डुङ्गा चलाउने पेसा सङ्कटमा
पाल्पा, चैत ६ । कालीगण्डकी नदीमा काठको डुङ्गा चलाउने पेसा गर्दै आएका बोटे समुदाय पेसाबाट विस्थापित बन्दै गएका छन् । कालीगण्डकी नदीमा पुल बनेसँगै उनीको पुख्र्यौली पेसा लोप हुँदै गएको हो ।
कालीगण्डकी वारपार गराउने सिपालु बोटे समुदायका मानिस कालीगण्डकीको रिडी, रानीघाट, केलादीघाटलगायतका घाटमा डुङ्गा चलाएको अहिले देख्न पाइँदैन, त्यस्ता नदी तथा खोलामा झोलुङ्गे तथा पक्की पुल निर्माणसँगै उनीहरुको पेसा सङ्कटमा परेको हो ।
पाल्पा रामपुर नगरपालिकास्थित केलादीघाटमा बोटे समुदायको ठुलो बस्ती रहे पनि माछा मार्ने र डुङ्गा चलाउने काम गर्दैनन्, केलादीघाट क्षेत्र पुल बनेसँगै डुङ्गा चलाउन छाड्नुपर्ने बाध्यता आएको राम बोटे बताउँछन् । साठी घरपरिवार बोटेबस्ती भए पनि अहिले अधिकांश युवा विदेश, खेतीपाती र मजदुरीबाट नै जीविकोपार्जन गर्न बाध्य छन् ।
स्थानीय बासिन्दा सूर्यप्रकाश पोखरेलले नदीमाथि पुल बन्नुभन्दा अघि डुङ्गा चढ्न एक हप्तासम्म कुर्नुपर्ने र पाँच पैसादेखि पाँच रुपैयाँसम्म तिरेको सुनाउनुभयो । खासगरी पहिला पैसाभन्दा पनि अन्नबालीमा सेवा लिन पाइने चलन रहे पनि पछि डुङ्गा चढेपछि पैसा तिर्नुपर्ने व्यवस्था आएपछि दुवै पक्षलाई सहजता आएको पोखरेल बताउनुहुन्छ ।
डुङ्गा चलाउँदा अन्नबाली मुरीका मुरी सङ्कलन हुँदा उनीहरुले खेतीपाती गर्न पर्दैनथ्यो, तर अहिले खेतपाती तथा मजदुरीमा महिला अग्रसर भएर लागेका छन् । बोटे समुदाय आदिवासी जनजातिअन्तर्गत आर्थिक रुपमा विपन्नको सङ्ख्या बढी छ । रामपुर नगरपालिका, रम्भागाउँपालिका, बगनासकाली र तानसेन नगरपालिकासँग कालीगण्डकी नदीको सिमाना हुँदै बग्छ ।
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
मोहन वैद्यको आइसियुमा उपचार हुँदै
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई किरणलाई आइसीयुमा सारिएको छ । विगत १५ दिनदेखि अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप समस्या आएकाले सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा सारिएको हो । अधिवेशनको काममा भागदौड गर्दा स्वास्थ्यमा समस्या देखिएकाले उहाँलाई अस्पतालको एनेक्स टू क्याबिनमा राखेर उपचार गरिएको थियो । उपचारमा संलग्न चिकित्सक डा.निरज बमका अनुसार उहाँको छातीमा सङ्क्रमण र दमको समस्या छ । वैद्य दीर्घ दमका रोगी हुनुहुन्छ । हरेक वर्ष जाडो याममा उहाँलाई दमको समस्या बढ्ने गर्छ ।
आज त्रिविका १४ हजार बढी विद्यार्थी दीक्षित हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए । उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुँदैछन् ।
आधा महिनामा पश्चिम नेपालमा सात वटा परकम्प
काठमाडौं । यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो । पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो । विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको हो ।