अवसर र चुनौतीका चाङमुनि सरकार

काठमाडौँ — केपी ओलीको प्रधानमन्त्रीत्वमा नेपालका दुई ठूला वामपन्थी पार्टीको सहज बहुमतको सरकार गठन भएको छ । संघीय समाजवादी फोरमसमेत सरकारमा सामेल भयो भने योसित सजिलै दुई तिहाइ बहुमत पुग्नेछ ।

पार्टी एकताको प्रक्रियामा प्रवेश गरिसकेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मात्र पनि संघीय तहमा मात्र होइन, ७ मध्ये ६ प्रदेशमा आफ्नै नेतृत्वमा बहुमत प्राप्त प्रदेश सरकार छ र कुल ७ सय ५३ स्थानीय तहमध्ये ४ सय वटामा आफ्नै नेतृत्वसहितको स्थानीय सरकारसमेत छ ।
नेपालको एउटा वामपन्थी दल सबै तहका सरकारको यति ठूलो हिस्सामा हावी भएको यो इतिहासमै पहिलो घटना हो । यो स्थिति यसकारणले ऐतिहासिक छ, दक्षिण एसियाका अन्य मुलुकमा नेपालमा जस्तो देशैभरि तलदेखि माथिसम्म निरपेक्ष बहुमत कायम हुनेगरी वामपन्थीहरू सरकारमा हावी भएको स्थिति देखिँदैन ।
जहाँ अवसर ज्यादा हुन्छ, त्यहाँ चुनौती पनि त्यत्तिकै बढी हुन्छ । जो जति उचाइमा माथि चढ्छ, त्यो त्यति नै गहिराइमा तल खस्ने सम्भावना पनि साथसाथै रहेको हुन्छ । यो जीवन र जगतको द्वन्द्वात्मक यथार्थ हो । यो सरकारलाई आफूले चुनावका बेला घोषणापत्रमा कबोल गरेका कुरा कार्यान्वयन गरेर देखाउने अनुकूलता २०४८ सालपछिका अरू कुनै सरकारलाई भन्दा धेरै ज्यादा छ ।
परन्तु दुई तिहाइको बहुमत हासिल हुँदा पनि यसले घोषणापत्रमा कबोलेका काम गरेर देखाउन सकेन भने सिंगो नेपाली वामपन्थले जनविश्वास गुमाउनेछ र लामो समयसम्म फेरि यति भारी बहुमत ल्याउन मुस्किल हुनेछ ।
यो सरकारका लागि अन्य अवसर पनि त्यत्तिकै मात्रामा देखापरेका छन् । ओली नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त नहँुदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुईचोटी फोन गरेर तथा आफ्ना विदेशमन्त्री नै नेपालमा पठाएर यो सरकारसित सहकार्य गर्न र खोजेजस्तो सहयोग दिन चाहेको सन्देश पठाइसकेका छन् ।
यो एकातिर नयाँ संविधान जारी भएपछि नेपालमाथि नाकाबन्दी गरेर भारतले कुटनीतिक महाभुल गरेको अनुभूतिको प्रतीकात्मक संकेत हो भने अर्कोतिर नेपाललाई अब अलिकता पनि चीनतिर ढल्किन नदिन बेलैमा लिइएको अग्रसरताको परिचायक पनि हो ।
उता छिमेकी चीनले पनि सरकार निर्माण भएको पहिलो साता पनि नबित्दै नेपालसित रेलमार्ग निर्माणका लागि विस्तृत प्रस्ताव माग गरिसकेको अवस्था छ । यस अवस्थामा विगतमा ओली प्रम छँदा भएका सन्धि–सम्झौताहरू कार्यान्वयन गर्न चीन आतुर छ र अति महत्त्वाकांक्षी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को प्रस्तावक चीनले यो सरकारलाई कुनै पनि किसिमको विकासको ठूलो पूर्वाधार निर्माण गर्ने सहयोग गर्न सक्छ भनेर अनुमान लाउन कुनै गाह्रो छैन ।
थोरै अघि अमेरिकाले पनि नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो ५० करोड डलरको आर्थिक अनुदान दिने घोषणा गरिसकेको छ । यो देउवा सरकारको पालामा कबोलिएको भए पनि यथार्थमा आउने ओली नेतृत्वकै सरकारको पालामा हो ।
यस हिसाबले ओली नेतृत्वको सरकारको कार्यकालमा आर्थिक सहयोगका लागि यी तीन विश्व आर्थिक महाशक्तिको उछिनापाछिन हुने संकेत अहिले नै देखिसकिएको छ । युरोप पनि यसमा पछि पर्ने छैन । यो ठूलो अनुकूलता पनि हो, जोखिमयुक्त चुनौती पनि । किनभने आर्थिक सहयोग कहीं पनि सित्तैमा र निस्वार्थ आउने गर्दैन । त्यो सँगसँगै ती देशको रणनीतिक तथा अन्य राष्ट्रिय स्वार्थहरू पनि अघोषित रूपमा साथसाथै जोडिएर आइरहेकै हुन्छन् ।
कूटनीतिक कौशलता र परराष्ट्र मामिलामा दरिलो राष्ट्रिय एकता भएन भने आर्थिक सहयोगका नाममा हुने ठूला देशको रणनीतिक स्वार्थको द्वन्द्वमा सानो देशको प्रभुसत्ता साँढेको जुधाइ बाछाको मिचाइ हुन बेर छैन ।
चुनौतीको चाङ
राजनीतिक स्थायित्वको मूल नारा दिएर सत्तामा आएको यो सरकारको सबैभन्दा ठूलो चुनौती एकीकृत पार्टीको एकता लामो समय जोगाइराख्नुमा हुनेछ । सैद्धान्तिक, वैचारिक–राजनीतिक र सांगठनिक विषयमा पर्याप्त बहस र गृहकार्य नगरिकन हतारो र हचुवामा खडा गरिएको पार्टी एकीकरणको विशाल महलको छाना रंगीन देखिए पनि सैद्धान्तिक/वैचारिक र सांगठनिक जग भने निकै कमजोर देखिन्छ ।
किनभने दुई थरीबीच पटक्कै मेल नखाने वैचारिक अन्तरविरोधहरू कायमै छन् । जस्तो– एउटाले जनयुद्ध र सशस्त्र संघर्षलाई निन्दनीय ठान्छ भने अर्कोले गौरवमय ।
एउटाले बहुदलीय जनवादलाई अझै पनि आफ्नो मार्गदर्शक सिद्धान्त बताइरहेको छ भने अर्कोले माओवादलाई । एउटाको पार्टी नेतृत्व संघीयता र समावेशिताको एजेन्डामा अझै पनि असहिष्णु र पुरातनवादी देखिन्छ भने अर्कोले यी एजेन्डाहरूलाई आफ्नो सशस्त्र संघर्ष तथा संयुक्त जनआन्दोलनले हासिल गरेको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि ठान्छ ।
एमालेको समाजवादको परिकल्पना धेरै हदसम्म स्केन्डिनेभियन मुलुकको लोकतान्त्रिक समाजवादसित मेल खान्छ । माओवादीको समाजवादको परिकल्पनामा चीनमा माओले लागु गरेको समाजवादको धङधङे अझै पनि प्रशस्त बाँकी देखिन्छ । सोलोडोलो रूपमा माक्र्सवाद–लेनिनवादलाई दुबैले साझा मार्गदर्शक वैचारिक सिद्धान्त बनाएका छन् । तर यसको बुझाइमा दुई बीचमा ठूलो मतभिन्नता पाइन्छ ।
गम्भीर वैचारिक भिन्नताको यो परिप्रेक्ष्यमा यी दुईबीच सैद्धान्तिक, वैचारिक हिसाबले सहज मिल्तीको विन्दु कहाँनेर हुन्छ ? यसबारे दुई दलबीच कुनै गम्भीर गृहकार्य भएको भेटिँदैन । यस्तो हुन नसक्दा पदीय भागबन्डा र सत्ताको स्वार्थ मिलुन्जेल एकता जसोतसो अघि बढिरहनेछ । त्यो मिल्न छाडेको क्षणमै फुट अवश्यम्भावी हुनेछ । जहाँ पनि वैचारिक र सैद्धान्तिक एकतासहितको सांगठनिक एकतामात्र लामो समय टिक्छ ।
यो सरकारको अर्को ठूलो चुनौती आफ्नै चुनावी घोषणापत्रलाई निश्चित समय–सीमाभित्र लागु गर्नुमा हुनेछ । किनभने यो घोषणापत्रमा त्यस्ता धेरै कबोल गरिएका छन्, जुन तोकिएको समय–सीमाभित्र गर्न असम्भवप्राय: छ ।
जस्तो– २ वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्नमा र माछामासुमा आत्मनिर्भर बनाउने, ५ वर्षमा सम्पूर्ण सिँचाइयोग्य कृषि भूमिमा आधुनिक सिँचाइ प्रणाली लागु गर्ने, ५ वर्षभित्र नेपालबाट निरक्षरता उन्मूलन गर्ने, ३ वर्षभित्र नेपालका सबै भागमा विद्युतीकरण गरिसक्ने, ५ वर्षभित्र पूर्व–पश्चिम राजमार्गमा समानान्तर तीव्रगतिको रेल चलाउने, ५ वर्षभित्रै रसुवागढी–काठमाडाैं–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिने । यी काम दुई, तीन या पाँच वर्ष त के दस वर्षमा गरिभ्याए पनि त्यो नेपालको लागि ठूलो उपलब्धि हुनेछ ।
सरकारसित यी अति महत्त्वाकांक्षी योजना पुरा गर्न सबैभन्दा ठूलो बाधा हालको अति भ्रष्ट/ढिलढाल प्रशासन संयन्त्र र स्रोतसाधनको हुनेछ । चुनावी घोषणापत्रमा निकै राम्रा तर अति खर्चिला योजना सरकारले अघि सारेको छ । तर यसका लागि राजस्व र अन्य आय धेरै गुणा बढाउने र प्रशासन यन्त्रमा आमूल परिवर्तन ल्याउने योजना भने अघि सारिएको छैन ।
अनि कुन पैसा र संयन्त्रले यी अति खर्चिला राम्रा योजना तोकिएको समय–सीमाभित्र कार्यान्वयनमा आउन सक्छन् ? कुनै पनि योजना अघि सार्दा त्यो राम्रो हुनुमात्र पर्याप्त हुँदैन, त्यसको सफल कार्यान्वयनका लागि आवश्यक खर्च, त्यो अनुकूलको जनशक्ति र सक्षम कार्यान्वयन संयन्त्र पनि साथसाथै सोचिएको हुनुपर्छ । नत्र निकै असल योजना पनि कागजी सिवाय केही हुँदैन ।
दुबैतिर माथिदेखि तलसम्म राजनीतिलाई नै मुख्य पेसा बनाएका तर सैद्धान्तिक र नैतिक/सांस्कृतिक स्तर भने निकै निम्न भएका नेता नै नेता ज्यादा भएका यी दुई दलको पार्टी एकीकरणमा ती नेताहरूका लागि सम्मानजनक ढंगले पद, अवसर र इगो व्यवस्थापन गर्नु अर्को ठूलो चुनौती हुनेछ । यी कुराको गतिलो व्यवस्थापन हुनसकेन भने पद/अवसर/इगोको झगडालाई सैद्धान्तिक जामा पहिर्याइदिएर पार्टीमा सानो वा ठूलो फुट भइरहनेछ ।
त्यसमाथि थप सांगठनिक रूपमा एमाले टाउकोदेखि खुट्टासम्म देशकै सबैभन्दा संगठित र व्यवस्थित पार्टीका रूपमा रहेको छ । माओवादीको पार्टी संगठनको टाउकोचाहिँ अति ठूलो छ, तर भुइँतहको संगठन भने लथालिंग देखिन्छ । एमालेका नेता/कार्यकर्तामा संगठनको चुस्तता र विशालताको अहंकार चर्को देखिन्छ भने माओवादीमा जनयुद्ध र बलिदानको अहंकार ठूलै छ । यो स्थितिमा र यी दुई अहंकारको टक्करमा आम कार्यकर्ता र जनवर्गीय संगठनको तहमा सांगठनिक एकता सम्मानजनक ढंंगले गर्नु ढुंगाको च्युरा चपाउनु जस्तै हुनेछ ।
नयाँ वाम सरकारका लागि आर्थिक स्रोत र वित्तीय अभावको चुनौती पनि सानो छैन । जनआकांक्षा र प्रतिबद्धताको सूची विशाल छ, तर संघीय सरकारको ढुकुटी करिब–करिब रित्तिएको अवस्था छ । राष्ट्र बैंकको पछिल्लो आँकडा अनुसार १२.७९ खर्बको कुल बजेटमा आधा वर्ष पुरै बाँकी रहँदा संघीय सरकारको ढुकुटीमा केवल २.१० खर्ब रुपैयाँ बाँकी रहेको स्थिति छ । विगत ६ महिनामा राजस्व उठ्तीको अवस्था पनि राम्रो रहेन । पोहोर यही अवधिमा राजस्व संकलन ६९ प्रतिशतले बढिरहेको थियो भने अहिले २१ प्रतिशतले मात्र बढिरहेको छ ।
आन्तरिक ऋणको सीमा ऐन र बजेटले तोकेको छ, तर बजेट घाटा पूर्ति गर्न अधिकांश आन्तरिक ऋण देउवा सरकारकै पालामा उठाइसकिएको अवस्था छ । व्यापार घाटा यति भयावह अवस्थामा छ कि अहिले हामी एक रूपैयाँ बराबरको निर्यात गर्दा १३ रुपैयाँ बराबरको आयात गर्छौं, जबकि १० वर्ष अघिसम्म हामी १ रुपैयाँ बराबरीको निर्यात गर्दा २.८० रुपैयाँ बरोबरको आयात गथ्र्यौं ।
विप्रेषण प्रवाहबाट देशमा भित्रिने रकममा पनि कमी आइरहेको छ । यी सबै कारणले मुलुकको शोधनान्तर स्थिति नयाँ आर्थिक वर्षको ६ महिनामा करिब ६.६६ अर्ब रूपैयाँको घाटामा गएको छ, जुन अघिल्लो वर्ष यही अवधिमा ४५ अर्ब रुपैयाँको बचतमा थियो । त्यसमाथि थप यो अवधिमा पुँजीगत खर्च खालि १२.७५ प्रतिशतमात्र हुनसकेको छ । यस हिसाबले नयाँ वाम सरकारका हातगोडा चर्को वित्तीय अभावको सिक्रीले बाँधिएका छन् र फुकीफुकीकन खर्च गर्नुपर्ने अवस्था छ ।
मूल दायित्व
चुनौतीको चाङमुनि पुरिएको वर्तमान सरकारले गरेर देखाउनुपर्ने काम र दायित्वहरू भने ठूला छन् ।
पहिलो, उसले यतिन्जेल हचुवा र मनपरीतन्त्रमा चलिरहेको देशलाई अब पारदर्शी प्रणालीमा चलाउने व्यवस्था गर्नु आवश्यक छ । त्यस्तो प्रणाली जहाँ निश्चित नियम पुरा गरेपछि एकजना ढाक्रे र छाप्रेको काम पनि तोकिएको समयमा सहजतापूर्वक बन्छ ।
यो धेरै गाह्रो तर नगरी नहुने काम हो । किनकि अहिलेसम्म नेपाल पावर र पैसा भएपछि नियम र कानुनले नदिने काम पनि सजिलै बन्ने देशका रूपमा बदनाम छ । पारदर्शी प्रणालीमा देश चल्न थाल्यो भने यही एउटा कामले देशमा सुशासनको जग बन्नेछ र भ्रष्टाचार आधै घट्नेछ । सर्वसाधारण नेपालीका लागि यो ठूलो राहतको विषय हुनेछ ।
दोस्रो, २०४८ सालयता समृद्धि सम्भ्रान्त तथा सम्पन्न वर्ग, सहर र सदरमुकाम वरिपरि बस्नेहरूको मात्र भएको छ । समृद्धि दूरदराजका गाउँहरूमा, गरिबहरूकहाँ र गरिखाने वर्गमा पुग्नसकेको छैन । अत: वामपन्थीको सरकारले खालि अमूर्त रूपमा समृद्धि भनेर मात्र पुग्दैन, समृद्धिको वर्गीय र क्षेत्रीय लक्ष्य पनि किटान गर्न सक्नुपर्छ । उसले भूमिसुधार, कृषि क्रान्ति, ग्रामीण औद्योगिक क्रान्ति, देशव्यापी विद्युतीकरण–सिंचाइकरण–सडकीकरणमार्फत समृद्धिलाई अब गाउँ, गरिब र गरिखाने वर्गमा केन्द्रित गर्न आवश्यक छ ।
तेस्रो, उसको मुख्य दायित्व सबल राष्ट्रिय एकता निर्माण हो । यसका लागि वाम सरकारले के बोध गर्नु जरुरी छ भने मगन्ते मुलुक होइन, आर्थिक रूपमा सबल र विकसित मुलुकमात्र राष्ट्रिय हिसाबले सबल हुनसक्छ । अर्को, आधारभूत राष्ट्रिय स्वार्थ र परराष्ट्र नीतिका मामिलामा सबै सत्तारुढ र प्रतिपक्षी राजनीतिक दलहरूबीच साझा अवधारणा विकास गर्न वाम सरकारले अविलम्ब पहल लिनु आवश्यक छ ।
त्यसमाथि थप संविधान र कानुनमा आवश्यक हेरफेर गरेर अहिलेसम्म पाखा पारिएका महिला, दलित, जनजाति, मधेसी, मुस्लिम र अति अल्पसंख्यकलाई राष्ट्रिय राजनीति र शासन गर्ने ठाउँमा समान हक, हैसियत, पहुँच र प्रनिनिधित्व दिन सकियो भनेमात्र नेपालको राष्ट्रियता सर्वाधिक बलियो हुनेछ । कान्तिपुरबाट
चिनियाँ विशेषतासहितको मार्क्सवादको विकास भनेको के हो ?
ली याङ्ग चिनियाँ राष्ट्रपति शि जिनपिंगले चिनियाँ सन्दर्भ र वर्तमान समयका आवश्यकतासँग मार्क्सवादलाई अनुकूल बनाउन थप प्रयास गर्न आह्वान गरेका छन्। शि, जो कम्युनिस्ट पार्टी अफ चाइना केन्द्रीय कमिटीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन्, नयाँ युगमा मार्क्सवादी सिद्धान्तको अध्ययन र विकासको परियोजनामा एक निर्देशन दिँदै यो आवश्यकता व्यक्त गरेका छन्। मार्क्सवादी सिद्धान्तको अध्ययन र विकासको परियोजनामा एक कार्य बैठक शुक्रबार बेइजिङमा आयोजित गरिएको थियो। बैठकको संक्षेपमा भनिएको छ कि यो परियोजना पार्टीको वैचारिक र सैद्धान्तिक विकासको लागि रणनीतिक महत्त्वको छ। विगत २० वर्षमा यस परियोजनामा सहभागी अनुसन्धानकर्ताहरूले उच्च गुणस्तरका अनुसन्धान परिणामहरू उत्पादन गरेका छन्, जसले पार्टीका नवीनतम सैद्धान्तिक विचारहरूलाई प्रवर्धन गर्न र मार्क्सवादको मार्गदर्शक भूमिकालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। नयाँ युगमा, परियोजनामा सहभागीहरूले मार्क्सवादको प्रणालीगत र शैक्षिक अनुसन्धान र व्याख्यालाई थप तीव्र बनाउँदै, उनीहरूको अध्ययन र अनुसन्धानको परिणामहरूको प्रयोगको सान्दर्भिकता र प्रभावकारिता बढाउनुपर्ने छ, र पार्टीका नवीनतम सैद्धान्तिक विचारहरूलाई देशको उच्च गुणस्तरीय विकास र राष्ट्रिय आधुनिकीकरणको व्यावहारिक आवश्यकतासँग अझ बढी सान्दर्भिक बनाउन प्रवर्धन गर्नुपर्नेछ। उनीहरूले आफ्नो अनुसन्धान पार्टी र राष्ट्रका आवश्यकतामा आधारित गर्नु पर्नेछ, चिनियाँ सांस्कृतिक धरोहरलाई अगाडि बढाउनु पर्नेछ, र मार्क्सवादलाई चिनियाँ सन्दर्भ र समयको आवश्यकतासँग अनुकूल बनाउनको लागि एक मजबूत शैक्षिक आधार निर्माण गर्नु पर्नेछ। उनीहरूले राष्ट्रिय आधुनिकीकरणको प्रक्रियामा प्रमुख मुद्दाहरूमा गहिरो अनुसन्धान गर्नु पर्नेछ, चिनियाँ दर्शन र सामाजिक विज्ञानको स्वतन्त्र ज्ञान प्रणालीको निर्माणलाई तीव्र गर्नु पर्नेछ, उच्च गुणस्तरीय सैद्धान्तिक प्रतिभाहरूलाई पोषित गर्नु पर्नेछ, र मार्क्सवादको सिनिकरण र आधुनिकीकरण प्रवर्धनमा ठूलो योगदान पुर्याउनु पर्नेछ। शि जिनपिंगले हालै परियोजनामा दिएको निर्देशनले यसका स्थिति र भूमिकालाई गहिरो रूपमा व्याख्या गर्दै, सही मार्ग र नवीनता कायम राख्नका लागि पार्टीका नवीनतम सैद्धान्तिक विचारहरूको अध्ययन, अनुसन्धान र प्रचार प्रवर्धन गर्ने कार्यका लागि महत्त्वपूर्ण मार्गदर्शन प्रदान गरेको छ। पार्टीको १८औं राष्ट्रिय कांग्रेसको पछि, सीपीसी केन्द्रीय कमिटीले प्रभावकारी वैचारिक काम र सैद्धान्तिक नवीनताको साथ पार्टीलाई सशक्त बनाउनमा ठूलो महत्त्व दिएको छ। शिले मार्क्सवादी सिद्धान्तको अध्ययन र विकासलाई बलियो बनाउनका लागि महत्त्वपूर्ण व्याख्याहरू प्रकाशित गरेका छन्, जसले मार्क्सवादलाई कायम राख्न र विकास गर्नका लागि दिशा र आधारभूत मुद्दाहरूलाई गहिरो उत्तर दिएका छन्, र यसको अध्ययन र विकासका लागि दिशा, लक्ष्य, आधारभूत सिद्धान्त, कार्य र प्रमुख कार्यहरूको प्रणालीबद्ध व्याख्या गरेका छन्। यो परियोजना, जस्तो चाहिन्छ, अध्ययन र अनुसन्धानको सान्दर्भिकता र प्रभावकारिता सुधार गर्न, मार्क्सवाद र चीनका वास्तविक अवस्थाका बारेमा प्रणालीगत अनुसन्धान र व्याख्या गहिरो बनाउनमा केन्द्रित हुनु पर्छ। विशेष रूपमा, सम्बद्ध अनुसन्धानकर्ताहरूले मार्क्सवादका आधारभूत सिद्धान्तहरूको अनुसन्धान गहिरो बनाउनुपर्नेछ, चीनका विशिष्ट व्यावहारिक समस्याहरूको उत्तर दिनुपर्नेछ, चीनको पारंपरिक संस्कृतिका समृद्ध अर्थ र समकालीन मूल्य अन्वेषण गर्नु पर्नेछ, र सैद्धान्तिक सृजनशीलताको जीवन्तता निरन्तर उत्तेजित गर्नु पर्नेछ। उनीहरूले पार्टीका नवीनतम विचारको मार्गदर्शनमा कायम रहनुपर्नेछ, समयका आवश्यकतासँग अनुकूल हुनु पर्नेछ, चीनको वास्तविकतामा आधारित भएर काम गर्नुपर्नेछ, र मार्क्सवादी अवधारणाहरू र सैद्धान्तिक विचारहरूको प्रणालीबद्ध संशोधन र सारांश गर्नुपर्नेछ, र चीनको राष्ट्रिय अवस्थाका आधारमा दर्शन र सामाजिक विज्ञानको स्वतन्त्र ज्ञान प्रणालीको विकास प्रवर्धन गर्नुपर्नेछ। यस्ता परियोजना चलाउनेहरूले चीनको शैक्षिक संवाद प्रणालीको प्रभावकारिता, आकर्षण र प्रभावलाई निरन्तर बढाउनु पर्नेछ। अनुसन्धानकर्ताहरूले चीनको सुधार, विकास र स्थिरतामा रहेका गहिरा समस्याहरू, जनताको तात्कालिक समस्याहरू, अन्तर्राष्ट्रिय परिवर्तनहरूमा रहेका प्रमुख मुद्दाहरू, र पार्टीको विकासमा रहेको समस्याहरूमा ध्यान केन्द्रित गर्नु पर्नेछ। त्यसको लागि, सम्बद्ध विभागहरूले संगठनलाई सुदृढ गर्न, संस्थागत मेकानिजमलाई सुधार गर्न, प्रोत्साहन ग्यारेन्टीहरूलाई बलियो बनाउन, उपयुक्त शैक्षिक पारिस्थितिकी सिर्जना गर्न, र समन्वय, वैज्ञानिक व्यवस्थापन र प्रोत्साहन नवाचारको साथ कार्य मोडेलको निर्माणलाई तीव्र गर्नु पर्नेछ। यसरी, यो परियोजना सम्पूर्ण पार्टी र समाजलाई मार्क्सवादमा विश्वासलाई थप सशक्त बनाउन र पार्टीका नवीनतम सैद्धान्तिक विचारसँग राजनीतिक, वैचारिक, सैद्धान्तिक र भावनात्मक पहिचानलाई निरन्तर सुदृढ गर्न सहयोग पुर्याउनुपर्छ, र देशको उच्च गुणस्तरीय समग्र विकास र केही जटिल क्षेत्रमा सुधार गहिरो गर्नको लागि थप बौद्धिक समर्थन प्रदान गर्नु पर्नेछ। साभारः चाइनाडेली
सामाजिक सञ्जाल वरदान कि अविशाप !
दिपक तिमल्सिना तपाईहरूले आजकल सामाजिक सञ्जालमा अनेक किसिमका कनटेन्ट खपत गर्नुहुन्छ । कतिपय राम्रा हुन्छन् भने कतिपय नराम्रा तरपनि हामीलाई सामाजिक सञ्जाल टिकटक, फेसबुक, युटुव चलाउन मज्जा लाग्छ। तपाईंले याद गर्नुभएको छ कुनै दिन तपाईले अब त म सुत्छु माेबाइल चलाएकाे धेरै भयाे भन्नुभएकाे छ र त्यसपछि पनि ३, ४ घण्टा सम्म तपाई स्काेर्ल गर्दै चलाउदै बस्नुभयाे हुन्छ र एक्कासी झसङ्ग हुनुहुन्छ। प्राय: अहिलेकाे सबै जेनजी जेनेरेसनमा सामाजिक सञ्जाल याे एक प्रकारकाे एडिक भइनैसकेकाे छ। सामाजिक सञ्जालका सकारात्मक पक्ष धेरै छन भने नकारात्मक पक्षकाे पनि कमी छैन। आजका ८, ९ र १० कक्षा र कलेजमा पढने प्राय सबै विधार्थीहरू सामाजिक सञ्जालमा र विषेशतय पप जी, फ्री फायर जस्ता गेमिङ पेटफममा आवध छन। अनि आफ्नाे अमुल्य समय समेत वेतित गरिरहेका छन्। त्यस्ता गेम जुन खेल्दा डाेपामिन (खुसि हुदा आउने हरमाेन) रिलिज हुन्छ। क्षणिक सुखका लागि पढाइ र आफ्नो स्पर्णिम भविष्य आजका पिडिले दाउमा लगाईरहेका छन्। समाजमा हामीले आजकलका बच्चाहरूलाई यसरी माेबाइल फाेन थमाई दिएका छाै कि याे हाम्रो अत्यावश्यक चिज जस्तै हाे। जुन रूपमा कन्टेन्ट फिसिङ्, मिसलिडिङ, मिसइन्फरमेसन फैलिरहेकाे छ यसले पनि भविष्यमा खतराकाे सङकेत गर्दछ। यसका साथै सकारात्मक कन्टेन्टहरू पनि छन्। कक्षा १ देखि पिएचडि सम्मका कठिन विषयका पाठ्यक्रम, प्रश्नाेउत्तर पनि भिडियो मार्फत सामाजिक सञ्जालमा सजिलै पाउन सकिन्छ। यी लगायत विभिन्न सीप, उघम,नेत्तृत्व, मेसिनरी विषयमा पनि भिडियो श्रव्य, दृश्य कनटेन्ट पाउन सकिन्छ। तरपनि अनावश्यक युटुव च्यानल, फेक न्युज, चरित्र हत्या गर्न प्रयाेग गरिएका एआईका फाेटेज थिडियाेजहरू इत्यादिले निराशा पैदा गर्दछ। यस्ता आर्टिफिसिय इन्टेलिजेन्सबाट बनेका भिडियाेहरू सामाजिक सञ्जालमा हाल्दा नागरिकहरूले छिटै विश्वास गर्न सक्नेछन। यदि यस्ता प्रस्तुतिहरू प्राटफर्मले समयमा नै नियन्त्रण गर्न सकेन भने पनि जनताहरूलाई गलत सञ्चार हुन जान्छ। सामाजिक सञ्जालका कम्पनीहरूले कम्पनीकाे पेटफर्ममा देखाइएका सम्पूर्ण विषयवस्तुलाई गहिराई मै गई नियन्त्रण र नियमन गर्नु नितान्त जरुरी छ। आधुनिक प्रविधिको विकाससँगै हाम्रो जीवनशैलीमा व्यापक परिवर्तन आएको छ। यस प्रविधिमा आधारित सामाजिक सञ्जालहरू - जस्तै फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक, युट्युब, आदि - अहिले संसारभर अत्यन्त लोकप्रिय भएका छन्। तिनीहरूले हाम्रो समाज, संस्कृति, र व्यक्तित्वमा गहिरो प्रभाव पार्दै आएका छन्। यसले हामीलाई सूचनाको द्रुत आदान-प्रदान गर्न सजिलो बनाएको छ, तर यसका केही नकारात्मक असरहरू पनि छन्। सामाजिक सञ्जालका केही सकारात्मक पक्षहरू छन्। सूचनाको आदान-प्रदान सजिलै गराउँछ। यो समाचार, स्वास्थ्य, शिक्षा, प्रविधि, आदि क्षेत्रमा छिटो पहुँच पुर्याउने उत्कृष्ट साधन बनेको छ। यो माध्यमले मानिसहरूलाई टाढाको साथीभाइ तथा परिवारसँग जोडिन सहयोग पुर्याउँछ। अध्ययन, व्यवसाय वा अन्य प्रयोजनका लागि विभिन्न ठाउँमा बस्ने मानिसहरूलाई पनि आफ्ना नजिकका व्यक्तिहरूसँग सम्पर्क राख्न सजिलो भएको छ। व्यवसाय र रोजगारका अवसरहरू पनि बढेका छन्। स–साना व्यवसायीलाई पनि आफ्नो व्यवसायलाई ठूलो बजारमा प्रवर्द्धन गर्ने अवसर मिलेको छ। मानिसहरूले आफ्नो प्रतिभा, जस्तै कला, संगीत, नृत्य, लेखन, आदि सामाजिक सञ्जालमा प्रस्तुत गर्न सक्छन्। यसले उनीहरूलाई दर्शक र प्रशंसा प्राप्त गर्न मद्दत गर्दछ। शिक्षामा पनि यसले धेरै सहयोग पुर्याएको छ। विद्यार्थीहरूले अनलाइन कक्षाहरू लिन, नोट्स आदानप्रदान गर्न र आफ्ना शंकाहरू समाधान गर्न सक्छन्। तर, सामाजिक सञ्जालका केही नकारात्मक पक्षहरू पनि छन्। यसले मानिसको समयको नाश गराउँछ। सामाजिक सञ्जालमा अत्यधिक समय बिताउँदा मानिसहरू आफ्नो पढाइ, काम, वा अन्य जिम्मेवारीमा ध्यान दिन नसक्ने समस्या पनि देखिन्छ। यसले मानिसहरूको निजी जीवनलाई सार्वजनिक बनाउँछ, जसकारण गोपनीयता सम्बन्धी समस्या उत्पन्न हुन्छ। लामो समयसम्म सामाजिक सञ्जालको प्रयोगले मानिसहरूमा नकारात्मक भावना, मानसिक तनाव, र डिप्रेसनको समस्या निम्त्याउन सक्छ। विभिन्न पोस्ट र तस्वीरले व्यक्तिलाई आफ्ना कमजोरीहरूमा ध्यान दिन लगाउँछ र आत्म–सम्मानमा कमी आउन सक्छ। यसमा छिटो जानकारी फैलिने भएकाले, कहिलेकाहीँ गलत सूचना पनि सजिलै फैलिन्छ, जसले समाजमा भ्रम र अविश्वास फैलाउन सक्छ। सामाजिक सञ्जालमा अपमानजनक कमेन्ट, धम्की, र विभिन्न प्रकारका साइबर अपराधहरू पनि हुनेगरेका छन्। यसले मानिसको मनोबल गिराउने काम गर्छ। यसरी, सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन्। सही उपयोग गरिएमा यो एक अत्यन्त प्रभावकारी र शिक्षाप्रद साधन हुन सक्छ। यसलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा हाम्रो जीवनमा यसले उल्लेखनीय सुधार ल्याउन सक्छ।
बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिका
सुबिन चालिसे नेपाल जस्तो विविधतायुक्त देशमा समाज निरन्तर परिवर्तनको यात्रामा छ। विकास, प्रविधि, र जनचेतनामा आएको परिवर्तनले समाजको संरचना र मूल्य मान्यताहरूमा ठूलो प्रभाव पारेको छ। यस बदलिँदो समाजमा युवाहरूको भूमिका महत्वपूर्ण छ। नेपाली समाजमा परिवर्तन ल्याउने शक्ति नै युवाहरू हुन्। सबैभन्दा पहिला, युवाहरू प्रविधिको सशक्त प्रयोगकर्ताका रूपमा देखिएका छन्। इन्टरनेट, सामाजिक सञ्जाल, र नयाँ प्रविधिहरूको उपयोग गर्दै उनीहरूले नयाँ चेतना, विचार र सन्देश फैलाइरहेका छन्। उदाहरणस्वरूप, विभिन्न सामाजिक मुद्दाहरूमा युवाहरूले अनलाइन अभियान चलाएर समाजलाई जागरूक बनाउने प्रयास गरिरहेका छन्। दोस्रो, राजनीतिक परिप्रेक्ष्यमा युवाहरूको भूमिका उल्लेखनीय छ। विगतका केही वर्षहरूमा, युवाहरूले राजनीतिक आन्दोलनहरूमा सक्रियता देखाउँदै आएका छन्। नेपालमा भएको लोकतान्त्रिक आन्दोलनहरूमा युवाहरूको भूमिका महत्त्वपूर्ण रह्यो। अहिलेको नयाँ संविधान निर्माणमा समेत युवाहरूको आवाजलाई सुनिएको छ। तेस्रो, नेपाली समाजमा भएका परम्परागत धारणाहरू र पुराना सामाजिक संरचनाहरूलाई चुनौती दिन युवा पुस्ताले अग्रसरता लिएको देखिन्छ। जात, लिङ्ग, र धर्मसँग सम्बन्धित विभेदहरूलाई हटाउने र समानता स्थापनाको लागि युवाहरूले अभियानहरू चलाएका छन्। यसले नेपाली समाजलाई उदार, समतामूलक र समावेशी बनाउन ठूलो सहयोग गरेको छ। युवाहरू रोजगारी र उद्यमशीलताको क्षेत्रमा पनि सक्रिय छन्। बदलिँदो अर्थतन्त्रको माग अनुसार युवाहरूले नयाँ नयाँ व्यावसायिक मोडेलहरू सिर्जना गरिरहेका छन्। स्टार्टअप कल्चरको सुरुवात र नविन सोच राखेर उनीहरूले नेपालको आर्थिक विकासमा योगदान पुर्याइरहेका छन्। युवाहरूले सामाजिक सेवामा पनि उल्लेखनीय योगदान दिएका छन्। विभिन्न गैरसरकारी संस्थाहरू, स्वयंसेवी संगठनहरू मार्फत शिक्षा, स्वास्थ्य, वातावरण, तथा अन्य सामाजिक मुद्दाहरूमा काम गरेर समाजलाई सशक्त बनाउन उनीहरूको भूमिका महत्त्वपूर्ण छ। समग्रमा, बदलिँदो नेपाली समाजमा युवाहरू परिवर्तनका वाहक हुन्। उनीहरूलाई सही दिशामा नेतृत्व गर्ने अवसर दिइने हो भने नेपाली समाजको भविष्य उज्ज्वल देखिन्छ। नविन सोच, साहस, र जोशले भरिएका यी युवाहरूले नेपाली समाजलाई आधुनिक र प्रगतिशील दिशामा अघि बढाउन सक्ने क्षमता राख्छन्। बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिकालाई थप विस्तृत रूपमा हेर्दा विभिन्न क्षेत्रहरूमा उनीहरूको प्रभावलाई उजागर गर्न सकिन्छ। सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा उनीहरूको योगदान क्रमशः वृद्धि हुँदै गएको छ। १. सामाजिक नेतृत्वमा योगदान: नेपाली युवाहरूले सामाजिक नेतृत्व र सेवा क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्। सामाजिक अभियन्ता र स्वयंसेवकको रूपमा, युवाहरूले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र लैंगिक समानताजस्ता मुद्दाहरूमा काम गरिरहेका छन्। विभिन्न गैरसरकारी संस्था र अभियानहरूमा संलग्न भई उनीहरूले समाजमा सुधार ल्याउने प्रयास गरिरहेका छन्। नेपालमा बढ्दो लैंगिक हिंसा, बालविवाह, जातीय विभेद, र अन्य सामाजिक मुद्दाहरूलाई हटाउन युवाहरूले चलाएका अभियानहरूले समाजमा चेतना फैलाइरहेका छन्। यसले समाजलाई न्यायसंगत र समावेशी बनाउन मद्दत पुर्याएको छ २. राजनीतिक सचेतना र सक्रियता: नेपाली राजनीतिक परिवेशमा युवाहरूको भूमिका अब सीमित मात्रामा होइन। विगतमा राजनीति बृद्ध पुस्ताको वर्चस्वमा रहे पनि अहिलेको समयमा युवाहरूले नयाँ सोच, सुधार, र परिवर्तनको माग राख्दै सक्रिय सहभागिता जनाइरहेका छन्। स्थानीय निर्वाचनदेखि लिएर राष्ट्रिय स्तरसम्म उनीहरूको सहभागिता बढ्दो छ। युवाहरूले सशक्त राजनीतिक नेतृत्वको माग गर्दै विभिन्न आन्दोलनहरूमा भाग लिएका छन्, जसले नयाँ पुस्ताको आवश्यकता र प्राथमिकतालाई अघि सारेको छ। उनीहरू राजनीतिमा पारदर्शिता, जवाफदेहिता, र निष्ठाको माग राख्दै आएका छन्। यसले पुराना राजनीति शैलीमा सुधार ल्याउन र नयाँ नीतिहरूको निर्माण गर्न सहयोग पुर्याएको छ। ३. उद्यमशीलता र नवप्रवर्तन: बदलिँदो विश्वसामु युवाहरूले नयाँ प्रविधिको सदुपयोग गर्दै उद्यमशीलताको क्षेत्रमा क्रान्तिकारी योगदान दिएका छन्। नेपालको आर्थिक अवस्था सुधार्न युवाहरूले स्टार्टअपहरू, साना तथा मझौला उद्यमहरूको सुरुवात गरेका छन्। कृषि, पर्यटन, सूचना प्रविधि, र उद्योग क्षेत्रमा युवाहरूको नविन सोचले नेपाललाई स्वावलम्बी बनाउने दिशामा अघि बढाएको छ। अझै, युवा उद्यमीहरूले विश्वव्यापी मञ्चमा नेपाललाई चिनाउँदै निर्यातका लागि नयाँ नयाँ उपायहरू खोजिरहेका छन्। यसले न केवल रोजगारी सिर्जना गरेको छ, तर देशको आर्थिक विकासमा योगदान पुर्याएको छ। ४. सांस्कृतिक परिवर्तन: सांस्कृतिक रूपमा पनि युवाहरूले परम्परागत मान्यताहरूलाई आधुनिक सोचसँग मेल खुवाउने प्रयास गरिरहेका छन्। नेपालको विविध सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै, नयाँ पुस्ताले सांस्कृतिक साक्षरता, कला, संगीत, र अन्य सांस्कृतिक क्रियाकलापहरूमा पनि नविनता ल्याइरहेका छन्। यसका साथै, विश्वव्यापीकरण र प्रविधिको प्रभावले गर्दा युवाहरूले नयाँ सांस्कृतिक परम्पराहरूलाई आत्मसात गर्दै आएका छन्। यद्यपि, उनीहरूले आफ्नै मौलिक संस्कृति र परम्पराको पनि सम्मान गर्ने परिपाटीलाई कायम राखेका छन्। ५. वातावरणीय सचेतना र संरक्षण: वातावरणीय चुनौतीहरू सामना गर्न युवा पुस्ताले अग्रसरता लिएको छ। जलवायु परिवर्तन, प्रदूषण, र जंगलको कटानजस्ता समस्याहरूको समाधानका लागि युवाहरूले वातावरणीय सचेतना अभियानहरू सञ्चालन गरिरहेका छन्। "क्लिन अप नेपाल", "ग्रीन नेपाल", जस्ता अभियानहरूमा उनीहरूको उत्साही सहभागिताले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।युवाहरूको वातावरणप्रतिको जागरूकता र योगदानले दीर्घकालीन दिगो विकासको अवधारणा फैलाउने कार्यमा ठूलो भूमिका खेलिरहेको छ। निष्कर्ष: बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिका बहुआयामिक छ। उनीहरू समाजका हरेक क्षेत्रमा परिवर्तन र सुधारको वाहक बनेका छन्। प्रविधिको प्रयोग, उद्यमशीलता, सामाजिक न्यायका लागि अभियान, र राजनीतिक सुधारमा उनीहरूको योगदान नेपाललाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा समृद्ध बनाउन सहायक साबित भएको छ। युवाहरूको सक्रियता र नवप्रवर्तनले नेपालको भविष्य उज्ज्वल र सक्षम देखिन्छ। यदि राज्यले तिनलाई उचित अवसर र स्रोतहरू उपलब्ध गरायो भने, नेपाली समाजले उनीहरूको अद्वितीय ऊर्जा र नवाचारलाई थप सदुपयोग गर्न सक्नेछ, जसले देशलाई दिगो विकास र समृद्धितर्फ उन्मुख गराउनेछ ।
थारू समुदायमा बर्का अटवारी
छविलाल कोपिला अटवारी, थारू समुदायको महान् चाड माघ पछिको दोस्रो ठूलो पर्वकाे रूपमा मानिन्छ । यो पर्वमा खास गरेर पुरुषहरू निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरू पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने यो पर्व प्रायः भदौ महिनामा पर्छ । यसको तिथि मितिको बारेमा हरेक वर्षझैं विभिन्न मतमतान्तर हुँदै आएका छन् । ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरू अगाडि आएको देखिन्छ । यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरूको बहसको विषय पनि बन्दै आएको छ । अटवारी कहिले मनाइन्छ ? अटवारीको परम्परागत अवस्था र पृष्ठभूमिलाई हेर्ने हो भने यो खास गरेर भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म सबै आइतबारलाई अटवारी पर्वको रूपमा मान्ने चलन थियो । तर, यो चलन अहिले छैन । समयसँगै अहिले यो पर्व एक आइतबारमा मात्रै सीमित भइसकेको छ । पुरानो चलनलाई हेर्दा जसरी हिन्दू महिलाहरूले साउन महिनाको प्रत्येक सोमबार व्रत बसे जस्तै थारु समुदायमा भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्मको सबै आइतबार व्रत बस्ने चलन थियो । त्यसकारण कुनै साल कात्तिके दशैं पर्यो भने एउटै व्यक्तिले ११–१२ पटकसम्म व्रत बस्नु पर्ने अवस्था हुन्थ्यो । यति लामो समयसम्म लगातार व्रत बस्नु पर्ने हुनाले दशैंसम्मको सबै आइतबार अटवारी व्रत सबैले बस्दैनथे । केही व्यक्तिहरू भदौको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारको अटवारी धुमधामसँग मनाएर व्रत स्थगित गर्दथे भने स्वेच्छिक व्रत बस्नेहरू दशैंसम्मको आइतबार नियमित रूपमा अटवारी व्रत बस्दथे । समयक्रमसँगै भदौको पहिलो आइतबारदेखिको व्रत बस्न अहिले छोडिसकेका छन् । भदौ महिना ऊ बेला धेरैजसोको घरमा भोकमरी हुने र झाडापखाला लगायतका महामारी तथा बर्षे धानबाली भित्राउने र हिउँदे धानबाली रोपाइँ शुरु गर्ने हुँदा कामको चटारो भएकोले व्रत बस्न छोडेको कुरा जानकारहरूले बताउँछन् । तर कुशे औंसी पछिको पहिलो आइतबार बर्का अटवारी र त्यसपछिको ४ आइतबार स्वेच्छिक अटवारी पर्व मान्ने चलन निरन्तर रह्यो । यसरी पाँच अटवारी व्रत रहनेहरूलाई ‘पाँच अटवह्र्यन’ भनिन्थ्यो । पाँच अटवारीपछि दशैं शुरु हुन्थ्यो । अहिले बर्का अटवारी पछिको चार आइतबार व्रत बस्ने चलन पनि हराइसकेको छ । यसरी भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म, भदौ महिनाको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारसम्म, कुशे औंसीको पहिलो आइतबारदेखि दशैंसम्मको ५ आइतबार र कुशे औंसीको पहिलो आइतबार मात्र व्रत बस्ने यी चार थरिका व्रतालुको साझा दिन कुशे औंसीको पहिलो आइतबारको अटवारी भएकोले यसलाई ‘बर्का अटवारी’ भनिएको हो । अन्य अटवारीलाई भने सामान्य अटवारी अथवा छुट्की अटवारी भन्ने चलन छ । यसकारण यसको मूल गहिराई नबुझ्दा बीचबीचमा तिथि–मितिमा मतमतान्तर हुने गरेका छन् । तर यसका परम्परागत विधि र प्रक्रियालाई गहिरिएर हेर्ने हो भने विवाद गर्नु पर्ने खासै देखिदैन । सामान्यतया अटवारी थारु समुदायको अस्टिम्की पर्व पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंशी) पछिको पहिलो आइतबारलाई बर्का अटवारी मान्ने चलन छ । बर्का अटवारी मानेर ४ आइतबार पछि दशैं लाग्छ । किन कि बर्का अटवारी पछि थप चार आइतवार अटवारी व्रत बस्ने पुरानै चलन छ । अथवा कुशे औंसी र दशैंको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ । यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबार नै बर्का अटवारी हो भनेर प्रमाणित हुन्छ । कुनै कुनै गाउँमा हैजा लगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण) समय हेरेर अटवारी पर्व मान्ने चलन पनि छ । यसो गर्दा पाँच अटवारी व्रत बस्नेहरू सबै आइतबार व्रत बस्न सक्दैनन् र अँटवारी पनि फरक-फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ । केही भ्रमहरू केही मानिसहरूको धारणा हिन्दू नारीहरूको हरितालिका तीज पछिको आइतबारलाई अटवारी मान्ने पनि छ । तर यो त्यति सान्दर्भिक देखिदैन । यदि तीजपछिको आइतबारलाई मान्ने हो भने ‘पाँच अटवारी’ व्रत बस्नेहरूको अटवारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । थारूवस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरूको बसाई थिएन । थारू समुदायको एकलौटी बसाई थियो । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो । अहिलेको जस्तो विभिन्न जातजातिहरूको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्विकारी सकेको अवस्थामा यो कुरा उठ्नु स्वभाविक भएपनि वास्तविकता भने होइन । उसो त कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । यो एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ । तर यो सत्य होइन र सँधै यस्तै पनि हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ अथवा तीज अगावै पनि पर्छ । तर, पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अटवारी मान्ने समस्या देखापरेको छ । अटवारी बिशेषतः आइतबारसँग जोडिएर आएको पर्व हो । यसकारण अटवारी पर्वलाई यो र त्यो बहानामा बिषयान्तर गर्नु भन्दा यसको परम्परागत पृष्ठभूमिलाई अध्ययन गर्न जरुरी छ । जसरी हिन्दू महिलाहरूको सावने सोमवार व्रतलाई कुनै चतुर्थी, षष्ठीले छेकबार लगाउँदैन । त्यसैगरी थारु समुदायको अटवारी व्रत पनि भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्मको आइतबार कुनै पनि तिथि मितिले असर गर्दैन र स्वेच्छा अनुसार तोकिएको समयसीमाका जुनसुकै आइतबार व्रत बस्न सक्ने जानकारहरू बताउँछन् । तर बर्का अटवारी अथवा औंसीको पहिलो आइतबार व्रत अनिवार्य जस्तै रहन्छ । रूपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रूपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुशे औंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन् । उनले ‘पाँच अटवारी’को विषयमा भने कुनै कुरा उल्लेख गरेका छैनन् । त्यसो त रूपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरू पश्चिमाजिल्ला भन्दा फरक छ । तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरूमा वैचारिक धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरूपता पाइन्छ । अटवारीमा कसको पूजा हुन्छ ? प्रकृति पुजक थारू समुदायमा खास गरेर यो पर्व सूर्यको पूजा गरेर रूपमा मनाइन्छ । सूर्यलाई उज्यालो, अग्नी र शक्ति (उर्जा)को प्रतीकको रूपमा मानिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नी । जब भयावह कालरात्रि चिरेर सूर्यको उदय भएपछि यो संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ । सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय, सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रूपमा गरेका हुन् । आइतबारलाई रविबार पनि भनिन्छ । त्यसैले यो व्रत पहिले राजकुमार देवदत्त बसे । पाण्डु, कुन्ती, माद्री, कर्ण, भीम लगायत सूर्यको पूजा हेतु श्रीमदभागवत सुनाए । त्यसपछि देउताहरू सूर्यको पूजा गर्न थाले । त्यसैगरि ठूला-ठूला ऋषिमुनिहरू पनि सूर्यको उपासकको रूपमा सूर्यको जन्म दिन आइतबारलाई अटवारी व्रत बसेर मनाउन थाले भन्ने कुरा वीरबहादुर चौधरी आफ्नो पुस्तक ‘वीरबहादुरके ऋतु’मा उल्लेख गरेका छन् । जुन अहिले पनि यो चाड चलन चल्तीमा छ । अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिँडे । जब लराइबाट फर्किदा उनी निकै भोकाएका थिए । टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । अटवारीमा अक्केकरे रोटी (एक पट्टी मात्र पकाएको रोटी) पकाउने चलन छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ भने भीम, थारू राजा दंगीशरणलाई लराइमा सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरू उनकै पूजा गरेर अटवारी व्रत बस्ने विचार पनि जनमानसमा छ । यसरी अटवारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एकरूपता रहेको पाइदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ । अटवारी कसरी मनाइन्छ ? अटवारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर अन्य कुनै चीजको मासु भने हुँदैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्नेहरू भाले बास्नु भन्दा पहिले खानु पर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन । खाए भने ऊ व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ । आइतबार अथवा अटवारीको दिन व्रत बस्नेहरूको खान भान्सामा पाक्दैन । उनीहरू बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गरन्छि । बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रूपमा लिइन्छ । यो पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अटवारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ । रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ । त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा (बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ) । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ । सूर्य आगोको मुख्य श्रोत हो । सूर्य आफैमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नी (आगो)लाई अथवा सूर्यलाई प्रसादको रूपमा अगयारी दिने चलन आएको हो । अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेली–बेटीहरूका लागि पहुरको रूपमा ‘अग्रासन’ छुट्याउने चलन छ । ‘अग्रासन भनेको आफू खानुभन्दा पहिले छुट्टयाएको खान भन्ने बुझाउँछ । जुन आफू खानुभन्दा पहिले आफ्ना चेलीहरूको नाममा छुट्टयाइन्छ । अग्रासन ‘अग’ र ‘रासन’ समास भए बनेको शब्द हो । यहाँ ‘अग’ भनेको सबैभन्दा पहिले भन्ने अर्थ हुन्छ र ‘रासन’ भनेको खान भन्ने बुझाउँछ । यसरी चेली बेटीहरूलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । यो काम दिउँसो हुन्छ । अन्य व्रत जस्तो अटवारीमा दिनभरि निराहार बसिरहनु पर्दैन । दिउँसो नै पूजा गरी खाने चलन छ । यो क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्ण रूपले बन्द हुन्छ । अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा हो । यस दिन व्रतालुहरू बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरूले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरू बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ । फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरू हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरूका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ । अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रूपमा कमलको पात या केराको पात प्रयोग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रूपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरू अन्न ग्रहण गर्छन् । अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरूलाई घरमै बोलाउने चलन छैन । ब्रतालुहरूले निकालेको पहुर ‘अग्रासन’ उनीहरूकै घरमा पुर्याउन जाने चलन छ । अग्रासन पुर्याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरू जान्छन् । चेलीहरू पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारु समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् । यो पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रूपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरू यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ । तर यसका केही गलत पक्षहरू पनि छन् । सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन । यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरू भएको पनि देखिन्छ । यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ । त्यसैगरि अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोग, अनावश्यक खर्च, कुनै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पुर्याउन नसके चेलीहरूमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ । त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ । यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गर्त र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ । अटवारी सबैको शुभ रहोस् ।