आज देवकोटा जयन्ती; यस्तो थियो महाकविको जीवन !
काठमाडौँ, कार्तिक २१ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जम जयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको जन्म विसं. १९९६ कार्तिक कृष्ण औसी अर्थात् लक्ष्मीपूजाको दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका तेस्रा सन्तानको रूपमा काठमाडौँको डिल्लीबजारमा भएको थियो ।
न्वारानको नाम तीर्थमाधव देवकोटा भएपनि लक्ष्मीपूजाको दिन्न जन्मिएकाले उनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिन गएको हो ।
सानैदेखि लेख्थे कविता
दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए र ती कृतिका माध्यमले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
विराट प्रतिभा
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका छन् ।
देवकोटा सर्जकका साथै अनुवादक पनि थिए । उनले विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका छन् । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चार्ल्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरेका थिए ।
योगदान
उनले विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्ने–गराउने कामसमेत गरेका थिए । उनले वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा समेत सक्रिय योगदान दिएका थिए ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्थापनामा समेत महत्वपूर्ण योगदान गरेका देवकोटाले केही समय त्रि-चन्द्र कलेजमा शिक्षण समेत गरेका थिए ।
तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
संघर्षपूर्ण जीवन
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो ।
केही समय देशको शिक्षामन्त्री रहेपनि देवकोटाको जीवन आर्थिक चुनौतीहरूसँगै बित्यो । उनले ट्युसन पढाएर खर्चको जोहो गर्ने गरेका थिए । उनले बेलाबेला सत्ताको कोपभाजन समेत बन्नुपरेको थियो ।
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । उहाँले पाश्चात्य ग्रिसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।
कला साहित्यले जनताको सेवा गर्नुपर्छः ज्ञवाली
धरान । अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिको आयोजनामा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र प्रतिनिधिमूलक कवितागोष्ठी सुनसरीस्थित विमल स्मृति पुस्तकालय, बुद्धचोक, धरान १८मा सम्पन्न भएको छ । उक्त कार्यक्रमको पहिलो सत्रमा प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र दोस्रो सत्रमा प्रतिनिधिमूलक कवितागोष्ठी गरिएको थियोे। वरिष्ठ सौन्दर्यचिन्तक एवं जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो। उहाँले साहित्य, कला र संस्कृति देश र जनताको हितमा हुनुपर्ने बताउनुभयो । ‘यसले जनताको सेवा गर्नुपर्छ। जनताका यावत जीविकाका समस्यालाई देखाउने , जनताका सत्रुहरूको भण्डाफोर गर्ने र देश र जनतालाई परिवर्तन र मुक्तिको दिशाबोध गराउने कामचाहिँ प्रगतिवादी साहित्यले गर्नुपर्छ । प्रगतिशील र प्रगतिवादी साहित्यमा भिन्नता छ’, उहाँले भन्नुभयो । उहाँले सम्पूर्ण संस्कृतिकर्मीहरू देश ,जनता र गरिब वर्गको पक्षमा उभिनु आवश्यक रहेको बताउनुभयो । विशिष्ट अतिथि जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष भीम कुमाखीले केशव सिलवाल वर्तमान समयका अब्बल कवि रहेको चित्रण गर्दै हरेक विकृति र विसङ्गतिविरुद्ध प्रत्येक कविहरू जागृत हुनुपर्ने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेसामा संलग्न जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय महासचिव केशव सिलवाललाई प्रगतिवादी कविता लेखन क्षेत्रका प्रतिनिधिमूलक प्रतिभाका रूपमा चित्रण गरिएको छ । सो अवसरमा सिलवालले कविता लेखनका लागि उच्च साधनाको जरुरत पर्छ।अनि मात्रै कविताले मानिसको मनमस्तिष्क छुन सक्छ भन्ने धारणा राख्दै चिबेचरा,ङा चेपाङ,कमरेड स्याउला ,तुइनमा उल्टो झुन्डिएर ,जुत्ता र क्रान्ति ,यो देश मेरो होइन रहेछ जस्ता ६ वटा कविता बाचन गर्नु भएको थियो। ललितपुर लेलेमा २०३० सालमा जन्मिएका कवि केशव सिलवालका बर्जित अवशेष,असहमतिका स्वरहरू, धारिला मानिसहरु, चिबेचराजस्ता कविता कृति प्रकाशित भइसकेका छन्। कवि सिलवाल उक्त कार्यक्रममा सम्मानित समेत हुनु भएको थियो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय सचिवालय सदस्य एवं जनसांस्कृतिक महासङ्घ नेपाल एक नम्बर प्रदेशका अध्यक्ष चेतनाथ धमलाले कवि सिलवालका वाचित कवितामाथि टिप्पणी गर्नुभएको थियोे । कार्यक्रममा जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव तथा एक नम्बर प्रदेश इन्चार्ज अनुसा राईलगायतले बोल्नुभएको थियो । कार्यक्रमका अतिथि प्रा.डा.खेमनाथ दाहाल,अम्बिका शाक्य, सिद्धिकर्ण शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य राम खरेल ,राधिका कार्की,टीका मिलन, महेश श्रेष्ठ, दीपक पराजुली, टेकनाथ घिमिरे, राजन निरौला, चन्द्रबहादुर सुवेदी, मणि राई गोठाले, महेश श्रेष्ठ, सानू कोविद, इन्द्रसुर बेल्टारे र युवराज घले लगायतले कविता वाचन गर्नु भएको थियोे। साथै पीपी कोइरालाले लघुकथा वाचन गर्नु भएको थियोे। अतिथि गायिका अम्बिका दवाडीले गीत प्रस्तुत गर्नुभएको थियोे। कार्यक्रममा शकुल भुसाल ,तुलसी गेलाल, खड्गप्रसाद खनाल, जमुना श्रेष्ठ, पदम ढकाल, बाबुराम श्रेष्ठ, प्रकाश दिप्साली राई, पुष्प ढुङ्गाना, शोभा मिश्र खनाल, कमल आचार्य र अनूदित खनाल लगायतका कवि, लेखक र श्रोताहरूको उपस्थिति रहेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य ,अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सचिव तथा अखिल नेपाल लेखक सङ्घ एक नम्बर प्रदेश समितिका अध्यक्ष प्रा.डा. खेमराज खनालको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो। प्राज्ञ खनालले हाम्रा यस्ता कार्यक्रमबाट प्रगतिवादी साहित्यको उन्नायन हुनका साथै स्रष्टाहरूको मनोबल बढेर जाने कुरामा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नु भएको थियोे। अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य एवम् अखिल नेपाल लेखक सङ्घका उपाध्यक्ष विमला पोखरेलले कविता वाचनसहित कार्यक्रम सञ्चालन र सचिव सुधीर केसीले कवितावाचनसहित स्वागत गर्नुभएको थियो ।
रुकुमपश्चिमको मग्गामा सहिदस्मृति मेला
रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मामा सहिद स्मृति मेला सुरु भएको छ । मेलाको उद्घाटन कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले गर्नुभएको थियो । मग्मामा हरेक वर्ष सहिदहरूको सम्झनामा मेला लाग्दै आएको छ । सोमबारबाट सुरु भएको सहिद स्मृति मेला कात्तिक २ गतेसम्म चल्ने सहिद स्मृति मेला समिति सदस्य देवराज खनाले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा खुला वडा स्तरीय महिला, पुरुष भलिबल, पुरुष डवल ब्याडमिन्टन लगायत सांस्कृतिक कार्यक्रमहरू मयूर नाच, सिगांरु नाच पनि प्रदर्शन गरिएको छ । मेलामा पुरुष भलिबल प्रतियोगिताको लागि जिल्लाको विभिन्न ठाउँबाट २६ समूहले सहभागिता जनाउँदा महिला भलिबल तर्फ १० समूहले सहभागिता जनाएको सहिद स्मृति मेला समितिका सदस्य खनालले जानकारी दिनुभयो । पुरुष भलिबल तर्फ विजेता हुने समूहले नगद १ लाख ६ हजार रुपैयाँ, उपविजेता हुने समूहले नगद ७५ हजार रुपैयाँ र सान्त्वना हुने दुई समूहले समान नगद २०/२० हजार रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै महिलातर्फ विजेता हुने समूहले नगद २५ हजार उपविजेता हुने समूहले नगद १५ हजार र सान्त्वना हुने दुई समूहलाई समान ५/५ हजार रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ६ जिपसिङमा जन्मनु भएका सहिद रवि केसी लगायत अन्य सहिदहरूको सम्झनामा विगत २५ वर्षदेखि नेकपा माओवादी केन्द्रले हरेक वर्ष मग्मामा मेला आयोजना गरिरहेको छ । नगेन्द्र रिजालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काको विशेष आतिथ्यता रहेको थियो । अन्य अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, बाँफिकोट गाउँपालिका इन्चार्ज धर्मबहादुर केसी, पार्टीका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो ।सहिद स्मृति मेला समितिका सदस्य नवराज खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समितिका सदस्य किरण विश्वकर्माले गर्नुभएको थियो ।
थारू गाउँबस्तीमा सखिया नाचको रौनक
नेपालगञ्ज । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा दसैँको बेला नाचिने ‘सखिया नाच’ को रमझम जारी रहेको छ । दसैं शुरु हुनुभन्दा पहिले शुरु भएर दसैं सकिएको केही दिन पछिसम्म पनि नाचिने सो नाचले अहिले दुबै जिल्लाका थारु गाउँबस्तीमा विशेष रौनक छाएको छ । दसैंको टीकाको दिनसम्म केटाकेटी मिली गरिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुवाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् । सखिया नाचिने थारू गाउँमा दसैं शुरु भएसँगै निकै रौनक हुने गरेको जनाउँदै बाँके बैजापुरका थारु अगुवा बिक्रम थारुले दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैंको दिन दिनभरी नाच्ने गरिएको बताउनुभयो । अगुवा थारुका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार पाँचजना मादल बजाउने युवा हुन्छन् । १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् । सखिया नाचमा विशेषत थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवम् रक्षाको माग गर्ने चलन रहिआएको बाँके बनकटुवाका अर्का थारु अगुवा दिपेन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार युवाले सेतो रंगको धोती र रुचिअनुसारको कमिज लगाएर मादल भिरेका हुन्छन् । सखिया नाचमा विशेषतः युवायुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गर्छन् । नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइन्छ । महिलामा एकजना मोहरनिया, एकजना पचगिनिया र दुईजना जेठगोहिया रहेका हुन्छन् । मोहरनियाले गीतको अग्रभागबाट सुरु गर्छ भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठ गोहियाले साथ दिने काम गर्दछन् । त्यस्तै, मादल बजाउने अगुुवा, पच्छुवा मदरियाले त्रासन् मार्ने काम गर्दछन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा छ ।
प्रेमप्रकाशको कवितासङ्ग्रह 'रगतको तर्पण' विमोचन
काठमाडौं । रोल्पाली कवि प्रेमप्रकाशको कवितासङ्ग्रह 'रगतको तर्पण' विमोचन भएको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा प्रतिष्ठानका कुलपति भूपाल राई, संस्कृतिकर्मी भीम कुमाखी, कवि बिमला तुम्खेवा र उपप्राध्यापक केशव सिलवालले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् । विमोचन समारोहको प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य दिंदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले क्रान्तिको उद्गमस्थल रोल्पाबाट एकजना हस्तक्षेपकारी कविको रुपमा प्रेमप्रकाश आएको टिप्पणी गरे । कुलपति राईले भने, 'विचारको अस्थिपन्जर र कलाको मांशपेशीले कविताको सग्लो आकृति निर्माण गरेर प्रेमप्रकाशले एउटा पूर्ण कवितासङ्ग्रह ल्याएका छन् ।' जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष भीम कुमाखीले प्रेमप्रकाशका कविताहरुले हरेक गलतका विरुद्ध आवाज उठाउँदै आलोचनात्मक चेतसहित समृद्ध समाज निर्माणको आव्हान गरेको टिप्पणी गरे । कुमाखीले भने, 'प्रगतिशील चेत राख्ने कवि प्रेमप्रकाशले परिवर्तनको पक्षमा निरन्तर वकालत गर्दै राष्ट्रलाई प्रगतिपथमा डोर्याएर महत्त्वपूर्ण योगदान दिइरहेका छन् ।' कवि तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले प्रेमप्रकाशका कविताहरुमा कला र विचारको अद्भुत सन्तुलन रहेको टिप्पणी गरिन् । तुम्खेवाले भनिन्, 'समकालीन कविहरुमा प्रेमप्रकाश आफ्नो पृथक पहिचानसहित उभिन सफल भएका छन् ।' त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा कवि केशव सिलवालले प्रेमप्रकाशका कविताहरुमा नेपाली समाजका अन्तर्द्वन्द र अन्तर्वस्तुहरुको मिहिन विश्लेषण रहेको टिप्पणी गरे । सिलवालले भने, 'परिवर्तनको पक्षमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका गुमनाम भुइँमान्छेहरुको पक्षमा प्रेमप्रकाशले कविता लेखेका छन् ।' रोल्पा-काठमाडौं कलासाहित्य समाजद्वारा आयोजित कार्यक्रममा अस्मिता केसी, एलिसा एकलास, गीलु रातोस, छम गुरुङ, नवीन शर्मा, नुशा लिङ्देन र प्रज्वल अधिकारीले प्रेमप्रकाशको 'रगतको तर्पण' कवितासङ्ग्रहबाट एकएकवटा कवितावाचन गरेका थिए । माटोमाथि केही अधिकार, जीवनसँग जहिल्यै पनि, भावहरुको भव्य भग्नावशेष शीर्षक तीन खण्डमा विभाजित प्रेमप्रकाशको कविताकृतिमा आगो लिन गएकाहरु, उल्टो यात्रा, रगतको तर्पण, विचार जरुरी छ, आन्दोलनमा अक्षरहरु शीर्षकका कवितासहित जम्मा बयालीस कविताहरु सङ्ग्रहित छन् । विमोचन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद यमुना रोका, धर्मेन्द्र नेम्बाङ, स्वप्निल स्मृति, डा.विष्णुकुमार सिङ्जाली, नवीन रोकामगर, जीवन रोकामगर, बलबहादुर घर्तीमगर, सञ्जोग लाफामगर, मुक्तान थेबा, बाबू त्रिपाठी, असिम सागर, दीप दर्पण, कृष्णकिशु न्यौपाने, मिसन अधिकारी, उत्तम लिम्बू, मिथोच, राकेश चिन्तन, सुशीला तामाङ, प्रकाश चाम्लिङलगायत कवि, कलाकार, पत्रकार, राजनीतिकर्मी तथा संस्कृतिकर्मीहरुको उपस्थिति थियो । कविता, गजल र नियात्राका आधा दर्जन किताबसहित गीतिएल्बमसमेत प्रकाशित गरिसकेका प्रेमप्रकाशको 'रगतको तर्पण' कवितासङ्ग्रहलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो ।