काठमाडौ‌–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र

भक्तपुर, पुस २३ । स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चारवटा ठूला पुल निर्माण अलपत्र परेको छ । चारमध्ये तीन वटा ठूला पुल काठमाडौँ–भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो ।

भक्तपुर र काठमाडौँ जोड्ने मनोहरा खोला गोठाटार हरहर महादेव पुल निर्माण विगत छ वर्षदेखि स्थानीयले अवरोध पुर्याएकै कारण निर्माण सुरु हुुन नसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

कुल रु.चार करोड ८५ लाखमा निर्माण सम्पन्न गर्ने गरी २०६६ पुस २४ गते सम्झौता भएलगत्तै ठेकेदार कम्पनीले पुनःनिर्माणका लागि आवश्यक निर्माण सामग्रीसहित काम सुरु गरेकै दिन पुल निर्माण हुुन नदिने भन्दै गोठाटार र मध्यपुर थिमिका बासिन्दाबीच झडप भएको थियो ।

मनोहरा खोलाले धार परिवर्तन गर्दा गोठाटारवासीको जग्गा थिमि क्षेत्रमा पसेकाले २०२१ सालकै नापीअनुसार खोलाको धार कायम गरेर पुल निर्माण गर्नुपर्ने गोठाटार बासिन्दाको माग थियो भने यसरी धार परिवर्तन गर्दा वर्षौदेखि थिमिका बासिन्दाले शव जलाउने घाटसमेत भत्काउनुपर्ने भएपछि यसमा थिमिको बासिन्दाले असहमति जनाउँदै खोला अहिले बगेकै स्थानमा पूल बनाउनुपर्ने माग गरेका थिए ।

काठमाडौँ गोठाटार र भक्तपुरको ठिमीका बासिन्दाबीच झडप भएपछि हालसम्म यो पुल निर्माण अलपत्र परेपनि सरकारले हरेक वर्ष बजेट छुट्याउने गरेको छ । कार्यालयका प्रमुख अधिकारीले भने, ‘यसवर्ष पनि सरकारले रु २० लाख छुट्याएको छ, पुल निर्माणका लागि दुवै पक्षसँग पटकपटक छलफल गर्दा पनि प्रगति हुन सकेको छैन, त्यसैले पुल निर्माण अलपत्र परेको हो ।’ यता काठमाडौँको इन्द्रायणी र भक्तपुरको चाँगुुनारायण जोड्ने मनोहरा–इन्द्रायणी पुल निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयले अवरोध गरेका छन् ।

२०६८ साल असार २७ गते निर्माण सम्झौता भएको उक्त पुुलको निर्माण कार्य हाल ८६ प्रतिशत सम्पन्न भएपछि नदी नियन्त्रणको काममा स्थानीयले अवरोध पुर्याएपछि पुल निर्माण सम्पन्न गर्ने काम अलपत्र परेको छ ।

कुल रु.चार करोड ५५ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि स्थानीयले काम अवरोध गरेपछि काम सम्पन्न नै नगरी ठेकेदार कम्पनी लामा बिल्डर्स साल्पा शेर्पा जयबाबा गोरखा जेभीले काम छाडेर जान खोजेको कार्यालयले जनाएको छ ।

त्यस्तै भक्तपुुरको चाँगुनारायण र काठमाडौँको ब्रम्हखेल जोड्ने चाँगुनारायण–ब्रम्हखेल खोला पुुल निर्माण कार्य सुरु भएपछि रोकिएको छ ।

२०७० साउन ४ गते रु तीन करोड ९४ लाखमा पुल निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएर काम सुरु गरेपछि खोलामा कडा ढुङ्गा निस्किएको र इन्द्रायणीतर्फका बासिन्दाले खोला क्षेत्रमा पर्ने जग्गामा पुलको जग हाल्न नदिएपछि निर्माण कार्य अलपत्र परेको छ ।

कार्यालय प्रमख अधिकारीले भने– ‘काठमाडौँतर्फ जगको तीनवटा पिलर हालियो, भक्तपुरतर्फ काम गर्दा कडा ढुङ्गा आएपछि डिजाइन नै परिवर्तन गरेर काम भइरहेको छ, तर इन्द्रायणी तर्फका स्थानीयले जग्गा छोड्न नमानेपछि पुल निर्माण बाधा आएको छ ।’

त्यसैगरी मध्यपुर ठिमी नगरपालिका र अनन्तलिङ्गेश्वर नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते–दधिकोट पुल निर्माणको अन्तिम चरणमा बाधा आएको छ ।

२०६९ असार २५ गते रु तीन करोड ९२ लाखमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेर कामै नगरी सम्पर्कमा नआएको ठेकेदार कम्पनीका विरुद्ध कार्यालयले कारबाहीको सूचना जारी गरेपछि काम सुरु भएको थियो ।

उक्त पुलको हाल स्ट्रक्चर निर्माण कार्य सम्पन्न भएको जानकारी दिँदै कार्यालय प्रमख अधिकारीले स्थानीय निकायले पुल र दधिकोटतर्फको सडकको सीमाङ्कन नगरिदिँदा काम सम्पन्न गर्न समस्या आएको जानकारी दिए । यसैबीच विभिन्न अवरोधका बीच चाँगुनारायण–साँखु जोड्ने मनोहरा खोला पुल निर्माण सम्पन्न भएको छ ।

२०६६ साल असार २५ गते सम्झौता भएर पटक–पटक समय थप गर्दै निर्माण भएको सो पुल हालै निर्माण सम्पन्न भएको उहाँले जानकारी दिए ।

रासस

समयभित्रै पुनःस्पस्टीकरण पेस गर्ने ज्ञवालीको भनाइ

काठमाडौँ, पुस २३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पुनःस्पष्टीकरण पेस गर्न भनी पठाएको पत्र आफूले प्राप्त गरेको जानकारी दिएका छन् । ज्ञवालीलाई उद्धृत गर्दै प्राधिकरणबाट जारी प्रेस नोटमा भनिएको छ, “मैले यसअघिको स्पष्टीकरणमा उल्लेखित प्राधिकरणको समन्वयमा सम्बद्ध निकायद्वारा विभिन्न प्रतिकूलता र चुनौतीका बीच भए गरिएका कार्य प्रगति र नतिजाको वस्तुगत अवस्था तथा आधारका साथै प्राप्त पत्रमा उल्लेखित विषयका सम्बन्धमा तोकिएको समयावधिभित्र थप स्पष्ट पार्ने छु । रासस

छिट्टै स्थानीय तह कार्यान्वयनमा आउने मन्त्री पाण्डेको दावी

काठमाडौँ, पुस २३। सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब छिट्टै स्थानीय तह पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदन ग्रहण गरेपछि रासससँगको संक्षिप्त कुराकानीमा उनले प्रतिवेदन कार्यान्वयनका लागि आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताए । उनले भने, “प्रतिवेदन कार्यान्वयनका लागि सबै तयारी गरिएको छ, स्थानीय तह कार्यान्वयनमा आइसकेपछि कर्मचारी र कार्यालयको व्यवस्थापन तथा नयाँ संरचनाअनुसार आवश्यक विषयवस्तुसहितको प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छौ । मन्त्रिपरिषद्बाट पारित भएपछि प्रतिवेदन कार्यान्वयनमा आउँछ ।” मन्त्री पाण्डेले स्थानीय तह कार्यान्वयन गर्न सहज होस् भनेर मन्त्रालयका सहसचिवको नेतृत्वमा विभिन्न कार्यदल बनाएर आवश्यक गृहकार्य गरिएको बताए । स्थानीय निकाय भङ्ग भएर स्थानीय तह क्रियाशील भए पनि सङ्क्रमणकालीन व्यवस्थाअनुसार गाउँ तथा नगर परिषद्बाट पारित विभिन्न कार्यक्रम, आयोजना र बजेट अर्को निर्वाचन नहुन्जेलसम्म यथावत रहने उनको भनाइ थियो । रासस

राष्ट्रहित विरुद्धका प्रस्ताव पारित हुन दिइने छैन–ओली

काठमाडौं, पुस २२ । एमालेको अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहीत विरुद्धका कुनैपनि प्रस्ताव पारित हुन नदिने बताएका छन् । संसदमा पेश भएको संविधान संशोधनको विरोधमा सत्ता विपक्षी नौ दलले राजधानीमा आयोजना गरेको बृहत आमसभामा बोल्दै विपक्षी गठबन्धनका नेता समेत रहेका ओलीले काठमाडौका जनता जागिसकेको भन्दै कुनै हालतमा पनि राष्ट्रहीतको प्रस्तावमा एमालेले सहयोग नगर्ने बताएका हुन् । ‘काठमाडौं उपत्यका र राजधानीमा जागेको यो जागरणलाई देशव्यापी बनाउँछौं । राष्ट्रहितलाई तलमाथि हुन दिँदेनौं । संसदमा यो हैसियतसहित एमाले छ’ उनले भने, ‘हामी राष्ट्रियहितविपरीतको संशोधन प्रस्ताव पारित हुन दिँदैनौं ।’ ओलीले वर्तमान सरकाले संवैधानिक संकट ल्याउन चाहेको आरोप लगाए । शक्ति प्रदर्शन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अनुचित उद्देश्यले निर्माण भएको सरकार अनुचित कार्यतिर नै लाग्दैछ । अहिलेको अवस्था भनेको निर्वाचनमा लागेर देशलाई निकास दिनुपर्ने हो, तर सरकार संवैधानिक संकट ल्याउन चाहन्छ ।’ मधेसी मोर्चाप्रति अाक्रामक देखिएका अोलीले संविधान जलाउनेको लागि कुनैपनि हालतमा सहमति जनाउन नसकिने स्पष्ट पारे । हिजो संविधान जलाउने च्यात्नेहरुले नै आज संशोधन नगरी निर्वाचन हुन नदिने भन्दै देशमा संकट पैदा गर्न गम्भीर षडयन्त्र गरेको आरोप लगाए । उनले जुवाडेले पत्ता खेलेर सम्पत्ति जिते जस्तै संविधान संशोधनलाई अघि सारेर राष्ट्रिय आघात पार्ने काम भएको पनि बताए । ‘जुवाडेले कौडी फाल्छ, तासका पत्ती फाल्छ जित्यो भने कौडी र पत्ति बोकेर जाँदैन, सम्पत्ति बोकेर जान्छ,’ ओलीले भने, ‘अहिले सरकारले त्यस्तै संशोधनमार्फत् त्यस्तै पत्ति फालेको हो त्यसमा नेपालमा अस्थीरता सिलसिला चलाउने आशय रहेको छ।’ अहिले निर्वाचन गराएर देशलाई निकास दिनुपर्नेमा उनले जोड दिए । अोलीले निर्वाचन गराउने बेलामा सरकार चुनाव गराउन पछि हटेको बताए । उनले २०७४ माघ भित्रमा तीनवटा चुनाव नभए देश संवैधानिक संकटमा फस्न लागेकोमा सरकार संशोधनतिर लागेको भनेर असन्तुष्टी जनाए । अोलीले संविधान कार्यान्वयन नगरेर सरकार किन संशोधनतिर लागेको बुझ्न नसकेको बताए । मधेसमा एकलौटी नतिजा ओलीले मधेशमा अर्को चुनावमा एकलौटी नतिजा ल्याउने दावी गरेका छन् ।  आगामी फागुन दोस्रो सातादेखि मेची–काली अभियानमा नेकपा एमाले जाने घोषणा गरेका छन् । उनले तराईवासीलाई कमजोर नसोच्न चेतावनी दिँदै अब आफ्नो पार्टीले तराईका जनताको बोली बोल्ने उद्घोष गरेका छन् । ‘त्यतिबेला आम सभाको फोटो ड्रोनबाट होइन हेलिकोप्टरबाट खिच्नुपर्छ,’ उनले भने। ओलीले भने- उपत्यका जागेको छ देश जागेको छ तसर्थ राष्टघातीहरु पराजित हुने निश्चित छ । संविधान संशोधन प्रस्ताव संसदमा गएमा तासका पत्ति खेल्दा हार जित हुंदा तासका पत्ति कसैले पनि लैजादैन तर सम्पत्तिको हार जित हुन्छ । त्यस्तै संविधान संशोधन प्रस्ताव पास भएमा देश विखण्डन हुने ओलीको चेतावनी थियो । संविधान संशोधन विहान आएको ज्वाईले बेलुकी झण्डा हल्लाउदै फर्कने जस्तो राष्ट्रघाती परिस्थिति निर्माणका लागि गर्न लागेको उहाँको आरोप छ । संविधान जारी भएपनि कार्यान्वयन नभएके र अहिले संविधानले तय गरेका संरचना र निकाय गठन गर्न आवश्यक भएपनि सरकार उदासिन भएको उहाँको भनाई छ । त्यसको लागि निर्वाचन आवश्यक भएपनि सरकारको ध्यान त्यता जान नसकेको उहाँको आरोप छ । २०७४ माघ ७ सम्म निर्वाचन नभए प्रधानमन्त्री पद जाने पनि उहाँको भनाई छ । मधेसको कुरालाई अघि सार्दै राष्ट्रिय भाषा मैथली, भोजपुरीको ठाउँमा हिन्दी भाषा ल्याउन खोजेको आरोपसमेत उनले लगाए ।

एमालेसहित नौ दलको सभा शुरु, नेताहरुको सम्बोधन गर्ने क्रम जारी

काठमाडौं, पौष २२ । नेकपा एमालेलगायत प्रतिपक्षी नौ वटा दलले आयोजना गरेको आमसभामा नेताहरु बोल्ने क्रम शुरु भएको छ । सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकको बिरोधमा “शक्ति प्रदर्शन” गर्ने भन्दै एमालेले राजधानीमा आमसभाको आयोजना गरेको हो । एमालेले खुलामञ्चको साटो प्रदर्शनीमार्गस्थित सडकमा मञ्च बनाएर आमसभा गरेकोमा भने सर्वसाधारणले बिरोध गरेका छन् । सभालाई एमाले नेता प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेका छन् । एमालेले शहीदहरुप्रति मौनधारण र राष्ट्रगानबाट कार्यक्रमको शुरुआत गरेको छ । आमसभा अघि राजधानीका बिभिन्न भागबाट दलहरुले जुलुस निकालेका थिए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँग थप स्पष्टीकरण माग

काठमाडौँ, पुस २२ । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनः २४ घन्टे स्पष्टीकरणको माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवकाअनुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई आजै नहटाइएको र उनले बुधबार बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले थप स्पष्टीकरण सोधिएको जानकारी दिए । ती सचिवले थप स्पष्टीकरण आएपछि मात्रै सरकारले हटाउने वा राख्ने भन्ने विषयमा निर्णय लिने बताए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई सरकारले बर्खास्त गरेको भन्ने बारेको समाचारले आज दिनभर चर्चा पाएको थियो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई पदबाट बर्खास्त गर्ने सैद्धान्तिक सहमति आजको मन्त्रिपरिषद् बैठकले जनाएको तर, यस विषयमा निर्णय लिने जिम्मा प्रधानमन्त्रीलाई सुम्पेको बुझिएको छ । रासस

संसद सुचारु हुन्छ, संशोधन प्रक्रिया अघि बढ्छः मन्त्री नायक

लहान, पुस २२। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले पुस २४ गते संसद सुचारुसँगै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् । सिरहाको मिर्चैया नगरपालिकाको चौथो नगर परिषद्को बिहिबार उद्घाटन गर्दै मन्त्री नायकले सर्वाेच्च अदालतको फैसलापश्चात प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसद सुचारु गर्न मानसिकरुपमा तयार भइसकेकाले पुस २४ गते संसद सुचारु हुने र संविधान संशोधन प्रक्रिया तथा अन्य बिधेयकमा छलफल अघि बढ्ने बताए । संविधान संशोधन प्रक्रियाको पक्षमा सर्वाेच्च अदालतले फैसला गरेकोले अदालतको सबैले सम्मान गर्नुपर्ने बताउँदै मन्त्री नायकले संसद सुचारु भएपछि प्रतिपक्ष दललाई पनि विश्वासमा लिएर संविधान संशोधन प्रस्तावसँगै अन्य बिधेयकहरु सरकारले अघि बढाउने बताए । जनताको भावना र आकांक्षा पुरा गर्न तथा निर्वाचनको वातावरण बनाउन सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको उल्लेख गदै उनले भने–“ जनताको भावना र समयको माग अनुसार सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको हो, यो पारित भएपछि निर्वाचनको माहौल बन्छ ।” संविधान संशोधन प्रस्ताव पारित गराउन र स्थानिय निकायको निर्वाचनमा सबैले चासो हुनु जरुरी छ, उनको कथन थियो । मिर्चैयास्थित मोहन उच्च माविमा आयोजित परिषद् उद्घाटन कार्यक्रममा मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दासले आगामी आर्थिक बर्ष २०७४/०७५ का लागि रु. ११ करोड ३१ लाख २१ हजार ६ सय ८० को आयव्यय प्रस्ताव प्रस्तुत गरे । उनले नगरक्षेत्रको पूर्वाधार निर्माण, नगरक्षेत्रलाई खुल्ला दिसामुक्त बनाउने, समाजिक विकासका लागि लक्षित वर्गलाई लक्षित गरी कार्यक्रमहरु सञ्चालन गर्ने आगामी आर्थिक बर्ष २०७४/०७५ को बजेट बिनियोजन गरिएको जानकारी दिए । रासस  फाइल तस्वीर

ट्रकको ठक्करबाट चार वर्षे बालकको मृत्य, स्थानीय र प्रहरीबीच झडप

राजविराज, पुस २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ मा बिहिबार दिउँसो मालवाहक ट्रकको ठक्करबाट चार वर्षका एक बालकको मृत्यु भएको घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । ट्रकको ठक्करबाट मृत्यु हुनेमा सप्तरी पन्सेरा–९ का लक्ष्मण रामको छोरा अर्जुनकुमार राम रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ख ६१८० नम्बरको ट्रकले बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । यसैबीच, घटनाको विरोधमा स्थानीवासीले राजमार्गमा चक्काजाम गरेर ठक्कर दिने ट्रकलाई आगोसमेत लगाएका छन् तर ट्रकमा आगो लगाएपछि तुरुन्त प्रहरीले निभाएको थियो । सोही क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । सो झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न १० राउण्ड अश्रुग्यास समेत गरेको छ । यता स्थानीयले फ्यालेको ढुङ्गाबाट केही प्रहरी घाइते भएको स्थानीयले बताएका छन् । झडपका कारण करिब तीन घन्टा राजमार्ग अवरुद्ध समेत भएको थियो । यता प्रहरीले बालकको शवलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याएको छ । ठक्कर दिने ट्रक प्रहरी कार्यालयमा राखिएको छ भने चालक फरार भएकाले खोजी भइरहेको इप्रका कल्याणपुरले जनाएको छ ।

प्रेरणालाई दिएको जग्गा सरकारको भएको सर्वोच्चको फैसला

काठमाडौं, पुस २१ । सर्वाेच्च अदालतले तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारको भएको फैसला सुनाएको छ। प्रधानन्यायाधीस शुशीला कार्की र न्यायाधीसहरु दीपक कार्की र सपना मल्लको स‌ंयुक्त इजलासले बिहीबार सो निर्णय गरेको हो। प्रेरणा शाहको नाममा रहेको सम्पत्ती नेपाल सरकारको मातहतमा आउने गरी निर्णय भएको हो ।

फेरियो लाइसेन्स ट्रायलको नियम

काठमाडौं, पुस २१ । लाइसेन्सका लागि दिइदैँ आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत भएको छ । बिहिबारदेखि लागू हुने गरी यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्स लिनका लागि लिने ट्रायल परीक्षाको ढाँचा परिवर्तन गरेको हो । नयाँ ढाँचामा केही बढी परीक्षा पास गर्नुपर्ने भएको छ । यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा यथावत रहने कार्यालयका प्रमुख तेजनायण यादवले बताए। ‘सेवाग्राहीको चापलाई ध्यानमा राखेर कार्यालयले यस्तो निर्णय गरेको हो,’ यादवले भने, ‘शुरुमा अंग्रेजी अङ्क आठ आकारमा ट्रायल लिँदा यसले धेरै समय लिने भएकोले सेवाग्राहीले धेरैबेर कुर्नुपर्ने भयो। तर, शुरुमा टी पार्किङबाट ट्रायल शुरु गर्ने हो भने त्यसमा कम समय लाग्ने र पास भएर जानेले मात्र आठ आकारमा ट्रायल दिन पाउने भएकोले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न सहज हुन्छ।’ उनका अनुसार शुरूमै 8 अाकारमा परीक्षा लिँदा एक सेवाग्राहीलार्इ कम्तीमा पनि १० मिनेटसम्म अर्काे सेवाग्राहीले कुर्नु पर्ने हुन्थ्याे। तर, शुरूमा टी पार्किङकाे परीक्षा लिँदा एउटा सेवाग्राहीलार्इ ३ मिनेटभन्दा बढी समय लाग्दैन। र, टीमा पास हुनेले मात्र 8 मा जान पाउने भएकाेले चाप व्यवस्थापनमा सहयाेग मिल्न सक्छ।

झापामा विद्युत् चोरेको अभियोगमा २३ जना पक्राउ

झापा, पुस २१ । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई बुधबार राति विद्युतीय उपकरणसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा शरणामती, टेक्रा र सुरुङ्गा क्षेत्रका बासिन्दा छन्। विद्युत् प्रसारण लाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विद्युत् बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरण अनारमनी केन्द्रका प्रमुख इ राजीवकुमार सिँहले जानकारी दिए। इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी सहितको टोलीले उनीहरुका साथबाट दुई र तीन हर्स पावरका दुई दुई वटा पानी तान्न प्रयोग गरिएका ठूला मोटर र घरमा जडित केही थान मिटरसमेत बरामद गरेको छ । अभियुक्तलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको छ । रातको समयमा विद्युत् चोरी गरी मकै र गहुँमा सिँचाइ गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । पछिल्लो समय प्राधिकरणले विद्युत् चोरीमा संलग्न एक सय सात जनालाई पक्राउ गरी कारबाही गरेको छ । अभियुक्तलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ । उनका अनुसार विद्युत् चोरीमा संलग्नमध्ये खपतको अवस्था हेरेर तीन हजारदेखि दुई लाख पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ । यसअघि विद्युत् चोरी गरेर राइसमिल सञ्चालन गर्ने खुदुनाबारीका एक व्यक्तिलाई दुई लाख पाँच हजार जरिवाना गरिएको प्राधिकरण प्रमुख सिंहले जानकारी दिए। रासस सांकेतिक तस्वीर

मोटरसाइकलको ठक्करबाट मृत्यु

दाङ, पुस २१ । दाङको सहिदगेटबाट चितवनतर्फ जाँदै गरेको लु.२८.प.८४७ नं.को मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री १६ वर्षीय निमतुल्ला सिद्धिकीको मृत्यु भएको छ । उनको उपचारका क्रममा कोहलपुर अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारत घर भएका सिद्धिकी घोराही नगरपालिका–११ मा बस्दै आएका थिए । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश सुनुवाई प्रक्रिया आज

काठमाडौं, पुस २१ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई जना न्यायाधीशको सुनुवाई प्रक्रिया आज बिहिबार गर्ने भएको छ । न्याय परिषद्को  बैठकले उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । परिषद्ले प्रस्तावित न्यायाधीशको सुनुवाई प्रक्रिया अगाडि बढाउन संसद सचिवालयलाई पत्रचार गरेको थियो ।  समितिको बैठक आजका लागि बोलाईएको छ। बिहान ११ बजेपछि बस्ने समितिको प्रारम्भिक बैठकमा उनीहरु बिरुद्ध उजुरी दिने समय तोकिने समिति सचिवालयले जनाएको छ ।

माइक छुँदा करेन्ट लागेर एक भारतीयको मृत्यु

राजविराज, पुस २१। सप्तरीको पातो गाविसमा बुधबार साँझ करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार मधुवनी जिल्ला वसन्तपटी–७ का ५५ वर्षीय बेचन शर्मा रहेको प्रहरीले जनाएको छ । पातो गाविस–७ स्थित रामजानकी मन्दिरमा भइरहेको अष्टजाम पूजामा भजन गर्नेक्रममा करेन्ट प्रवाह भएको माइक छुँदा शर्मालाई करेन्ट लागेको थियो । रासस

नक्कली प्रमाणपत्र बनाउने साइबर सञ्चालक पक्राउ

काठमाडौँ, पुस २१। नक्कली प्रमाणपत्र बनाउने आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सामाखुसी रानीबारीस्थित ‘आइटी भेट टेक्नोलोजी’ नामक साइबरका सञ्चालक विकास रम्तेल र कामदार भगवान् भण्डारी रहेका छन् । वैदेशिक रोजागरीको ठगी उजुरी परेको ऐनबहादुर थापामगरलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गर्दा उनको साथबाट प्रवेशिका परिक्षाको नक्कली प्रमाणपत्र फेला पारेपछि सोधखोजका क्रममा सो साइबरबाट रु एक हजार तिरेर प्रमाणपत्र बनाएको खुलेको थियो । महाशाखाका प्रहरी टोलीले थापालाई साथै लिएर साइबरमा गई अर्को नक्कली प्रमाणपत्र बनाउन आग्रह गर्दा रु एक हजार लिई अर्को नक्कली प्रमाणपत्र बनाइदिएपछि प्रहरीले रङ्गेहात दुवैजनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट उक्त कागजात वैदेशिक रोजगारीमा जान तथा अन्य प्रयोजनका लागि आउने व्यक्तिलाई आवश्यकताअनुसार प्रवेशिका, उच्च माध्यमिक र त्रिभुवन विश्वविद्यालयको स्नातकतहको मार्कसिट, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ । साइवरबाट प्रहरीले उच्च माध्यमिक शिक्षा परिषद्को नक्कली चारित्रिक प्रमाणपत्र पाँच थान, त्रिविको ट्रान्सक्रिप्ट एक थान, नेपाल सरकारको लोगो भएको टोखा नगरपालिका लेटरप्याड एक थान, अधिकृतको छाप एक थान, विभिन्न दूतावासको लेटरप्याड बरामद गरेको छ । यसैबीच लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले लागुऔषध खैरो हेरोइन ५० ग्रामसहित कलङ्कीबाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका बरगाछीका २८ वर्षीय मनिष साह सोनार, झापा जिल्ला मेची नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका बाफल बस्ने २५ वर्षीय सुमेर विश्व पौडेल र काठमाडाँै चन्द्रागिरि नगरपालिकाका २७ वर्षीय दिलीप शाही रहेको प्रहरीले जनाएको छ । रासस

प्रेस काउन्सिलको पत्रपत्रिकार वर्गीकरण नियोजित: प्रेस सेन्टर

काठमाडौं, पुस २० । प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरणमा नियोजित ढंगले व्यवहार गरेको ठहर गर्दै प्रेस सेन्टर नेपालले गम्भिर आपत्ति जनाएको छ । काउन्सिल जस्तो निश्पक्ष निकायले भनसुन र पूर्वाग्रहीका आधारमा वर्गीकरण गरेको भनि सेन्टरका महासचिव विष्णु प्रसाद सापकोटा ‘जुगल’ले बुधबार एक विज्ञप्ति जारी गर्दै वर्गीकरण तत्काल सच्चाउन चेतवानी दिएका छन् । ‘विभिन्न शहर, जिल्लाबाट नियमिति प्रकाशन भइरहेका दैनिक, साप्ताहिक, मासिक तथा साहित्यिक पत्रिपत्रिकाहरुलाई नियोजित ढंगले तल्लो श्रेणीमा राख्ने तथा अत्यन्तै पूर्वाग्रही भएर वर्गीकरण गरिएको हाम्रो ठहर छ’, विज्ञप्तिमा उल्लेख छ । विगतमा उपल्लो श्रेणीमा स्थापित कतिपय पत्रपत्रिकाहरुलाई छानिछानि तल्लो श्रेणीमा राखिएको सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘कतिपय नामै नसुनिएका र बजारमै नआएने पत्रिकालाई एकैचोटी दुई÷तीन श्रेणीमा उकास्ने कार्य समेत भएको छ’, विज्ञप्तिमा काउन्सिललाई चेतवानी दिंदै भनिएको छ– ‘हाम्रो संगठन विभेदपूर्ण ढंगले गरिएको पत्रपत्रिकाको वर्गीकरणको विरोध गर्दछ र यसलाई तत्काल सच्चाउन काउन्सिलको ध्यानाकर्षण गराउने चाहन्छ । अन्यथा यसबाट निस्कने परिणामको जिम्मेवार काउन्सिलले लिनु पर्ने चेतवानी दिन चाहन्छ ।’