जलवायु सम्मेलनः विश्व समुदायको प्राथमिकतामा नेपाल

जलवायु सम्मेलनः विश्व समुदायको प्राथमिकतामा नेपाल

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किएका छन्। मङ्सिर १३ गते राति ९ बजे यूएई गएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार स्वदेश फर्किएका हुन् ।

नेपाललाई आर्थिक सहायता आउनेमा ढुक्क छु प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८)मा नेपालको प्रस्तुतिले सकारात्मक तरङ्ग ल्याएको बताएका छन् ।


आइतबार साँझ दुबईमा आयोजित सो सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका उनले नेपालको तर्फबाट आफ्नो प्रस्तुतिले त्यहाँ तरङ्ग ल्याएको दाबी गरे।
प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सो सम्मेलनमा नेपाललाई सोचेभन्दा पनि बढी सन्तुष्टि मिलेको पनि बताए।
सम्मेलनभर नेपाल, हिमाल र पहाडको विश्वभर धेरै चर्चा भएको प्रधानमन्त्रीको भनाइ छ । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा आफू ढुक्क भएको पनि बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (बिचमा) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (बिचमा) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै

उनले भने, ‘‘कोप २८ पहिला पहिलाको भन्दा फरक, प्रभावकारी हुन्छ भन्ने सबै राष्ट्रहरुको सरकार प्रमुख, राष्ट्र प्रमुखहरुको धारणा थियो । हाम्रा लागि यो अलि नयाँ नै भयो । नेपालको अहिलेसम्म नेपालको छुट्टै पेभिलिएन थिएन यस अघि । पहिलो पटक त्यहाँ पेभिलिएन प्राप्त भएर त्यहाँ हाम्रा युवाहरु, पत्रकारहरु, विज्ञहरु त्यहाँ केन्द्रित भएर त्यहाँ लगातार हस्तक्षेप हुने गरी कार्यक्रम भयो । यो हाम्रा लागि खुशीको कुरा भयो । दोस्रो, संयुक्त राष्ट्र संघका महासभामा गएर हामीले जोड दिएर अन्तराष्ट्रिय समुदायलाई अपिल गर्ने काम गरियो । र, महासचिवलाई नेपाल भ्रमणको निम्तो दिइयो ।

उहाँले नेपालमा सगरमाथा पुग्ने, अन्नपूर्ण हिमाल पुग्नु, सबैसँग अन्तरक्रिया गर्नु यो सम्मेलनमा नेपालका लागि ठूलो अवसर भयो । यो सामान्य छैन । म पत्रकार साथीहरु र तपाईहरुमार्फत आम नेपाली जनतालाई भन्न चाहन्छु–यो सामान्य छैन । यसको प्रभाव विश्वव्यापी भयो । त्यसैकारण मेरो अध्यक्षतामा जो त्यो राउण्ड टेबल भयो । त्यसमा सबैले नै नेपालको प्रशंसा गर्नुपर्ने जस्तो भयो । नेपालका नाम उल्लेख नगरीकन त बोल्नै नसक्ने जस्तो अवस्था भयो । यस्तो त पहिला भएको थिएन भनेर हाम्रै कर्मचारीहरुले पनि भने । त्यस्तो खालको भयो । अनि, हाम्रो मूल स्टेटमेन्ट पनि मैले यहाँ जे भनेको थिए । यो पटक हामी माग्ने जस्तो निरीह भएर प्रस्तुत हुने होइन, हामी आफ्नो अधिकारको निम्ति योद्धाको रुपमा प्रस्तुत हुने भनेको थिए मैले । ठ्याक्क त्यस्तै भयो । सायद तपाईहरुले हिजो मेरो स्टेटमेन्ट सुन्नु पनि भयो होला । त्यसले एउटा सकारात्मक तरंग चाहिँ ल्यायो । दुई जना राष्ट्रपति म बोल्ने बित्तिकै बोल्ने लाममा बसेका थिए, यति खुशी भए । त्यस्तो स्ट्रङ स्टेटमेन्ट आयो, ठिक आयो भन्ने खालको भयो । त्यसकारण यी सबै दृष्टिकोणले र आज बिहानको पनि त्यस्तै भयो । नेपाल यति चर्चामा रह्यो नि अहिले । यो तीन दिन, चार दिन । यति धेरै चर्चामा रह्यो । यसले गर्दाखेरी यो अरु भन्दा फरक भयो भन्ने नै हामीले महसुस गरेका छौं । म त सन्तुष्ट छु । जे सोचेर जस्तो होस् भनेको थिए, त्यस्तै भयो । कतिपय कुरा त त्यो भन्दा पनि राम्रो भयो भन्ने लागेको छ । किनभने अब त्यहाँ अरु सबैसँग कुरा हुँदा पनि हिमाल, पहाड र नेपाल विश्वभरि चर्चामा छ अहिले । पहिला चाहिँ पहाडको नेतृत्व अरुले गरेको रहेछ भन्ने रहेछ त्यहाँ । यो पटक त्यसको लिडरसिप नेपालले लियो भन्ने त्यहाँको आम बुझाई भयो । त्यसकारण हामी नेपालीको निम्ति यो खुशीको कुरा छ । अब महासचिवले हामीलाई प्राथमिकतामा राखिदिएको हुनाले आर्थिक र प्राविधिक सहायता आउने कुरामा पनि ढुक्क हुने स्थिति बनेको छ । त्यसकारण यो अलि नयाँ भयो भन्ने छ ।’’

प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनभर नेपालको चर्चा विश्वभर गराउन पनि आफूहरु सफल भएको बताए ।कोप २८ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकतामा परेको बताए।प्रधानमन्त्रीले उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको उनले बताएका हुन् ।जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्त्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको बताए ।

सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमै जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव नेपाल र अन्टार्कटिकामा परेको उल्लेख गरे।

प्रधानमन्त्रीद्वारा उच्चस्तरीय बैठकको अध्यक्षता
प्रधानमन्त्री ‘प्रचण्ड’को अध्यक्षतामा हिमालय जसले हामीलाई जलवायु प्रकोपबाट बचाउँछ विषयक उच्चस्तरीय गोलमेच बैठक बस्यो ।नेपालले जलवायु सम्मेलनको छुट्टै इभेन्टको अध्यक्षता गर्दै उच्चस्तरीय बैठक सञ्चालन गरेको यो पहिलो पटक हो।बैठकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विशेष सम्बोधन गरेका थिए ।एन्डोराका प्रधानमन्त्री जेभियर इस्पोट जमोरा, काजिकिस्तानका विदेशमन्त्री जिन्बेक कुलुबायाभ र भुटानका स्टेट सेक्रेटरीले सम्बोधन गरेका छन् ।

शीर्ष नेतासँग भेटवार्ता
दुबईमा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी र राष्ट्र प्रमुखसँग भेटवार्ता गरे। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भयो।भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा गर्नुभएको थियो।उहाँहरुको भेटमा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल म्यारियो डायज क्यानेलीबिच भेटवार्ता भएको छ।भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको छ।


प्रधानमन्त्री प्रचण्डको सम्मानमा नेपाली राजदूतावास अबुधाबीका राजदूत तेजबहादुर क्षेत्रीले स्वागत समारोहको आयोजना गरेका थिए।उनले त्यहाँका प्रवासी नेपालीलाई र व्यापारीलाई समेत सम्बोधन गरेका छन् । प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमणसमेत गरे ।

यूएई भ्रमणमा प्रधानमन्त्रीले जलवायु सम्मेलनलाई सम्बोधनसँगै जनप्रगतिशील मंच युनाइटेड अरब इमिरेट्सको कार्यकर्ता भेलालाई समेत सम्बोधन गरे । सँगै नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई समेत प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभयो । शीर्ष नेतृत्वसँगको भेटसँगै उनले दुबई फ्युचर पार्कको अवलोकनसमेत गरे ।

उनले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिंदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिए।

चीनमा पानीजहानको ठक्करबाट पुल भत्किदा कयौं सवारीसाधन नदीमा डुबे

एजेन्सी, १० फागुन ।  दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ। यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो। पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटक सम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ। 

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा प्रथम हुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गरेका थिए भने अन्यले सम्मान र प्रमाणपत्र पाएका थिए। वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो । ४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएको थियो ।

क्यानडाविरुद्धकाे जीतमा नेपालका अनिल र भीमको कीर्तिमानी साझेदारी र दुबैको शतक

काठमाडौं, २९ माघ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।तर तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । त्यसलाई तोडेका अनिलकुमार र भीमले शतक पनि पुरा गरे । अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे ।भीमले १२१ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाए । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । यो जित सँगै नेपालले तीन वटै खेल जितेर प्रतियोगितामा क्यानडा विरुद्ध क्लिन स्विप गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोडेको थियो । क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए। त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए। विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। ४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो। रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १(१ विकेट लिए। फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग–२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो। लिग–२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब भएको बताएका छन् । सोनाम ल्होछारका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सकिने बताएका हुन् । “म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । प्रधानमन्त्री प्रचण्डले भने, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।” आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा महत्त्वपूर्ण कामहरू भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको स्पष्ट पारे । यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।” पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।” उनले राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सोनाम ल्होछार–२८६० को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको सर्वप्रथम तामाङ समुदायको मुख्य पर्व राष्ट्रिय सोनाम ल्होछार २८६० को ऐतिहासिक अवसरमा उपस्थित आदरणीय जनसमुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होछारको अवसरमा उहाँहरूमा समेत यसै मञ्चमार्फत हार्दिक शुभकामना व्यक्त गर्दछु । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको तथ्यमा हामी सबै स्पष्ट नै छौँ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यसर्थ, प्रकृति विज्ञानमा आधारित सोनाम ल्होसार तामाङहरूको मौलिक र ऐतिहासिक पर्व त हो नै, सभ्यताको सङ्गम, संस्कृतिको संकेन्द्ररण र उत्पादन पद्धतिमा अन्तरआवद्धता रहेको विशिष्ट पर्व हुनुको नाताले ल्होछार सम्पूर्ण नेपालीहरूको साझा पर्वसमेत हो । नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् । सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् । नेपाल भौगोलिक पूर्वमा सानो भएर पनि सभ्यता, संस्कृति र जातीय–भाषिक विविधताका दृष्टिले विश्वमै वैभवशाली देश हो । तर, विगतको सामन्ती, एकात्मक तथा केन्द्रीकृत राज्यसत्ताले जातीय, भाषिक, सांस्कृतिक, सामाजिक र क्षेत्रीय विविधतालाई राज्यको ठूलो सम्पत्तिको रूपमा ग्रहण गर्दै सम्वद्र्धन, विकास र बिस्तार गर्नुको सट्टा एकल जाति, एकल भाषा, एकल धर्म र संस्कृतिलाई प्रोत्साहित गर्ने र अरूमाथि दमन गर्ने नीति अख्तियार ग¥यो । हामीले जनयुद्धपूर्व नै नेपाली समाजको विविधतासहितको राष्ट्रिय एकतामा जोड दिएका थियौँ । महान् जनयुद्ध र संविधान निर्माणको दौरानमा पहिचान र सामथ्र्यमा आधारित राज्यको पुनर्संरचनाका निम्ति म र हाम्रो पार्टीले अन्तिमसम्म सङ्घर्ष गरेको कुरा तपाईहरूलाई जानकारी नै छ । त्यही सङ्घर्षको परिणामतः अपेक्षा गरिएअनुरूप अधिकारहरू संस्थागत गर्न नसकिए पनि संविधानमा गुणात्मक र महत्वपूर्ण अधिकारहरू स्थापित गरिएको छ । संविधानको प्रस्तावनामा नै ‘‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’’ गरिएको छ । हाम्रा माग र मुद्दाको सम्बोधनका दृष्टिले यो पूर्ण नभए पनि विगतका संविधानहरूको तुलनामा गुणात्मक परिवर्तन हो, क्रान्तिकारी छलाङ हो । यो यथार्थलाई हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्दछ । नेपालको संविधानमा ३० भन्दा बढी मौलिक हकको प्रबन्ध गरिएको छ, जसले नेपाली समाजको विविधता र नागरिकको अधिकारलाई प्रतिविम्बित गर्दछन् । सामाजिक न्यायको हकमा ‘‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पपसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने’’ व्यवस्था गरिएको छ । राज्यका निर्देशक सिद्धान्तहरूमा ‘‘परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ’’ भनिएको छ । यो पनि सामान्य सङ्घर्षले प्राप्त भएको अधिकार होइन । त्यसैगरि संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोग, धारा २६१ मा आदिवासी जनजाति आयोग, धारा २६२ मा मधेशी आयोग, धारा २६३ मा थारू आयोग र २६४ मा मुस्लिम आयोगको व्यवस्था गरिएको छ । संवैधानिक आयोगका रूपमा स्थापित यी आयोगहरू पहिचान र अधिकारको संरक्षण र प्रवद्र्धन गर्न दूरगामी महत्वका रहन्छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन । साथै धारा २६५ ले ‘‘यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरावलोकन गर्नेछ’’ भन्ने प्रबन्ध गरिएकाले भविष्यमा थप अधिकारको ढोकासमेत खुला राखिएको छ । पहिचान र अधिकार स्थापित गर्न वर्तमान संविधानमा जे–जति अधिकारको व्यवस्था गरिएको छ, यी सानो सङ्घर्ष र मेहेनतले प्राप्त भएका अधिकार होइनन् । यसका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको छ, हजारौँ योद्धाहरू बेपत्ता हुनुहुन्छ । लाखौँ योद्धाहरूले सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पित गर्नुभएको छ । लाखौँ जनसमुदायले परिवर्तनका पक्षमा उच्च योगदान गर्नुभएको छ । यो यथार्थलाई बोध गर्दै क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ । मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूपमा कार्यालयहरूको स्थापनामा महत्वपूर्ण कामहरू भएका थिए । अहिले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको कुरा तपाईहरूले बुझ्नुभएकै छ । मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । यही अवधिमा राष्ट्रिय समन्वय परिषदका २ वटा बैठकहरू सम्पन्न भएका छन्, कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा छ । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिचान र अधिकारका पक्षधर तपाई उत्पीडित वर्ग, जाति र समुदायको सहयोग रह्यो भने सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को हान्न सकिन्छ । म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु– पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् । अन्त्यमा, राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकतावद्ध भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । फेरि एकपटक तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

लोकप्रिय