चिसो र शीतलहरका कारण देशभरीका बिभिन्न जिल्लामा ४४ जनाको मृत्यु भइसकेको छ ।
गृह मन्त्रालयले भने चिसोका कारण एकजनाको पनि मृत्यु नभएको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको छ ।
देशका बिभिन्न भागमा र खासगरी तराई क्षेत्रमा शीतलहरका कारण मर्नेको संख्या बढिरहेको छ । कतिपय जिल्लामा विद्यालय बन्द गरिएका छन् ।
जाडो बढेपछि हिमाली जिल्ला मनाङका विद्यालय दुई महिना बन्द भएका छन् । सोलुखुम्बुमा ३० देखि ४५ दिन विद्यालय बन्द छन् । धनुषा र कपिलबस्तुमा १२, बारामा ९, पर्सामा ८, सिरहा, सप्तरी र महोत्तरीमा ७ र सुनसरीमा ४ दिन विद्यालय बन्द गरिएका छन् । अन्य जिल्लामा समेत विद्यालय बन्द भएका छन् ।
जाडोले देशभर जनजीवन कष्टकर बनेको छ । बालबालिका, महिला, जेष्ठ नागरिक बढी समस्यामा छन् । हिमाली जिल्ला जुम्लाको तापक्रम माइनस ६ डिग्री पुगेको छ । सप्तरी, जाजरकोट, कैलाली र मकवानपुरमा जाडोले ३५ नागरिकको ज्यान लिएको छ । जनकपुरदेखि नेपालगञ्ज आसपास तराई मधेसमा दिनभर हुस्सु र राति शीतलहर पर्दा स्थानीय समस्यामा छन् ।
सप्तरीमा एकसातामा जाडोले १२ जना र कैलालीमा १० को ज्यान गएको छ । भाइरल र ज्वरोले जाजरकोटको मझकोटमा एकमहिने शिशुदेखि जेष्ठ नागरिकसहित ९ को मृत्यु गएको छ । मकवानपुरको मनहरीस्थित बाढीपीडित बस्तीमा बालबालिका र वृद्धासहित ६ को मृत्यु भएको छ । सिरहामा तीन, रौतहट र कपिलबस्तुमा दुई–दुई नागरिकले जाडोकै कारण ज्यान गुमाएका छन् ।
हुस्सु र शीतलहरपछि यातायात आवागमनमा कमीसँगै दुर्घटनाको सम्भावना बढेको छ । स्थानीय स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा श्वासप्रश्वास, रुघाखोकी, निमोनिया, ज्वरोका बिरामी बढेका छन् । बालबालिका, महिला तथा जेष्ठ नागरिक बढी प्रभावित छन् । गृहमन्त्रालयले शीतलहर प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन शीतलहर सम्भावित जोखिम न्युनिकरण गर्न आवश्यक स्रोत साधन पूर्ण प्रबन्ध र परिचालन गर्न जिल्लास्थित सरोकारवाला निकायलाई निर्देशन दिइएको भए पनि नागरिकले राज्यबाट अनुभूत हुने गरी सेवा पाएका छैनन् ।