चौधरीलाई पक्राउ गर्नुअघि तीन महिना अनुसन्धान गरेको सीआईबीद्धारा जानकारी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको जानकारी गराएको छ । व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला सीआईबीको यस्तो प्रष्टोक्ति आएको हो ।
बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । उनीहरुलाई बिनाअनुसन्धान पक्राउ गरेको भन्दै व्यवसायीले आपत्ति प्रकट गरेका थिए ।
तर, शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरी र थापासहितलाई पक्राउ गरेको जनाएको हो ।
पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिएका हुन् ।
च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत सेयर अरुण चौधरी समूहले खरिद गरेको पाइएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर अरुण समूहले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको थियो ।
नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा आज बिहान भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किएको थियो । माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको भरतपुर अस्पताल र तीनजनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक वा आंशिक असर पर्नसक्ने हुनाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
सत्र किलोमा बस माइक्रो ठोकिदा चारजनाको मृत्यु, ६ घाइते
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय सवारी साधन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किएका थिए । विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतमध्ये दुईजनाको भरतपुर अस्पताल र चारजनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।