अवरुद्ध बेनी-जोमसोम सडक खुला

अवरुद्ध बेनी-जोमसोम सडक खुला

म्याग्दी, असार २९ । पहिराले अवरुद्ध मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक पुनः सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिका-३ दाना, तितरमा मंगलबार राति सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि बिहीबार साँझदेखि सडक पुनःचलेकोशर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका थिए । पहिरो पन्छाइएलगत्तै सीधा यातायात सञ्चालन भइरहेको छ ।

चीनको तिब्बत जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजना निर्माणको जिम्मा लिएको ठेकेदारलाई पहिरो पन्छाउन प्रयोग गरिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशको बेनी–जोमसोम-कोरला सडक आयोजना गण्डकी प्रदेशकोे जीवनरेखा मानिएको छ । सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरोको त्रास छ । सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई गाउँपालिकाले समन्वयसमेत गरेको छ ।
पाइप बगाउँदा खानेपानीको हाहाकार

मंगला गाउँपालिका-५ अर्मनमा बाढीले पाइप बगाउँदा दुई बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । सिरकुम-टिकावाङ सडक विस्तारका क्रममा क्रममा निस्किएको माटो सीधै खहरे खोलामा फाल्दा दिही-पुनगैरा खानेपानीको पाइप बगाएपछि करीब ३५ घरधुरीमा खानेपानीको समस्या भएको छ ।

सडक विस्तारका क्रममा मनपरी फालिएको माटाले पाइप बगाएपछि चार दिनदेखि खानेपानी आपूर्ति बन्द भएको स्थानीयवासी ताराबहादुर क्षेत्रीले बताउनुभयो । “पटक पटक मर्मत गर्दा पनि बगाएको छ, धारामा पानी नआउँदा खोला र कुवाको पानी खानुपरेको छ”, उहाँले भन्नुभयो । पुनगैरामा १५ र दिही गाउँका २० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् ।

खानेपानीको पाइप बगाएपछि स्थानीयवासीले सफा पानीका लागि नयाँ मुहानको खोजी गर्नुपरेको स्थानीय बलबहादुर विकले बताउनुभयो । “सडकले पानीको मुहानमै असर गरेको छ, बर्खाको समयमा धमिलो पानीको प्रयोग गर्न बाध्य छौँ” विकले भन्नुभयो । उहाँका अनुसार पटक पटक मर्मत गरिए पनि माथिल्लो क्षेत्रबाट आएको बाढीले पाइपमा क्षति पुगेको छ ।

हिउँदमा समेत मुहान सुक्दा समस्या भएकाले स्थानीयवासीले दीर्घकालीन योजनाको माग गरेका छन् । बाढीले पाइप बगाएपछि गाउँपालिकाले उपलब्ध गराएको २६५ मिटर पाइपसमेत बगाएको छ ।

दुई हजार घरधुरी जोखिममा

कमजोर र भिरालो भूबनोट, छोटो समयमा हुने अधिक वर्षा र डोजरको प्रयोग गरी खनिएका मोटरबाटाका कारणले जिल्लामा दुई हजार १५० घरधुरी बाढीपहिराको जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । जिल्लामा प्रतिवर्ष ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेका कारण शहर तथा ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरो जाने गरेको भूसंरक्षण कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा १८ भन्दा बढी ठूलो पहिरो र सयौँ मध्यम तथा साना पहिराले करीब ९०० र बाढीले एक हजार २५० घरधुरी जोखिममा परेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ । पहिराले एक हजार ३४।१ हेक्टर क्षेत्रफल ओगटेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उपसचिव दिवाकर पौडेलका अनुसार जिल्लाका साविकका ४१ मध्ये ३७ गाविस बाढीपहिराको जोखिममा छन् ।

उहाँका अनुसार बेनी नगरपालिका तथा मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साना तथा ठूला बस्ती बढीपहिराको संवेदनशील क्षेत्रमा समावेश गरिएको छ । त्यस्तै कालीगण्डकी र म्याग्दी नदीको कटानले तटीय क्षेत्रका बस्ती जोखिममा छन् । जिल्लामा रहेका ठाडो तथा सहायक खोला राहुघाट खोला, घट्ठेखोला,फूलबारी रितुमखोल,घट्ठे खोलाको कटानले समेत जोखिम बढाएको छ । -रासस

विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी

लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।  पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

लोकप्रिय