काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने

काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई ठाउँअनुसारको पहिचान दिनेगरी सौन्दर्यीकरण गर्ने भएको छ। संघीय राजधानीका मुख्य क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा कामपाले दरबारमार्गको सौन्दर्यीकरण गर्न लागेको हो।

त्यसको निम्ति बुधबार दरबारमार्गमा कामपा सार्वजनिक निर्माण विभाग निर्देशक रामबहादुर थापासहित वडा कार्यालयसहितको बैठक बसेको थियो।

बैठकमा नामअनुसारको क्षेत्रको परिचान गर्न सौन्दर्यीकरण अपरिहार्य रहेकोले आवश्यकताको आधारमा बजेट व्यवस्थापन गर्ने गरी सौन्दर्यीकरण गरिने सम्बन्धमा छलफल भएको थियो।

सार्वजनिक निर्माण विभागका निर्देशक थापाका अनुसार दरबारमार्गमा प्रविधिमैत्री फुटपाथ निर्माण, ढल व्यवस्थापन, पार्किङ व्यवस्थापन डिस्प्ले बोर्ड राखने, वृक्षरोपण गर्नेलगायतका योजना बनेको छ।

उनले भने, ‘रेलिङ निर्माण गर्नेछौं, सवारी साधनको व्यवस्थापन गर्न भूमिगत तलामा अनिवार्य पार्किङ गर्ने व्यवस्था मिलाउन लागेका छौं।’ यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काण्ठमण्डपको आकृति सहितको रेलिङ राखेको थियो ।

दरबारमार्गमा नारायणहिटी दरबारको झल्को आउनेगरी रेलिङ राख्ने तयारी गरेको छ। राजधानीको सबैभन्दा व्यस्त बजारको रूपमा रहेको दरबारमार्गको विकास गर्न स्थानीय सुधार समिति, कामपा र वडा कार्यालयको सहभागिता रहनेछ ।

कामपाले हाल सो क्षेत्रको डिजाइन तयार गरिरहेको छ । थापाले सो क्षेत्रको नक्साङ्कन गर्ने र सुझाव लिने काम भइरहेको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सरकारले १०० दिनसम्म सत्ताको दुरूपयोग मात्रै गर्‍यो : प्रभु साह

काठमाडौँ ।  आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिन सत्ताको दुरुपयोग मात्रै गरेको टिप्पणी  गर्नुभएको छ।  ओली सरकार विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममा मात्रै सीमित रहेको उहाँले बताउनुभयो ।  बुधबार काठमाडौंमा आज आयोजित एक कार्यक्रममा साहले ओली नेतृत्वको सरकार जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको दाबी उहाँले बताउनुभयो ।  वर्तमान सरकार विपक्षी दलहरूलाई तर्साउने र फुटाउने खेलमा लागेको पनि उहाँले आरोप लगाउनुभयो । ‘यो सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होइन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो । जनतालाई उत्साहभन्दापनि निराशा बनाउने काम गर्‍यो । देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो । सरकारको एक सय दिनमा प्लस खासै छैन, माइनस बढी छ । नकारात्मक बढी छ’ साहले भन्नुभयो । वर्तमान सरकारको काम विपक्षीहरूलाई तर्साउन र झुटा मुद्दा लगाउनेमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले गौर हत्याकाण्डका दोषीहरू खुलेआम घुम्दा सरकारले उनीहरूलाई संरक्षण दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कार्यालय मदननगरमा नबनाउनुको भनेको मदन भण्डारीको अपमान गर्ने काम भएको समेत उहाँको टिप्पणी छ । एमालेको हाल मदननगरमा भएको जग्गा पनि अहिले कीर्तिपुरमा मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गाभन्दा कम नभएको साहले बताउनुभयो ।

वडाध्यक्ष यादवको हत्या आरोपमा दुई आरोपी पुर्पक्षका लागि थुनामा

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका- २ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा दुई आरोपीलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको छ । इजलास नं. ४ मा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको एकल इजलासले औरही नगरपालिका- ७ निवासी सञ्जीव झा र दिलीपकुमार मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गत भदौ ९ गते जलेश्वर–बर्दीबास सडकखण्डमा पर्ने बर्दीबास- ८ स्थित कल्भर्टनजिकै वडाध्यक्ष यादव मृत अवस्थामा फेला परेका थिए । वडाध्यक्ष यादवकाे मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरेकाे थियाे । प्रहरीकाे अनुसन्धानपश्चात् दुवै आरोपीलाई नियन्त्रणमा लिई अदालतमा पेस गरेको थियो । जिल्ला अदालत महोत्तरीकी श्रेस्तेदार नूतन झाले सोमबार बयान भएको र मंगलबार बहसपछि पुर्पक्षमा राख्न न्यायाधीशले आदेश दिएको जानकारी दिइन् । पीडित पक्षले सोमबार र मंगलबार अदालतको मुख्य गेटअगाडि धर्नासमेत दिएको थियो ।

प्रधानमन्त्रीले ३ बजे सय दिनका उपलब्धि सार्वजनिक गर्ने

काठमाडौँ ।  सरकारको सय दिन पार गरेको अवसरमा बसेको सत्तारुढ दलको बैठक सकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्न र आगामी दिनमा गर्ने कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्ने निर्णय गर्नुभएको हो ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भैरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ ।  यससँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।  यस्तै बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४२ हजार ९२० रुपैयाँ कायम भएको छ । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

लोकप्रिय