किन रुचाइयो डियर कमरेड?

किन रुचाइयो डियर कमरेड?

काठमाडौंः युट्युबमा अपलोड भएको २४ घण्टा नबित्दै नेपाल ट्रेन्डिङको नम्बर १ मा उक्लियो, तेलगु भाषामा बनेर हिन्दीमा डब भएको फिल्म ‘डियर कमरेड’ । दस दिन बितिसक्दा पनि ट्रेन्डिङमा पहिलो स्थानमा रहेको यो फिल्म कस्तो छ त ?

सामाजिक सञ्जालमा खुब चर्चा भइरहेको छ,‘डियर कमरेड’को। यसको मुख्य कारण हुन्– अभिनेता विजय देवरकोन्डा।‘अर्जुन रेड्डी’बाट विजयले टन्नै नेपाली फ्यान कमाएका थिए। यही फिल्मको हिन्दी रिमेक‘कवीर सिंह’पनि उस्तै रुचाइयो। शाहिद कपुरका लागि त यो फिल्म वरदान नै सावित भयो। त्यसैले नेपालमा समेत ‘डियर कमरेड’प्रतीक्षित थियो। तर दक्षिण भारतीय फिल्म हाम्रा हलमा लाग्दैनन्। त्यसैले ६ महिना अगाडि रिलिज भए पनि नेपाली दर्शकले बल्ल यो फिल्म हेर्न पाएका छन्। यसको निर्देशक हुन्, भारत कम्मा।

विजयको चरित्र ‘अर्जुन रेड्डी’को भन्दा तात्विक भिन्न छैन– रिसाहा र आक्रामक। फरक कति भने यसपटक उनको आक्रोश अन्यायको विरुद्ध पोखिन्छ, आफूमात्र होइन, अरूमाथिको विभेद पनि सहँदैनन्। यही कारण उनी लोकप्रिय छन् र धेरैको आँखाको तारा पनि। सामाजिक जीवनलाई जत्तिकै प्राथमिकता दिइएको छ, उनको प्रेमसम्बन्धलाई। रश्मिका मन्दन्नसँगको केमिस्ट्री आकर्षक छ।

कलेजको विद्यार्थी युनियनका नेता बब्बी (विजय)को क्रिकेटर लिली (रश्मिका) सँग माया बस्छ। तर बब्बीको रिस नियन्त्रण गर्न नसक्ने बानीले फाटो आउँछ। लिली पनि विजयभन्दा क्रिकेटलाई बढी माया गर्छिन्। उनको सपना छ– राष्ट्रिय टिमबाट खेल्ने। बिछोडको केही वर्षपछि उनीहरूको अस्पतालमा भेट हुन्छ। लिलीले क्रिकेट छोडिसकेकी हुन्छिन्। लिलीको जीवनमा त्यस्तो के भयो, जसले उनलाई आफ्नो सपनाबाट टाढा राख्यो? फिल्म यही सवालमा केन्द्रित छ।

दक्षिण भारतीय फिल्मको विशेषता नै हो– लभ, रोमान्स, एक्सन र रोनाधोनाको मिश्रण। ‘डियर कमरेड’मा यी गुण त छँदैछन्, वर्तमान समयमा युवतीहरूले भोगिरहेको यौन दुर्व्यवहारको नियतिलाई मुख्य कथासँग प्रभावकारी ढंगले जोडिएको छ। शक्ति र सम्पत्तिको दुरुपयोग गरेर धेरै महिलामाथि हिंसा भइरहेको छ। त्यस्तैमध्येकी एक प्रतिनिधि पात्र हुन्, लिली। क्षमता छ तर उनी राष्ट्रिय टिममा पर्दिनन्। किन?सायद भन्नु पर्दैन। यही कारण उनी मानसिक समस्याबाट ग्रस्त हुन्छिन् तर आफ्नो असली पीडा कसैलाई पोख्न सक्दिनन्। यसरी छटपटाइरहेका युवतीहरू हाम्रो वरपर कति होलान्? पीडकले गल्ती स्विकार्नुको साटो झन् जाइलाग्ने विडम्बनालाई पनि निर्देशकले नजरअन्दाज गरेका छैनन्।

लिलीप्रतिको बब्बीको प्रेम अभिव्यक्ति गर्ने शैली र त्यागले दर्शकको मन जित्छ। वियोगबाट निस्कन उनले रोजेको मार्ग उत्तिकै व्यावहारिक लाग्छ। कलेज र प्रशासनबाट विद्यार्थीमा हुने ज्यादतीलाई उनी कडा चुनौती दिन्छन्। उनका आदर्श हुन्छन्– हजुरबुबा। क्लाइमेक्समा लिलीमा भरिएको आँटलाई निर्देशक भारत कम्माले मर्मस्पर्शी ढंगले व्यक्त गरेका छन्। खासमा‘डियर कमरेड’को ‘मुटु’ नै क्लाइमेक्स हो। विजय र दक्षिण भारतीय फिल्म पारखीलाई यसले निराश पार्दैन। फिल्ममा देखाइएको विषयप्रति संवेदनशीलता खोज्नेका लागि पनि प्रिय हुन सक्छ।

विजय र रश्मिकाले यसअघि ‘गीता गोविन्दम्’मा एकसाथ काम गरेका थिए। तेलगु भाषाबाटै ‘डियर कमरेड’ले भारु ३० करोड कलेक्सन गरेको थियो। त्यसपछि तामिल, कन्नड र मलयालम भाषामा डब गरियो। यसको हिन्दी रिमेकको राइट करण जोहरले किनिसकेका छन्, जोहरले भारु ६ करोड तिरेको सार्वजनिक भएको थियो। मुख्य भूमिकामा विजयलाई नै अफर गरिएको थियो, उनलाई भारु ४० करोड दिन तयार थिए जोहर तर विजयले अस्वीकार गरे।‘कवीर सिंह’पनि खेल्न मानेका थिएनन् उनले। उनले भनेका थिए– ‘मलाई उस्तै काम दोहोर्‍याएर गर्न मन लाग्दैन।’

नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो । सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक नौ हजार नौ सय ४७, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् ।  साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन्। 

मिस नेशनल उपाधिको लागि भिड्दै मोडल डा.आयुष्नोभा

काठमाडौंँ । मोडल तथा डाक्टर आयुष्नोभा ढुंगाना अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् ।  कलाकारिता र डाक्टर पेशाा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिसत क्रेडिट पाएकी थिइन् । उनले अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् । कलाकारिता तर्फ उनले मोडलिङ, कान्छो अंग्रेजी अनुवादक ( Youngest Sub–tittle Translator) लगायतबाट समेत बिभिन्न अवार्डहरु प्राप्त गरेकी छन् । ‘मिष्टर एण्ड मिस नेशनल’ तर्फ उनी अहिले मिस नेशनलको प्रतिस्पर्धा गर्न लागेकी छन । पोल्याण्डमा आयोजना हुने ‘मिस सुप्रा नेसनल’मा देशको प्रतिनिधित्व गर्ने उदेश्यले यो प्रतियोगीतामा सहभागी भएको उनले बताइन । प्रतियोगीताको अन्तिम २४ भित्र छानिन सफल उनलाई उपाधिको दावेदार समेत मानिएको छ ।  मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना अभिनित एक राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ केही अगाडि सार्वजनिक भएको थियो । गीतमा २ दर्जनबढी राष्ट्रिय कलाकारसँग उनले अभिनय गरेकी थिइन् ।  ‘मिष्टर एण्ड मिस नेशनल’ प्रतियोगीताको फाइनल यहि मेको एक तारिकमा हुँदैछ । जसमा प्रतियोगीतामा ताज जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाले बताइन् । मिस नेशनलका डिरेक्टर डा. सन्तोष उपाध्याय हुन् । उनी मिष्टर नेशनलका अन्तर्राष्ट्रिय तेस्रो विजेता पनि हुन् ।  

गायक राजेश पायलले घर घडेरी दिएर गरे ‘डिभोर्स’

काठमाडौं । गएराति मादक पदार्थ सेवन गरी हल्ला गरेको भन्दै छिमेकीले प्रहरीलाई जानकारी गराएपछि पक्राउ परेका चर्चित गायक राजेशपायल राईले डिभोर्स गरेका छन् । गायक राईले यही साता काठमाडौं जिल्ला अदालतमा श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा डिर्भोस गरेका हुन् ।स्रोतका अनुसार अदालतमा दुई पक्षबीच मिलापत्र गरी डिभोर्स भएको हो । अदालतमा गायक राई आफैले डिभोर्सको मुद्दा दायर गरेका थिए ।डिर्भोसपछि उनले हिजो मादक पदार्थ सेवन गरी हल्ला गरेको बुझिएको छ । उनीहरूबीच सहमतिमा डिर्भोस भएको हो । यस क्रममा गायक राईले श्रीमतीलाई झण्डै पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिने भएका छन् । नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङबुङलाई थप नगद दिने सहमति गरेका छन् । साथै, थप एक करोड रूपैयाँ र काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि लिने दिने लिखित सहमति भएको बुझिएको छ । उनीहरूको दुई वर्षीय छोरा छन् । छोराको सबै पालन पोषणसहित शिक्षाको जिम्मेवारी गायक राईले लिने भएका छन् । उनीहरुले छोरा जन्मिएपछि विं.सं.२०७८ असोजमा बिहे दर्ता गरेका थिए । गायक राईकी श्रीमतीले आफ्नो सामाजिक सञ्जालमा डिर्भोसको विषयलाई पुष्टि गर्ने गरी आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । उनले यस क्रममा केही दिनअघि ‘तिम्रो खुशी नै मेरो खुशी, चाहे तिमीलाई पाउ या गुमाउ’ भन्दै लेखेकी छन् । 

‘उपहार’ को ‘खाडीमा भेटौंला’ सार्वजनिक

काठमाडौं । गत शुक्रबार देखि रिलिज भएकोे फिल्म ‘उपहार’ को ‘खाडीमा भेटांैला’ गीत ओएसआर डिजिटलमार्फत मंगलबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, अनुपम गौतमको भीएफएक्स, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

लोकप्रिय