गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताए ।
संविधानअनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै सभामुख सापकोटाले राज्य संयन्त्रमा भएका परिवर्तन सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक रहेको बताए ।
गणतन्त्र दिवसका अवसरमा देश–विदेशमा रहनुुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुहुँदै गणतन्त्र दिवसले राष्ट्रहित, गणतन्त्र, संविधानसहित उपलब्धिको रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।
गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरे । उनले गणतन्त्र प्राप्तिको लामो र कठिन सङ्घर्षमा घाइते तथा अपाङ्ग भएकाहरू एवं बेपत्ता योद्धाको बलिदानीभावको स्मरण र उच्च सम्मान व्यक्त गरे ।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।