काठमाडौं महानगरको निर्णयविरुद्ध व्यापारीहरू सडकमा

काठमाडौं महानगरको निर्णयविरुद्ध व्यापारीहरू सडकमा

काठमाडौं । न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरू आन्दोलित भएका छन् ।

महानगरले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि त्यहाँका व्यवसायीले विरोध जनाएका हुन्। पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका हुन्।

न्युरोड क्षेत्रमा मंगलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए। महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी  (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ । महानगरले न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ ।

प्रदर्शनमा उत्रिएका व्यापारीले नेपालको ७७ वटै जिल्लाको व्यापारिक केन्द्रको मुटु रहेको न्युरोडमा महानगरले व्यवसायीसँग कुनै छलफल नै नगरी पार्किङ निषेध गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले व्यवसायीले तिरेको करले नै देश चलेको भन्दै निर्णय फिर्ता नलिए महानगरलाई कर नतिर्ने चेतावनी दिएका छन् ।

यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ भने दरबारमार्ग क्षेत्रको सडक किनारमा पनि पार्किङ निषेध गरेको थियो । सो क्षेत्रका व्यापारीहरू त्यसको विरोधमा उत्रिए पनि महानगरपालिकाले पार्किङ निषेधको निर्णय फिर्ता लिएको छैन ।

सुर्खेतमा फोर्स गाडी दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, २५ घाइते

  काठमाडौं । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्य भएको छ । शुक्रबार अपराह्न सुर्खेतको वीरेन्द्र नगरपालिका–१४ स्थित रातानाङ्लामा भएको दुर्घटनामा घटनास्थलमै उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य २५ जना घाइते भएका छन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको छ । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा आज बिहान भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किएको थियो । माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।  दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको भरतपुर अस्पताल र तीनजनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक वा आंशिक असर पर्नसक्ने हुनाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सत्र किलोमा बस माइक्रो ठोकिदा चारजनाको मृत्यु, ६ घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय सवारी साधन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किएका थिए ।  विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।  दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतमध्ये दुईजनाको भरतपुर अस्पताल र चारजनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस

लोकप्रिय