जिल्ला अस्पतालमा जोखिम मोलेरै प्रसुति सेवा गर्न बाध्य

जिल्ला अस्पतालमा जोखिम मोलेरै प्रसुति सेवा गर्न बाध्य

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला पृथ्वीचन्द्र अस्पतालमा अधिकांश सेवा प्रभावित भएको छ ।

दक्ष चिकित्सकको अभावमा अस्पतालमा शल्यक्रियाबाट हुने प्रसूति सेवा बन्द छन् भने औषधि अभावमा अस्पतालबाट निःशुल्करुपमा वितरण गरिने ३५ प्रकारका औषधिमध्ये अधिकांश औषधिको वितरण रोकिएको छ ।

शल्यक्रिया गरी बच्चा जन्माउने (सिएस) सेवा बन्द छ । पैँतीस प्रकारका निःशुल्क रुपमा वितरण गरिने औषधिमध्ये पाँच सात प्रकारका औषधिमात्र रहेको अस्पताल विकास समितिका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

कूल ५३ स्वास्थ्यकर्मीको दरबन्दी रहेको यस अस्पतालमा हाल करिब २० स्वास्थ्यकर्मी छन् । दक्ष चिकित्सकै अभावमा भिडियो एक्सरेसमेत बन्द भएको छ ।

प्रसूति सेवाका लागि तयार गरिएको अत्याधुनिक सुविधा शल्यक्रिया थिएटरसमेत विशेषज्ञ चिकित्सवको अभावमा सञ्चालनमा आउन नसकेको अध्यक्ष श्रीवास्तवको भनाइ छ ।

नवलपरासी–पश्चिम क्षेत्रमा रहेको सरकारीस्तरको ठूलो एकमात्र पृथ्वीचन्द्र अस्पतालमा अन्य विभिन्न आवश्यक सेवा पनि प्रभावित भएको छ ।

शल्यक्रिया गरी बच्चा जन्माउने (सिएस) सेवा बन्द हुँदा र गत असोज मसान्तबाटै विशेषज्ञ चिकित्सक (गाइनोकोलोजिष्ट) नहुँदा प्रसूतिका महिला उक्त सेवाबाट वञ्चित भएका छन् ।

अस्पतालमा सामान्य शल्यक्रिया र सिएस सेवा हुँदा महिनामा १६० जनाले प्रसूति गराउने गरेका थिए भने अहिले ५०, ६० जनाले सामान्य प्रसूति गराइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

अस्पतालमा अहिले प्रसूति गराउन विपन्न व्यक्तिमात्र आउने गरेका छन् सम्पन्न व्यक्ति भने बुटवल र भैरहंवा जाने गरेका छन् । यस्तै अस्पतालमा सञ्चालनमा रहेको भिडिओ एक्सरे सेवासमेत बन्द भएको छ ।

उक्त अस्पतालका मा मेडिकल सुपरिटेन्डेण्ट डा आन्नतकुमार शर्माले दक्ष जनशक्तिको अभावमा हाल विभिन्न सेवा बन्द भएको बताउनुभयो । यहाँ आएपछि व्यवस्थापन समितिसँग समन्वय गरी आफूले पनि पर्याप्त जनशक्ति र औषधि उपलब्ध गराउन पहल गरिरहेको उहाँको भनाइ छ । भिडियो एक्सरे सेवाबाट मात्रै अस्पताललाई प्रत्येक वर्ष करिब रु १३ लाख आम्दानी हुने गरेको थियो ।

सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधिमध्ये अधिकांश निःशुल्क औषधिको अभाव रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीवास्तवको भनाइ छ ।

चालू आर्थिक वर्षबाट अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आए पनि त्यहाँ सःशुल्क औषधिमात्रै उपलब्ध भएको सेवाग्राहीको गुनासो छ । फार्मेसीमा उपलब्ध हुने औषधि अस्पताल बाहिर एउटै मूल्यमा उपलब्ध भइरहेकाले फार्मेसी सञ्चालन गर्न कुनै अर्थ नभएको स्थानीयवासी बताउँछन् । यो अस्पताल स्तरोन्नतिपछि हाल ५० श्ययाको रहेको छ ।

अझै तीन हप्ता डेंगुको जोखिम कायमै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो    उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

लोकप्रिय