खडक नगरपालिकामा नेकपा माओवादी र नेकपा एसबीच चुनावी गठबन्धन
सप्तरी । स्थानीय तह निर्वाचनको लागि सप्तरीको खडक नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच गठबन्धन हुने भएको छ । सत्ता साझेदार ५ दलले गठबन्धन बनाउने सहमति अनुसार खडक नगरपालिकामा यी दुई पार्टीबीच गठबन्धन गरिएको हो ।
परिवर्तन विरोधी शक्तिहरु सक्रिय भईरहेको अवस्थामा देशको परिस्थिति अनुसार अगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा जिल्ला जिल्लामा स्थानिय तहलाई परिवर्तनकारी पार्टीहरु मिलेर बनेको महागठबन्धनको भावना अनुसार प्रतिगामी तत्वहरुलाई परास्त गर्न सप्तरी जिल्लाको खडक नगरपालिकामा समेत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) विच तालमेल गरी चुनाव लडने सहमति अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट खडक नगरपालिकाको नगर प्रमुखमा जय प्रकाश चौधरी र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को तर्फबाट नगर उप प्रमुखमा शत्रुघन प्रसाद साह (आजाद) लाई अघि सार्ने सहमति भएको व्यहोरा दुई पार्टीका नगर अध्यक्षद्धारा जारी विज्ञप्तीमा उललेख छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खडक नगर कमिटी अध्यक्ष जय प्रकाश चौधरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का नगर अध्यक्ष विजय कुमार साहद्धारा जारी संयुक्त विज्ञप्तीमा नगरपालिकालाई सहि दिशा, नीति र सक्षम नेतृत्व प्रदान गर्न दुवै पार्टीले नगरपालिकाको वडाहरुमा समेत तालमेल गरी जाने सहमति भएको जनाएको छ। साथै चुनावी कार्यक्रम र प्रचार प्रसारदेखि मतदान समेत गर्न गराउन सम्बन्धीत दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा विज्ञप्तीमा आग्रह गरिएको छ ।
सहमति अनुसार नेकपा (माओवादी केन्द्र)बाट वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा (एकीकृत समाजवादी)ले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्ण भएको छ। भने वडा नम्बर ३ र ९ मा छुट्टा–छुट्टै उम्मेदवारी दिने निर्ण भएको छ ।
यस्तो रहनेछ आज दिनभरको मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आजराति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।
माओवादी पदाधिकारी बैठक आज बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे अध्यक्ष निवास खुमलटारमा बस्न लागेको हो । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्ने गरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्ने गरी पहल सुरु गरेका थिए । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि पनि निःशुल्क प्रदान गरिने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८० चैत १४ गते विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका निम्ति निःशुल्क औषधि प्राप्तिको सम्झौता गरेको थियो । नेपालमा हरेक वर्ष झण्डै १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।
उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज हुँदै
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । भोलि बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय सिमा तोकिएको छ । भोलि नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।