अस्पतालमा सुत्केरी भुइँँमा उपचार गराउन बाध्य
चितवन, भदौ २५ । भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् ।
अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताउनुहुन्छ । दैनिक सरदर ४० जना भूइँमा नै हुने गरेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला छन् ।
महानगरमा प्रमुख र उपप्रमुखको शपथपछिको ३२ आँैं दिनका दिन आज दोस्रो पटक भरतपुर अस्पताल पुग्नुभएका उहाँहरुले प्रसूति गृहको निरीक्षण गर्नुभएको थियो । प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह जब प्रसूति गृह पस्नुभयो, भुइँभरी प्रसव अवस्थाका बिरामी महिला देख्नुभयो । त्यसो त शपथका दिन पहिलो निर्णय नै उहाँहरुले महिला र वृद्धका लागि अस्पतालमा बहिरङ्ग टिकट निःशुल्क गराउनुभएको थियो ।
श्ययाको अभावमा कष्टकर अवस्था देखेपछि प्रमुख दाहालले आउँदा दिनमा सो अवस्था नरहने गरी काम गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सक्दो सहयोग महानगरले गर्छ, आवश्यक पहल केन्द्रमा पनि गर्छु, तपाईँ झै अब महिलाले भुइँमा सुतेर उपचार गर्नुपर्दैन ।” उहाँले अस्पतालका स्रोत साधनलाई अधिकतम उपयोग गरी बिरामीको उपचारमा लाग्न निर्देशन पनि दिनुभयो । उपप्रमुख ठकुरीले पनि महानगरभित्रै महिलाले कष्टपूर्ण ढंगले प्रसूति सेवा लिन नपर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
अस्पतालको प्रसूति गृहमा एक सय १० श्यया छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रुद्र मरासिनीले वार्षिक रुपमा १४ हजारभन्दा बढी महिलाले अस्पतालबाट प्रसूति सेवा लिने गरेको बताउनुभयो । राजधानीको प्रसूति गृहपछि नेपालमा सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल रहेको बताइएको छ । अस्पतालमा आठ प्रसूति रोग विशेषज्ञ छन् ।
अस्पतालको निरीक्षणका क्रममा मरासिनीले कम्तीमा ५० श्ययाको प्रसूतिरोग विभाग जरुरत रहेको बताउनुभयो । त्यसैगरी जनशक्ति अभाव रहेको, आकस्मिक कक्ष साँघुरो भएको बताउँदै एमआरआई, क्याथल्याब र मानव अंग प्रत्यारोपणका लागि आवश्यक उपकरण व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
वर्षात्को समयमा पानी जमेर अस्पताल अस्तव्यस्त हुने हुँदा ढलका लागि पनि पहल गरिदिन उहाँले आग्रह गर्नुभयो । भरतपुर अस्पतालमा चितवन र छिमेकी जिल्लाबाट वर्षमा दुई लाख भन्दा बढीले उपचार सेवा लिँदै आएका छन् ।
अझै तीन हप्ता डेंगुको जोखिम कायमै
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”
थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।
कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह
काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।
पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल
पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।