नेपाल प्रवेश गरेको भारतीय जेविसी नियन्त्रणमा

नेपाल प्रवेश गरेको भारतीय जेविसी नियन्त्रणमा

दार्चुला । दार्चुलामा नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी पार गरेर अनुमति बिना भारतीय जेसिबी नेपालतर्फ आएको छ । महाकाली नदी पार गरेर भारतीय जेसिबी नेपालको दार्चुला सदरमुकाम खलङ्गामा आएपछि जेसिबी मेसिन र चालकलाई स्थानीयले पक्राउ गरेका छन् । 

दार्चुलाबासीको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले नदीको धार नेपालतर्फ धकेलिने गरी आफूखुसी तटबन्ध निर्माण गरिरहेको छ । नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसिबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले आइतबार स्काइभेटर मेसिन र चालक (अपरेटर) लाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । 

नेपालतर्फ तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामाग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम गर्दै आएको छ । भारतीय पक्षले नेपाली प्रशासनसँग समन्वय नगरेरै नेपाली भूमिमा समेत स्काइभेटर चलाउन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन  । तर भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी विगतदेखि नै तटबन्ध बनाइरहेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । 

भारतीय पक्षले नेपाली सीमामा दादागिरी गर्दै आएको स्थानीय महेश भट्टले बताउनुभयो । केही दिन पहिले पनि भारतीयले नेपालीहरुलाई ढुगां हानेको स्थानीयको आरोप छ । गत वर्षपनि भारतले नेपालतर्फ नदीको धार फर्किने गरी खलंगास्थित नदी किनारमा तटबन्ध निर्माणको काम गरेको थियो । 

नेपालतर्फबाट स्थानीयले पटकपटक भारतीय दादागिरीको विरोध गरेपनि सरकारी पक्षको उदासिनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको छ । हिउँदमा महाकाली नदीमा पानीको सहत घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि नेपालको भन्दा ठूलो तटबन्ध बनाउने गरेको स्थानीय कृष्ण धामीले बताउनुभयो । नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको थियो । 

"हामीले महाकाली नदीको धेरै भाग छोडेर नेपालतर्फकै भूमिमा तटबन्ध गरेका थियौं", स्थानीय सुन्दर धामीले भन्नुभयो, "तर भारतले भने महाकाली नदीको सीमाना मिचेर तटबन्ध निर्माण गरिरहेको छ।" २०७० सालमा बाढी आउनुअघि नेपालकै भूमि रहेको क्षेत्रमा अहिले भारतले कब्जा जमाएको उहाँले बताउनुभयो । दार्चुलाबासीले महाकाली नदीको धारसमेत परिवर्तन गरी नेपालतर्फको खलंगा बजारलाई क्षति पुग्ने गरी भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै सो कार्य बन्द गराउन विगतदेखि नै जिल्ला प्रशासनसँग माग गर्दै आएका छन् । आइतबार पक्राउ परेको जेसिबी चालकलाई समेत कार्वाहीको माग गरिएको छ । 

पक्राउ परेको जेसिबी मेसिन नेपालतर्फ नै रहेको र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । नेपाली सीमाबाट पक्राउ परेका भारतीय स्काइभेटर चालकले प्रारम्भिक सोधपुछका क्रममा भूलबस (गल्तीले) जेसिबी नेपालतर्फ पुगेको बयान दिएको प्रजिअ जोशीले बताउनुभयो । स्थानीयबासीले भने नेपाल सरकार र प्रशासनले भारतीय विस्तारवादी प्रवृत्तिका विरुद्ध कडा कदम चाल्नुपर्ने माग गरेका छन् । 

जेसिबी नेपालतर्फ आएर पक्राउ परेपछि घटनाबारे अनुसन्धान भइरहेको र सीमामा देखिएको समस्या समाधान गर्न छलफल भइरहेको प्रजिअ जोशीले बताउनुभयो । 

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्यलाई थप केही दिन राखिने

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर बर्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ। गत शनिबारदेखि अस्पतालमा उपचार गराइरहनु भएका पौडेल आज सोमबार ‘डिस्चार्ज’ हुनुभएको हो । उहाँसँगै घाइते हुनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको भएपनि उहाँलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ । मेयर धनराज आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने अस्पतालले जानकारी गराएको छ।

सुनको मूल्य २७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २७ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर अदालतको अवहेलनासम्बन्धी रिटमा पेसी आजका लागि तोकिएको छ। सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी प्रधानमन्त्री ओलीले कपटपूर्ण तरिकाले भूमि अध्यादेश जारी गरेको भन्दै गत माघ २८ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । अर्यालले रिटमा प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ गते जारी भएको परमादेशको कार्यान्वयनमा अवरोध सिर्जना गरेको जिकिर गरेका छन् । निवेदनमा थप आदेशका साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न समेत माग गरिएको छ । अधिवक्ता अर्यालले यस्तो अवस्थामा पाकिस्तानमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने परमादेश भएको नजिर पेश गरेका छन् । संवैधानिक इजलासको परमादेशमा ‘शर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा खाली राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्न गराउन’ भनिएको थियो । अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री अधिकारीलाई विपक्षी बनाएका छन् ।

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृत्यु

नयाँ दिल्ली । शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् ।  घाइते हुनेहरुमा ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् । गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो । नयाँ दिल्ली रेलवे  स्टेशनको एउटा प्लेटफर्ममा रेल आइपुगेको भ्रमपूर्ण समाचारका कारण भागदौड मच्चिएको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू  रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। मृतकको शव निकालिएको छ भने घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरे । 

लोकप्रिय