किन घेरे डाक्टर र नर्सले स्वास्थ्य मन्त्रालय ?

किन घेरे डाक्टर र नर्सले स्वास्थ्य मन्त्रालय ?

काठमाडौं, असार ८ । आफूहरुमाथि अन्याय भएको भन्दै कार्यरत नर्स र अध्ययनरत डाक्टरहरुको समूहले स्वास्थ्य मन्त्रालय घेराउ गरेको छ ।

गएको मागमा ११ बुँदे माग राख्दै नर्सहरुले एक सातासम्म आन्दोलन गरेका थिए । र सहमतिपछि आन्दोलन फिर्ता गरेका थिए । तर ती माग अझै पूरा नभएको भन्दै शुक्रबार उनीहरूले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका छन् ।

त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थामा स्नातकोत्तर पढिरहेका डाक्टरहरु पनि बिभिन्न मागसहित मन्त्रालय पुगेका छन्।

मन्त्रालयले माग पुरा गरिदिन्छु भन्दै झुलाएको नर्स समूहको आरोप छ। भक्तपुरस्थित मानवप्रत्यारोपण केन्द्रकी एक नर्सले भनिन्, ‘हामी बिनाकारण निकालिएका नर्सलाई पुर्नबहाली त गरिएको छ, आजसम्म अस्पतालले कुनै क्षतिपूर्ति पनि दिन मानेको छैन।’

नर्सहरुले अधिकारसहितको नर्सिङ सेवा महाशाखा बनाउनुपर्ने, अस्पतालमा नर्स बिरामीको अनुपात मिलाउनुपर्ने, निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई तहगत हिसाबले तलब दिनुपर्ने, स्वयंसेवक नर्सको नाममा नर्सहरुमाथि भइरहेको श्रमशोषण बन्द गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षा दिनुपर्ने, श्रम ऐन २०७४ सबै स्वास्थ्य संस्थामा लागू गर्नुपर्ने माग राखेका थिए। सरकारले हालसम्म एउटै माग पुरा नगरेको नर्स समूहले जनाएको छ।माग पुरा नभए फेरि पनि आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्। नर्सिङ संघको तथ्यांक अनुसार देशभर ७४ हजार नर्स छन्।

यस्तै अध्ययनरत डाक्टरहरुले सरकारले आफुहरुलाई ‘कमारो’ मात्रै बनाएको आरोप लगाएका छन्।

सरकारी छात्रवृत्ति लिएर पढेका डाक्टरले दुर्गममा पाँच वर्ष काम गर्नुपर्ने चिकित्सा शिक्षाको नियम छ। दुर्गममा पठाउँदा स्वास्थ्य पूर्वाधार भएको ठाउँमा मात्रै पठाउनुपर्ने डाक्टर समूहको माग छ, त्यस्तै दुर्गम सेवाअवधि पनि दुई वर्षमा झार्नुपर्ने उनीहरूको माग छ।

रेसिडेन्टल डाक्टर्स एशोसियसनका अध्यक्ष सुमित पाण्डे भन्छन्, ‘हामीलाई काम गर्ने, पढ्ने वातावरण छैन, यस्तै प्रवृतिका कारण डाक्टर पलायन हुन बाध्य छन्।’

अनिवार्य दुर्गम सेवामा जान नचाहने डाक्टरले बिगो रकम तिर्नुपर्ने नियम छ। बिगो रकम पनि अत्यन्त महँगो भएको डा. पाण्डेले बताए।

आफूहरूको माग पुरा नभए काम र अध्ययन छाडेर कडा आन्दोलनमा उत्रिने डाक्टर समूहले चेतावनी दिएको छ।

अझै तीन हप्ता डेंगुको जोखिम कायमै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो    उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

लोकप्रिय