जिल्ला शिक्षाका अभिलेख कहाँ हस्तान्तरण गर्ने ?

जिल्ला शिक्षाका अभिलेख कहाँ हस्तान्तरण गर्ने ?

काठमाडौँ । संघीयता लागू भएसँगै विद्यमान जिल्ला शिक्षा कार्यालयका सबै काम आगामी चैतभित्र स्थानीय तहमा हस्तान्तरण गरिसक्नुपर्नेमा पुराना कागजात र अभिलेख कुन निकायमा राख्ने भन्ने अन्योल देखिएको छ ।

माध्यमिक तहसम्मको शिक्षा सञ्चालन र व्यवस्थापनको अधिकार संविधानतः स्थानीय तहको भएकाले सम्बन्धित काम छिटो हस्तान्तरण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय तहका जनप्रतिनिधिले आग्रह गर्दै आए पनि शिक्षा मन्त्रालयले प्राविधिक कारण ढिलाइ हुने जनाएको छ ।

मुलुक प्रादेशिक संरचनामा गइसकेकाले केन्द्रमा रहेको विद्यमान शिक्षा विभाग, विगतको पाँच विकास क्षेत्रका आधारमा रहेका क्षेत्रीय शिक्षा निर्देशनालय, शैक्षिक तालीम केन्द्र, शैक्षिक स्रोत केन्द्र, जिल्ला शिक्षा समितिका संरचना पनि अब रहने छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आगामी चैत २८ गतेभित्र ७५ वटै जिल्ला शिक्षा कार्यालयको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरिनुपर्ने छ भने कर्मचारी समायोजन विधेयक, २०७४ बमोजिम कर्मचारी समायोजन प्रक्रिया चलिरहेको छ ।

माध्यमिक शिक्षा परीक्षा सञ्चालन, शिक्षक मूल्यांकन र बढुवा, सरुवाजस्ता जिल्लास्थित शिक्षाका कतिपय कामको जिम्मेवारी कसले लिने भन्ने टुंगो नलाग्दासम्म हस्तान्तरणमा सहज नहुने शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले बताउनुभयो । “जिल्ला शिक्षा कार्यालयका माइन्युट स्थानीय तहलाई बाँडेर दिने भन्ने हुँदैन, यसलाई कहाँ र कसरी अभिलेखीकरण गर्नेबारेमा नेपाल सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।” प्रवक्ता लम्सालले भन्नुभयो, “अन्य काम क्रमशः हस्तान्तरण भइरहेको छ ।”

चालू आवको बजेटमार्फत शिक्षक तलब र विद्यार्थी छात्रवृत्तिको रकम सिधै स्थानीय तहमा पठाइएको छ भने विद्यालय क्षेत्र विकास कार्यक्रमलगायत शैक्षिक विकास र पूर्वाधारको बजेट जिल्ला शिक्षा कार्यालयमै छ । कक्षा ११ र १२ को परीक्षा सञ्चालनका लागि पनि जिल्लास्थित कुन संरचनालाई परिचालन गर्ने भन्ने स्पष्ट भइसकेको छैन ।

आउँदो चैतमा हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० को सञ्चालन र उत्तरपुस्तिका सम्परीक्षण जिल्ला शिक्षा कार्यालय वा कुन निकायले भन्ने पनि अन्योल छ । शिक्षा मन्त्रालय मातहत हाल २२ सहसचिवसहित २७०२ कर्मचारी छन् । यसमा शिक्षा सेवाका १४७० कर्मचारी, १०५३ स्रोत व्यक्ति र करिब डेढ लाख शिक्षक छन् । हालसम्म सय कर्मचारी स्थानीय तहमा काजमा खटाइएका छन् ।

काठमाडौँका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले शैक्षिक विकासका कार्यक्रम यो आर्थिक वर्षभरि जिल्ला शिक्षा कार्यालयबाटै सञ्चालन गर्ने सम्भावना देखिएकाले आगामी चैतभित्र सबै काम स्थानीय तहमा हस्तान्तरण हुन नसक्ने दाबी गर्नुभयो । उहाँले निजी विद्यालयसँग सम्बन्धित काम स्थानीय तहमा करिब हस्तान्तरण भइसके पनि शिक्षक दरबन्दीको विषय जोडिएका कारण सामुदायिक विद्यालयका कामको जिम्मेवारी जिल्ला कार्यालयमा पनि कायम रहेको बताउनुभयो ।

हाल शिक्षाका निकायबाट स्थानीय तहमा खटिएका कर्मचारीले शैक्षिक अभिलेख र जिम्मेवारी प्राप्त नगर्दा काममा असजहता आएको जनाएका छन् भने स्थानीय तहका शिक्षा विभाग र साविकको जिल्ला शिक्षा कार्यालयबीच अधिकार प्रयोगको विवादसमेत देखिएको छ । शिक्षाका कतिपय कार्यालयमा प्रदेशसभा र प्रदेश प्रमुखका अस्थायी कार्यालय खडा हुन थालिसकेका छन् ।

भक्तपुर जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझीले नेपाल सरकारले निर्देशन र नीति दिएमा अभिलेखको सुरक्षा र बजेट कार्यक्रम हस्तान्तरणका लागि आफूहरुलाई समस्या नहुने जनाउनुभयो ।

शिक्षा मन्त्रालयका शैक्षिक नीति, योजना र कार्यक्रमलाई तल्लो तहसम्म कार्यान्वयन गर्ने, सोको अनुगमन मूल्यांकन एवं आवश्यक प्राविधिक सहायता उपलब्ध गराउने निकायका रुपमा जिल्ला शिक्षा कार्यालयको स्थापना भएको हो । यसले स्वीकृत वार्षिक कार्यक्रमको कार्यान्वयन, जिल्लास्थित विद्यालयको नियमन, निरीक्षण तथा शैक्षिक सुनिश्चितताका लागि अगुवाइ गर्दै आएको थियो ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो। उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनुभयो । प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनताको दुःखपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो। यसअघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नुभएको छ ।

लोकप्रिय