गृहमन्त्री ज्यु ! केही त गर्नुहोस

गृहमन्त्री ज्यु ! केही त गर्नुहोस

नरेन्द्र चुदाली  

उर्जा मन्त्रालयबाट देश र जनताको पक्षमा उर्जा भर्न सफल जनार्दन शर्मा बर्तमान मन्त्रीमन्डलमा गृहमन्त्री छ्न । उनको उत्साहपुर्ण आगमनमा धेरैमा सुसासनको आशा जागेको छ । गृहमन्त्रीको हैसियतमा काठमाडौंको सडक सस्कार लाई सभ्य बनाउन सके जनतालाइ ठूलो राहत मिल्ने छ।काठमाडौं को सडक सभ्यताको बारेमा गृहमन्त्रीलाई छोटो जानकारी जुन परिवर्तनको निम्ति महत्त्वपूर्ण बन्न सकोस !

राजधानीमा साझा गुड्ने भएपछि निकै खुशियाली छायो। साझाले जुन रुटमा अनुमति लिन्छ त्यस क्षेत्रका जनताहरु उत्साहित हुने गरेका छन्। मानिसहरुले साझा प्रति ठुलो विश्वास र सद्धभाव राख्ने गरेका छन्। आखिर एउटा बस सञ्चालन हुदा किन उत्साहित भए त जनता ? यसभित्र राजधानीमा सार्वजनिक यातायातको प्रयोग गर्ने सर्बसाधारणका अनेकौँ कथा–व्याथा लुकेका छन्।

सडक एउटा सभ्यता हो। सडक विकाश र समृद्धिको सुचक हो । सडक आफ‌‌ैँमा क्रियाशिल नभएकोले गर्दा सडक मा सरोकार राख्ने पात्रहरुको व्यवहार र गतिविधिले सडक सभ्यताको लेखाजोखा गर्दछ । जसमा सडकमा गुड्ने सवारी साधनका चालक सहचालक यात्रुले सरोकार बढी हुन्छ। तर, हाम्रो राजधानीमा हामी कस्तो किसिमको सार्वजनिक यातायात सेवा प्राप्त गर्दै छौ ? यसमा अधिकाशंको जवाफबाट सन्तुष्ट हुन सक्दैन् । किनकि काठमाडौंमा सार्वजनिक सवारिमा यात्रा गर्ने हरेकले त्यहाको भद्रगोल र सहचालकको असभ्य वयवहार झेलेकै हुन्छन्।

देशको राजधानीका सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुले सहचालकबाट राम्रो व्यवहार विरलै पाइन्छ । यदी यात्रा गर्दा त्यस्तो सभ्य व्यवहार पाईयो भने त्यो निकै खुशिको कुरा हुन्छ । र त्यो उदाहरण बन्छ । यसबाट प्रष्ट हुन्छ कि देशको राजधानीका सडकहरुमा मानवियता, आतिथ्यता तथा सभ्यता कती विकराल रुपमा स्खलित भएको छ भनेर । राजधानिमा चल्ने अधिकाशं सवारीसाधनमा यात्रा गर्दा राजधानीबासी जनताहरुले दुरव्यवहार सहन बाध्य हुनु परेको छ।

सडक सभ्यता कुनै पनि देशको विकासको सुचक मानिन्छ । यसलाई चेतनास्तर र समग्र राष्ट्रको प्रतिविम्वको एउटा दरिलो पाटो मानिन्छ। सडकमा गुड्ने सार्र्वजनिक सवारी सेवामुलक व्यवसायको अनुपम नमुना हुन्छन्। यो नित्तान्तै सेवा व्यवसाय हो। मुनाफा प्राप्त गर्नको लागि यात्रुलाई आतिथ्य र सभ्य व्यवहार प्रदान गर्नु यस क्षेत्रको व्यवसायीक धर्म हो। तर विडम्बना देशको राजधानिमै आम यात्रुहरुले सर्र्वजनिक सवारीका सहचालक बाट असभ्य व्यवहार सहन बाध्य हुनु परेको छ ।

एक त अव्यवस्थित सवारी व्यवस्था त्यसमाथी पनि चालक तथा सहचालकको असहयोगी र पाखण्डी व्यवहारले काठमाण्डौका सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुले आफुलाई अपमानित महसुस नगरेको सायदै छैन होला । घरबाट कार्यक्षेत्रमा निस्कीएपछि आत्मसम्मानमा ठेस पर्ने ठाउँ भनेकै सार्वजनिक यातायात भएका छन्। त्यहाँका चालक तथा सहचालको बोली तथा व्यवहारमा यति रुखो हुन्छ कि यात्रुहरु प्रतिवाद गर्ने आवश्यकता नै ठान्दैनन्। किनकि यस्ता घटना सामान्य मात्रामा हुने भएको भए प्रतिवाद गर्न सम्भव हुन्थ्यो। तर सहचालको रुखो व्यवहार अधिकाशं सवारीमा छ ,राम्रो व्यवहार हुने सवारीसाधन विरलै छन्। त्यसैलेपनि यात्रुहरु प्रतिवाद गर्नुनै बेकार ठान्छन् । अनि काठमाण्डौको सभ्यतानै सायद यहि नै हो कि भनेर निरीह बन्न बाध्य छन्

काठमाडौंका सवारी साधनका सहचालकको व्यवहार देख्दा यस्तो लाग्छ कि सहचालक बन्न चाहिने योग्यता भनेकै धेरै भन्दा धेरै रुखो बोल्न सक्ने, असभ्य बन्न सक्ने , यात्रुलाई दुरव्यवहार गर्न सक्ने हो । किनकि त्यसको प्रमाण सडकमा गुडिरहेका सार्वजनिक यातायातका सहचालकहरुले यात्रुहरुलाई देखाउने तल्लो स्तरको व्यवहारबाट प्रष्ट हुन्छ । उनिहरु यात्रुहरुसंग राम्रो व्यवहार गर्नुपर्छ भन्ने आवश्यकता नै ठान्दैनन्। उनिहरुमा हामी नै सडकका राजा हाँै अनि गाडिमा चढ्ने यात्रु सबै रैती हुन भन्ने भ्रममा परेको हुनुपर्छ सायद। नत्र भने व्यापारमा भगवान रुपी ग्राहकहरुप्रती गर्ने उनिहरुको व्यवहार सभ्य हुन्थ्यो होला।

देशको राजधानी जहाँ आर्थिक सामाजिक ,साँस्कृतिक तथा मानविय चेतना स्तर र व्यवहार अन्य ठाउँको भन्दा विकसित हुन्छ भन्ने विश्वास गरिन्छ। तर जब हामी काठमाण्डौंका सार्वजनिक साधनमा यात्रा गछौँ । त्यही विश्वासमा धक्का लाग्दछ । भन्दा अप्रीय लाग्न सक्छ तर यो तितो यथार्थता हो कि राजधानी प्रती वितृष्णा पैदा हुने एउटा जर्जर पाटो नै सडक सवारीमा देखिने असभ्यता हो । त्यसैले त राजधानिका सडक सभ्य हुन सकेका छैनन्। त्यसैबाट नै सडकमा सभ्यताको प्रतिविम्व झल्कीने होे तर विडम्बना तिनीहरुका बोली र व्यवहार मन चसक्क गर्ने खालका छन् । साहै्र नमिठो लाग्ने छन्।

यायायात क्षेत्र भद्रगोल हुनुमा सरकारी कमजोरी त छँदैछ त्यसतो समयमा राज्य कमजोर छ यसमा सबैले आफ्नो ठाउँबाट ईमान्दारीता देखाएर राज्यलाई उर्जा प्रदान गर्ने हो । तर, यातायात व्यवसायी यति अराजक छन कि यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले चाल्ने हरेक कदमलाई असहयोग गर्दैछन्। ट्राफिक जरीवाना बढायो भनेर सडक बन्द गर्ने कि राज्यले बनाएको नियम पालना गर्न प्रतिबद्धता जनाउने ? यहीबाट नै प्रष्ट हुन्छ तिनिहरुको दादागिरी र अराजकता ।

आज काठमाडौंको न्युनतम भाडा १३ रुपैया छ । तर त्यो कार्यान्वयनमा आएको छैन । सहचालकहरु खुलेयाम १५ उठाउँदैछन्। प्रतिवाद गर्न खोज्यो भने उल्टै कुटाई खान बाध्य छन् यात्रुहरु । विद्यार्थीहरुले पाउने सहुलीयत पुर्णरुपमा पाउन सकेको छैन्। न्युनतम १३ भाडामा ४५ प्रतिसत छुट दिदा ७ रुपैया दिए हुनेमा १० रुपैया तिर्न बाध्य छन् विद्यार्थीहरु। विद्यार्थीहरुको आन्दोलनबाट प्राप्त सहुलीयतको अधिकार लाई भिख दिए जस्तो व्यवहार गर्ने व्यवसायीरुको दिमागमा त्यही सहुलियत दिनको लागि सवारी किन्दा राज्यले छुट दिन्छ भन्ने कुरा छ कि छैन ?

यात्रुहरु चाउचाउका प्याकेट कोचे जस्तो गरी कोच्चीएर यात्रा गर्न बाध्य छन् । त्यसमाथि सहचालकको रुख व्यवहारले कति पोल्छ होला यात्रुहरुको मन ? कहिले अनुगमन गरेका छन् यी व्यवसायीहरुले हामीले कस्तो सुविधा दिएका छौ भनेर ? दादागिरी देखाएर हुन्छ ? सिन्डीकेटले गर्दा आज यातायात क्षेत्रमा लगानी गरेर यात्रुलाई राम्रो सुविधा दिन चाहानेहरुले अवसर पाएका छैनन्। पाखुरा देखाएर यो क्षेत्रलाई भद्रगोल पार्दैछन् कथित व्यवसायीहरु ।

पछिल्लो समय ठुलो मानविय क्षति हुने गरी भएका दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही नै पाईएको छ। तर पनि यातायात व्यवसायी गम्भिर बन्न सकेका छैनन्। आज जनतालाई सुविधा दिने साधनहरु यात्रु मार्ने हतियार जस्तै बनेका छन्। दुर्घटना भवितव्य कुरा हो, यसमा दुईमत छैन् तर चालक कै लापरवाहीले पटक–पटक दुर्घटना हुनु सामान्य कमजोरी होईन्। यसप्रती व्यवसायीहरु गम्भीर बन्नु जरुरी छ।

वर्तमान समय परिवर्तन र विकाशको हो । तर देशको राजधानीमा चल्ने सार्वजनिक सवारीलाई हेर्दा हामी कति पछाडी छौ भन्ने प्रष्ट हुन्छ । आज यदि यो देशमा व्याप्त यातायात सिन्डीकेट हट्यो भने यस क्षेत्रमा अरबौँ को लगानि भित्रिने निश्चित छ, यदि सरकारले सिण्डीकेट तोड्ने अाँट गर्‍यो भने । सहचालकको असभ्यताका साथै , जेब्रा क्रस, लेन ,टफिक लाईटको सम्मान नगर्दा राजधानीको सडक अस्तव्यस्त भईरहेको छ ।

एउटा होटलमा १५ रुपैयाँ तिरेर चिया खाँदा त्यहाँ हामीलाई कति राम्रो बोली वचन र व्यवहार हुन्छ? तर एउटा गाडिमा १५ रुपैया तिरेरै यात्रा गर्दा किन रुखो व्यवहार हुन्छ । आखिर यि दुवै व्यवसाय नै हुन । ग्राहकलाई सेवा दिएर नाफा कमाउने ।तर किन यति फरक?
एउटा सीप भएको काठ मिस्त्री र त्यस्तै प्राविधिक सिप भएको चालक ज्ञानको हिसाबले समान हुन भलै क्षेत्र फरक होला । तर किन चालक भन्ने वित्तीकै हाम्रो मनमा फरक धारण बन्छ ? के कहील्यै सोचेका छन् चालक ,सहचालकहरुले ?

यहाँ कसैप्रती आग्रह पुर्वाग्रह साध्न खोजेको होईन्। यातायात क्षेत्रमा आमुल परिवर्तनको खाँचो छ। हामी राम्रा चालक–सहचालको सम्मान गर्छौँ । तर यस क्षेत्रमा देखाईने पाखण्डीपनाको विरोध गर्नै पर्छ। यसमा यातायात व्यवसायी गम्भीर बन्नु अहिलेको आवश्यकता हो। तर यसो भन्दैमा यातायात क्षेत्रमा भएको भद्रगोलको सम्पुर्ण दोषी नै यातायात व्यवसायी हुन भन्न खोजीएको पनि होईन। मात्र यती होकि उनिहरु आफ्नो उत्तरदायित्व र कतव्यबाट विमुख भएकै हुन्। यातायात व्यवासयाी आफ्नो जिम्मेवारी लाई ईमान्दारीता पुर्वक निर्वाह गरुन् सडकको स्तर उन्नती तथा अन्य पुर्वाधार तथा नितिगत कुरा विकासको लागि सरकारलाई स्वतः दवाव सृजना हुनेछ।

आफु दादागीरी देखाउने, मनपरी तन्त्र लाद्ने, कानुनी राज्यको धज्जी उडाउने अनि सम्पूर्ण दोष सरकारको टाउकोमा थोपर्ने व्यवसायीको कार्य अनैतीक तथा अपाच्य हुनेछ। भक्तपुरमा साझालाई व्यवसायीहरुले अवरोध गरिरहेका छन्। आफुले पनि उत्कृष्ट सुविधा दिएर साझासँग प्रतिस्पर्धा गर्न किन डराईरहेका छन् व्यवासायीहरु? भोली व्यवसायीहरुले साझाले भन्दा उत्कृष्ट सेवा दिन सके भने एक दिन सर्वसाधारण साझा छोडेर उनिहरुकै सवारीमा यात्रा गर्नेछन्। आजको यस विकिसित समयमा हाम्रो सडक सभ्यता उत्कृष्ट हुनु जरुरी छ।

यसमा व्यवसायीले ध्यान दिनै पर्छ। यहाँ केही साझाका बस चल्दैमा अब व्यवसायीहरुको कुनै काम छैन भन्न खोजिएको होईन। साझाका सिमित बसहरुले सबैतिरको माग धान्न पनि सक्ने होईन्। सवाल मात्र यो हो कि यातायात क्षेत्रमा यति ठुलो लगानि गरेर राज्यलाई ठुलो योगदान गरेका व्यवसायीहरुले आफ्नो सेवामा सुधार नगर्दा उनिहरुको योगदानको उचित कदर हुन सकेको छैन्। सवारी साधनमा यात्रा गर्ने यात्रुसँग उनिहरुको भावना पनि यात्रा गरिरहेको हुन्छ। त्यसकारण सवारीका सहचालक र चालकले रुखो र छुद्र बोल्दा उनिहरुको आत्मसम्मान र भावनामा ठेस पुग्ने कुरालाई ध्यान दिनु आवश्यक छ ।

चीनमा पानीजहानको ठक्करबाट पुल भत्किदा कयौं सवारीसाधन नदीमा डुबे

एजेन्सी, १० फागुन ।  दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ। यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो। पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटक सम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ। 

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा प्रथम हुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गरेका थिए भने अन्यले सम्मान र प्रमाणपत्र पाएका थिए। वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो । ४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएको थियो ।

क्यानडाविरुद्धकाे जीतमा नेपालका अनिल र भीमको कीर्तिमानी साझेदारी र दुबैको शतक

काठमाडौं, २९ माघ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।तर तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । त्यसलाई तोडेका अनिलकुमार र भीमले शतक पनि पुरा गरे । अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे ।भीमले १२१ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाए । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । यो जित सँगै नेपालले तीन वटै खेल जितेर प्रतियोगितामा क्यानडा विरुद्ध क्लिन स्विप गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोडेको थियो । क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए। त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए। विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। ४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो। रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १(१ विकेट लिए। फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग–२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो। लिग–२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब भएको बताएका छन् । सोनाम ल्होछारका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सकिने बताएका हुन् । “म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । प्रधानमन्त्री प्रचण्डले भने, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।” आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा महत्त्वपूर्ण कामहरू भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको स्पष्ट पारे । यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।” पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।” उनले राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सोनाम ल्होछार–२८६० को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको सर्वप्रथम तामाङ समुदायको मुख्य पर्व राष्ट्रिय सोनाम ल्होछार २८६० को ऐतिहासिक अवसरमा उपस्थित आदरणीय जनसमुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होछारको अवसरमा उहाँहरूमा समेत यसै मञ्चमार्फत हार्दिक शुभकामना व्यक्त गर्दछु । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको तथ्यमा हामी सबै स्पष्ट नै छौँ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यसर्थ, प्रकृति विज्ञानमा आधारित सोनाम ल्होसार तामाङहरूको मौलिक र ऐतिहासिक पर्व त हो नै, सभ्यताको सङ्गम, संस्कृतिको संकेन्द्ररण र उत्पादन पद्धतिमा अन्तरआवद्धता रहेको विशिष्ट पर्व हुनुको नाताले ल्होछार सम्पूर्ण नेपालीहरूको साझा पर्वसमेत हो । नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् । सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् । नेपाल भौगोलिक पूर्वमा सानो भएर पनि सभ्यता, संस्कृति र जातीय–भाषिक विविधताका दृष्टिले विश्वमै वैभवशाली देश हो । तर, विगतको सामन्ती, एकात्मक तथा केन्द्रीकृत राज्यसत्ताले जातीय, भाषिक, सांस्कृतिक, सामाजिक र क्षेत्रीय विविधतालाई राज्यको ठूलो सम्पत्तिको रूपमा ग्रहण गर्दै सम्वद्र्धन, विकास र बिस्तार गर्नुको सट्टा एकल जाति, एकल भाषा, एकल धर्म र संस्कृतिलाई प्रोत्साहित गर्ने र अरूमाथि दमन गर्ने नीति अख्तियार ग¥यो । हामीले जनयुद्धपूर्व नै नेपाली समाजको विविधतासहितको राष्ट्रिय एकतामा जोड दिएका थियौँ । महान् जनयुद्ध र संविधान निर्माणको दौरानमा पहिचान र सामथ्र्यमा आधारित राज्यको पुनर्संरचनाका निम्ति म र हाम्रो पार्टीले अन्तिमसम्म सङ्घर्ष गरेको कुरा तपाईहरूलाई जानकारी नै छ । त्यही सङ्घर्षको परिणामतः अपेक्षा गरिएअनुरूप अधिकारहरू संस्थागत गर्न नसकिए पनि संविधानमा गुणात्मक र महत्वपूर्ण अधिकारहरू स्थापित गरिएको छ । संविधानको प्रस्तावनामा नै ‘‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’’ गरिएको छ । हाम्रा माग र मुद्दाको सम्बोधनका दृष्टिले यो पूर्ण नभए पनि विगतका संविधानहरूको तुलनामा गुणात्मक परिवर्तन हो, क्रान्तिकारी छलाङ हो । यो यथार्थलाई हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्दछ । नेपालको संविधानमा ३० भन्दा बढी मौलिक हकको प्रबन्ध गरिएको छ, जसले नेपाली समाजको विविधता र नागरिकको अधिकारलाई प्रतिविम्बित गर्दछन् । सामाजिक न्यायको हकमा ‘‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पपसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने’’ व्यवस्था गरिएको छ । राज्यका निर्देशक सिद्धान्तहरूमा ‘‘परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ’’ भनिएको छ । यो पनि सामान्य सङ्घर्षले प्राप्त भएको अधिकार होइन । त्यसैगरि संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोग, धारा २६१ मा आदिवासी जनजाति आयोग, धारा २६२ मा मधेशी आयोग, धारा २६३ मा थारू आयोग र २६४ मा मुस्लिम आयोगको व्यवस्था गरिएको छ । संवैधानिक आयोगका रूपमा स्थापित यी आयोगहरू पहिचान र अधिकारको संरक्षण र प्रवद्र्धन गर्न दूरगामी महत्वका रहन्छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन । साथै धारा २६५ ले ‘‘यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरावलोकन गर्नेछ’’ भन्ने प्रबन्ध गरिएकाले भविष्यमा थप अधिकारको ढोकासमेत खुला राखिएको छ । पहिचान र अधिकार स्थापित गर्न वर्तमान संविधानमा जे–जति अधिकारको व्यवस्था गरिएको छ, यी सानो सङ्घर्ष र मेहेनतले प्राप्त भएका अधिकार होइनन् । यसका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको छ, हजारौँ योद्धाहरू बेपत्ता हुनुहुन्छ । लाखौँ योद्धाहरूले सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पित गर्नुभएको छ । लाखौँ जनसमुदायले परिवर्तनका पक्षमा उच्च योगदान गर्नुभएको छ । यो यथार्थलाई बोध गर्दै क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ । मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूपमा कार्यालयहरूको स्थापनामा महत्वपूर्ण कामहरू भएका थिए । अहिले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको कुरा तपाईहरूले बुझ्नुभएकै छ । मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । यही अवधिमा राष्ट्रिय समन्वय परिषदका २ वटा बैठकहरू सम्पन्न भएका छन्, कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा छ । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिचान र अधिकारका पक्षधर तपाई उत्पीडित वर्ग, जाति र समुदायको सहयोग रह्यो भने सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को हान्न सकिन्छ । म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु– पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् । अन्त्यमा, राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकतावद्ध भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । फेरि एकपटक तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

लोकप्रिय