किन २८ हप्ताको गर्भपतनसम्बन्धी व्यवस्थामा विरोध भयो ?

काठमाडौं । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ कार्यान्वयनमा आएको छ। प्रजनन स्वास्थ्य तथा मातृत्वको अधिकारसँग जोडिएको यो ऐनलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ। संविधानमा नै प्रजनन अधिकारलाई मौलिक हकका रूपमा सम्बोधन गरिएको छ।
सरकारले ल्याएको यो ऐनबारे सर्वत्र प्रसंशा पनि भइरहेको छ। विकसित देशले समेत ल्याउन नसकेको ऐन ल्याएको भन्दै यसको चर्चा भएको हो।
ऐन कार्यान्वयनमा आएपछि महिलाको प्रजनन अधिकार सुरक्षित हुने, महिलाको अधिकारको सूनिश्चितता हुने विश्वास गरिएको छ। ऐन कार्यान्वयनमा आएको वर्ष दिन हुँदा पनि यसको नियामावली भने भन्न सकेको छैन।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियामावली’ को मस्यौदा तयार भइसकेको बताएका छन्। मन्त्रालयको एक वर्षे कार्यकालमा नियमावलीको मस्यौदा तयार पार्नु महत्वपूर्ण उपलब्धि मानेका मन्त्री यादवले नियमावली ल्याउन तदारुकता भने देखाएको पाइन्न।
नियमावली आउन बाँकी हुँदा नै ऐनमा व्यवस्था भएको गर्भपतनसम्बन्धी व्यवस्थामा भने केही स्त्रीरोग विशेषज्ञ, महिला अधिकारकर्मी, अधिवक्ताहरूले विरोध जनाएका छन्। पूर्वस्वास्थ्य सचिव तथा स्त्रीरोग विशेषज्ञ डा. किरण रेग्मी २८ हप्तामा गर्भपतन गराउन पाउने व्यवस्थाको पक्षमा छैनन्।
‘यो ऐन बनाउँदा हामीसँग रायरपरामर्श लिइएन। २८ हप्ताको बच्चालाई त बचाउन सकिन्छ, जिउँदो बच्चालाई मार्ने व्यवस्था गर्न त भएन नि!,’ उनले भनिन्। उनी बच्चा अपांग जन्मिने, अंगभङ्ग हुने अवस्थाबाहेक अन्य परिस्थितिमा गर्भपतन गर्न नहुने अडान राख्छिन्।
नेपाल प्रसुति तथा स्त्रीरोग विशेषज्ञ समाज (निसोग)का निर्वाचित प्रेसिडेन्ट प्रा डा. गणेश दंगाल २८ हप्ताको गर्भ फाल्दा गर्भ पतन भन्न नहुने बताउँछन। ‘योभन्दा पहिलेको व्यवस्थामा हाडनाता करणी, अंगभङ्ग हुनेलगायतका अवस्थामा १८ हप्तासम्मको वा जुनसुकै समयमा गर्भपतन गर्न सक्ने व्यवस्था थियो। तर अहिले २८ हप्ता भनेर समय तोकिदिएको छ। त्यसपछि यस्तो केस आए के गर्ने भन्ने बोलेको छैन,’ उनले भने।
ऐन परिमार्जन गरी गर्भपतनु भन्ने शब्दसमेत परिवर्तन गरी अर्को शब्द राख्नुपर्ने उनको भनाइ छ। ‘२८ हप्ताको गर्भबाट बच्चा जन्मिएर बाँच्न सक्छ। त्यो प्रि(म्याच्यर्ड डेलिभरीु हुन्छ। त्यसलाई गर्भपतन भन्न मिल्दैन,’ उनले भने। ऐनेले व्यवस्था गरेको ‘रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मन्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भपतन गर्न सक्नेु व्यवस्थामा समेत उनले असहमति जनाए।
पछिल्लो समय एचआइभी भएका महिलाले पनि स्वस्थ बच्चा जन्माएको भन्दै ऐनले यस्ता महिलाको मनोबलमा ठेस पुर्याउने काम गरेको बताए।
न्याय तथा अधिकार संस्था नेपालकी अध्यक्ष अधिवक्ता शर्मिला श्रेष्ठको धारणा चिकित्सकहरूको भन्दा फरक छ। उनी ऐनमा परिमार्जन गर्नुपर्ने विषयका बावजुद पनि कस्तो अवस्थामा २८ हप्तासम्मको गर्भपतन गर्न सकिने कुरा स्पष्ट पारिएकोले यसको विरोध गर्नुपर्ने अवस्था नरहेको बताउँछिन्।
उनले भनिन्, ‘कस्तो अवस्थामा २८ हप्ताको गर्भपतन गर्ने ऐनले स्पष्ट भनेको छ, यस्तो अवस्थामा कुनै समय तोकिनु हुँदैन। बरु २८ हप्तापछि के गर्ने कुरामा ऐन मौन छ। यस्ता जटिल अवस्थामा समय सीमा तोकिनु हुन्न।’
अधिवक्ता श्रेष्ठ ऐनमा गर्भपतन शब्द र यसको परिभाषा नै मानवअधिकारमैत्री नभएको बताउँछिन्। ‘पतन शब्द आफैमा नकारात्मक भाव दिने खालको छ, यसले अझै पनि गर्भपतनलाई अपराधको रुपमा चित्रण गरेको छ। यो शब्द परिवर्तन गरिनुपर्छ,’ उनले भनिन्। गर्भ राख्न चाहने वा नचाहने, वा गर्भ अन्त्य जस्ता शब्द राख्न सकिने उनको सुझाव छ।
मिडवाइफरी सोसाइटी अफ नेपालकी अध्यक्ष डा लक्ष्मी गुरुङ पनि ऐनमा भएको व्यवस्था स्पष्ट भएको तर शब्द भने गर्भपतन राख्न नहुने बताउँछिन्। ‘यो शब्द अर्थात् २८ हप्ताको गर्भलाई गर्भपतन भन्नुभन्दा गर्भ अन्त्य भन्नुपर्छ। कस्तो अवस्थामा २८ हप्ताको गर्भ अन्त्य गर्ने भन्ने ऐनमा स्पष्ट भएकाले यसमा विवाद गर्नुपर्छ भन्ने मलाई लाग्दैन। २८ हप्ताको गर्भ गर्भपतन नभएर टर्मिनेसन हो।’
चिकित्सक र न्यायकर्मीका विचारमा केही भिन्नता भएपनि २८ हप्ताको गर्भ फाल्दा त्यसलाई गर्भपतन भन्न नहुने कुरामा भने दुवै क्षेत्रका विज्ञ सहमत देखिन्छन्। गर्भपतनका ठाँउमा अन्य कुनै उपयुक्त शब्द राख्नुपर्ने उनीहरूको भनाइ छ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागमा परिवार कल्याण महाशाखाकी वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. पुण्य पौडेलले गर्भपतनको यो व्यवस्था किशोरावस्थाका महिलाकेन्द्री भएको बताइन्। ‘बलात्कार भई गर्भवति भएका महिलाले तुरुन्तै आफ्नो कुरा भन्न सक्दैनन्, तुरुन्तै गर्भवति थाहा पनि नपाउन सक्छन्। त्यसले गर्दा समय बित्छ। उनीहरूलाई मध्यनगर गरी २८ हप्तासम्म भन्ने वाक्यांश ऐनमा राखिएको हो,’ उनले स्पष्ट पारिन्।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ ले २८ हप्तापछि पनि गर्भपतन गर्न सक्ने व्यवस्था रहेकाले पछि के गर्ने भन्ने द्विविधा नभएको उनको भनाइ छ।
‘२८ हप्तामा जन्मिएको बच्चा बाँच्छ। जन्मनरजन्माउन पाउने अधिकार र बाँच्न पाउने अधिकार सबैलाई छ। त्यसैले विरोध आएको हो,’ उनले भनिन्, ‘२८ हप्तामा गर्ने भनेर सबैले गर्न पाइने होइन। आवश्यक भएकाले मात्र गर्ने हो। उनले १२ हप्ताको गर्भपतन गर्नेहरू पनि ७ प्रतिशत मात्र रहेको बताइन्। मन लाग्ने बित्तिकै २८ हप्ताको गर्भपतन गर्छु भनेर गर्न नपाइने उनको भनाई छ।
नियमावलीको मस्यौदा बन्ने प्रक्रियामा जानकारी दिँदै डा पौडेलले नियमावलीमा २८ हप्ताको गर्भलाई गर्भपतन नभनी टर्मिनेसन अफ प्रेग्नेन्सी शब्द राखिने, एचआइभी वा दीर्घरोगका लागि पनि मापदण्ड बनाइने जानकारी दिइन्।
विश्व स्वास्थ्य संगठनले विकसित देशमा २० हप्तासम्म र विकासोन्मुख देशमा २२ हप्तासम्मको गर्भलाई मात्र गर्भ अन्त्य गर्न सक्ने बताउँछ। महिला अधिकार त्यसमा पनि प्रजनन स्वास्थ्यसँग जोडिएको विषयलाई प्राथमिकता राखेर विशेष कानुन आउनु आफैंमा सकारात्मक भएपनि ऐनमा भएका केही विषय भने संशोधन गर्नुपर्ने माग उठेको देखिन्छ।
यस्तो छ, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ ऐनमा गर्भपतनसम्बन्धी कानुनी व्यवस्था
ऐनमा‘गर्भपतन’ भन्नाले गर्भमा रहेको भ्रुण स्वाभाविक रुपम जन्मन सक्ने हुनुभन्दा अगावै गर्भासयबाट भ्रुण बाहिर निस्कने वा निकाल्ने कार्य भनी उल्लेख गरिएको छ।
ऐनको परिच्छेद ३ को दफा ३ (१)मा रहेको प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी व्यवस्था बुँदा ५ मा प्रत्येक महिलालाई गर्भपतन सेवा प्राप्त गर्ने अधिकार हुनेछ भनी लेखिएको छ।
सुरक्षित गर्भपतन सम्बन्धी व्यवस्थामा कस्तो अवस्था गर्भपतन गर्न सकिन्छ भनेर उल्लेख छ।
जसमा
१.गर्भववति महिलाको मन्जुरीले बाह्र हप्तासम्मको गर्भ,
२. गर्भपतन नगराएमा गर्भवति महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराव हुन्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सको राय भई यस्ती महिलाको मन्जुरी बमोजिम अठ्ठाइस हप्तासम्मको गर्भ
३.जर्वरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवति महिलाको मन्जुरीले अठ्ठाइस हप्ता सम्मको गर्भ,
४.रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मन्जुराीमा अठ्ठाइस हप्ता सम्मको गर्भ
५. भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाच्न नसक्ने गर्भ, गर्भको भ्रुणमा खरावी रहेको वशाणुंगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवति महिलाको मन्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भ पतन गर्न पाउने व्यवस्था छ । स्वास्थ्य खबर पत्रिकाबाट साभार
गर्भावस्थाको पहिलो त्रैमासिक र श्रीमानको भूमिका
गर्भावस्था प्रत्येक महिलाको जीवनको विशेष समय हो, तर यो समय शारीरिक मात्र नभई मानसिक र भावनात्मक रूपमा पनि चुनौतीपूर्ण हुन सक्छ। गर्भावस्थाको पहिलो त्रैमासिकमा महिलाको मनोविज्ञान धेरै कुराबाट प्रभावित हुन्छ, विशेषगरी शरीरमा हुने हार्मोनल परिवर्तन र नयाँ जीवनको सुरुवातसँग आउने जिम्मेवारीसँग यसको प्रत्यक्ष सम्बन्ध हुन्छ। यस्तो बेला महिलाको मनोविज्ञान सामान्य अवस्था भन्दा फरक हुन्छ। के के हुन्छ त? १. भावनात्मक उतारचढाव (Mood Swings) पहिलो त्रैमासिकमा महिलाको भावनात्मक स्थिरतामा उतारचढाव आउनु सामान्य हो। एस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हार्मोनको तीव्र रूपमा वृद्धि हुँदा खुशी, उदासी, तनाव, वा झोक जस्ता भावनाहरू एकैचोटि अनुभव हुन सक्छ। यी भावनात्मक उतारचढावले महिलालाई कहिलेकाहीं असहज बनाउँछ, जसका लागि सकारात्मक वातावरणको आवश्यकता हुन्छ। २. चिन्ता र डर नयाँ जीवनको सुरुवातसँगै महिलामा विभिन्न प्रकारका डर र चिन्ता पैदा हुन्छ। बच्चाको स्वास्थ्य, आफ्नै स्वास्थ्य, र भविष्यको तयारीबारे सोच्दा उनी अनिश्चित महसुस गर्न सक्छिन्। विशेषगरी, पहिलो पटक गर्भवती भएका महिलाहरूमा यो डर र तनाव झन् बढी देखिन्छ। यो अवस्थामा मानसिक समर्थनले ठूलो भूमिका खेल्छ। ३. आफ्नै शरीरप्रति संवेदनशीलता गर्भावस्थाको पहिलो चरणमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ। वाकवाकी, थकान, वजनको वृद्धि, र शरीरको अन्य शारीरिक लक्षणहरूले उनी कहिलेकाहीं आफूलाई आत्मविश्वासहीन महसुस गर्न सक्छिन्। कतिपय अवस्थामा उनी आफूलाई "सुन्दर छैन" भन्ने सोच्न पनि सक्छिन्, जसले मानसिक तनाव पैदा गर्न सक्छ। ४. मातृत्वको भावना (Maternal Instinct) गर्भावस्थामा मातृत्वको भावना सुरु हुन्छ। बच्चाको आगमनको सोचले महिलामा प्रेम, सुरक्षा, र हेरचाहको भावना पैदा गर्छ। उनी भविष्यको योजनामा केन्द्रित हुँदै मातृत्वको भूमिकामा आफैंलाई तयार पार्न थाल्छिन्। ५. सामाजिक र भावनात्मक समर्थनको आवश्यकता यो समयमा महिलालाई परिवार र श्रीमान्को साथको आवश्यकता अत्यधिक हुन्छ। समर्थन र सहानुभूतिको अभावले उनी एक्लोपन महसुस गर्न सक्छिन्। परिवारको माया र सहयोगले गर्भावस्थाको चुनौतीलाई सहज बनाउन सहयोग गर्छ। श्रीमान्को सहयोग भनेको उनीप्रति माया र सम्मान देखाउनु मात्र होइन, उनका भावनाहरूलाई बुझेर सहानुभूति देखाउनु पनि हो। ६. थकान र मानसिक कमजोरी पहिलो त्रैमासिकमा शारीरिक थकानका कारण महिलाले मानसिक रूपमा पनि कमजोर महसुस गर्न सक्छिन्। कामप्रतिको ध्यान कम हुनु, सधैं थाकेको महसुस गर्नु, र निर्णय लिने क्षमतामा कमी आउनु सामान्य हुन्छ। ७. भविष्यको योजना (Future Planning) महिला गर्भावस्थाको सुरुवातमै बच्चाको आगमनपछि हुने वित्तीय व्यवस्थापन, जिम्मेवारी, र जीवनशैलीबारे सोच्न थाल्छिन्। यो सोच सकारात्मक भए पनि कहिलेकाहीं यो सोचले तनाव र चिन्ता बढाउन सक्छ। ८. साथी र समाजको धारणा समाज र साथीभाइको धारणा महिलाको मानसिकतामा ठूलो प्रभाव पार्छ। यदि उनी सकारात्मक र समर्थनजनक वातावरणमा छिन् भने उनी आत्मविश्वास र सकारात्मक महसुस गर्छिन्। तर, आलोचनात्मक वा असहयोगी वातावरणले उनीमा नकारात्मक प्रभाव पार्न सक्छ। [ ] श्रीमानको भूमिका गर्भावस्थाको पहिलो त्रैमासिक महिला जीवनको संवेदनशील समय हो, जसमा शारीरिक परिवर्तनसँगै मानसिक र भावनात्मक रूपमा पनि महिलालाई चुनौतीको सामना गर्नुपर्छ। यो समयमा परिवार, श्रीमान्, र साथीहरूको माया, सहयोग, र सहानुभूति महिलाको मनोविज्ञानलाई स्थिर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। सकारात्मक वातावरणले महिलालाई तनावमुक्त राख्न मद्दत गर्छ र मातृत्वको यात्रालाई सहज र आनन्दमय बनाउँछ। १. समर्थन र सहानुभूति देखाउनुहोस् श्रीमतीलाई शारीरिक र मानसिक रूपमा सहज महसुस गराउन सकारात्मक वातावरण तयार गर्नुहोस्। उनी गर्भावस्थाका शारीरिक परिवर्तन र समस्याहरू (जस्तै: वाकवाकी, थकान, मूड स्विङ) झेल्दै छिन् भन्ने बुझ्नुहोस्। २. स्वास्थ्य जाँचमा सहयोग गर्नुहोस् डाक्टरको नियमित भेटघाट (prenatal check-ups) मा जान साथ दिनुहोस्। आवश्यक परामर्श र मेडिकल परीक्षणका लागि समय व्यवस्थापन गर्न सहयोग गर्नुहोस्। ३. सन्तुलित आहार सुनिश्चित गर्नुहोस् श्रीमतीलाई पौष्टिक आहार लिन प्रेरित गर्नुहोस्, जस्तै फलफूल, सागसब्जी, प्रोटिनयुक्त खाना। धेरै पानी पिउन र जंक फुड टाढा रहन सुझाव दिनुहोस्। ४. भावनात्मक रूपमा बलियो बनाउनुहोस् गर्भावस्थाका चुनौतीबारे उनीसँग खुलेर कुरा गर्नुहोस्। उनीलाई आफ्नो महसुस बताउन सहज बनाउनुहोस् र तपाईं उनको साथमा हुनुहुन्छ भन्ने विश्वास दिनुहोस्। ५. घरेलु काममा सहयोग गर्नुहोस् उनी थाकेको वा असहज महसुस गरेमा घरको काम आफैं गर्नुहोस्। कोठा मिलाउने, बाथरूम सफा गर्ने अनि लुगा धुने काममा सहयोग गर्नुस्। आरामको समय मिलाउन दिनुहोस्। ६. गर्भावस्था सम्बन्धी जानकारी जुटाउनुहोस् पुस्तक, अनलाइन स्रोत, वा डाक्टरबाट गर्भावस्थाको पहिलो त्रैमासिकबारे जान्नुहोस्। यसको माध्यमबाट श्रीमतीलाई राम्रोसँग सहयोग गर्न सक्नुहुन्छ। ७. मनोविनोद र विश्रामको व्यवस्था गर्नुहोस् सँगै बसेर फिल्म हेर्ने, रमाइलो गर्ने, वा साना घुमफिरमा लैजाने योजना बनाउनुहोस्। सकेसम्म बढी भन्दा बढी समय दिनुस्। बेलाबेला सुप र अन्य खानेकुरा ल्याइदिनुस। हरेक दिन खुट्टा, टाउको कमर मालिस गरिदिनुस्। उनीलाई खुशी र तनावमुक्त राख्ने प्रयास गर्नुहोस्। यो समयमा श्रीमानको सहयोग र माया श्रीमतीको लागि महत्वपूर्ण हुन्छ, जसले उनीलाई आत्मबल दिन्छ र गर्भावस्थाको चुनौतीलाई सहज बनाउँछ।
यी सार्वजनिक विदामा खुल्नेछन् अस्पतालका ओपीडी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ । मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो । साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ । नेपाल चिकित्सक संघ भने अवैज्ञानिक र अव्यवहारिक भन्दै यो निर्णयको विरोधमा छ । यी हुन् ओपीडी चलाउनुपर्ने २४ दिन (क) पर्व बिदा १. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी, ५ . घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व/योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व/माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा ) । (ख) जात्रा बिदा १. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा । (ग) सार्वजनिक दिवस १. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस । (घ) जन्मजयन्ती बिदा १. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) ।
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्नुस्ः काठमाडौं महानगर
काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति ऋषि भुसालले जानकारी दिए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । “डेंगु सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनुहुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे । डेंगुको मुख्य लक्षण डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगुसम्बन्धी फोकलपर्सन भुसालले बताए । “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उनले भने, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।” यसबाट बच्ने तरिका डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता काम गर्नुपर्छ ।
सरकारी स्वास्थ्यकर्मीले निजीमा काम गर्न नपाउने
काठमाडौं । सरकारले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई यो प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले चेतावनी पनि दिएको छ । मन्त्रालयले जारी गरेको सूचना