कथा : कान्छी त पोइला पो गइछ

कथा : कान्छी त पोइला पो गइछ

रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित नाटकहरु हेर्न निक्कै रोमाञ्चकारी हुने गर्दथ्यो । उनीहरुले रुपालाई लोभ्याउनका लागि गरको सहयोग सबै नक्कली लाग्दथ्यो । रुपा आफैंलाई पनि आफ्नो सुन्दरतामा गर्व थियो । छिन्–छिनमा ऊ ऐनाको अगाडि बस्ने गर्दथी । ऐनामा आफ्ना सम्पूर्ण सुन्दर शरीर धीतमरुञ्जेल नियाल्दा एकप्रकारको लज्जाको अनुभूति हुने गर्दथ्यो, हाँसोका विम्बहरु उतार्ने गर्दथी ।

झन् क्याम्पस आउँदा–जादाँका पलहरु निकै अविष्मरणीय हुने गर्दथ्यो । बाटामा क्याम्पसे केटाहरुले जिस्काउने गर्दथे । रुपा त्यसको मौन समर्थन गर्ने गर्दथी । कति पनि प्रतिकार गर्दिनथी । लज्जालु मुस्कान छाडेर निरुत्तर बनेर हिँड्दा ती केटाहरुले एकप्रकारको समर्थन पाएको सम्झन्थे । घर आईपुगेपछि ऊ बाटो भरिका रमाइला पलहरु सम्झेर मुस्कुराउने गर्दथी । उसलाई सधैं त्यहि बाटो नै प्यारो लाग्दथ्यो । ऊ त्यो बाटोलाई एकप्रकारको प्रेम गर्दथी अथवा भनौं त्यो बाटो दिनमा एक दिन नहिँडी चित्तै बुझ्दैन थियो ।

अरुणसँग उसको नजिकको सम्बन्ध छ । उसले अरुणलाई भाइ मानेकी मानेकी छे । प्रत्येक भाइटीकामा अरुणको निधार रङ्गिने गर्दथे उसका हातहरुबाट । सायद आफ्ना दाजुभाइ नभएकैले होला निकै प्रेम गर्दथी ऊ अरुणलाई । अरुण उसको घर पटक–पटक जाने गर्दथ्यो । यी दुई एकदिन नदेख्दा नै छट्पटिन पुग्थें । प्रत्येक दिन र रातहरु सँगै हुने गर्दथे । हाँसी–मज्जाक गर्दा गर्दै समयले नेटो काटेको पत्तै हुदैन थियो ।

अरुण पनि उसलाई निकै प्रेम गर्ने गर्छ । सधै उसको छत्रछायाँमा बस्न रुचाउँछ । प्रत्येक पल अरुण उसको सुन्दरताको खुलेर प्रशंसा गर्ने गर्दछ । सायद यहि कारणले होला रुपालाई अरुण निकै प्यारो लाग्ने गर्दछ । क्याम्पस जान लाग्दा रुपालाई अरुण नभई हुदैन । ऊ अरुणले ‘राम्रो देखिएको छ !’ नभनेसम्म घरबाट बाहिर निस्किदैनथी ।

रुपालाई आफू बन्धनमा बाँधिएको छु जस्तो लाग्थ्यो । प्रत्येक समय आफूलाई ठूला–ठूला पर्खालहरुकाबीच कैदमा पारिएको अनुभूत गर्ने गर्दथी । आफूलाई घरमा पिँजडामा राखेर थुनिएको सुगाझैँ सम्झिन्थी । क्याम्पस समयबाहेक उसलाई घरको चौघेराभन्दा बाहिर जान छुट थिएन । ऊ आफु सँगैका साथीहरु आफूभन्दा निकै स्वतन्त्र भएको ठान्दथी ।

आफ्ना साथीहरुलाई जहाँ पनि जान छुट भएको तर आफुलाई कहिँ जान पनि छुट नभएको भनेर आत्मालोचित हुने गर्दथी । यसैकारणले होला ऊ आफ्ना रहरलाग्दा सम्पूर्ण इच्छाहरु दबाएर राख्ने गर्दथी । क्याम्पस पार्कहरुमा प्रेमीप्रेमिकाहरु अँगालोमा बाँधिएर प्रेमकर्म गरेको देख्दा इर्ष्या लाग्ने गर्दथ्यो उसलाई । एक मनमा त आफूलाई प्रेम गर्ने प्रेमी खोजु जस्तो लाग्ने गर्दथ्यो तर डराउने गर्दथी त्यसबाट उब्जने परिस्थितिहरुसँग ।

०००

रुपाकी आमा मेनुकाका दिनहरु सधैं फुर्सदिला भएर बित्ने गर्दथे । आफ्नो श्रीमान् विदेशमा भएका कारण खर्चका लागि अरु कहाँ धाउनुपर्दैन थियो । उनि गाउँकै गन्यमान्य पार्टीको सक्रिय कार्यकर्ता थिइन् । उनलाई जहिल्यैं बिहान ६ बजे चिया पसलमा बसेर पार्टीका लगायतका कुराहरु गर्न अभ्यस्त हुन्थ्यो । थोर–बहुत राजनीतिबारे प्रशिक्षित भएकी उनि आफूलाई सभ्य र अरुलाई असभ्य भन्ने बानीले गाउँका दिग्गजहरुले मनपराउँदैनथे ।

एक्लो हठ गर्ने बानीले गर्दा गाउँका शिक्षित महिलाहरु उनकोको अज्ञनता देखेर मनमनै खिल्ली उडाउँथे । उनी आफैलाई पनि विना जानकार प्याच्च बोल्ने बानीले धेरै चोटी लज्जित बनाएको थियो । आफ्ना कमजोरीहरु पत्ता लगाई चिया पसलमा बसेर गफिएको देख्दा गाउँका महिलाहरुले ‘कुरा काट्ने आईमाई’को पगरी लगाईदिएका थिए।

रुपालाई निकै कडाई गर्थिन् उनि । उनि छोरीहरु स्वतन्त्र भए बेइज्जती बाहेक केही हुँदैन, । उनिहरुलाई आत्मनिर्णय अधिकार दिनुहुँदैन लगायतका सोचाई राख्ने गर्थिन् । छोरीले गरेका हरेक कुराहरुमा बन्देज लागाउँथिन् । गाउँमा सानै उमेरमा आफु खुसी बिवाह गर्ने लहड चलेको थियो । यस्तै विषयप्रति असान्दर्भिक रुपमा उनि छोरीलाई सजग गराई राख्ने गर्थिन्, “फलानो जस्तो गरी पोइला हिँडिस् भने तेरो के हुन्छ थाहा पाउनेछेस् तैँले !”

०००

भुँइमा तासहरु असरल्ल छरिएका थिए । मेनुका आफ्ना साथीहरुसँग तास खेल्नमा अभ्यस्त थिइन् । साथीहरु चाहिँ छिमेकीका बारेमा कुरा गर्दै थिए । उनि भने घरेलु मदिराको चुस्की लिँदै तुरुन्तै प्रतिक्रिया जनाई हाल्थीन्, “हैन, मान्छेको कसरी मन बद्लिन्छ हँ । एकजनासँग बिहे गरेर जीवन सुम्पिदिई सकेपछि फेरी अर्कोसँग किन जीवन सुम्पिदै पोइला जानु ? यो आईमाईको जात त ! ….फेरी त्यो वीरले किन बुढी आईमाईलाई बिहे गरेको होला ? मोराले अरु केटी देखेन !” उनका कुरामाथि अरुहरुले हो मा हो मिलाउँथे ।

“तिमीहरुलाई थाहा छ आज कान्छी त पोइला पो गइछ । भर्खर १५ वर्ष के लागेकी थिई ! के हतारो परेको त्यसलाई ! फेरी आफूभन्दा डबल उमेरको आर्मीसँग !”

“के–के सुन्नुपर्छ यो कानले ? हैन त्यसले आर्मी जस्तो बोकालाई छान्नुपर्छ ? तालपरे सय वटा बिहे गर्छन् बोकाहरु । ठिक्क पर्यो त्यसलाई ! अस्ती मसँग मुखमुखै लाग्दै थिई वेश्या ! ।”

“जवान छोरीलाई ठेगानमा नराख्दा यस्तै हुन्छ । लखर–लखर चारैतीर कुदी हिँड्थी । छोरी होस् तपाईकी जस्तो !” आफ्नो छोरीको प्रशंसा गरेकोमा मेनुकालाई गर्वको महसुस भयो ।

रुपा खाटमा बसेर आफ्ना आमाको कुरा सुनिरहेकी थिई । उसलाई भित्रभित्रै डर लागिरहेको थियो आफुबाट कहित्यै त्यस्तो प्रकारको कार्य नहोस् भनेर । हात खुट्टाहरु मन्द–मन्द गतिमा कापिरहेका थिए, आफु दोषी ठहरिने डरले । मनमा चिसो परिरहेको थियो ।

अकस्मात् रुपाले वाक्–वाकी गरी । मेनुका साथीहरु तीनछक्क परे । मेनुकालाई शंका लाग्यो । मनमा डर–डरको अनुभूति गरायो उसलाई । रुपा भने बाहिर गएर आई ।

“ए ! के भो तलाई”

“केही भा’को छैन मम्मी !”

“केही भा’को छैन भन्छस् । म थाहा पाउँदिन ?” मेनुकाले छोरीको मन तौलिन खोजिन् । रुपा चुप लागेर बसिरही । डराए जस्तो गरी । टाउँको निहुराई । अनुहारमा हेर्न सकिन । टाउँको निहुँरिई रहिँ ।

छोरी यसरी निँहुरिएको देखेर मेनुका जोडले कराइन्, “कसले गर्यो यस्तो तलाई । भन् न कोसँग सुतिस् ?” मेनुकाले शंका गर्दै अँध्यारोमा जाल हालिन् ।

रुपाका सम्पूर्ण शरीर डरले काम्न थाले । सुकुसुकाउँदै रहि । मेनुकाको रिसले कन्पारो तातिएर आयो । आफूले गरेको शंका वास्तविक हुन लाग्दै थियो । सहन सकिनन् । अनायासै रुपामाथि हातहरु बजार्न थालिन् ।
“को हो त्यो ?”

“अरुण”
रुपाले अरुणको के उच्चारण गरेकी थिई । मेनुका छाँगाबाट खसेझैँ भईन् । सिमेन्टीमा बजारिएको जस्तो भयो । सोच्दै नसोचेको मानिसबाट यस्तो हुन्छ भनेर सोचेकी थिइनन् । स्तब्ध भईन् । केही बोल्नै सकिनन् । सधैं केही न केही बोलीराख्ने बोलक्कड मेनुका यतिखेर मौन थिइन् । साथीहरुले मौनताको भङ्ग गर्दै आश्चर्यमा परिरहेका थिए । उनीहरु पनि मौन थिए ।

०००

ब्रेन्चमा तीन पात्रहरुलाई राखिएको छ मेनुका, रुपा अनि अरुण । वरिपरि मान्छेहरु जम्मा भएका छन् । सबै एकअर्काका मुखामुख गर्दै कुरा गर्दै थिए । कतिले ‘जोशमा होश गुमाएपछि यस्तै हुन्छ’ भन्दै थिए । मेनुकाका विरोधी भनिनेहरु अनेक लाञ्छनाहरु लगाउँदै पालोको पैचो गर्दै थिए । रुपालाई अरुणसँग जिम्मा लगाईदै थियो । मेनुका यस्तो दृश्य हेर्न सकिरहेकी थिइनन् । केही गर्न नसक्ने गरी लाचार बनेर टाउँको निहुँर्याएर सबै सुन्दै थिईन् ।

राजेश नतांश

(स्रोत : Samyantra.com)

शनिवारीय साहित्यः प्रगतिशील विवाहमा किनिएका एकजोर जुत्ताको सम्झना

वि.सं. २०४६ साल चैत्रमा मैले पहिलो पटक प्रा.वि. तहमा सट्टामा एक महिनाको शिक्षक पदको जागिर खादा एक महिनाको रु. ९०२ रुपैया तलव बुझें। दुली कोटगाउँ (हाल रुकुम पश्चिम सानीभेरी गा.पा. वडा नं. ६) को प्राथमिक विद्यालयकी प्र.अ. झरना कुमारी घर्ती द्वारा मलाई उक्त तलव दिएर एक वर्ष भनिएपनि एक महिने सट्टा शिक्षक जागिरबाट विदा गरियो र म घरतिर हिडेँ। बाटोमा देउताखोला भन्ने ठाउँमा माइली दिदीको घर पर्थ्यो । ग्वाला गएकोले मैले दिदीलाई वनमा नै भेट्न गएँ र दिदीलाई रु. १०० दिएँ । घरमा पुगेर दाइलाई रु. ८०० दिएँ र आफूलाई पकेट खर्च रु. २ मात्र राखेँ । हाल रुकुमपूर्व त्यो बेलाको प्वाङ गा.वि.स. दत्कुनामा मैले वि.स. २०४७ सालमा पुन: प्रा.वि. तहमा पढाउन थालेँ । जागिर खादै गर्दा विवाहको लागि भनेर एक जोर जुत्ता किनेँ। जुत्ता किनेको २ वर्षपछि मात्र विवाह भयो । मैले ती एक जोर जुत्ता जोगाएर राखेँ। कतै विशेष काममा जादा तिनै जुत्ता लगाएर जान्थेँ र घरमा आएपछि धोएर प्लास्टिकले पोको पारी जतनसाथ राख्थेँ । अर्को जोर जुत्ता किन्न नसक्ने अवस्थाका कारण तिनै जुत्ता मलाई जोगाउनु थियो त्यसैले कहिलेकाहीँ तिनै जुत्ता लगाएर विशेष ठाउँमा जादा बाटोमा हिड्दा मनपरिसँग जोडले हिड्दैनथेँ किनकि मेरो जुत्तालाई धेरै मार नपरोस्। बाटोमा हिड्दा पनि म जुत्ताको ख्याल गर्थें। बाटोमा हिड्दा जुत्ता च्यातिएला भनेर सुस्तरी टेक्थेँ। मेरो विवाह वि.सं. २०४९ सालमा भयो। जीवनसाथी हरिमायाँसँग विवाहको कुरा २ वर्ष अगाडि नै छिनीसकेको थियो। मैले एक जोर जुत्ता पनि २ वर्ष अगाडि नै किनेको थिएँ। ती जुत्ता जहाँ पायो त्यही लगाउदैनथेँ। विवाहमा मैले २ वर्ष अगाडिदेखि जोगाएर राखेको जुत्ता लगाएँ। स्नातक तह पहिलो वर्ष त प्रा.वि. तहमा शिक्षण गरेर परीक्षा मात्र दिएँ। दोस्रो वर्ष नियमित पढ्नु थियो, त्यसैले जागिर छोडिदिएँ। जागिर छोडेका कारण आर्थिक समस्या थियो। शिक्षण पेशा गरेर कमाएको रुपैया घरमा दाइलाई बुझाउथेँ। आफूलाई थोरै खर्च राख्थेँ।आफूलाई खर्च राखेर बचेको रुपैयाले विवाहका लागि दुलहीलाई एक जोर जुत्ता एउटा साडी र ब्लाउज किनेँ। जुत्ताको सम्झना कति लामो हुदो रहेछ। ३१ वर्षअघि किनेको २९ वर्ष अघिसम्म लगाएको जुत्ताको सम्झना ताजै छ। हुन त जाबो एक जोर जुत्ता न हो तर ती जुत्ता विवाहसँग जोडिएको कारण मेरो स्मृतिपटमा ताजा रहन सक्यो। जुत्ता मैले कति मूल्यमा किनेँ अहिले सम्झना छैन तर ती जुत्ताको रङ्ग, बनोट र आकृतिको सम्झना अहिले पनि ताजा छ। गजेवा र खकन्ना जोडिएको डोको बोक्ने युगदेखि म टाढा हुदै थिएँ। दाङ्ग कलेजमा पढ्न गएदेखि मैले झोला बोक्न शुरु गरेँ। दाङ्गबाट रुकुम घर जादा जीउभरि २/३ वटा झोला झुण्डिएका हुन्थे। एउटा झोलामा नेता बन्नलाई कम्युनिष्टका किताब र केही साहित्यिक पुस्तकहरु हुन्थे। बाँकी झोलामा घरयासी सरसामान। हातमा मट्टीतेलको जर्किन हुन्थ्यो। रुकुमको दुर गाउँमा टुकी बाल्न मट्टीतेल पाइदैनथ्यो। मैले बिहेमा लगाउने जुत्ता दाङ्गमा किनेर तिनै झोलामा बोकी रुकुमको दुली गाउँ पुर्‍याएको थिएँ। ती जुत्ता २ वर्ष जोगाएर नयाँ अवस्थामा नै राख्न सक्नु मेरो ठूलो उपलब्धि थियो। विवाहपछि पनि मैले ती जुत्ता लगाएँ तर जतनसंङ्ग लगाउनु र राख्नु चाहिँ परेन। म कक्षा ६ सम्म पढुन्जेल हाम्रो पुरानो डिजाइनको खरको छाना भएको घर थियो। पछि ढुङ्गाको छाना भएको नयाँ घर बन्यो। त्यो घरको तल्लो तलाको एउटा सानो कोठा आफै लिपपोत गरेँ। कमेरो माटोले भित्ता सेतो बनाएँ। भुइँमा मान्द्रो ओछ्याएर पढ्न सुरु गरेँ। कलेज पढ्ने भएपछि पुराना काठहरु जोडेर आफै एउटा पलङ बनाएँ। काठ ठोकठाक पारेर किताव राख्ने सानो दराज बनाएँ। त्यही कोठाको एक ठाउँमा मैले बिहेको लागि किनेका जुत्ता राख्थेँ। ती जुत्ता कहानेर राख्थेँ त्यो ठाउँ पनि मलाई याद छ। विगतका विषयवस्तु तथा घटनाहरु सबै ताजा रहन सक्तैनन्। केहि सामान्य तथा साधारण कुरा पनि लामो समय सम्म स्मरणमा रहिरहन्छन्। विहेको लागि मैले किनेको जुत्ता मेरो मनमा नभुल्ने याद भएर रहिरह्यो र त्यो यादले यो सम्झनाको टिपोट लेख्न लगायो। लेखिरहेको छु, उत्पीडक वर्गको बिरुद्ध । उत्पीडित वर्गको पक्षमा न्याय प्राप्ती र समतामूलक समाज निर्माण लेखनको विषयबस्तु बनिरहेको छ। मार्क्सवादी सौन्दर्यशास्त्रको दर्शनलाई आधार बनाएर प्रगतिवादको घेरामा फनफनी घुमिरहेको छ यात्रा। त्यो यात्रा जारी छ तर विगतमा यिनै आदर्श बोकेका नेताहरूमा त्यो नदेख्दा सिद्धान्त र व्यबहारमा भिन्नता कति हुदो रहेछ । त्यो अहिलेको राजनीतिमा देखिन छोडोस्। सिद्धान्त र व्यबहारको तालमेल भैरहोस्…. शुभेच्छा ।

कवि अर्जुन पराजुलीः नागरिकता र पत्रिका एउटै हो महोदय ?

काठमाडौं । दोहोरो नागरिकताको अभियोगमा कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलास सिरोहिया पक्राउ परेपछि मत विभाजित भएको छ । कसैले यो प्रेस स्वतन्त्रता विरोधी कदम भनेका छन् भने कसैले गैरकानुनी कदमको छानविन हुनुपर्नेमा जोड दिएका छन् । यसै सन्दर्भमा कवि अर्जुन पराजुलीले सामाजिक सञ्जालमा कविता पोष्ट गरेका छन् ।  उनको कविताः पुलिसले समातेर लान्छ नागरिकता गडबडी केसमा ! उता– प्रेस स्वतन्त्रता हरण हुन्छ स्वतन्त्र प्रेसमा ! बाँच्नु मात्रै पर्छ, के के देख्न पाइन्छ समाचार पढेर समाचार थाहा नहुने देशमा !! नागरिकता र पत्रिका एउटै हो महोदय ? हो भने अब– शब्दकोषको विरुद्धमा पनि एउटा खेद व्यक्त गर्नुपरो, शब्दकोषले त बेग्लाबेग्लै हो भन्छ !!

‘भ्यालेन्टाइन डे’ आकाशको जुनदेखि लासाको सुनसम्म

प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ बुधबारदेखि सुरु भएको एक सातासम्म जारी रहने यो दिवसको अवसरमा लाखौ को मात्रामा गुलाबको फूल प्रयोग हुने भएको हो । मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू वा घटनाहरू जसले हसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्‍यो, सम्बन्ध मा आएका सानातिना कमि कमजोरीहरु लाइ सुधारदै मायाका गित गाउदै उकालि ओरालो भन्ज्याङ अनि चौतारी जहा भएपनि जस्तो भएपनि मायाले बनाएका ति बाटोहरुलाई साथमा लिएर हिड्यो त्यसलाई सम्झने दिन पनि भ्यालेन्टाइन डे नै हो। रातो गुलाफ : शान्ति, प्रेम र क्षमताको प्रतिक भनिन्छ नि रातो राम्रो, गुलियो मिठो त्यसैले रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङ्गको गुलाफ आदान प्रदान हुने र यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । यदि आफुले दिएको फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ। पहेँलो गुलाफः मित्रताको प्रतिक मित्रतानै मानिस को बलवान शक्ति हो त्यसैले पहेँलो गुलाफ मित्रताको प्रतिक मानिन्छ । साथि सबैको हुन्छ तर असल साथि बिरलै पाइन्छ त्यसैले मित्रता मा कुनै असर नआओस् भनि पहेंलो गुलाफ दिने गरिन्छ । गुलाफी गुलाफः मुटुको धड्कनको प्रतिक मायामा आकाशको जुन देखि लासाको सुन ल्याइदिन्छु भन्ने सम्म कुरा हुन्छ । तिमी मेरो सबै हौ ,अनि तिमी मेरो सधै हौ जस्ता कुराले प्रेमी(प्रेमिका सगँ मेरो मुटु तिम्रो लागि हो जस्ता कुराले मायाजालमा पार्न गुलाफी फुल दिने गरिन्छ । सेता गुलाफः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हरेक प्रेमी(प्रेमिका चाहन्छन् आफुले गरेको प्रेम साचो अनि स्वच्छ होस ता कि बिचमा कुनै दरार नआओस् । साचो मायामा दिने फुलहरु स्वच्छ हृदयले दिइन्छ । मायामा परेपछि कहिले खुसी त कहिले दुस्खी , कहिले हर्ष त कहिले भाबुक त्यसैले भावुकताले भरिएको सन्देश दिनु परेमा पनि सेतो गुलाफ दिने गरिन्छ । कालो गुलाफः बिदाईको प्रतिक माया गर्नु नै कसैलाइ साथ र सपोर्ट गर्नु हो । हरेक प्रेमी/प्रेमिका आफ्नो जोडि लाइ साँचो माया मा भएको हेरी सम्बन्ध लाइ बिबाहमा सम्म परिनत गर्न चाहान्छन् । कुनै कारणवश प्रेम सम्बन्ध अगाडि बढाउन सम्भव छैन भने कालो गुलाफ दिएर आफ्नो सम्बन्धलाई तोडिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डे मा कसैले यस्तो गुलाफ साट्न नपरोस् । प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी पनि बनाइरहेको हुन्छ । प्रेम समझदारी, सहयोग, सहनशिलता, इमानदारिता, समर्पन, विश्वास र पवित्रताको प्रतीक हो । प्रेममा यी कुराहरु भएनन् भने प्रेम देखावटी मात्र नभइ अर्थहिन हुन्छ । प्रेमी - प्रेमिकाहरूका लागि स्वच्छ हृदयभन्दा राम्रो प्रतिक अरू के नै हुन सक्छ र तर पनि प्रेम व्यक्त गर्न अन्य प्रतिकहरू पनि प्रचलित छन तर त्यसको तुलनामा गुलाफ को फुल नै दिएर प्रेम साट्ने प्रवृत्ति भने निकै नै बढि छ । - प्रदीप खड्का

तिम्रो मायाले होला म...

तिम्रो मायाले होला म बाचेको छु म खुसी छु, हो हृदयबाट खुसी छु कुनै पनि समयमा भेट्छु जस्तो लाग्छ झरनाहरू नदीमा मिले झैँ माया मनमा गएर मिल्छ राम्रोसँग बिदा गर, मनमा माया बोकेर जाँदै छु म जति टाढा भए पनि फेरि आउने छु तिमीलाई समयको अन्त्यसम्म माया गर्नेछु म तिमीलाई कदर गर्नेछु, मेरो प्रिय माया गरिरहने छु हृदयमा सधैँ मायाको घण्टी बज्छ किनकि जीवन जीवन हो र प्रेमले मन छुन्छ तिम्रो मिठो मायाको यादले मनमा खुसी ल्याउँछ तिमि यहाँ बस्छौ मेरो नजरमा डेरा छ के तिमी अगाडि बढ्छौ तिम्रो प्रशंसाले अझै ठाउँ पाउनेछ तिम्रा मिठा विचारहरूमा मेरो सम्झनामा छ यति मात्र बोले म तिमीलाई धेरै माया गर्छु म खुसी छु, हो हृदयबाट खुसी छु - गोबिन्द राज ओझा 'राजन' दिपायल सिलगढी न.पा. २, दिपायल, डोटी

लोकप्रिय