अनिकेत प्रजापति श्रीकेश वेष्ट हेयर, सिजल कपाली राइनो मिष्टर फेसनीष्टा, अग्रज श्रेष्ठ प्रो स्टाइल मिष्टर स्टाइल आइकन तथा मनोज गुरुङ केएफसी वेष्ट स्पोर्टस्मेनशीप अवार्डमा विजेता चयन भएका थिए । ‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगीतामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रुपमा रहदै आएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।  

‘नमेटिने घाउ को पोस्टर सार्वजनिक,चलचित्रको पोस्टरमा प्रधानमन्त्री ओली

काठमाडौं । अभिनेता रमित ढुङ्गानाको  निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ' को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ ।भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘नमेटिने घाउ’को निर्देशक ढुंगानाले सोमबार पोस्टर सार्वजनिक गरेका हुन् । चलचित्रको सार्वजनिक पोस्टरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ,प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत चलचित्रका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् ।   चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् । चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ। रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।

‘कार्साङ’को वर्कशपमा दयाहाङ

काठमाडौं । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो। यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ ।  यस फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो । केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको फिल्म यसै सातादेखि छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ । सामाजिक कथावस्तुमा निर्माण हुने यस फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै फिल्ममार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्। सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् । यस्तै, फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ । यस फिल्मलाई यम शेर्पाले निर्देशनमा गर्दैछन् । उनको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् । यस फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सहनिर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् । मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने फिल्मको मुख्य सह(निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह(निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् । फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, गितार उपहार (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडलका विजेता करण परियारलाई बधाइ दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले परियारलाई बधाइ दिएका हुन् । बधाईसँगै प्रधानमन्त्री प्रचण्डले परियारलाई गितार उपहार दिएका थिए ।परियारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए। नेपाल आइडल विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने प्रधानमन्त्रीको विश्वास थियो ।

चलचित्र पत्रकार संघ, कोशीद्वारा भिषण र गोपाललाई सम्मान, सुमितलाई प्रोत्साहन पुरस्कार

इटहरी । चलचित्र पत्रकार संघ नेपालको २५ औं वार्षिकोत्सब (रजत जयन्ती) तथा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश शाखाले पनि भव्य कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । प्रदेश शाखाले जेष्ठ ७ गते धरानमा अवस्थित सुनसरी उधोग बाणिज्य संघको सभाहलमा वार्षिकोत्सबको केक काट्दै ३ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोशी प्रदेश सभा सदस्य माननीय विजय कुमार राईको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका अध्यक्ष सुमित्रा राई ९सन्जु०को सभापतित्वमा आयोजना भएको कार्यक्रम मार्फत ‘चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ बाट लामो समयदेखी कोशी प्रदेशमै रहेर चलचित्र पत्रकारितालाई मुख्य बिट बनाएर कलम चलाईरहेका भीषण राई र गोपाल दाहाललाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि माननीय राईद्वारा दुबै जना सम्मानित चलचित्र पत्रकारलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै नयाँलाई पनि प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्य सहित ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार(२०८१’ बाट कोशी प्रदेशमा विगत ६ वर्षदेखी चलचित्र पत्रकारिता गरिरहेका सुमित कार्कीलाई ५०२५ रुपैयाँ नगद सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । उनलाई पनि प्रमुख अतिथि माननीय राईद्वारा दोसल्ला ओढाएर प्रोत्साहन पत्र सहित नगद राशी प्रदान गरिएको छ । आगामी वर्षहरूमा समेत यी पुरस्कारलाई अझै बृहत् बनाउदै निरन्तरता दिने संस्थाका अध्यक्ष सुमित्राले बताईन् । संघको २५ औं वार्षिकोत्सब भएका कारणले उपस्थित प्रमुख अतिथि, सभापति, विशेष अतिथीलगायतले संयुक्त रुपमा केक काटेर वार्षिकोत्सब मनाईएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा कोशी प्रदेश सभा सदस्य माननीय मीना श्रेष्ठ, प्रहरी उपरीक्षक भीम दाहाल, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश ईन्चार्ज नरेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिव देवेन्द्र कार्की, धरान उपमहानगर पालिकाका उप(प्रमुख आईन्द्रबिक्रम बेघा, अग्रज पत्रकारहरु हर्ष सुब्बा, महेश श्रेष्ठ, चलचित्र निर्देशक तथा निर्माता सन्तोष सेन, ईलाका प्रहरी कार्यलय धरान प्रमुख मानबहादुर राईको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा अतिथिको रुपमा पत्रकार, कलाकार, राजनितीक जनप्रतिनिधि, साममजिक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । उपस्थित विशेष अतिथी तथा प्रमुख अतिथिले वार्षिकोत्सबको उपलक्ष्यमा शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशका सचीव सुवास श्रेष्ठ संकल्पले संचालन गरेका थिए । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश स्थापनाको ८ वर्ष पूरा भैसकेपनी केन्द्रबाट आधिकारिकता नपाउदा यसअघिका वर्षहरुमा सुस्त थियो । पछिल्लो समय करिव १ वर्षअघि प्रदेश शाखाको रुपमा केन्द्रले समेटेपछी भने यो संस्थाको सक्रियता बढेर गएको छ । संस्थाले करिव एक महिना अघि बिराटनगरमा कोशी प्रदेशका कलाकारहरूको समस्या सुन्ने र समाधानको बाटो खोज्ने जमर्कोसहित बृहत् रुपमा ‘सिने समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो । सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक नौ हजार नौ सय ४७, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् ।  साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन्। 

मिस नेशनल उपाधिको लागि भिड्दै मोडल डा.आयुष्नोभा

काठमाडौंँ । मोडल तथा डाक्टर आयुष्नोभा ढुंगाना अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् ।  कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् । उनले अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् । कलाकारिता तर्फ उनले मोडलिङ, कान्छो अंग्रेजी अनुवादक ( Youngest Sub–tittle Translator) लगायतबाट समेत बिभिन्न अवार्डहरु प्राप्त गरेकी छन् । ‘मिष्टर एण्ड मिस नेशनल’ तर्फ उनी अहिले मिस नेशनलको प्रतिस्पर्धा गर्न लागेकी छन । पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उदेश्यले यो प्रतियोगीतामा सहभागी भएको उनले बताइन । प्रतियोगीताको अन्तिम २४ भित्र छानिन सफल उनलाई उपाधिको दावेदार समेत मानिएको छ ।  मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो । गीतमा २ दर्जनबढी राष्ट्रिय कलाकारसँग उनले अभिनय गरेकी थिइन् ।  ‘मिष्टर एण्ड मिस नेशनल’ प्रतियोगीताको फाइनल यहि मेको एक तारिकमा हुँदैछ । जसमा प्रतियोगीतामा ताज जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाले बताइन् । मिस नेशनलका डिरेक्टर डा. सन्तोष उपाध्याय हुन् । उनी मिष्टर नेशनलका अन्तर्राष्ट्रिय तेस्रो विजेता पनि हुन् ।  

गायक राजेश पायलले घर घडेरी दिएर गरे ‘डिभोर्स’

काठमाडौं । गएराति मादक पदार्थ सेवन गरी हल्ला गरेको भन्दै छिमेकीले प्रहरीलाई जानकारी गराएपछि पक्राउ परेका चर्चित गायक राजेशपायल राईले डिभोर्स गरेका छन् । गायक राईले यही साता काठमाडौं जिल्ला अदालतमा श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा डिर्भोस गरेका हुन् ।स्रोतका अनुसार अदालतमा दुई पक्षबीच मिलापत्र गरी डिभोर्स भएको हो । अदालतमा गायक राई आफैले डिभोर्सको मुद्दा दायर गरेका थिए ।डिर्भोसपछि उनले हिजो मादक पदार्थ सेवन गरी हल्ला गरेको बुझिएको छ । उनीहरूबीच सहमतिमा डिर्भोस भएको हो । यस क्रममा गायक राईले श्रीमतीलाई झण्डै पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिने भएका छन् । नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङबुङलाई थप नगद दिने सहमति गरेका छन् । साथै, थप एक करोड रूपैयाँ र काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि लिने दिने लिखित सहमति भएको बुझिएको छ । उनीहरूको दुई वर्षीय छोरा छन् । छोराको सबै पालन पोषणसहित शिक्षाको जिम्मेवारी गायक राईले लिने भएका छन् । उनीहरुले छोरा जन्मिएपछि विं.सं.२०७८ असोजमा बिहे दर्ता गरेका थिए । गायक राईकी श्रीमतीले आफ्नो सामाजिक सञ्जालमा डिर्भोसको विषयलाई पुष्टि गर्ने गरी आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । उनले यस क्रममा केही दिनअघि ‘तिम्रो खुशी नै मेरो खुशी, चाहे तिमीलाई पाउ या गुमाउ’ भन्दै लेखेकी छन् । 

प्रधानमन्त्री फेवाताल छेवैमा छमछमी नाचेपछि…

गण्डकी। पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए। आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरू झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो। मध्यान्हपख घोषणा समारोह सुरु भयो। समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए। ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत समर्पण गरे। धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि…’ सुनाए। गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा…’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे। औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्नलागे। समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धापूर्वक शिर निहुराए र आफ्नो प्रस्तुति दिन सुरु गरे। अरूलाई एक वटा मात्र गीत गाउन दिइए पनि सपुतले दुई गीत सुनाए। पहिलो पञ्चेबाजामा ‘माकुरमाकुर घुर…’ र दोस्रो ‘बोलामाया…’। देशविदेशका सांगीतिक प्रस्तुतिमा भ्याइ नभ्याइ उनी प्रधानमन्त्री प्रचण्डसामु भने पहिलो पटक गीत गाउँदै थिए। सपुतले क्रान्तिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए। उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसंगीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे। ‘प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु,’ सपुतले भनेका थिए। उनको अनुरोधलाई सहज रुपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचे। गायक सपुतको ‘बोलमाया…’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरूको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो। प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए। सो दृश्यलाई धेरैले क्यामरा र मोबाइलमा कैद गरे। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि संघ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए। उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए। ‘पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि यथोचित पहल तथा समन्वय गरिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ।’ उनले आगामी वैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीको वर्षौं पुरानो सपना पूरा भएको बताए। पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न गरिएको पटक-पटक पहलले सार्थकता पाएको उनको भनाइ छ। प्रमुख आचार्यले राजधानी घोषणाले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने बताए। प्रमुख आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटनका थप पूर्वाधार निर्माण गरिने बताए। प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणासँगै पर्यटकीय राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भको अनावरण गरेका थिए। सो अवसरमा कास्कीको हेम्जामा जन्मनुभएका साहित्यकार मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको थियो। यस्तै दिवङ्गत भूगोलविद् हर्क गुरुङ र गायक तथा सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो। मल्लले ‘पोखरा त साँच्चिकैको पोखरा पो रै’छ…’ गीत गाएका थिए। -रासस

नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल हो : मन्त्री शर्मा

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल विश्वस्तरमै चलचित्र उद्योगका लागि महत्वपूर्ण स्थल भएको बताएकी छिन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले छायाँकन स्थल र कथावस्तु दुबै हिसाबले नेपाल चलचित्रका लागि महत्वपूर्ण स्थल भएको बताइन्।  ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधिताको अनुपम संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमै समृद्ध मुलुक नेपाल चलचित्र छायाँकनका लागि महत्वपूर्ण स्थल हो’– मन्त्री शर्माले भनिन्– ‘यहाँका रमणीय प्राकृतिक सम्पदाको सामीप्यतामा गरिने छायांकन मात्र होइन, कहिल्यै पराधिन बन्नु नपरेको नेपाल राष्ट्रको गौरवशाली इतिहास तथा सामाजिक सांस्कृतिक सम्पदाको अखण्ड विरासत चलचित्रका लागि महत्वपूर्ण कथावस्तु पनि हुन् ।’ मानव जातिका दुःखका कारण र यसको समाधानको विधि पत्ता लगाएर विश्वलाई सुख र शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल नेपाल बहुभाषिक, बहुसाँस्कृतिक र बहुजातीय मुलुक रहेको औल्याउँदै उनले नेपाली संस्कृतिको अभिन्न अंगको रुपमा रहेका मूर्त र अमूर्त सबै सम्पदाहरु चलचित्रका महत्वपूर्ण कथावस्तु र छायांकनका लागि मनोरम स्थल रहेको बताइन्।   नेपाली चलचित्रले यहाँको सामाजिक, साँस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठूलो योगदान दिंदै आएको उललेख गर्दै मन्त्री शर्माले थपिन्– ‘नेपाली चलचित्र क्षेत्रलाई मर्यादित, व्यावसायिक बनाउन र मौलिक एवं स्तरीय नेपाली चलचित्र निर्माणमा अभिप्रेरित गर्न तथा यसको बजारीकरणमा समयसापेक्ष विकास गर्दै लैजान सबैको उत्तिकै योगदान र सकारात्मक भूमिका अपरिहार्य रहन्छ ।’ अब नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिंदै मन्त्री शर्माले उच्चतम प्रविधिको प्रयोग गरेर गुणस्तरीय चलचित्र बनाउने र विश्व बजारमा नेपाली चलचित्रलाई विस्तार गर्ने दुबै काम महत्वपूर्ण भएको बताइन्।  ‘नेपाली चलचित्रको विश्वब्यापी बजारीकरणले एकातिर चलचित्र क्षेत्रको आर्थिक उनन्नयनमा टेवा पुग्नेछ भने अर्कोतिर पूर्वीय संस्कृतिको प्रवर्धन र विस्तारमा सहयोग पुग्नेछ’– मन्त्री शर्माले भनिन्– ‘सूचना प्रविधिका कारण सिर्जित विश्वब्यापीकरणले नेपालजस्ता प्राचीन मुलुकहरुको मौलिक संस्कृति लोप हुने खतरा बढ्दै गएको छ । त्यसो हुन नदिन हाम्रा मौलिक संस्कृतिसँग जोडिएका कथावस्तुमा धेरैभन्दा धेरै चलचित्र निर्माण गर्ने र त्यसको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिनुपर्ने आवश्यकता छ ।’ सरकारले नेपाली चलचित्र क्षेत्रलाई थप रचनात्मक र सिर्जनशील बनाउन सहयोग पुग्ने गरी  स्टोरी बैंक स्थापना र ऐतिहासिक चलचित्र तथा वृत्तचित्र निमाणलाई प्रोत्साहन, काभ्रेमा चलचित्र छायाङ्कन स्टुडियो र दोलखा चलचित्र नगरी आयोजना, बाल चलचित्र महोत्सव जस्ता कार्यक्रम अघि सारेको जानकारी दिंदै उनले यो वर्षदेखि चलचित्रको माध्यमबाट सामाजिक सांस्कृतिकरुपान्तरणमा योगदान पुर्याउने चलचित्रकर्मीहरुलाई सम्मानको कार्यक्रम पनि थालिएको बताइन् ।  सरोकारवालासँगको परामर्शमा चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन परिमार्जनमा सरकारले गृहकार्य सुरु गरेको जानकारी दिंदै मन्त्री शर्माले यस क्षेत्रा आउने नीति र कानुनमा विरोध र समर्थन मात्रै भन्दा रचनात्मक सुझाव पनि विज्ञ र सरोकारवालाहरुलाई आग्रह गरिन्। महोत्सव चैत ५ गतेसम्म चल्ने छ ।

‘उपहार’ को ‘खाडीमा भेटौंला’ सार्वजनिक

काठमाडौं । गत शुक्रबार देखि रिलिज भएकोे फिल्म ‘उपहार’ को ‘खाडीमा भेटांैला’ गीत ओएसआर डिजिटलमार्फत मंगलबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, अनुपम गौतमको भीएफएक्स, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

पूर्वप्रधानमन्त्री केपी ओलीसँग राजेश हमालले सिनेमा संवाद गर्ने

काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन्। नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्र्रियामध्ये एउटा सेसनमा ओली र राजेशले संवाद गर्ने भएका हुन्।  सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रबार ११ बजे देखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ।  दुईबीचको संवाद राष्ट्रिय सभागृहमा हुनेछ।  चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराएका छन्।  महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने छन् भने नम्रता शर्माले चलचित्रमा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मासँग कुरा गर्नेछिन्। 

चलचित्र गोर्खा वारियर हेरेपछि गृहमन्त्री श्रेष्ठले भने –‘यस्ता फिल्म अझै बनुन्’

काठमाडौं, १९ फागुन । चार भाषामा निर्माण भएको चलचित्र गोर्खा वारियर शुक्रबार देखि दोश्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्र दोश्रो साता पनि देशका करिब ६५ वटा सिनेमा हलमा प्रदर्शन भईरहेको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार अपरान्ह जमलस्थित विश्वज्योति सिनेप्लेक्समा चलचित्र ‘गोर्खा वारियर’ हेरेका छन् । यो चलचित्रलाई यस अघि काठमाडौंको प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली, संस्कृति मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाहीसहित विभिन्न नेताले हेरेर यो चलचित्रको तारिफ गरेका थिए । शुक्रबार बेलुका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोर्खा वारियर हेरेपद्धि चलचित्रको तारिफ गरेका छन्। चलचित्र हेरेपछि गृहमन्त्री श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने,‘ गोर्खा वारियर चलचित्रमा वीरताको कथासँगै नेपाली मौलिकता, गाउँको परिवेश, संस्कृतिलाई समावेश गरिएको छ । निर्माण पक्षलाई बधाई दिदै यस्ता फिल्म निर्माणलाई सङ्ख्यात्मक रुपमा बढाउन आग्रह गर्दछु’, यस्ता चलचित्रलाई राज्यले सहयोग गर्नु पर्ने भनाई राख्दै गृहमन्त्री श्रेष्ठले यो चलचित्रको तारिफ गरे । लामो समयपछि आफुले निकै राम्रो चलचित्र हेर्न पाएको बताउँदै उनले यसका निर्माता सुमन राई, निर्देशक मिलन चाम्सलगायत टिमलाई बधाई दिए । आउँदा दिनमा पनि यस्ता चलचित्र निर्माण गर्न उनले सुझाब दिए । यो चलचित्रका वितरण सँयोजक करण क्रेजीले दोश्रो सातामा पनि गोर्खा वारियरलाई दर्शकले साथ दिएको बताउँदै भने, ‘शुक्रबार काठमाडौंको केही शो हाउसफुल छ भने धेरै जसोमा ८० प्रतिसत दर्शक छन् । शनिबारको शो पनि राम्रो छ ।’ धरान, पोखरा लगायतको शहरमा शनिबार पनि हाउसफुल भएको करणले बताए । गोर्खा वारियरमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सुरज तमु, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा पनि धरान, पोखरा र काठमाडौंमा प्रिमियर गरिएको थियो । यो चलचित्र गत ११ फागुनबाट नेपालमा प्रदर्शन भईरहेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा रहेका छन् । यसमा कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् । ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा यो चलचित्रमा प्रस्तुत गरिएको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।  उनका अनुसार यो चलचित्र नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी गरी चार भाषामा तर भएको छ । नेपाली भाषाको सिनेमा अहिले प्रदर्शन भइरहेको छ भने बाँकी तीन भाषाको फिल्म पनि प्रदर्शनमा आउने चाम्सले जानकारी गराएका छन् ।