विद्यार्थीले दिए त्रिवि प्रशासनमा धर्ना
काठमाडौं । समयमै ट्रान्सकिप्टक उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरु त्रिभुवन विश्व विद्यालयको प्रशासन मै धर्ना बसेका छन् ।ट्रान्सकिप्ट उपलब्ध गराउन ढिलाई गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित गरेको आरोप लगाउँदै आजदेखि उनीहरु त्रिवि प्रशासनमा धर्नामा बसेका हुन् ।
विगत मंसिर महिनामा ट्रान्सकिप्टको लागि निवेदन दिएको भएपनि अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले वेवास्ता गरेको उनीहरुको आरोप छ । ६ वटा विषयमा परिक्षा दिदा ११ ओटा विषयको नतिजा निकालि दिएको आरोप लगाउँदै उनीहरु आज रातभर नै धर्ना बस्न लागेको धर्नामा रहेका विद्यार्थी प्रदीप भण्डारीले जानकारी दिए ।
आफ्ना मागहरु जायज रहेको बताउँदै माग पुरा नभएसम्म धर्नाबाट नउठ्ने र अनशन बस्ने बताउँदै आएका विद्यार्थी मध्येका एक विद्यार्थी प्रदीप भण्डारीले विद्यार्थीहरुलाई आफ्नो आन्दोलनमा साथ दिन अपिल समेत गरेका छन् ।
उनले भनेका छन्- 'प्रिय साथीहरु मैले विद्यार्थीहरूको लागि मङ्सिर देखि ट्रान्सकिप्ट लिनका लागि निवेदन दिए। पटक पटक धाउदा पनि त्रिभुवन विश्वविद्यालयले ट्रान्सकिप्ट उपलब्ध गराएन । ६ वटा विषयमा परिक्षा दिएको तर ११ ओटा विषयको नतिजा निकालिदियो । समयमा नै ट्रान्सकिप्ट दिन र रिजल्ट सच्याउन हामी सक्दैनौँ भन्दै टार्दै गयो । हामी केही विद्यार्थीहरु आज रात भर पनि त्रिवि प्रशासन प्रमुखको कक्षमा बस्ने निर्णयमा पुगेका छौं । र अहिले प्रशासन प्रमुखको कक्षमा धर्ना बसेका छौं । त्रिवि र विद्यार्थीलाई माया गर्ने साथीहरु बल्खु आइदिनुहुन अनुरोध गर्दछौं ।'
सुमना श्रेष्ठको ओलीलाई प्रश्न- 'त्रिविको नीति तपाईका कार्यकर्ताको गरी खाने भाँडो बनाउन रोक्नुभएको हो?'
काठमाडौं । निर्वतमान शिक्षा मन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नुको कारण बारे प्रश्न गरेकी छिन् । विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको दस्ताबेज रोक्नुको अन्य स्पष्ट कारण नभएको बताउँदै उनले आफ्ना कार्यकर्तालाई पद माग्नकै लागि विश्वविद्यालयको नीति तथा कार्यक्रममा अंकुस लगाउने काम गरेको बताएकी हुन्। साथै उनले नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के के हेरफेर हुन्छ भनेर आफुहरुले हिसाब राख्ने समेत बताएकी छिन् । पूर्वमन्त्री श्रेष्ठले समाजिक सञ्जाल एक्समा लेखेकि छन् प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू, विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो? पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो। विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो। रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहीँ चित्त बुझेन छ यहाँलाई? त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको? यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुदैन भन्ने कुरा झनै प्रष्ट पार्छ। अब के हुन्छ? नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनु हुन्छ? नझुलाउनको लागि के लेनदेन हुन्छ, कसलाई के पद माग्नु हुन्छ? आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरी खाने भाँडो न हो, अरु प्राध्यापक र विद्यार्थीहरू मूक दर्शक न हुन् हैन त? स्मरण रहोस् नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के के हेरफेर हुन्छ हामी हिसाब राख्ने छौँ । २०८० मंसिर २७ गते अनलाइन खबरमा प्रकाशित लेख: “प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन किन चाहँदैनन् दलहरू?” मा अनेरास्ववियुका अध्यक्ष समिक बडालले दलहरूले विश्वविद्यालयलाई प्राज्ञिक मर्यादाको रूपमा भन्दा राजनीतिक स्वार्थपूति गर्ने केन्द्र बनाइरहेको बताएका थिए । त्यही लेखमा तपाइँले भन्नु भएको छ “प्रधानमन्त्री कुलपति रहन आवश्यक छैन” भनेर। तपाइँकै युवा नेताले राजनैतिक दलहरुको कारण शिक्षा खस्किएको भनि उदाहरणसहित दिनुभएको छ। आफै पनि पदेन राजनैतिक नियुक्ति नचाहिने भनिसक्नु भएको छ। तपाइँको बोली माथि अब जनताले विश्वास गर्ने कि नगर्ने? प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू, विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो? पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो। विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ… — Sumana (@SumanaShrestha) August 1, 2024
त्रिविमा प्रधानमन्त्री ओलीको हस्तक्षेप : नीतिबिना बजेट पासको उल्टो बाटो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले चालु आर्थिक वर्षको बजेट मंगलबार पारित गरेको छ । नीति तथा कार्यक्रमका आधारमा बजेट स्वीकृत गर्ने अभ्यास रहेकामा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले प्रस्तावित नीति तथा कार्यक्रम पेस गर्न रोक लगाएका थिए । प्रधानमन्त्री ओलीले छिट्टै ‘नीति अधिवेशन’ गर्ने भनेपछि सभाले बजेट मात्र पारित गरेको हो । नीति तथा कार्यक्रम रोकिएकामा उपकुलपति केशरजंग बरालले आफ्नो असन्तुष्टि त्रिवि सभामै व्यक्त गरेका थिए । उनले योजना परिषद्, कार्यकारी परिषद्बाट पास भएर प्रि–सभामा समेत छलफल भएको नीति तथा कार्यक्रम रोकिएको बताए । ‘सिद्धान्ततः नीतिअनुसार बजेट आउने हो । नीतिबिनाको बजेट पास गरेर उल्टो बाटो भयो,’ उनले भने, ‘आज विश्वविद्यालयले हार्यो । अरू कसैले जित्यो होला ।’ बरालले असन्तुष्टि व्यक्त गर्दा सभाको अध्यक्षता गरेका कुलपति ओली सहकुलपति तथा शिक्षामन्त्री विद्या भट्टराईलाई अध्यक्षता छाडेर बाहिरिइसकेका थिए । सहकुलपति भट्टराईले सम्झाउने प्रयास गर्दै नीति अधिवेशन छिट्टै गर्ने भन्दै प्रधानमन्त्रीकै भनाइमा लय मिलाएकी थिइन् । ‘आफूले भनेको कुरा भएन भन्दैमा सबै बिग्रियो भन्ने भाष्य निर्माण नगरौं,’ उनले भनिन्, ‘परम्परागत अभ्यासलाई परिवर्तन गर्दा केही बिग्रँदैन । सरोकारवाला सबै पक्षसँग छलफल गरेर नीति तथा कार्यक्रम बनाउँदा नै उपयुक्त हुन्छ ।’ सभाका सदस्यले नीति अधिवेशन गरेर विश्वविद्यालयले दीर्घकालीन नीति बनाउन सक्ने भए पनि बजेटअघिको वार्षिक नीति तथा कार्यक्रम रोक्नु उपयुक्त नभएको प्रतिक्रिया दिए । त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले नीतिबिनाको बजेटको अर्थ नहुने बताए । ‘विश्वविद्यालयले कुन बाटो लिने भन्ने नीति तथा कार्यक्रमले तय गर्छ । नीतिमा आधारित भएर बजेट आउनुपर्छ,’ उनले कान्तिपुरसित भने, ‘नीतिबिनै बजेट आउनु अनौठो भयो ।’ असार ३१ मा हुनुपर्ने त्रिवि सभा सरकार परिवर्तनका कारण रोकिएको थियो । सभाले ‘ग्रेस लिस्ट’ पास गर्ने, नीति तथा कार्यक्रमसहित बजेट पारित गर्ने एजेन्डा थियो । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उपकुलपति बरालसहितका पदाधिकारीले भेटेर मंगलबारका लागि सभाको मिति तय गरेका थिए । त्रिवि परिसर कीर्तिपुरमा भएको सभामा ग्रेस लिस्ट पास भएपछि रजिस्ट्रार केदार रिजालले बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्न थाले । प्रधानमन्त्री ओलीले रजिस्ट्रार रिजाललाई बीचमै रोकेर समय अभाव भएकाले बजेट मात्रै प्रस्तुत गर्न निर्देशन दिए । १९ पेजको नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्दै गरेका रिजालले एकैचोटि दोस्रो पेजबाट १२ औं पेजको बजेट वाचन गरे । २६ अर्ब १६ करोडको बजेट प्रस्तुत गरिएपछि सभाका सदस्यहरूले नीति कार्यक्रम सभाको एजेन्डा हो कि होइन भन्दै प्रश्न गरेका थिए । सभा सञ्चालक रेक्टर खड्ग केसीले नीति तथा कार्यक्रम पनि एजेन्डा रहेको बताए । सभाका अध्यक्ष ओलीले होइन भनेर पुनः रोकिदिए र बजेटमा मात्र केन्द्रित भएर प्रश्न उठाउन निर्देश गरे । त्यसअघि नै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सभाका केही सदस्यलाई बाँडिसकिएको थियो । सभाका सदस्य तथा स्ववियु सभापति श्यामराज ओझाले बजेटमाथि बोल्दै प्रधानमन्त्री कुलपति हुने व्यवस्था कहिलेसम्म भनेर प्रश्न गरे । जवाफमा प्रधानमन्त्री ओलीले प्रधानन्त्री कुलपति हुँदा विश्वविद्यालयलाई धेरै फाइदा हुने जवाफ दिए । ‘म स्वयंसेवी रूपमा कुलपति भएको हुँ । मलाई बैठक भत्ता लिनु छैन, मानार्थ उपाधि लिनु पनि छैन,’ उनले थपे, ‘प्रधानमन्त्री कुलपति हुँदाको फाइदा विश्वविद्यालयले लिन चाहँदैन भने सोच्नुपर्छ । अहिले विश्वविद्यालयको फाइल मकहाँ सिधै आउँछ । घुमेर आउने पनि प्रधानमन्त्रीसम्म नै हो ।’ त्रिविका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री सभामा सहभागी हुन बालुवाटारबाट हिँड्नु अघि नै नीति तथा कार्यक्रमलाई एजेन्डाबाट हटाउन खबर गरिएको थियो । ‘नीतिअनुसार नै बजेट बनेको थियो । त्यसमा प्रधानमन्त्री र उपकुलपति दुवैले अडान लिन आवश्यक थिएन,’ सभाका एक सदस्यले भने, ‘दुवैले अडान नछाड्दा सभामा केही नमिलेजस्तो भयो ।’ स्ववियुबाट प्रतिनिधित्व गर्ने विद्यार्थी, कर्मचारी र प्राध्यापक संघसंगठनले आफ्ना माग नीति तथा कार्यक्रममा नसमेटिए सभा नै बहिस्कार गर्ने चेतावनी दिँदै आएकाले कार्यसूचीबाट हटाइएको रेक्टर केसीले बताए । केसीलाई रेक्टर र रिजाललाई रजिस्ट्रार नियुक्त गर्दादेखि नै ओली उपकुलपति बरालसँग बेखुसी छन् । बरालले प्रतिस्पर्धाका आधारमा उपकुलपतिले पदाधिकारीको टिम बनाउन पाउनुपर्ने अडान लिएका थिए भने ओलीले रजिस्ट्रार एमाले कोटामा हुनुपर्ने दबाब दिएका थिए । बराललाई तत्कालीन कुलपति पुष्पकमल दाहाल प्रचण्डले मेरिट बेसिसका आधारमा गत फागुनमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले उपकुलपतिभन्दा पनि आफ्नो दल निकटका प्राध्यापकको कुरा सुनेर नीति तथा कार्यक्रम रोकेको एक प्राध्यापकले अनुमान गरे । ‘उपकुलपतिले आफ्नो नीति लागू हुनुपर्ने अडान लिनुभएको थियो । दलीय भ्रातृ संगठनहरूलाई त्यो कुरा मन परेको थिएन,’ ती प्राध्यापकले भने, ‘नीति तथा कार्यक्रम रोकेर उपकुलपतिलाई दबाबमा राख्न खोजिएको हुन सक्छ ।’ प्रधानमन्त्रीसँग समन्वय गरेर छिट्टै नीति अधिवेशन गरेर नीति तथा कार्यक्रम टुंग्याउने भन्दा पनि नेतृत्वसँग बखेडा गर्नतिर उपकुलपति लागे भने विश्वविद्यालयको वातावरण झनै बिथोलिन सक्ने पनि उनले औंल्याए । सभाले बजेटसँगै ६२ औं ग्रेस लिस्ट पारित गरेको छ । लिस्टमा २०८० असार १ देखि २०८१ जेठ मसान्तसम्म ट्रान्सक्रिप्टसमेत लिइसकेका स्नातक, स्नातकोत्तर, पीजीडीएस, एमफिल र विद्यावारिधि तहका ७३ हजार ९ सय ९५ विद्यार्थी समावेश छन् । उनीहरूका लागि आगमी पुसमा दीक्षान्त कार्यक्रम आयोजना हुनेछ ।कान्तिपुरमा समाचार छ ।
स्नातक तहको चौथो वर्षमा अनुत्तीर्ण भए, तत्काल मौका परीक्षा दिन पाइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्यवस्था गर्ने भएको छ। स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले जानकारी दिए। विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भन्ने उद्देश्यले निर्णय गरेको प्रा.डा.केदार रिजालले जानकारी दिए ।
एसईईमा एनजी आएका ५ विद्यार्थीको पुनर्योगपछि ४ जीपीए
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ। १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकामा चार हजार २८७ जना विद्यार्थीको नतिजामा सुधार आएको छ। जसअनुसार एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि ४ जीपीए आएको छ। बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको जनाएको छ। यस्तै २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ। बोर्डले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत भएर नतिजा फरक परेको जनाएको छ।
त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त
काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन् । आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रजिष्टार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्रीले धन्यवाद दिएका हुन् । भेटमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम कार्यकारी परिषदबाट पारित गरेकोमा समेत प्रधानमन्त्रीले धन्यवाद दिए। प्रधानमन्त्रीले भने, 'विश्वविद्यालयमा गुणात्मक सुधार ल्याएर मात्रै देशको मुहार फेर्न सकिन्छ। त्यसका लागि मैले लगातार मेहेनत गर्दै आएको छु। खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति, शैक्षिक क्यालेण्डर लगायतका क्षेत्रमा महत्वपूर्ण सुधार आएको छ। यसले राम्रो सन्देश दिएको छ।भविष्यमा समेत यी प्रयासहरू लागू हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु।' भेटमा पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको भन्दै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने बताए ।
कुवेतमा भिसा परिवर्तनको सुविधा, नेपाली श्रमिकले यसरी लिन सक्छन् लाभ
काठमाडौं । कुवेत सरकारले त्यहाँ रहेका आप्रवासी घरेलु श्रमिकलगायतले भिसा परिवर्तन गरेर निजी क्षेत्रमा पनि काम गर्न पाउने निर्णय गरेको छ ।कुवेत सरकारको सो नयाँ नियम १४ जुलाईबाट कार्यान्वयनमा आउँदै छ। सो कानुन कार्यान्वयन हुँदा खास गरी घरेलु श्रमिकको भिसामा त्यहाँ पुगेर अन्य क्षेत्रमा काम गरिरहेका मानिसहरूलाई लाभ पुग्ने देखिएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अधिकारीहरूले भिसाको वर्गीकरण परिवर्तन गर्न भिसा पाउँदाका बेला आफूलाई प्रायोजन गरेर लैजाने परिवारको अनुमति अनिवार्य पारिएकाले नेपाली घरेलु श्रमिकहरूलाई ठूलो फरक परिहाल्ने नदेखिएको बताउँछन् । कुवेत सरकारले ल्याउन लागेको नयाँ नियमहरूमा नेपालबाट जाँदाका हकमा दर्ता भएका रोजगारदाताकहाँ कम्तीमा एक वर्ष काम गरेकाहरू मात्र यस सुविधाका लागि योग्य हुनेछन्। सन् २०२३ को अन्त्यमा सार्वजनिक विवरणअनुसार कुवेतमा १,०७,००० भन्दा धेरै नेपालीहरू कार्यरत छन्।त्यसमध्ये घरेलु श्रमिकको सङ्ख्या ३० हजारजति छ, र तीमध्येका ९५.३ प्रतिशत महिला कामदारहरू छन् । कुवेतमा घरेलु श्रमिकका रूपमा नेपाली महिलाहरू प्रतिबन्धित भए तापनि हजारौँका सङ्ख्यामा गैरकानुनी बाटो हुँदै उनीहरू त्यहाँ पुगेका पाइन्छन्।यो नयाँ कानुन लागु भएसँगै उनीहरुलाई भिजा परिर्वतन गर्न सहज हुने विश्वास लिइएको छ ।बीबीसीबाट
त्रिविको शैक्षिक क्यालेन्डर स्वीकृत, अब ९० दिनमा नतिजा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले स्वीकृत गरेको छ । त्रिविको शैक्षिक क्यालेन्डर अनुसार परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने भएको छ । मंसिर २०८१ बाट पढाइ सुरु हुने र अन्तिम सेमेष्टरको नतिजा कार्तिक २०८५ तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक हुने भएको छ । क्यालेन्डर अनुसार प्रथम सेमेष्टरको भर्ना आवेदन साउन दोस्रो हप्तादेखि भदौ दोस्रो हप्ता हुनेसम्म हुनेछ । भर्ना प्रवेश परीक्षा भदौ तेस्रो हप्ता र भर्ना असोज र कात्तिकमा हुनेछ । मंसिर पहिलो हप्तादेखि सुरु हुने कक्षा प्रथम सेमेष्टरको परीक्षा माघको चौथो हप्ता र नतिजा वैशाखमा प्रकाशन हुनेछ । जेठ २०८२ को दोस्रो हप्तादेखि पढाइ सुरु हुने दोस्रो सेमेष्टरको परीक्षा साउन तेस्रो हप्ता र नतिजा कार्तिक पहिलो हप्तामा हुनेछ । मंसिर २०८२ को पहिलो हप्तादेखि पढाइ सुरु हुने तेस्रो समेष्टरको परीक्षा माघ तेस्रो हप्तामा र नतिजा चैतको चौथो हप्तामा, वैशाख २०८३ को दोस्रो हप्तामा पढाइ सुरु हुने चौथो समेष्टरको परीक्षा माघ पहिलो हप्ता र नतिजा वैशाख २०८४ को पहिलो हप्ता हुनेछ । त्यस्तै जेठ २०८४ को तेस्रो हप्तादेखि पढाइ हुने पाँचौँ सेमेष्टरको भदौ तेस्रो हप्ता र नतिजा कार्तिक चौथो हप्तामा, मंसिर दोस्रो हप्तादेखि पढाइ सुरु हुने छैटौँ सेमेष्टरको परीक्षा फागुन दोस्रो हप्तामा, नतिजा २०८५ वैशाखको तेस्रो हप्तामा सार्वजनिक हुने र २०८५ जेठको दोस्रो हप्ताबाट पढाइ सुरु हुने अन्तिम सेमेष्टरको परीक्षा भदौ तेस्रो हप्ता र कार्तिक तेस्रो हप्तामा नतिजा सार्वजनिक हुनेछ । त्यस्तै स्नातकोत्तर तहको मंसिरमा भर्ना आवेदन, पुसमा भर्ना प्रवेश परीक्षा तथा भर्ना हुनेछ । माघको पहिलो हप्तामा पढाइ सुरु भएको स्नातकोत्तर तहको नतिजा २०८२ को असोज तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक हुनेछ । वार्षिक तर्फको स्नातक तहको पहिलो वर्षको भर्ना साउन २०८१ को दोस्रो हप्तादेखि भदौको तेस्रो हप्तासम्म हुनेछ । भदौ चौथो हप्तादेखि पढाइ सुरु भएका विद्यार्थीको नतिजा असोज २०८५ को दोस्रो हप्ताभित्र सार्वजनिक हुनेछ ।
सशस्त्र प्रहरीमा दरखास्त आह्वान
काठमाडौँ । सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार एक सूचना जारी गर्दै अधिकृत स्तरका ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सञ्चार तथा इन्जिनियरिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ। जसमा कानुन उपसमूहतर्फ प्रहरी निरीक्षक ८ जना, लेखा उपसमूहतर्फ प्रहरी निरीक्षक २९ जना, प्राविधिक तर्फ प्रहरी निरीक्षक ११ जना माग भएको छ। योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आगामी साउन २० गतेसम्म दरखास्त दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।
एसईईमा सबै विषय फेलले पनि मौका परीक्षा दिन पाउने
काठमाडौं । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सबै विषय फेल गरेका विद्यार्थीलाई पनि मौका परीक्षा दिन पाउने भएका छन्।सरकारले कानुनी रूपमै कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईईमा फेल भएको देखाई उनीहरूलाई रोक्न नहुने निर्णय लिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सबै विषयमा अनुत्तीर्ण भनिएका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको जानकारी दिएका छन् । ‘भाइबहिनीहरू र उहाँहरूका सबै अभिभावकहरूले यो मौकालाई ठिक ढंगले बुझेर मौका परीक्षाको तयारीमा केन्द्रित गर्न हुन अनुरोध गर्दछौँ’, उनले भनेका छन् । उनले ज्यका सबै निकायले परीक्षाको परिणाम खोज्नुभन्दा पहिले सार्वजनिक विद्यालयको अवस्था, सरकार तथा नियमनकारी निकायको भूमिका, शिक्षक(अभिभावकको दायित्व र शिक्षा लिने दिने पद्धतिमा कक्षा कोठाबाटै सुधार खोज्नु पर्नेमा पनि उनले जोड दिएका छन् । ‘आजको परिणामलाई गम्भीर शिक्षाको रूपमा ग्रहण गरि यसलाई सुधार गर्न म आफू आफ्नो ठाउँबाट आजैका दिनदेखि सहभागी बन्छु भन्ने संकल्प गरौँ’, उनले भनेका छन् । बिहीबार सार्वजनिक नतिजामा आधाभन्दा धेरै परीक्षार्थी फेल भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको परीक्षाफलमा ४७.८७ प्रतिशत (दुई लाख २२ हजार ४७२) विद्यार्थी मात्रै उत्तीर्ण भए थिए । ५२.१३ प्रतिशत अर्थात् दुई लाख ४२ हजार ३१३ परीक्षार्थी फेल भएका छन्। उनीहरू ननग्रेड (एनजी) (१०० पूर्णांकमा ३५ भन्दा कम) ल्याएकामा परेका छन् । जसमध्ये एक लाख १५ हजार ८३४ ले मौका परीक्षा दिन पाउने थिए । बढीमा दुई विषयमा एनजी ल्याएका विद्यार्थीले मौका परीक्षा दिन पाउने भनिएको थियो । एनजी ल्याएका एक लाख २६ हजार ४७९ विद्यार्थीले भने एसइईका लागि पुनः एक वर्ष कुर्नुपर्ने थियो। तर एनजी ल्याएका एक लाख २६ हजार ४७९ विद्यार्थीले एसइईको मौका परीक्षामा भाग लिन पाउने व्यवस्था सरकारले गरेको मल्लले बताएका छन्।
एसईई नतिजामा चित्त बुझेन, अनलाइनबाटै दिनुहोस् निवेदन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०)ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ)गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिएका हुन्। पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ । चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।
एसइईमा कति विद्यार्थीले ल्याए कुन ग्रेड ?
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी छन्। यस्तै, २ देखि २.४० ल्याउनेमा २ हजार ९५०, २.४० देखि २.८० ल्याउनेमा ४१ हजार १७७, २.८० देखि ३.२० ल्याउनेमा ७८ हजार ८७४ जना विद्यार्थी छन्। यस्तै ६८ हजार २५६ जनाको ३.२० देखि ३.६० र ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३१ हजार २०९ रहेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका छन्।
एसईईको मौका परीक्षा साउन १८ र १९ गते
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।
एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत मात्रैले प्राप्त गरे ‘ग्रेडिङ’
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी)मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन । निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । नतिजा हेर्न बोर्डले १० वेबसाइट र पाँच एसमएस सर्टकोडको व्यवस्था गरेको छ ।०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । यसरी हेर्न सकिन्छ नतिजा–
एसईईको नतिजा सार्वजनिक हुँदै
काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार (आज) बिहान सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने जानकारी दिए। नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए। नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ । २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए ।
एसइई नतिजा प्रकाशित गर्न १ बजे बोर्ड बैठक बस्दै, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन निर्णयबारे बैठकमा बोलाएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले जानकारी दिए। उनले भने,‘आज दिउँसो १ बजे बोर्ड बैठक बोलाएको छ,तर आजै नतिजा प्रकाशन हुन्छ चाहिँ भन्न सकिँदैन,सबै तयारी पूरा भएमा नतिजा प्रकाशन हुन्छ,नभए हुँदैन।’ २०८० सालको एसइई नतिजा आज प्रकाशन गर्ने बोर्डको भने तयारी छ। यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडेड (एनजी)उल्लेख गरिने बोर्डले जनाएको छ। गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८० को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ । त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा.लि. इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।