प्रधानमन्त्रीलाई मधेश प्रदेश सरकारको ६ बुँदे ध्यानाकर्षण

काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघीयता भएको ८ वर्ष भइसक्दासमेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले यो ध्यानाकर्षण गराएको मुख्यमन्त्री यादवले बताए । उनले ३० दिनभित्र प्रदेशका माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

प्रदेश प्रहरी समायोजन सम्बन्ध, संघीय निजामति सेवा ऐनको सम्बन्धमा, सार्वजनिक जग्गाको प्रयोगको सम्बन्धमा, गुठी जग्गाको सम्बन्धमा, अर्थ सम्बन्धी समस्या सम्बन्धमा र अभियोजन सम्बन्धमा आधारित भइ ज्ञापन बुझाएको उनको भनाइ छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागहरू जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको मुख्यमन्त्री यादवले बताए ।

मुख्यमन्त्री यादवले प्रदेश अधिकारका लागि सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई मिलेर अघि बढ्न आह्वान समेत गरेका छन् ।

राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्रमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्। राष्ट्रपति पौडेल बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको स्रोतले जनाएको छ । उनी युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित जान लागेका हुन्। विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् । जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो ।

भूकम्प प्रभावितलाई ५० लाख दिने निर्णय अनुमोदन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले जाजरकोट र रुकुमपश्चिम लगायतका विभिन्न जिल्लामा रहेको भूकम्प प्रभावितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकार समक्ष गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा आइतबार बिहान बसेको बैठकले सो निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उनले भने, “जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका सन्दर्भमा बैठकले भूकम्प प्रभावितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापना गराउन गम्भीर रुपमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।” उहाँले कांग्रेस केन्द्रीय सदस्यहरुबाट जम्मा गरेको कोषबाट भूकम्प प्रभावितलाई दिइने ५० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय बैठकले अनुमोदन गरेको जानकारी दिए । उनले भने “यो रकम पर्याप्त होइन । अझै थप रकम त्यहाँ पुर्‍याउन विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न अपिल गरेका छौं ।” उनले कांग्रेस नेता जीपछिरिङ लामाले ११ लाख रुपियाँ र दिव्यमणि राजभण्डारीले पाँच लाख रुपियाँ सहयोगको प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

लुम्बिनीमा माओवादी केन्द्रको प्रशिक्षक प्रशिक्षण कार्यक्रम : प्रधानमन्त्री प्रचण्डद्धारा सम्बोधन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति, स्कूल विभागले आयोजित लुम्बिनी प्रदेशस्तरीय आधारभूत स्कुलिङ (प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । बुटवलमा आयोजित उक्त कार्यक्रम)लाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।

जनयुद्ध दिवस मनाउने आफ्नै निर्णय एमालेका नेताले बिर्सिए : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित काम टुंग्याउन सबै राजनीतिक दल मिल्नुको विकल्प नभएको बताएका छन्। बिहीबारबाट अन्त्य गर्न लागिएको प्रतिनिधि सभाको जारी अधिवेशनको अन्तिम बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष तहमा सकारात्मक छलफल भइरहेको पनि बताए। नेता पुनले राज्य निरन्तरतामा चल्ने र संस्थालन निर्णयहरुलाई त्यस पछि आउने नेतृत्वले पनि अपनत्व लिनुपर्ने बताए । संस्थागत मेमोरी नहुँदा वा बिर्सने बानिले नेपाली राजनीतिमा समस्या आएको उनले बताए । एमाले उपाध्यक्ष विष्णु पौडेलले उठाएको प्रश्नको जवाफ दिदै नेता पुनले एमाले सरकारमा भएका बेला नै फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय भएको बताए । एमाले नेता विष्णु पौडेल उपप्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषदले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको पुनले सम्झाएका हुन्। पौडेलले फागुन १ गतेदेखि मुलुकमा हिंसा सुरू ‍भएकाले यसलाई दिवसका रूपमा मनाउन नमिल्ने बिहीबारको प्रतिनिधि सभा बैठकमा तर्क गरेका थिए। पौडेलले जनयुद्ध दिवस मनाउने निर्णय गरेर गठबन्धन बनेको र नेपाली कांग्रेस पनि त्यसैमा सहभागी भएको टिप्पणी गरेका थिए। ‘हिंसा सुरू भएको दिनलाई जनयुद्ध दिवस मानेर विदा दिने निर्णय सरकारबाट भएको छ, कांग्रेस त्यसैमा सहभागी छ,’ पौडेलले भने, ‘यदि यो सरकारसँग आँट छ भने जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा लिएर आओस् त्यसको निर्णय जनप्रतिनिधिले गर्छन्,हामीले गर्छौं।’ नेता पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित काम पीडितमैत्री बनाई टुंग्याउनुपर्ने बताए। सबै राजनीतिक दलले सहकार्य गरेर अघि बढे पीडितलाई न्याय दिएर संक्रमणकालीन न्याय टुंग्याउन सकिने पुनको निष्कर्ष छ। यद्यपि विधेयक अहिले पनि समितिमै रहेकोले यसमा सत्ता पक्ष र सरकारले प्रयत्न गर्नुपर्ने पुनले बताए। द्वन्द्वरत पार्टीहरू सँगै बसिसकेको, सँगै चुनाव लडिसकेको, पार्टी एकता गरिसकेको अवस्थामा अब यसलाई टुंग्याउनु नै सबैको हितमा हुने पुनको जोड छ। ‘द्वन्द्वरत पार्टी सबै बसेका छौँ, सबै सँगै चुनाव लडेका छौँ। पार्टी एकता पनि गरेका छौँ। तर पीडितहरूको आज पनि प्रश्न छ। सबै सँगै बसेर एकले अर्कोलाई मान्ने तर पीडितले किन न्याय नपाउने भन्ने छ। यो सबैलाई प्रश्न हो, दल विशेषलाई मात्रै होइन,’ पुनको भनाई छ। नेता पुनले सरकारले अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। प्रतिनिधिसभा, सरकार, न्यायालय तथा संवैधानिक निकायहरुलाई एउटा विधिमा स्वीकार्ने भन्दा आफू हुँदा भएका सबै ठीक र आफू नहुने बित्तिकै त्यही काम शंकाको दृष्टिमा पर्ने प्रवृत्ति सच्चिनुपर्ने उनको भनाइ छ । ‘त्यही न्यायाय छ, आफ्नो जस्तो देखिने खालको न्यायधीशले फैसला गर्दा सबै स्वीकार्य हुन्छ । अलि फरक पृठभूमिजस्तो देखियो भने त्यही कुरा स्वीकार्य हुँदैन । उस्तै खालको कुरा किन फरक हुन्छ भन्दा हामीसँग संस्थागत संस्कारहरु बनेनन् । कसले चेयर गरिहेको छ । कसले सरकारको नेतृत्व गरेको छ, कसले निर्णय गरिरहेको छ भन्ने कुरालाई हेरेर तात्कालीक दृष्टिकोण बनाउने हाम्रा प्रवृत्तिहरु छन् । त्यसबाट पछि हटेर संस्थाहरुलाई बलियो बनाउने, संस्थाहरुलाई कामकाजी, विधिसम्मत र परिमार्जन गर्दै जाने राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ होलाजस्तो मलाई लाग्छ’, उनले भने । नेपालीहरुमा आत्मश्विासमा कमी रहेको भन्दै उनले सरकार परिवर्तनजस्ता विषयमा समेत विदेशी चलखेल देख्ने प्रवृत्ति संस्कार र संस्कृतिमै रहेको कमजोरीको द्योतक भएको चर्चा उनले गरे । पुनले नयाँ युवा पिँढी अगाडि आएको भन्दै त्यो पिँढीले विज्ञान, प्रविधि, तथ्य र डाटामा विश्वास गर्ने भएकाले नयाँ पुस्तालाई त्यसरी नै प्रशक्षिति गर्नुपर्नेमा जोड दिए । पुनले एमालेले माओवादी जनयुद्ध दिवसका अवसरमा १ फागुनमा सरकारले सार्वजनिक बिदा दिएका विषयमा आपत्ति जनाएकामा जवाफ दिए । पुनअघि बोलेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले हिंसा दिवसलाई जनयुद्ध दिवस नाम दिएर उत्सव मनाएको भन्दै आपत्ति जनाएका थिए । पुनले उक्त निर्णय गर्दा मन्त्रिपरिषदमा पौडेल आफैं उपप्रधानमन्त्रीका हैसियतमा सहभागी रहेको स्मरण गराए । ‘जनयुद्ध दिवसका विषयमा यहाँ कुरा उठेको छ । म स्मरण गराउन चाहन्छु, माघ १९ गते त्यो निर्णय भएको रहेछ । पूर्ववक्ता माननीयज्यू उपप्रधानथमन्त्री हुनुहुँदोहरेछ । त्यही क्याबिनेटले निर्णय गरेको रहेछ’, पुनले भने, ‘म व्यक्ति केन्द्ति हुन चाहन्न । हाम्रो संस्कार कहाँबाट आउने हो । हामी आफैं निर्णय गर्ने, अर्को ठाउँमा जाँदा त्यही कुरा अर्को कसरी हुन्छ ? हामी सबैले आफ्नो संस्कार र संस्कृति सुधार गरौं । हामी सबै आफूतिर फर्किऔं ।’  

महासचिव गुटेरेसको भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले बहुआयामिक सन्देश दिएको जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रसंघका महासचिव नेपाल आउनु ठूलो कुरा भएको बताए । “संयुक्त राष्ट्रसंघका महासचिव यो बेलामा नेपाल आउनु भनेको धेरै महत्वपूर्ण कुरा हो । संयुक्त राष्ट्रसंघको बैठक चलिरहेका बेलामा उहाँ नेपाल आउनुभयो,” उनले भने, “यसको बहुआयामिक महत्व छ । संसरभरि बहुआयामिक सन्देश गइसक्यो ।” उनले बुद्धको भूमिबाट विश्व शान्तिको अपिल गर्नु गौरवको कुरा भएको बताए । बुद्धकै बारेमा दूराशयपूर्ण ढंगले प्रश्न उठाउन खोजेको बेलामा सोही भूमिबाट अपिल गर्नु गौरवको कुरा भएको उनको भनाइ छ । त्यस्तै, गुटेरसले संसारभर जलवायु परिवर्तनको असर तीव्र परिरहेका बेला सगरमाथाको आधार शिविरका बासिन्दासँग अन्तरक्रिया गर्नु इतिहासको दूर्लभ घटनामा पर्ने दाबी गरे । उनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने कुरामा भूमिका खेलेको समेत बताए । नेपालप्रति गुटेरेसको ठूलो सद्भाव देखिएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड र कोरियाका मन्त्री चुङ ह्वाङ क्युनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ ह्वाङ क्युनबीच मा शिष्टाचार भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा कृषि सहयोग लगायत विभिन्न विषयमा छलफल भएको थियो ।

शान्ति प्रक्रिया टुङ्ग्याउन सबै दलबिच सहकार्य आवश्यक : मन्त्री शर्मा

दाङ । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सबै दलबिच सहकार्य आवश्यक रहेको बताएकी छिन् दाङको घोराही उपमहानगरपालिका ११ जीतपुरस्थि सहिद परिवारसङ्गको भेटघाटमा उनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन सबै दलहरुबिच सहकार्य हुने धारणा राखिन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जाहेर गरेको प्रतिबद्धताले पनि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने संभावना बढेको औल्याउँदै मन्त्री शर्माले महासचिव गुटेरेसले संघीय संसद्‌मा राखेको धारणा मुलुकका लागि महत्त्वपूर्ण रहेको बताइन् । सरकारले सत्य निरुपण तथा मेल मिलाप आयोग मार्फत शान्ति प्रकृयाका बाँकी काम टुंगोमा पुर्‍याउने तयारी भईरहेको बताउदै शान्ति प्रकृयाको कामलाई पूर्णता दिन सम्पूर्ण दलहरु एकमत हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरिन्। अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रकृयाका बाकी कामलाई नजिकबाट हेरिरहेको धारणा राख्दै मन्त्री शर्माले यो बिषयलाई छिटोभन्दा छिटो हलगरि नेपाललाई स्थायी शान्ति दिनुपर्नेमा जोड दिइन्। नेपाल सरकारका प्रवक्ता समेत रहेकी शर्माले सरकारले पहिलोपटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा समान्न भएको धारणा राखिन् । राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरुको नाम थप्ने बिषयमा सरकारले काम गरिरहेको जानकारी दिदै उनले सबै दलको सहमतिमा द्वन्द्वपीइलाई न्याय दिने बताइन् । भेटमा सहिद परिवारले गाउँको बाटो घाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए । उनीहरुले सहिदका सपना पूरा गर्न जनयुद्धकालीन शक्तिहरु एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रमुख दल मिल्नुपर्छ : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख दलहरुले मिलेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन् । बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उनले पीडित पक्षलाई राहत दिँदै कांग्रेस, एमाले र माओवादी केन्द्रले मिलेर शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगो लगाउनुपर्ने बताएका हुन् । सांसद खतिवडाले ठूल्ठूला समस्या समाधान गरेका राजनीतिक दलहरुले सो कामलाईलाई पूर्णता दिन पनि ढिलाई नगर्ने विश्वास व्यक्त गरे । उनले ततकालीन विद्रोही नेता पुष्पकमल दाहाल प्रचण्ड आफैं प्रधानमन्त्री भएकाले पनि यो समस्या समाधानमा ढिलाई नहुने तर्क समेत गरे। सांसद खतिवडाले द्वन्द्व पीडितलाई राहत दिने कुरामा पनि ढिलाई गर्न नहुने बताए ।

चार दिने औपचारिक नेपाल भ्रमण सकेर फर्किए गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर आज फर्किँएका छन् । महासचिव गुटेरेस आज कतार एयरवेजको विमानबाट दोहा प्रस्थान गरेका हुन् । उनलाई एयरपोर्टमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का लगायतले बिदाई गरेका छन् । गत आइतवार बिहान नेपाल आएका गुटेरेसले ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय स्थलहरु ९पाटन दरबार स्क्वायर, सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्प, गौतमवुद्धको जन्मस्थल लुम्बिनी०को अवलोकन भ्रमण गर्नुका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरे । भ्रमण अवधिमा उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षका साथै विभिन्न दलका शीर्ष नेतासँग पनि भेट गरे । नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय महासचिव बन्नु भएका महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन राष्ट्रसंघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसका साथै जलवायु परिवर्तनले गर्दा नेपालले भोगिरहेको नकारात्मक प्रभावको क्षतिपूर्ती विकसित मुलुकबाट पाउनुपर्ने उनको जोड रहेको छ । महासचिव गुटेरसको भ्रमणले जलवायु परिवर्तनको असर न्युनिकरण तथा जलवायु परिवर्तनको शिकार भएवापत पाउनु पर्ने सहयोगका लागि नेपालको लबिङ पुग्ने अपेक्षा गरिएको छ ।

एमालेले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै

काठमाडौं । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको केन्द्रीय कार्यालयले जनाएको छ । यसअघि एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना तयारी गरे पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई मध्यनजर गर्दै कार्यक्रम एक दिन पछि सारिएको थियो ।

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभामा पेस

काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभामा पेस भएको छ । मंगलबारको राष्ट्रियसभा बैठकमा उक्त विधेयक पेस भएको हो । विधायन व्यवस्थापन समितिले सोमबार उक्त विधेयक पारित गरेको थियो । बैठकले मंगलबारको राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम समिति सभापति जयन्ती देवी राईले पेस गरेकी हुन् । यस्तै, मंगलबारको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाको बैठक आजै १६ मिनेटपछि बस्नेछ । उक्त बैठकले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पास गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेस लुम्बिनी जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेस आज गौतमबुद्धको जन्म स्थल लुम्बिनी जान लागेका छन् । महासचिव गुटरेस अन्नपुर्ण आधार शिविरबाट र प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट लुम्बिनि पुग्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड बिहान ७ः४० को नियमित उडान मार्फत लुम्बिनी जानेछन् भने गुटेरेस नेपाली सेनाको हेली मार्फत लुम्बिनी पुग्नेछन् । त्यहाँबाट संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले विश्वभर शान्तिको सन्देश दिने छन् । यसैबीच गुटेरेसको लुम्बिनी भ्रमणका लागि लुम्बिनी विकास कोषले भ्रमणको सम्पुर्ण तयारी पुरा गरेको छ । गुटेरेसलाई लुम्बिनीमा भव्य रुपमा स्वागत गरिने कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले जानकारी दिए। लुम्बिनी पुग्दा गुटेरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा.ल्हारक्याल लामा सहित सरकारी उच्चस्तरीय अधिकारीहरूले स्वागत गर्ने कार्यतालिका रहेको छ । । गुटेरेस र प्रधानमन्त्री प्रचण्डलाई सबैभन्दा पहिले शान्ति दीपमा लगिने र शान्ती दीपबाट मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, अशोक स्तम्भहरूको निरीक्षण गर्नुहुनेछ । सोही क्रममा उनीहरूले सञ्चारकर्मीहरुलाई बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको छ । लुम्बिनीमा डेढ घण्टा बिताएपछि गुटरेस १०ः ३० बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ भने उनले संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठक लगत्तै पत्रकार सम्मेलन गर्ने कार्यक्रम पनि तय भएको छ । उनी चार दिने नेपालको भ्रमण पूरा गरी बुधवार बेलायत जाने तालिका रहेको छ ।

प्रतिनिधिसभा बैठकमा दुईवटा विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज (आइतबार) दुई वटा विधेयक पेस भएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रश्तुत भएको छ भने “भन्सार विधेयक, २०८० प्रश्तुत भएको छ। दुवै विधेयक अर्थमन्त्री डा।प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रश्तुत गरेका हुन्। त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलवार अपरान्ह ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराए। उनले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपाचारिक पोशाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशनसमेत दिए।

गुटरेसँगको भेटमा ओलीले गरे जनयुद्ध दिवस मनाएको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरससँगको भेटमा सरकारले जनयुद्ध दिवस मनाउन गरेको निर्णयको विरोध गरेका छन् । उनले भेटमा जनयुद्ध दिवस मनाएर प्रधानमन्त्री प्रचण्डले कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन असहज बनाएको आरोप लगाए । आइतवार संघीय संसद भवनमा संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरससँगको भेटमा ओलीले प्रधानमन्त्री प्रचण्डले हिंसात्मक गतिविधिलाई बढावा दिएकाले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन असहज बनेको बताए। माओवादी युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री प्रचण्डको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुतेरससँग राखेको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। यता, महासचिव गुतेरसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए। ओलीले महासचिव गुतेरससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रिया छिटो टुंगोमा पुर्‍याउन सक्दो सहयोग गर्ने बताएका थिए। बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र संघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुतेरसलाई बताएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए। उपमहासचिव ज्ञवालीले भने, ‘शुरुमै महासचिव महामहिमज्युले नेपालप्रतिको आफ्नो लगावका केही सन्दर्भहरु उठाउनु भयो। भूटानी शरणार्थी समस्या समाधानमा यसभन्दा अघि पनि आएको कुरा जानकारी गराउँदै खास गरेर नेपालको मौलिक ढंगको शान्ति प्रक्रिया, जो सफल भएको छ। त्यो कुरा नेपालले संयुक्त राष्ट्र संघको शान्ति मिशनमा गरेको असाधारण योगदान र शान्तिका प्रणेता गौतम बुद्धको थलो भएको कारणले पनि नेपालप्रति आफ्नो विशेष माया रहेको छ र मेरा ३ एजेण्डा रहेका छन्। खास गरेर नेपालीले जलवायु परिवर्तनका कारण जुन पीडा भोग्नु परेको छ‚ यसलाई म नजिकबाट हेर्न चाहन्छु। र, यसलाई एउटा एजेण्डा बनाएर अगाडि बढाउन चाहन्छु भनेर महासचिवले भन्नु भयो।’ गुतेरसले राष्ट्रसंघ नेपालको साथमा रहेको बताएको जानकारी ज्ञवालीले दिए। ‘दोस्रो, नेपाल अल्पविकसित अवस्थाबाट ग्राजुयट हुँदै गर्दा हामी नेपालको साथमा छौं। र, तेस्रो शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भन्ने म चाहन्छु महासचिव गुतेरसले बताउनु भयो‚’ ज्ञवालीले भने‚ ‘हाम्रो तर्फबाट हाम्रो पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुनु हुँदैन। त्यो पीडितहरुलाई ध्यान राखेर समाधान गरिनुपर्छ। हामी त्यसलाई छिटो भन्दा छिटो टुंग्याउन चाहन्छौं तर प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो र आज प्रधानमन्त्री हुनुहुन्छ‚ उहाँले नै यी सबै विषयहरु टुंग्याउन भूमिका खेल्नुपर्नेमा हिंसालाई बढावा दिने खालको, हिंसालाई महिमामण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ। खास गरेर युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मान्यता दिनाले पीडितहरु चिन्तामा छन्। हामीले चाहीँ शान्ति प्रक्रिया टुंग्याउँदा गम्भीर अपराधमा आममाफी हुन नहुने, यसमा हाम्रा अन्तरराष्ट्रिय कमिटमेन्टहरुलाई पनि ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको आदेशलाई समेत ध्यानमा राखेर त्यो विषय छिटोभन्दा छिटो टुंगियोस् भन्ने चाहन्छौं। र, प्रतिपक्षले हैसियतले हाम्रो यसमा सहयोग रहन्छ भन्नुभएको छ। लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सहयोगको अपेक्षा गर्नु भयो र राष्ट्र संघलाई अझ बलियो, अझ प्रभावकारी भएको, खासगरी विकासशील देशहरुको एउटा बलियो अभिभावक बनेको देख्न चाहन्छौं भन्नुभयो।’

राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने

काठमाडौं । राष्ट्रिय सभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालद्वारा शनिबार यहाँ जारी सूचनामा उल्लेख छ । यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।