चलचित्र ‘ए मेरो हजुर २’ : सच्चा प्रेमको प्रतिबिम्ब

चलचित्र ‘ए मेरो हजुर २’ : सच्चा प्रेमको प्रतिबिम्ब

नारायण ढुंगाना

चितवन, भदौ १९ । शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ ले प्रदर्शनको शुरुवातीमा दर्शकको भीड लागेको छ ।

देशभर ९० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रका अधिकांश हल करिब करिब भरिएका छन् । आइतबार पनि दर्शकको राम्रो साथ पाएको चितवनको इन्द्रदेव चलचित्र हल नारायणगढका सञ्चालक मुक्ति पियाले बताए ।

‘म यस्तो गीत गाउँछु,’, ‘प्रेम गीत २’ जस्ता प्रेमकथाका सफल चलचित्रपछि नेपाली सिने जगतमा भित्रिएको ‘ए मेरो हजुर २’ ले शुरुवाती प्रदर्शन राम्रै वाहवाह पाएको छ । “आक्रामक व्यापार भइरहेको छ, राजधानी काठमाडौँ बाहिरको वितरणको जिम्मा लिएका केदार पराजुलीका अनुसार दुई दिनमा करिब करिब रु दुई करोड व्यापार भएको छ ।

युवा रोमान्सलाई कथामा उनेर १० वर्षपछि सिक्वेलमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर’की तत्कालीन नायिका झरना थापाको डेब्यू निर्देशन रहेको उक्त चलचित्रले सार्थक बालप्रेमलाई मुख्य विषय बनाएको छ ।

सच्चा प्रेम जुनसुकै अवरोधले पनि रोक्न सक्दैन भन्ने कुरा गौरवसँगै बिहे हुनै लाग्दा पनि मायाँ र प्रेमको मिलनले उजिल्याएको छ । विभिन्न सामाजिक विसंगतिलाई समेत नंग्याउने प्रयासले चलचित्र जीवन्त बन्न पुगेको छ ।

कथाले समलिङ्गीप्रतिको सामाजिक नकारात्मक दृष्टिकोणलाई तिखो प्रहार गरिएको छ । देशको वेशभूषा र संस्कृतिको संवद्र्धनमा एक कदम अगाडि छ । चलचित्रमा आएका सबै गीत उत्कृष्ट बनेका चलचित्र पत्रकार रवि अधिकारी बताउँछन् ।

यसमा मुख्य भूमिका प्रेम र मायाको छ । फिल्मलाई कमेडी बनाउन ‘जे’ले साथ दिएका छन् । प्रेम र माया सहपाठी हुन् । एक अर्कालाई असाध्यै माया गर्छन् । स्कुल बसमा आउँदा जाँदा उनीहरुको लुकामारी नै हुन्छ ।

पोखरामा ५ कक्षा पढ्दा गितार लिएर प्रेमले चलचित्र ‘ए मेरो हजुर’को चर्चित गीत फूलको थुंगा हौ कि, बगेको गंगा हौ… गाउँछ । माया प्रभावित हुन्छे । प्रेमका बुबाको काठमाडौँ सरुवासँगै फक्रन लागेको प्रेमको कोपिलामा तुसारो पर्छ । प्रेमले भेट्न आउने कसम खाँदा माया मायाको बालप्रेम झल्कन्छ ।

‘मलाई चिनेनौँ भने नि ?’ कतिपय कुराहरु मनैले थाहा पाउँछ चिनिराख्नै पर्दैन, प्रेम भन्छ । प्रमिस ! प्रेमले उत्तर दिन्छ, “आफू त सानो मान्छे ठूलो स्वर प्रमिस कुरा गरिन्छ फुल डोज ।”

प्रेमले आफ्नो बालापनका साथीहरुसँग बेलिविस्तार गर्छ । ‘जे’को योजनामा स्केच बोकेर माया खोज्न उनीहरु पोखरा पुग्छन् । बाटोमा लिफ्ट पाएका गौरवका कारण मायासँग सहज भेट हुन्छ । उनीहरु बालापन सम्झाउने कोशिस गर्छन् । ग्यारेजमा थन्किसकेको त्यो स्कुल बस ल्याएर स्मरण गराउने प्रयास हुन्छ । यस्तै यस्तैमा मध्यान्तर बित्छ ।

उनीहरुले बाटोमा लिफ्ट दिने व्यक्ति गौवरसँगै आर्य बनेकी मायाको बिहे हुने पक्का भएको कुरा पोखरा पुगेपछि मात्रै थाहा पाउँछ प्रेमले । तैपनि हरेस खाँदैन । मर्निङ वाकको समयको सदुपयोग निरर्थक हुन्छ ।

आर यु फलोइङ मी ? नो । धेरैदिनदेखि वाच गरिरहेकी छु, मलाई कसैले फलो गरेको मन पर्दैन । प्रेम जवाफ दिन्छन्, “तर मलाई मन पर्छ, अझै तिमी जस्तो गर्जियस लेडिज अगाडि आउँछ्यौ । आफू त सानो मान्छे ठूलो स्वर लभ गरिन्छ फुल डोज ।”

अझै मायालाई याद दिलाउने प्रयास हुन्छ । म प्रेम । तिम्रो चाइल्डहुड फ्रेण्ड, ह्वाट ? तिमीजस्तो कति प्रेमसँग भेट भयो । माया, नाम पनि याद छैन तिमीलाई ? याद आएर नि के फरक पर्छ । मैले कति स्कुल चेन्ज गरेँ र स्कुलसँगसँगै ब्वाइफ्रेड पनि । सिक्समा एउटा, यटमा एउटा, टेनमा एउटा । तिमी जस्तो प्रेम त कति भेट भयो भयो । इट्स् द लभ स्टोरी ।

मायालाई फकाउन टे«किङको बहानामा मनाङ जान्छन् । तिलिचो ताल घुम्छन् । प्रेमले मायालाई थुप्रै प्रयास गरेर फकाउँछ । त्यहाँबाट फर्किदा उल्टै उनीहरुबीच नै झगडा हुन्छ ।

यता घरमा गौरवसँगको बिहेको चाँचोपाँजो गरिएको हुन्छ । प्रेम बिहेको अघिल्लो राति नै काठमाडौँ फर्किन्छ । ‘जे’ले प्रेमको असली प्रेम मायालाई बताउँछ । उनी भावुक हुन्छिन् ।

साहित्यकार झमक घिमिरेको चर्चित पुस्तक ‘जीवन काँडाकी फूल’ लिएर बुबाले भनेको कुरा सम्झन्छे, “काँडामा पनि हिँड्न सक्नुपर्छ, मनले जे बोल्छ त्यो सही हुन्छ ।”

अनि निर्णय बदलेर मायाले दादासँगै आफूले गौरवसँग बिहे नगर्ने निर्णय सुनाउँछे । बिहेघरमा सन्नाटा छाउँछ । “धनसम्पत्ति मानप्रतिष्ठा सब कमाउन सक्छु म पनि । सम्पत्ति र हाई क्लासको लोग्ने बिहे गराइदिएर आफ्नो बहिनीलाई किन कमजोर देखाउन खोज्नुहुन्छ ? हजुरको बहिनी संसार जित्न सक्छे दा ।”

सब कुरा सुनिरहेको हुनेवाला श्रीमान् गौरवले सहज लिँदै भन्छन्, “हरेक मान्छेको एउटा कथा हुन्छ र त्यसमा एउटा हिरो । यो कथा तिम्रो थियो । जसमा म जबरजस्ती हिरो हुन पुगेछु । सायद मलाई अरु कुनै कथा होला, जसले मलाई वेट गरिरहेको छ ।”

पुरानो स्कुलको थोत्रो बसमा प्रेमलाई खोज्दै काठमाडौँ पुग्छन् । बालापन झैँ बसमा बसेर मायाले आफ्नो माया माइकबाट पोख्छिन् । त्यो सुनेर प्रेम फर्किन्छ ।

अनि उनीहरुको डाइलग उल्टिन्छ । प्रेम, “मलाई कसैले फलो गरेको मन पर्दैन”, मायाको प्रतिउत्तर आउँछ, “तर मलाई मन पर्छ, आफू त सानो मान्छे ठूलो स्वर लभ गरिन्छ फुल डोज ।”

बेलाबेलामा ‘ए मेरो हजुर’को टाइटल गीतले दिवंगत नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झाइरहन्छ । श्रीधर्मेन्द्र उनको फ्यान भएकाले स्कुल बसभरि पोस्टर टाँसेर १० वर्षअघिको फिल्मलाई जीवन्त बनाउन खोजिएको छ ।

तर माया र प्रेमको परिवारका बारेमा चलचित्र मौन छ । नायकमाथि हाबी बनेका ‘जे’ अर्थात् सलोन बस्नेत कमेडी कलाकारमा देखिएका छन् । डेब्यू गरेका नायक सलिनमान बनिया (प्रेम)को अभिनयमा अझै उत्कृष्ट हुने ठाउँ छाडेका छन् । तर साम्राज्ञी राज्यलक्ष्मी शाहको यो दोस्रो फिल्म भए पनि उनको अभिनय दर्शकले मन पराएका छन् ।

चलचित्रमा दर्शकले सोचेजस्तो प्रेममा उतारचढाव छैन । सानो द्वन्द्वको दृश्य छ । मोड बिनाको प्रेम सच्चा छ । दर्शकमा कौतुहलता ल्याउने कथा छैन । शुक्रबारको पहिलो सो हेर्नुभएकी समीक्षा आलेले फिल्म राम्रो बनेको बताइन ।

सच्चा प्रेमको प्रतीकका रुपमा ‘ए मेरो हजुर २’लाई लिन सकिन्छ । बालापनको प्रेम बीचमा हराए पनि अन्ततः मिलन हुनपुग्छ ।

चलचित्र पोखराको फेवातालमा घुमेको छ । मनाङका दृश्यले दर्शकलाई मोहित पार्छ भने अग्लो स्थानमा रहेको तिलिचो ताल र हिमशृङ्खलाले ल्योभ्याउँछ । हरेक गीतले मन छुन्छ । ‘उकालीमा जाँदा जाँदै दाहिने प¥यो बर… माया कता प¥यो घर…’ ‘मायाँ दिन्छु मुटु दिन्छु…’ ।

लोक भाकामा गाएको ‘मलाई दुई चुल्ठी बाटेर फूल लाउन मन पर्छ टिपिदेउन साहिला दाइ…’ गीत मर्मस्पर्शी छन् । सुहाना इन्टरटेनमेन्टले तयार पारेको चलचित्र सुनिल थापाले बनाएका हुन् । हरिहर अधिकारीको कथामा अन्य कलाकार अम्बर सुवेदी, अनुराग कुँवर, बुद्धि तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राईको अभिनय छ । सामिप्यराज तिमिल्सिनाको पटकथा छ । प्रेम र मायाँको भूमिकामा सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । जे को भूमिकामा नायक सलोन बस्नेत छन् ।

चलचित्र पत्रकार रवि अधिकारी फिल्म गीत–संगीतको लोकेसनसँगै बालप्रेम भुल्न नसक्ने देखाएको बताउँछन् ।

यस्तो थियो पहिलेको ‘ए मेरो हजुर’

आखिर दुवै चलचित्र प्रेम कथामै आधारित छ । तर पहिलेको तुलनामा २ को कथावस्तु फितलो छ । पहिलेको चलचित्रमा माया पाउन विभिन्न ठक्कर आएका छन् । शिव रेग्मीको निर्देशक सशक्त छ । सच्चा प्रेम पाएरै छाड्छ भन्ने उदाहरण दुइटैमा छ ।

सम्भ्रान्त परिवारभन्दा मध्यम परिवारको फरक देखाइएको छ । सम्पत्तिका लागि आफ्नै नातेदारले जे पनि गर्न सक्छन् भन्ने पाठ यसमा छ । अनेक मोड र घुम्तीले प्रेममा दर्शकलाई कौतुहलता जगाइरहन्छ । हरेक कलाकारको अभिनयमा खोट छैन । ‘ए मेरो हजुर’मा ईश्वर बनेका दिवंगत नायक श्रीकृष्ण श्रेष्ठ र श्रद्धा बनेको नायिका झरना थापाको मुख्य अभिनय छ ।

पहिले ईश्वरले मन पराउँदा श्रद्धाले विपिनलाई मन पराएकी हुन्छिन् । तर विपिनको माया फोस्रो धन सम्पत्ति हत्याउनका लागि हुन्छ । उनका आफन्तहरुले सम्पत्ति हत्याउनका लागि श्रद्धालाई मार्न लखेट्दा गाडीमा ठोक्किएर श्रद्धाको दृष्टि गुम्छ ।

पहिले गाउँबाट निकालिएका ईश्वरले उनलाई बचाएर लान्छ । पालन पोषण गर्छ । चोरेको पैसाले उनको आँखाको शल्यक्रिया गरेर जब दृष्टि फर्काउँछ । अनि श्रद्धाले फेरि पुरानो ईश्वरलाई देखेर घृणा गर्छिन् । विदेश गएका विपिन फर्केर श्रद्धा भेट्छ । मायाको जालमा फसाएर विपिनले श्रद्धालाई मार्न षड्यन्त्र बुन्छ ।

ईश्वरले बचाउने क्रममा फाइट हुन्छ । त्यही बेला ईश्वरको पर्स खस्छ र श्रद्धाले पहिले दृष्टि गुम्दा खिचेको संयुक्त फोटोबाट माया फर्किन्छ । अनि उनीहरुको पुनः मेल हुन्छ र चलचित्र समाप्त हुन्छ ।

चीनमा मार्क्सवादको नयाँ विकासमा निरन्तर बहस

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (CPC) केन्द्रीय समितिका महासचिव, चिनियाँ राष्ट्रपति, र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी जिनपिङले हालसालै नयाँ युगमा मार्क्सवादी सिद्धान्त अध्ययन र विकास गर्न कार्यक्रमबारे महत्त्वपूर्ण निर्देशन दिएका छन्। सीले मार्क्सवादी सिद्धान्तको अध्ययन र विकासलाई पार्टीको विचारधारात्मक र सैद्धान्तिक विकासको आधारभूत र रणनीतिक कार्यक्रमको रूपमा परिभाषित गरेका छन्। पछिल्लो २० वर्षमा, यस कार्यक्रममा संलग्नहरूले सधैं मुख्य कार्यहरूमा केन्द्रित रहँदै समग्र परिस्थितिलाई सेवा दिएका छन् र उच्च-गुणस्तरका अनुसन्धान परिणामहरू उत्पादन गरेका छन्। यस कार्यक्रमले पार्टीको नवीनतम सिद्धान्तहरूको अध्ययन, अनुसन्धान, र प्रचारमा महत्त्वपूर्ण भूमिका खेलेको छ र विचारधाराको क्षेत्रमा मार्क्सवादको मार्गदर्शक स्थानलाई सुदृढ बनाएको छ। सीले नयाँ युगको यात्रामा, आधारभूत सिद्धान्तहरूलाई कायम राख्दै नयाँ दिशाहरू खोल्न, चिनियाँ विशेषताहरू भएको समाजवादी विचारको अध्ययन, प्रचार र कार्यान्वयनमा ध्यान दिन, प्रणालीगत र सैद्धान्तिक अनुसन्धानलाई गहिरो बनाउन, र पार्टीको नवीनतम सिद्धान्तहरूलाई जनताबीच लोकप्रिय बनाउन थप प्रभावकारी बनाउन जोड दिए। उनले मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चिनियाँ यथार्थ र परम्परागत संस्कृति संगसँगै एकीकृत गर्नुपर्ने कुरा पनि उल्लेख गरे। नभेम्बर २९ मा बेइजिङमा यस कार्यक्रमको कामसम्बन्धी बैठक सम्पन्न भयो। सीका महत्त्वपूर्ण निर्देशनहरू बैठकमा अध्ययन गरियो। बैठकमा स्थायी समितिका सदस्य र सचिवालयका सदस्य काइ चीले सम्बोधन गरे। काइले आफ्नो सम्बोधनमा सीका निर्देशनहरूले मार्क्सवादी सिद्धान्त अध्ययन र विकासका कार्यक्रमको स्थिति र भूमिकाबारे गहन व्याख्या गरेको र आधारभूत सिद्धान्तलाई कायम राख्दै नयाँ दिशाहरू खोल्नका लागि आवश्यकताहरू स्पष्ट पारेको बताए। उनले पार्टीको नवीन सिद्धान्तहरूलाई मार्गदर्शकको रूपमा राखेर चिनियाँ परम्परागत संस्कृतिको मूल्य र सामग्रीलाई अझ गहिरो रूपमा अन्वेषण गर्न जोड दिए। बैठकमा पार्टीको प्रचार र सांस्कृतिक कामका लागि केन्द्रीय नेतृत्व समूहका सदस्य, कार्यक्रमको जिम्मेवारीमा रहेका विभागका उच्च अधिकारीहरू, केन्द्रीय सञ्चारमाध्यमका प्रतिनिधिहरू, विज्ञ र विद्वानहरू, स्थानीय पार्टी समितिहरूका प्रचार विभागका प्रमुख अधिकारीहरू, र प्रमुख विश्वविद्यालयका अधिकारीहरूको सहभागिता थियो। यस्ता छन् सीले जोड दिन खोजेका महत्वपूर्ण पक्षः विविध संस्कृतिहरूलाई एकल एकरूप संस्कृतिले प्रतिस्थापन गर्नेभन्दा, चिनियाँ सभ्यताले विभिन्न संस्कृतिहरूलाई साझा संरचनामा एकीकृत गर्ने प्रयास गर्छ। हाम्रो सम्मानित ५,००० वर्ष पुरानो सभ्यताका गहिरो जगका आधारमा, चिनियाँ समाजवादलाई अग्रगामी र विकास गर्ने एक मात्र बाटो भनेको मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको विशेष यथार्थ र यसको परम्परागत उत्कृष्ट संस्कृतिसँग एकीकृत गर्नु हो (‘दुई एकीकरण’)। यो निष्कर्ष चिनियाँ समाजवादको हाम्रो व्यापक अन्वेषणबाट प्रणालीगत रूपमा निकालिएको हो। हामीले सधैं मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको विशेष यथार्थसँग एकीकृत गर्न जोड दियौं र अहिले आधिकारिक रूपमा यसलाई चिनियाँ परम्परागत उत्कृष्ट संस्कृतिसँग पनि एकीकृत गर्ने कुरा अघि सारेका छौं। जसरी मैले एकपटक भनेको थिएँ, ‘यदि ५,००० वर्ष पुरानो चिनियाँ सभ्यता नै नभएको भए, चिनियाँ विशेषताहरू कहाँबाट आउने थिए? ‘दुई एकीकरण’ कुनै असम्भाव्य प्रस्ताव होइन। आफ्ना विशिष्ट उत्पत्तिका बावजुद, मार्क्सवाद र परम्परागत चिनियाँ संस्कृतिमा असाधारण सुसंगति प्रकट हुन्छ। उदाहरणका लागि, सबैका लागि समान कल्याणको खोजी गर्ने र विश्वास र मित्रता देखाउने सामाजिक सिद्धान्तहरू साम्यवादी र समाजवादी आदर्श र विश्वाससँग सुमधुर रूपमा मेल खान्छन्; राज्यको आधारको रूपमा जनतालाई मान्ने र सद्गुणद्वारा शासन गर्ने शासकीय अवधारणाहरू जनताको प्राथमिकता राख्ने राजनीतिक सिद्धान्तसँग पूर्णतया मेल खान्छन्; र पुरानो कुरा त्यागेर नयाँको पक्षमा उभिने र निरन्तर आत्म-सुधार गर्ने अभ्यासहरू कम्युनिष्टहरूको क्रांतिकारी आत्माको साथ मेल खान्छ। मार्क्सवादले मानिसको सारलाई सामाजिक सम्बन्धहरूको दृष्टिकोणबाट हेर्छ भने, चिनियाँ संस्कृतिमा मानिसलाई परिवार, देश र संसारसँगको सम्बन्धबाट परिभाषित गरिन्छ। दुवै मानवीय अस्तित्वलाई पृथक अस्तित्वको रूपमा हेर्नु अस्वीकार गर्छन्। चिनियाँ समाजवादको बाटो आधारभूत रूपमा समाजवादी छ, जुन मार्क्सवादमा आधारित छ। चिनियाँ संस्कृतिमा रहेको आवश्यक समाजवादी तत्त्वहरूले चीनमा मार्क्सवादलाई अँगाल्नका लागि बौद्धिक आधार प्रदान गर्दछ। चिनियाँ समाजवादको बाटो निरन्तर फैलिरहेको छ, र यस बाटोमा हाम्रा दृढता अडिग रहेको छ।  

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसको प्रभावले यतिबेला (सोमबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। काठमाडौँ उपत्यकोको आकाश भने बिहानैदेखि बादलले ढाकेको छ। तर, पानी भने परेको छैन।  आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा  दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। कोसी र गण्डकी  प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एकदुई स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला मंगलबार र बुधबारको मौसम? २०८१ असोज १५ गते मंगलबार दिउँसोː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज १६ गते बुधबार दिउँसोː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

चलचित्र लालसलामकी नायिकालाई सांस्कृतिक रुपान्तरण पुरस्कार

काठमाडौं । चलचित्र लालसलामकी नायिका प्रेमा अधिकारी गैरेलाई चलचित्र विकास बोर्डले सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ प्रदान गर्ने भएको छ । बोर्डको सोमबार बसेको बैठकले चलचित्र मार्फत सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा योगदान पु¥याए वाफत गैरेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताउनु भयो ।  प्रवक्ता बुढाथोकीका अनुसार संविधान दिवसको अवसरमा आगामी असोज ४ गते एक समारोहबीच कलाकार गैरेलाई २५ हजार नगद र ताम्रपत्रसहित पुरस्कृत गरिनेछ । कलाकार गैरेले चलचित्र लालसलामा लगायत थुप्रै नाटक, ओपेरा र म्यूजिक भिडियोमा अभिनय गर्नु भएको छ ।  त्यस अवसरमा निर्देशक तुलसी घिमिरे, नीर शाह, हरिवंश आचार्य, ऋद्धिचरण श्रेष्ठ, देशभक्त खनाल, लोचन भट्टराई, रमेशरञ्जन झा, श्याम तमोट, माओत्से गुरुङ, विकास चौधरी र कविता आलेलाई पनि सांस्कृतिक रुपान्तरण पुरस्कार प्रदान गरिने प्रवक्त बुढाथोकीले बताउनु भयो ।

चलचित्र विकास बोर्ड अध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले पदभार ग्रहण गरेका छन्। सोमबार बोर्डको कार्यालय पुगेर डिसीले कार्यभार सम्हाल्नुभएको छ । सोमबार बिहान उनलाई बोर्डका सदस्य र कर्मचारीले फूलमालाले स्वागत गरेका थिए।  बोर्डको  हलमा आयोजित बधाई तथा शुभकामना अर्पण कार्यक्रममा नेपाल चलचित्र संघ, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ लगायतका फिल्मसँग सम्बन्धित संस्थाका पदाधिकारीसहित अन्य फिल्मकर्मी समेत पुगेका थिए ।  पदभार ग्रहण गर्दै डिसीले आफू काम गर्न बोर्डमा आएको बताउनुभयो । उहाँले नेपाली फिल्म क्षेत्रको समस्या समाधानका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत बिहीबार मन्त्रिपरिषदको बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। डिसी लामो समयदेखि फिल्म र सञ्चार क्षेत्रमा सक्रिय हुनुहुन्छ।

लोकप्रिय