इटालियन सिरिएमा रोनाल्डोको पहिलो ह्याट्रिकसँगै युभेन्टसको सहज जीत

इटालियन सिरिएमा रोनाल्डोको पहिलो ह्याट्रिकसँगै युभेन्टसको सहज जीत

काठमाडौंः इटालियन सिरिएमा क्रिस्टियानो रोनाल्डोले पहिलो ह्याट्रिक गर्दा युभेन्टसले काग्लियारीमाथि ४–० को सहज जीत निकालेको छ ।

पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफको सुरुवतामा रागनार क्लाभानको गल्तीको फाइदा उठाउँदै रोनाल्डोले साबिक विजेतालाई अग्रता दिलाएका थिए ।

खेलको ६७ औँ मिनेटमा मार्को रोगले पाउलो डिबालालाई फल गरेपछि युभेन्टसले पेनाल्टी पायो जसलाई रोनाल्डोले सहजै गोलमा परिणत गरे ।

रोनाल्डोले त्यसपछि गोन्जालो हिग्वाइनका लागि गोलको अवसर सृजना गर्दै युभेन्टसलाई ३–० को अग्रता दिलाए ।

त्यसको केही मिनेटपछि नै रोनाल्डोले तेस्रो गोल गर्दै करियरको ५६ औँ ह्याट्रिक पूरा गरे ।

योसँगै रोनाल्डो युरोपको शीर्ष तीन लिगमा ह्याट्रिक गर्ने एलेक्सिस सान्चेज पछि दोस्रो खेलाडी बनेका छन् । रोनाल्डोले इङ्ग्ल्याण्ड, स्पेन र इटालीमा ह्याट्रिक गरेका छन् ।

रियल म्याड्रिडबाट सन् २०१८ मा युभेन्टस आएपछि रोनाल्डो यतिबेला उत्कृष्ट फर्ममा रहेका छन् । उनले लिगका पछिल्ला ५ खेलमा गोल गरेका छन् ।

जीतपछि केही समयका लागि युभन्टेस लिगको शीर्ष स्थानमा उक्लिए पनि इन्टर मिलानले नापोलीलाई ३–१ ले हराउँदै गोल अन्तरको आधारमा पुनः शीर्ष स्थानमा उक्लियो ।

१८ खेलपछि इन्टर र युभे दुवैको समान ४५ अङ्क रहेको छ ।

इन्टरको जीतमा रोमेलु लुकाकुले दुई गोल गरे भने लाउटारो मार्टिनेजले एक गोल गरे । नापोलीका लागि आर्काडिउस मिलिकले एक गोल फर्काए ।

म्यान्चेस्टर युनाइटेडबाट इन्टर आएपछि लुकाकुले लिगमा १४ गोल गरिसकेका छन् । उनीभन्दा अघि १९ गोलसहित लाजियोका सिरो इमोबाइल मात्र रहेका छन् । १३ गोलसहित रोनाल्डो तेस्रो स्थानमा रहेका छन् ।

उता, ज्लाटान इब्राहिमोविचको पहिलो खेलमा एसी मिलान साम्पडोरियासँग गोलरहित बराबरीमा रोकियो । सोमबार भएका अन्य खेलमा फ्लोरेन्टिना र बालोग्नाले १–१ को बराबरी खेल्यो, एटलान्टाले पार्मालाई ५–० ले हरायो भने उडिनेजेले लिसलाई १–० ले पराजित गर्यो । एजेन्सी

साफ महिला च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै भुटान शीर्ष स्थानमा

काठमाडौं। श्रीलंकालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दोस्रो खेलमा भुटानले श्रीलंकलाई ४-१ ले पराजित गरेको हो। जितसँगै भुटानले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो। श्रीलंकाको यो पहिलो हार हो। पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १० ले पराजित गरेको थियो।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

लोकप्रिय