चलचित्र गोर्खा वारियर हेरेपछि गृहमन्त्री श्रेष्ठले भने –‘यस्ता फिल्म अझै बनुन्’

चलचित्र गोर्खा वारियर हेरेपछि गृहमन्त्री श्रेष्ठले भने –‘यस्ता फिल्म अझै बनुन्’

काठमाडौं, १९ फागुन । चार भाषामा निर्माण भएको चलचित्र गोर्खा वारियर शुक्रबार देखि दोश्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्र दोश्रो साता पनि देशका करिब ६५ वटा सिनेमा हलमा प्रदर्शन भईरहेको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।

यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार अपरान्ह जमलस्थित विश्वज्योति सिनेप्लेक्समा चलचित्र ‘गोर्खा वारियर’ हेरेका छन् । यो चलचित्रलाई यस अघि काठमाडौंको प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली, संस्कृति मन्त्री सुदन किराती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाहीसहित विभिन्न नेताले हेरेर यो चलचित्रको तारिफ गरेका थिए । शुक्रबार बेलुका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोर्खा वारियर हेरेपद्धि चलचित्रको तारिफ गरेका छन्।

चलचित्र हेरेपछि गृहमन्त्री श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने,‘ गोर्खा वारियर चलचित्रमा वीरताको कथासँगै नेपाली मौलिकता, गाउँको परिवेश, संस्कृतिलाई समावेश गरिएको छ । निर्माण पक्षलाई बधाई दिदै यस्ता फिल्म निर्माणलाई सङ्ख्यात्मक रुपमा बढाउन आग्रह गर्दछु’, यस्ता चलचित्रलाई राज्यले सहयोग गर्नु पर्ने भनाई राख्दै गृहमन्त्री श्रेष्ठले यो चलचित्रको तारिफ गरे । लामो समयपछि आफुले निकै राम्रो चलचित्र हेर्न पाएको बताउँदै उनले यसका निर्माता सुमन राई, निर्देशक मिलन चाम्सलगायत टिमलाई बधाई दिए । आउँदा दिनमा पनि यस्ता चलचित्र निर्माण गर्न उनले सुझाब दिए ।

यो चलचित्रका वितरण सँयोजक करण क्रेजीले दोश्रो सातामा पनि गोर्खा वारियरलाई दर्शकले साथ दिएको बताउँदै भने, ‘शुक्रबार काठमाडौंको केही शो हाउसफुल छ भने धेरै जसोमा ८० प्रतिसत दर्शक छन् । शनिबारको शो पनि राम्रो छ ।’ धरान, पोखरा लगायतको शहरमा शनिबार पनि हाउसफुल भएको करणले बताए ।

गोर्खा वारियरमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सुरज तमु, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा पनि धरान, पोखरा र काठमाडौंमा प्रिमियर गरिएको थियो । यो चलचित्र गत ११ फागुनबाट नेपालमा प्रदर्शन भईरहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा रहेका छन् । यसमा कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।
‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा यो चलचित्रमा प्रस्तुत गरिएको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । 

उनका अनुसार यो चलचित्र नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी गरी चार भाषामा तर भएको छ । नेपाली भाषाको सिनेमा अहिले प्रदर्शन भइरहेको छ भने बाँकी तीन भाषाको फिल्म पनि प्रदर्शनमा आउने चाम्सले जानकारी गराएका छन् ।

‘कार्साङ’को वर्कशपमा दयाहाङ

काठमाडौं । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो। यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ ।  यस फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो । केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको फिल्म यसै सातादेखि छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ । सामाजिक कथावस्तुमा निर्माण हुने यस फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै फिल्ममार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन्। सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् । यस्तै, फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ । यस फिल्मलाई यम शेर्पाले निर्देशनमा गर्दैछन् । उनको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् । यस फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सहनिर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् । मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने फिल्मको मुख्य सह(निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह(निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् । फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, गितार उपहार (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडलका विजेता करण परियारलाई बधाइ दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले परियारलाई बधाइ दिएका हुन् । बधाईसँगै प्रधानमन्त्री प्रचण्डले परियारलाई गितार उपहार दिएका थिए ।परियारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए। नेपाल आइडल विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने प्रधानमन्त्रीको विश्वास थियो ।

नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो । सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक नौ हजार नौ सय ४७, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् ।  साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन्। 

मिस नेशनल उपाधिको लागि भिड्दै मोडल डा.आयुष्नोभा

काठमाडौंँ । मोडल तथा डाक्टर आयुष्नोभा ढुंगाना अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् ।  कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् । उनले अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् । कलाकारिता तर्फ उनले मोडलिङ, कान्छो अंग्रेजी अनुवादक ( Youngest Sub–tittle Translator) लगायतबाट समेत बिभिन्न अवार्डहरु प्राप्त गरेकी छन् । ‘मिष्टर एण्ड मिस नेशनल’ तर्फ उनी अहिले मिस नेशनलको प्रतिस्पर्धा गर्न लागेकी छन । पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उदेश्यले यो प्रतियोगीतामा सहभागी भएको उनले बताइन । प्रतियोगीताको अन्तिम २४ भित्र छानिन सफल उनलाई उपाधिको दावेदार समेत मानिएको छ ।  मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो । गीतमा २ दर्जनबढी राष्ट्रिय कलाकारसँग उनले अभिनय गरेकी थिइन् ।  ‘मिष्टर एण्ड मिस नेशनल’ प्रतियोगीताको फाइनल यहि मेको एक तारिकमा हुँदैछ । जसमा प्रतियोगीतामा ताज जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाले बताइन् । मिस नेशनलका डिरेक्टर डा. सन्तोष उपाध्याय हुन् । उनी मिष्टर नेशनलका अन्तर्राष्ट्रिय तेस्रो विजेता पनि हुन् ।  

लोकप्रिय