चीन नेपालको सडक बढाउँदै, भारत दशगजा मिचेर आफ्नो स्वार्थ पुरा गर्दै !
काठमाडौं, माघ २१ । झापामा भारतीय पक्षले नेपालसँग जोडिएको दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको छ। कचनकवल गाउँपालिका १ पिण्डलबारीस्थित नेपाल–भारत दशगजा क्षेत्रमा एकतर्फी ढंगले निर्माण थालेको हो।
नेपाली पक्षले निर्माण नगर्न आग्रह गरे पनि त्यसको बेवास्ता गर्दै कामलाई तीव्रता दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्ना उपल्ला निकायलाई यसबारे जानकारी गराए पनि कुनै प्रतिक्रिया आएको छैन ।
सडक निर्माण भइरहेको दशगजा क्षेत्र बिहारको किसनगन्ज जिल्लाको धन्तोला ग्राम पञ्चायतसँग जोडिएको छ । नेपाल–भारत सीमाको १२८ देखि १२९ नम्बर पिलरसम्मको दशगजा क्षेत्र नजिकैबाट सडक निर्माणको काम भइरहेको हो । भारतीय पक्षले दशगजा क्षेत्रलाई प्रभावित गर्ने गरी कालोपत्रे सडकको योजना अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायब निरीक्षक नेत्रविक्रम रानाले दशगजा क्षेत्र छुने गरी भारतीय पक्षले सडक निर्माण गरिरहेको बताए । ‘सडक निर्माण नगर्न आग्रह गरे पनि भारतीय पक्षले बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘सुरुवातमै हामीले यो दशगजा क्षेत्र हो, यहाँ सडक निर्माण नगर्नुस् भनेर आग्रह गरेका थियौं । तर, अटेरी गरेर बाटो बनाइरहेका छन् ।’
सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपी घेराबारीका निरीक्षक आनन्द महतोले पनि दशगजा क्षेत्रमा सडक निर्माण भइरहेको बताए । ‘हामीले स्थलगत अवलोकनपछि काम रोक्न आग्रह गरेका थियौं,’ उनले भने ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ९सिसुका० का एसपी रमेश सुवेदीले दशगजा क्षेत्रमा सडक बनाइरहेको बारे ५ दिनअघि दुवै देशका सुरक्षा निकाय दशगजा क्षेत्रमै गएर छलफलसमेत गरेको जानकारी दिए । ‘उक्त छलफलमा दशगजा क्षेत्रमा सडक निर्माण नगर्ने मौखिक सहमति भएको थियो,’ उनले भने ।
भारतीय पक्षले दशगजा क्षेत्र नजिक एक्साभेटर लगाएर एकापट्टि माटो पुरेको छ । करिब ६ सय मिटरमा माटो पटान गरेपछि नेपाली पक्षले खबर पाएको थियो । संयुक्त सुरक्षा बैठकमा भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजा क्षेत्रमा निर्माण भइरहेको सडक रोक्न लगाउने आश्वासन दिएका थिए ।
उक्त सडक निर्माणको ठेक्का धन्तोला ग्राम पञ्चायतका सदस्य बताउने तेजनारायण गिरीले लिएका छन् । सुरक्षा निकायसँगको छलफलमा गिरीले स्थानीय निकायको बजेटबाट बाटो बनाउन थालेको जानकारी दिएको सशस्त्रका एसपी सुवेदीले बताए । सीमा स्तम्भ नभएको क्षेत्रमा सडक निर्माणको काम भइरहेकोले विवादित बनेको छ । सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्रमा कुनै पनि राष्ट्रले भौतिक पूर्वाधार निर्माण गर्न मिल्दैन । -कान्तिपुरबाट
संसदका तीन वटा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
सातवटै प्रदेशमा वर्षाको सम्भावना, चिसो बढ्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणालीका कारण हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली मंगलवार रातिसम्म रहने छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली शुरु भएको र यो बिस्तारै पूर्वतिर फैलिँदै गरेको महाशाखाले जनाएको छ । यो प्रणाली आज राति कर्णाली प्रदेश हुँदै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउनेछ । पूर्वतर्फ फैलिँदै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिनेछ । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । हाल वर्षा भइसकेको छैन तर आज राति र भोलि बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने तथा अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ । अहिले देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गत मंसिरको अन्तिम साता चिसो अत्यधिक बढेर विस्तारै घट्दै गएपनि सोमबारदेखि पुनः चिसो बढ्न थालेको हो । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । यसैगरि अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दै गएको महाशाखाले जनाएको छ।
राज्य व्यवस्थासहित पाँच समितिको बैठक बस्दै, यी हुन् एजेण्डा
काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा वनक्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्याका विषयमा छलफल हुनेछ । यसैगरी, सिंहदरबारमा मध्याह्न १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समिति बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ ।
यस्तो रहने छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली नेपालतर्फ आउने भएकाले हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली मंगलवार रातिसम्म रहनसक्ने छ । अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराई लगायत पहाडी भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ । आज रातिदेखि भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा बादल लाग्ने तथा पानी पर्नसक्ने महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा तथा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।