काभ्रेपलाञ्चोकमा जग्गा नहुँदा पुनर्निर्माण हुन सकेन

काभ्रेपलाञ्चोकमा जग्गा नहुँदा पुनर्निर्माण हुन सकेन

बनेपा, भदौ २४ । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिकास्थित भुम्लुटार र फलाटेका स्थानीयले आफ्नो स्वामित्वमा जग्गा नहुँदा पुनःनिर्माण गर्नसकेका छैनन् ।

अरुको जग्गा कमाएर जीविकोपार्जन गर्दै आएका उनीहरु भूकम्पका कारण घरमा क्षति भएपछि आफ्नै ठाउँबाट पनि विस्थापित हुन पुगेका छन् । केहीले पहिलो किस्ताबापतको रु ५० हजार अनुदान लिए पनि घर बनाउने जग्गा नपाएर सास्ती खेपिरहेका छन् भने केहीले पहिलो र दोस्रो किस्ताको अनुदान रकम पाए पनि तेस्रो किस्ता बापतको रकम नपाएर घर बनाउन सकेका छैन ।

पहिलो किस्ताको पुनःनिर्माण अनुदान लिएको छु तर जग्गा नभएर घर बनाउन पाएको छैन, भुम्लु गाउँपालिका–८ का रामबहादुर श्रीभक्तिले भन्नुभयो –“घर बनाउन नपाएका कारण आफू विस्थापित हुन पुगेको छु ।” आफ्नो स्वामित्वमा जग्गा नहुँदा घर बनाउन नसकेर त्यस क्षेत्रका १८ घरपरिवार विस्थापित भएका छन् ।

सो स्थानमा २०३२ सालमा जग्गाको नापी भएको थियो । फलाटे र भुम्लुटारको सीमा विवादले उक्त क्षेत्रमा स्थानीयले जग्गाको लालपूर्जा पाउन नसकेको बताइएको छ ।

भुम्लु गाउँपालिका–७ फलाटेका वडाध्यक्ष रमेशराज खरेलले जग्गा आफ्नो स्वामित्वमा नभएका कारण बैंकले समेत नपत्याउने स्थिति भएको जानकारी दिँदै स्थानीय कानून निर्माण गरेर पूर्जा वितरण गर्नुपर्ने बताउनुभयो ।

मेरो बुबाको जग्गा छ तर त्यो जग्गा अर्कैको नाममा छ, मुठ्ठी र मानोको भरमा जग्गाको कित्ताकाट हुने गरेको बताउँदै उहाँले भन्नुभयो – “आफू निर्वाचित जनप्रतिनिधि पनि भएकाले जग्गाधनी प्रमाण पत्र वितरण यहाँ चिन्ताको विषय भएको छ ।”
फलाटेका प्रेमराज गिरीले जग्गाधनी प्रमाण पत्र नभएपछि अनुदान पाइँदैन भन्दै आफू पात्लेभुवनेश्वर गुठीको जग्गामा बसेको बताउनुभयो । जग्गा जमिन पनि छ, खान पनि पुगेको छ तर त्यसमा हाम्रो कुनै स्वामित्व छैन उहाँले भन्नुभयो ।

भूमि अधिकारकर्मी नरिराम लोहारले भूमिको समस्या समाधान गर्न व्यवस्थित बसोबास आयोग गठन भएको उल्लेख गर्दै गुठी जग्गाको समस्या समाधान गर्न नयाँ संविधानले बाटो खुला गरेको बताउनुभयो ।

उहाँले सबैभन्दा बढी भूमिसम्बन्धी समस्या मकवानपुर, धादिङ र सिन्धुलीमा रहेको जानकारी दिँदै स्थानीय सरकारले नै जग्गा दर्तालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

कमाइ रहेको जग्गालाई व्यवस्थित गराउन बसोबास आयोग आएको बताउँदै उहाँले पहिलो चरणमा २५ जिल्लामा यो कार्यक्रम शुरु हुने बताउनुभयो । भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले विस्थापित परिवारको अवस्था दर्दनाक भएको उल्लेख गर्दै भूमि अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरेर पीडितलाई अधिकारबाट वञ्चित गर्न नहुने स्पष्ट पार्नुभयो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय